डा. नृहसिंहकुमार खत्री
५० वर्ष पार गरिसकेको महेन्द्ररत्न क्याम्पस इलाम २०१७ साल असार २१ गते स्थापना भएको हो । हाल यहाँ मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायमा गरी दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विज्ञान सङ्काय सञ्चालन प्रक्रिया रहेको यो क्याम्पसमा ८२ शिक्षक र ३२ कर्मचारी छन् ।संस्था सफलताको बाटोमा अगाडि बढ्न पूर्वाधार संरचनासँगै कुशल व्यवस्थापन र चल्ने प्रणाली हुनुपर्छ । सञ्चालक र सबै सदस्यहरुमा व्यावसायिक कला र चेत हुनुपर्छ । यही सोचाइबाट पे्ररित भएर २०६५ मङ्सिरदेखि इलाम क्याम्पसलाई विकेन्द्रीकरणको प्रक्रियाबाट स्वायत्ततामा लैजाने अभ्यास सुरु भयो । सोही क्रममा आन्तरिक एवम् बाह्यस्तरमा इलाम र काठमाडौंमा गरी धेरै वटा गोष्ठी, कार्यक्रम, छलफल, सेमिनार गरिए । विज्ञ एवम् सरोकारवालासहितका छलफलपछि २०६६ माघ १८ मा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार स्वायत्तामा लगियो । त्यसरी स्वायत्तामा जाँदा क्याम्पसले तत्कालै एकमुष्ठ स्रोत एक करोड ३० लाख रुपैयाँ पायो । त्यसबाहेक स्वायत्तताप्राप्त क्याम्पसका रुपमा विद्यार्थीहरु उत्तीर्ण गराएवापत विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने कार्य सम्पादन, परिपालन, प्रोत्साहन र जोड कोष अनुदान पाउन थाल्यो ।
अर्कोतिर भारतीय राजदुतावाससँग अनुरोध गरी तीन करोड ७२ लाख रुपैयाँको अनुदानमा २१ कोठे भवन बनाउने काम भयो । क्याम्पसलाई स्रोत–साधन सम्पन्न बनाउने अभियानमा स्वर्ण पुस्तकालय भवन बनाउन ७२ लाख २६ हजारको काम भएको छ । वल्र्ड लिङ्कको सहयोगमा २४ घन्टे इन्टरनेट सुविधा जुटाइएको छ । सबै शिक्षक–कर्मचारीले कम्प्युटर तालिम तथा निब्र्याजी ल्यापटप सुविधा पाएका छन् ।
अनुसन्धान एकाइ र भौतिक विकास
अध्ययन कार्यसँगै अनुसन्धानलाई जोडेर लैजान हाल रिसर्च इकाई क्रियाशील छ र यसको क्रियाशीलतामा १६ वटा मिनी रिसर्च कार्य प्राध्यापकहरुले पूरा गरिसकेका छन् । रिसर्च जर्नल र प्रतिवेदन प्रकाशन गर्ने काम भइरहेको छ । अनुसन्धानलाई अध्ययन–अध्यापन कार्यसँग जोडेर लैजान अनुसन्धनकर्ता विद्यार्थी र विज्ञहरुबीच छलफल कार्यक्रमले नियमितता पाएको छ ।
पठनपाठनमा गुणस्तर वृद्धिसँगै परीक्षाफलको नतिजामा सुधार आएको छ । विद्यार्थीहरुले नै क्याम्पसमा आन्तरिक मूल्याङ्कन परीक्षा होस् भनी माग गरेका छन् । त्यसका लागि नीति तथा विधि निार्मण प्रक्रियामा छ । अझै अनुसन्धान कार्यको गुणस्तर सुधारमा केन्द्रीय र क्षेत्रीय तहमा गोष्ठी गर्ने र विज्ञहरुसँग सहकार्य गर्ने प्रकिया बढिरहेको छ । युजिसी, इसिमोड र डेनमार्कको कोपनहेगन विश्वविद्यालयसँग सम्पर्क बढेको छ ।
नवीन कार्यक्रम सञ्चालन गर्ने क्रममा बागवानी र कृषि फूलखेती पढाइमा स्नातक तहको कोर्ष निमांणसँगै पढाइ सुरु गरिएको छ । प्रवेश परीक्षाको कार्यक्रम पूरा भइसकेको छ । त्यसको पढाइका लागि भौतिक र प्रयोगशालाको बन्दोबस्त भइसकेको छ ।
कर्फोक र कुँडुलेमा रहेको क्याम्पसको जग्गामा बाटो पु¥याउने काम भएको छ । त्यसमा जिल्ला विकास समिति, इलाम वन कार्यालय, गोदक, पञ्चकन्या, फिक्कल गाविस, स्थानीय नागरिक समाज सबैको सकारात्मक सहयोग मिलिरहेको छ । क्याम्पसभित्रै विद्यार्थीहरुको रेकर्ड कम्प्युटर तथा खाताबहीको रुपमा दुरुस्त पारिएको छ । पुस्तकालयमा बर्सेनि पाँच लाख मूल्यका नयाँ पुस्तक थपिने गरेका छन् । स्नातकोत्तर तहका शोधपत्रहरु हार्ड एवम् सफ्ट कपीसमेत पुस्तकालयका सम्पत्ति बन्दैछन् ।
क्याम्पसको आफ्नै इ–पुस्तकालय छ, जसमा इन्टरनेट सुविधा सहितका १६ वटा कम्प्युटर उपलब्ध छन् । छात्राबासमा पानी, बिजुली र टेलिभिजनको सुविधा छ भने व्यवस्थापन थप सुधार हुने क्रममा छ ।
अन्तर्राष्ट्रिय संघ–संस्था र नियोगबाट पनि परियोजना दिने, मिलेर काम गर्ने, सह–सम्बन्ध बढाउने कार्य भइरहेको छ । फिनल्यान्ड कन्सल्टेन्सी ग्रुपद्वारा सञ्चालित वातावरण सरसफाइ व्यवस्थापन परियोजनाअन्तर्गत वर्षाको पानी सङ्कलन, कम्पोस्ट च्याम्बर निर्माण र वातावरण संरक्षणको परियोजना चालू छ । क्याम्पस घेराबाराको काम पनि हुँदैछ । योसँगै विश्व बैंक अन्तर्राष्ट्रिय विकास कोष, एसियाली विकास बैंक आदिबाट प्रशस्त स्रोत–साधन र अवसर आउने विश्वास बढेको छ ।
सुध्रिँदै शैक्षिक वातावरण
इलाम क्याम्पसमा तालाबन्दी, बन्द–हडताल, चर्को विवाद जस्ता कार्य बन्द भएको छ । स्वायत्ततासम्बन्धी नियम २०६२ को प्रावधानबमोजिम सरकार, विश्वविद्यालय, शिक्षक कर्मचारीका प्रतिनिधि मिलेर क्याम्पसलाई निरन्तर गुणस्तरीय बनाउन नियमित संयोजन गर्ने काम भइरहेको छ । विद्यार्थीले स्वस्फूर्त रुपमा अङ्ग्रेजी भाषा, साहित्य विकास समिति बनाएका छन्, विभिन्न जातजातिका विद्यार्थीले बनाएका सांस्कृतिक–सामाजिक समूहले क्याम्पसभित्रै कार्यक्रम गरेर सहसम्बन्धको विकास गर्दै छन् ।
पत्र–पत्रिका प्रकाशित छन् । महिला, दलित, जनजाति विद्यार्थीलाई छात्रवृत्तिको सुविधा छ । गुणस्तर प्रमाणीकरण गराई प्रमाणपत्र पाउन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘स्वअध्ययन प्रतिवेदन’ तयार गर्ने काम भइरहेको छ । सोअन्तर्गत २६ वटा सेलमा एक सय चार शिक्षक तथा कर्मचारी कहिले समितिमा, कहिले आफैँ समूहमा बसेर छलफल र अन्र्तक्रियासँगै सामूहिकता र सहसम्बन्ध बढाउँदै छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !