ए लेभलमा के छ - College Times : Educational Magazine
Headlines News :
Home » » ए लेभलमा के छ

ए लेभलमा के छ

Written By Collegetimes on Monday, December 3, 2012 | 4:45 AM


नेपाली विद्यार्थीका लागि अहिले ए लेभल फेसनजस्तै भइसकेको छ । एसएलसी उत्तीर्ण भएलगत्तै टिनएजर्स विद्यार्थीको पहिलो चाहना ए लेभल नै हुन थालेको छ । उच्च शिक्षाका लागि विदेशी विश्वविद्ययालयमा सजिलै पढ्न अवसर मिल्ने आसमा पनि ए लेभल पढ्ने विद्यार्थीको घुइँचो बढ्दो छ ।
के हो ए लेभल ?  
बेलायतको विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ् एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत् सञ्चालन हुने एक शैक्षिक कार्यक्रम  हो, ए लेभल । क्याब्रिज इन्टरनेसनल एक्जामिनेसन (सिआइई) बोर्डका थुप्रै अन्तर्राष्ट्रियस्तरका योग्यताहरुमध्ये ए लेभल गोल्ड स्ट्यान्डर्डको योग्यता  हो । जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने प्रतिष्ठा आर्जन गरेको छ । विश्वका प्रायःजसो ख्यातिप्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई गेटपासका रुपमा लिइन्छ ।
शैक्षिक अवधि र कार्यक्रम
दुई वर्षको निर्देशित अवधिमा पूरा गर्न सकिने यो कार्यक्रम करिब ७० वटा विषयमध्येबाट छनोट गरी पढाइन्छ । पाठ्यक्रम, शिक्षणप्रणाली, परीक्षाप्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले निर्धारण गरेअनुसार नै हुन्छ । कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ, तर विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्छन् । कक्षा क्रियाकलापहरु मूलतः सेमिनार, छलफल, प्रयोगशाला, समस्या–समाधान, समूह  क्रियाकलाप, प्रोजेक्ट कार्य, खोजविन, प्रस्तुतिकरण, समसामयिक अध्ययन आदिमा आधारित हुन्छ । सैद्धान्तिकभन्दा व्यावहारिक र समस्या–समाधान विधिमा केन्द्रित शिक्षा प्रक्रियामा विद्यार्थीहरुले इन्टरनेटमार्फत विश्वव्यापी सम्पर्क स्थापित गरी विषयगत अध्ययनको गहिराइमा पुग्नु आवश्यक हुन्छ । ए लेभलको पाठ्यक्रम प्रत्येक वर्र्ष अध्यावधिक गरिन्छ ।
खुला पाठ्यक्रम
नेपालका ए लेभल कलेजहरुमा जनरल पेपरअन्तर्गत इङ्लिस ल्याङवेज अनिवार्य विषयका रुपमा र अन्य तीन विषय कुनै समूहबाट लिने व्यवस्था छ, तर विषय छनोटमा एउटा समूहबाट नलिन पनि पाइन्छ । विद्यार्थीको रुचि र चाहनाअनुसार थप एक विषय लिन पाउने व्यवस्था पनि छ । साइन्स समूहमा फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटिक्सजस्ता विषय पर्छन् भने म्यानेजमेन्ट समूहमा एकाउन्टेन्सी, बिजनेस स्टडिज, इकोनोमिक्स, म्याथम्याटिक्स, कम्प्युटरजस्ता विषय समावेश छन् ।
त्यसैगरी, मानविकी समूहमा सोसियोलोजी, साइकोलोजी, इकोनमिक्स, म्याथम्याटिक्स, इन्भारोमेन्ट  स्टडिज, जर्नालिज्म, आर्ट एन्ड डिजाइनिङ, कम्प्युटर आदिमध्येबाट छनोट गर्न सकिन्छ । तर, विषय छनोटमा विद्यार्थीले कुनै एक समूहमा सीमित हुनुपर्ने बाध्यता छैन । पहिलो वर्ष एड्भान्स सब्सिडियरी (एएस) मा आधा कोर्स र दोस्रो वर्ष एड्भान्स लेभल (ए लेभल) मा बाँँकी आधा कोर्सको अध्ययन पूरा गरिन्छ ।
परीक्षा एवम् मूल्याङकन विधि
ए लेभल परीक्षापद्धति लचिलो, व्यावहारिक एवम् विश्वसनीय छ । विद्यार्थीले तयारी गर्न सकेको खण्डमा छ महिनापछि सबै  विषयको परीक्षा दिन सक्छन् । वर्षमा दुईपटक (जून र नोभेम्बरमा) विश्वभर एकसाथ सञ्चालन हुने परीक्षामा विद्यार्थीले आफ्नो तयारीअनुसारका विषयको परीक्षा दिन सक्छन् । विषयगत ग्रेडिङका आधारमा ए, बि, सि, डि, ई र यू ग्रेडमा नतिजा प्रकाशन हुन्छ । लिखितका अतिरिक्त मौखिक, प्रयोगात्मक,  प्रोजेक्ट वर्कजस्ता मूल्याङ्कन विधिहरु प्रयोग गरिन्छ ।
कुनै खास विषयमा राम्रो गर्ने विद्यार्थी नेपाल टप वा वल्र्ड टपसमेत बन्न सक्छन् । प्रत्येक विषयमा प्रत्येक सेसनमा नेपाल टप र वल्र्ड टप गर्ने विद्यार्थीलाई क्याम्ब्रिजले विशेष समारोह गरी सम्मान एवम् प्रमाणपत्र प्रदान गर्छ भने राम्रो ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीले विश्वका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत पाउँछन् ।
विदेशका प्रायः विश्वविद्यालयले जनरल पेपर (अङ्ग्रेजी)मा  आएको राम्रो नतिजालाई टोफल, आईईएलटीएससरह मान्यता दिएको पाइन्छ । क्याम्ब्रिज मूल्याङ्कनपद्धति विश्वकै उत्कृष्ट, विश्वसनीय र वैध पद्धति मानिन्छ । नेपालमा यसको परीक्षा ब्रिटिस काउन्सिलले सञ्चालन गर्छ ।
प्राध्यापकहरुले कसरी तयारी गर्छन् ? 
ए लेभल पाठ्यक्रम आवश्यकताअनुसार हरेक वर्ष अप टु डेट भैरहन्छ । त्यसैले प्राध्यापकहरुले सधैं अध्ययनशिल भइरहनु आवश्यक छ । यसका लागि  क्याम्ब्रिज युनिभसिर्टीले ‘टिचर सपोर्ट साइट’ को व्यवस्था गरेको छ । प्रत्येक कलेजले सो वेबसाइटको शुल्क तिरेर कलेजमा उपलब्ध गराएका हुन्छन् ।  यसको अध्ययनबाट प्राध्यापकहरुले विषयवस्तुको तयारी, शिक्षणपद्धति र परीक्षा प्रणाली आदिका बारेमा जानकारी प्राप्त गर्छन् । प्राध्यापकहरुले  इन्टरनेटको सहयोगले विश्वभरका ए लेभलका प्राध्यापकहरुसँग सम्पर्क र अन्तक्र्रिया गरी आफ्नो तयारी गर्छन् ।
पढ्न कहाँ जाने ? 
जिसिईले विगत ५० वर्षदेखि विश्वका करिब एक सय ७० देशहरुमा ए लेभल कक्षा सञ्चालन गर्दै आएको छ । नेपालमा करिब डेढ दशकदेखि ए लेभलको पढाइ सञ्चालनमा छ । विगतमा ओ लेभलसमेत सञ्चालन हुने गरेको जिसिईमा अहिले ए लेभल मात्र पठनपाठन हुने गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयले अहिले लगभग ७० विषयमा एडभान्स लेभल क्वालिफिकेसन (जसलाई ए लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ । नेपालमा भने १५ वटा विषयमा मात्र परीक्षा हुने गरेको छ । देशभर ए लेभलका ३४ वटा शिक्षण संस्था छन् । तीमध्ये उपत्यकामा ३०, पोखरामा तीन र विराटनगरमा एक वटा सञ्चालित छन् । ए लेभलमा बर्सेनि एक हजार पाँच सयदेखि दुई हजार नेपाली विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved