Home »
उच्च शिक्षा
» होटल म्यानेजमेन्ट
होटल म्यानेजमेन्ट
Written By Neplee on Friday, September 21, 2012 | 5:33 AM
अध्ययनपछि सोझै रोजगार पाइने प्रयोगात्मक विषय हो होटल म्यानेजमेन्ट । यसबाट प्रमाणपत्र मात्र होइन, सीप पनि आर्जन हुन्छ । नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको मुलुकका लागि उपयुक्त विषय पनि हो यो । यसमा पाककलादेखि अतिथि सत्कारसम्मको ज्ञान दिइन्छ ।
व्यवस्थापन सङ्कायबाट प्लस टु, स्नातक एवम् स्नातकोत्तर तहसम्म होटल म्यानेजमेन्टको अध्ययन गर्न पाइन्छ । भोकेसनल ट्रेनिङका रुपमा समेत यो विषयको ज्ञान आर्जन गर्न सकिन्छ । सिटिइभिटीको सम्बन्धनमा देशभरका थुप्रै इन्स्टिच्युटले होटल म्यानेजमेन्टको रोजगारमुखी तालिम दिँदै आएका छन् ।
होटल म्यानेजमेन्टले नेपालमा मात्र नभएर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्ने बताउँदै साउथ एसिएन स्कुल अफ होटल म्यानेजमेन्ट विराटनगरका पुष्पराज पढालले पर्यटन व्यवसायसँग सम्बन्धित दक्ष जनशक्तिलाई सधैं रोजगारीको ढोका खुला रहने बताए ।
होटललगायतका सेवा व्यवस्थापनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्ट अध्ययन गर्नु अनिवार्य मानिन्छ । यसअन्तर्गत फुड प्रोडक्सन, हाउस किपिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मार्केटिङ, फ्रन्ट अफिस, सभिर्सजस्ता विषय पढ्नुपर्छ । यो विषय पढ्नेहरुले होटल, ट्राभल एजेन्सीजस्ता सेवाका कुनै पनि क्षेत्रमा काम गर्न सक्ने पढालको भनाइ छ ।
त्यसो त नेपालमा मात्र होइन, विश्व रोजगार बजारमै यस्तो जनशक्ति खपत हुने गरेको छ । अब्रोड स्टडीको तयारी गरिरहेका नेपाली विद्यार्थीहरुले विदेशमा काम गर्दै पढ्ने मानसिकता बनाउने गरेका छन् । यस्ता विद्यार्थीले पनि नेपालमै होटल म्यानेजमेन्ट अध्ययन गरेर जाँदा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ ।
उच्चमाध्यमिक शिक्षा परिषद्को सम्बन्धनमा थुप्रै प्लस टुले होटल म्यानेजमेन्ट विषयमा पठन–पाठन गराउँदै आएका छन् । प्लस टुमा यो विषयको आधारभूत ज्ञान मात्र दिइन्छ । फ्रन्ट अफिस, हाउस किपिङ, फुड एन्ड वेभरेज सर्भिस र फुड प्रोडक्सन यही तहमा पढाइ हुन्छ । सय पूर्णाङ्कको विषयमा ७५ प्रतिशत सैद्धान्तिक तथा २५ प्रतिशत प्रयोगात्मक हुन्छ ।
बिएचएम अध्ययनका लागि नेपालमा धेरै कलेज छन् । पूर्वमा भने साउथ एसियन कलेज अफ् टुरिज्म म्यानेजमेन्ट विराटनगरले बिएचएम र धनकुटाको राजारानीमा रहेको पुण्य उच्चमाविले होटल म्यानेजमेन्टको शिक्षा दिँदै आएका छन् । काठमाडौंमा भने व्यवस्थापन सङ्काय सञ्चालन गर्ने प्रायःजसो कलेजले यो विषय पनि पढाउने गरेका छन् ।
गेट कलेज, इन्टरनेसल स्कुल अफ होटल म्यानेजमेन्ट, मिड भ्याली कलेज अफ होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन, कान्तिपुर होटल म्यानेजमेन्ट कलेज, गेटवे कलेज आदि देशभरका ३० भन्दा बढी कलेजमा बिएचएम पढाइ हुन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चार, काठमाडौं विश्वविद्यालयअन्तर्गत दुई तथा पोखरा विश्वविद्यालयअन्तर्गत तीन वटा कलेजमा बिएचएमको पढाइ हुने गरेको छ । बाँकी कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालयको सम्बन्धनमा यो विषयको पठन–पाठन गराउँदै आएको पाइन्छ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर होटल म्यानेजमेन्ट कलेज तथा त्रिभुवन विश्वविद्यालयको नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले स्नातकोत्तरको कक्षा पनि सञ्चालन गरेका छन् ।
नेपालमा बिएचएमको तीन तथा चारवर्षे कोर्समा आठ सेमेस्टर पढाइ हुने गरेको छ । अधिकतर कलेजमा बिएचएम गर्न तीनदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ । विराटनगरको साउथ एसिएन कलेजले भने विएचएम कोर्स पूरा गरेको तीन लाख ६३ हजार लिदै आएको छ । दस जोड दुई वा प्रमाणपत्र तहको पढाइ पूरा गरेकाले बिएचएममा भर्ना पाउँछन् ।
Labels:
उच्च शिक्षा

0 comments:
Speak up your mind
Tell us what you're thinking... !