केका लागि पढाइ ?
Written By Neplee on Friday, September 21, 2012 | 5:34 AM
प्राविधिक शिक्षाले मात्रै रोजगारी दिलाउँछ भन्ने सोचले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गरेकी धरान–१७ रेल्वेकी देविका थापाले उच्चशिक्षालाई बीचैमा छोडिन् ।उनी २०६४ मा मानविकी सङ्कायमा पहिलो वर्षमा अध्ययन गर्न महेन्द्र क्याम्पसमा छिरेकी थिइन् । ‘यस्तो शिक्षाले रोजगारी दिँदैन,’ उनले भनिन्, ‘बुवा–आमाको करले मात्र क्याम्पस गएर हुँदैन भन्ने लागेर पढ्नै छोडिदिएँ ।‘
रोजगारी नपाइने र सीप पनि विकास गर्न नसकिने भन्दै युवाहरू औपचारिक शिक्षालाई उपेक्षा गर्न थालेका छन् । पढेर रोजगारी पाउने सम्भावना कम भएको भन्दै पढ्न छोडेर रोजगारीको खोजी गर्ने क्रम बढेको छ । ‘निम्न वर्गको भएपछि पढाइमा भन्दा पनि पैसा कमाउनमै ध्यान जाने रहेछ,’ थापा भन्छिन् ।
धरान–१६ स्थित चन्द्रसंस्कृत उच्चमाविमा कक्षा ११ अध्ययनरत सुजन खतिवडा पनि रोजगारी नपाइने चिन्ताले पढाइको औचित्य छैन भन्छन् । ‘जति पढे पनि रोजगार पाइँदैन, सोर्स–फोर्स लगाउनुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘काम पाइँदैन भने किन पढ्ने ?’ मध्यमवर्गीय परिवारका युवाले शिक्षा र रोजगारीसँगै लानु गाह्रो हुने उनको बुझाइ छ ।
प्राविधिक शिक्षा लिएकाहरू समेत पढिसकेपछि रोजगारी पाउने सम्भावना बढी हुने कुरालाई नकार्छन् । प्राविधिक शिक्षा पूरा गरेका विराट गौतमका अनुसार प्राविधिक शिक्षामा पनि प्रयोगात्मक व्यवहारिक ज्ञान पाइँदैन । पढेका कुरालाई व्यवहारिक रुपमै उतार्ने वातावरण नहुँदा प्राविधिक शिक्षा लिएका विद्यार्थी पनि
बेरोजगार बन्ने उनी बताउँछन् ।
प्राविधिक अध्ययन गरे पनि या अन्य शिक्षा लिए पनि सबैको अन्तिम गन्तव्य रोजगार र जागिर नै हो । तर, पहिले बीचैमा छोडेर अहिले फेरि अध्ययन गर्न थालेकी देविका शर्मा कमाउनका लागि मात्र पढ्ने होइन भन्न थालेकी छिन् । ‘कमाइको लागि मात्र पढाइ होइन रहेछ,’ उनी भन्छिन्, ‘नयाँ कुरा जान्नका लागि पनि पढ्नुपर्ने रहेछ ।’
औपचारिक शिक्षाको आवश्यकता नै नभएको भन्दै पढाइ छाडेकी उनको सोचाइ अचेल परिवर्तन भएको छ ।
रोजगारीका लागि गएका धेरै ठाउँमा शैक्षिक योग्यताको प्रमाणपत्र मागेपछि उनी आफ्नो करियरका लागि शिक्षा अपरिहार्य मान्न थालेकी छिन् । हरेक क्षेत्रमा शैक्षिक योग्यता सोधी–खोजी गरिने हुँदा अध्ययन जरुरी रहेको बताउँदै देविकाले भनिन्, ‘जागिर त त्यसपछिको कुरा हो ।’
कक्षा ११ मा अध्ययनरत भूमिका तामाङ भने नपढे नि जागिर पाइन्छ भन्ने तर्क राख्छिन् । उनी फेल भएका जति सहपाठीहरू पढाइलाई निरन्तरता दिने सोचमा नरहेको बताउँछिन् । पढ्नका लागि साथीभाइ नहुँदा मनोरञ्जन नै नहुने उनको तर्क छ । बुबाआमाको करले पढ्या हो त ? भन्ने जिज्ञासामा जवाफ हुन्छ, ‘हैन, बुबा–आमाबाट जबर्जस्ती छैन, मनलागे पढ मन नलागे नपढ् भन्छन् । कुनै बाध्यता छैन ।’
विद्यालय शिक्षामा आमा–बाबुले नियमित मूल्याङ्कन गर्ने तर, कलेज लाइफमा स्वतन्त्रता हुने भएकाले स्वतन्त्रतालाई नकारात्मक रुपमा प्रयोग गर्ने गरेकोले पनि विद्यार्थीहरूमा नैराश्यता पलाएको नेशनल मल्टिपल कलेजका प्रमुख सागर भट्टराईको ठम्याइ छ ।
‘उपयोगिताको शिक्षा नहुँदा विद्यार्थीहरू भाग्ने प्रचलन छ भने नेपालको शिक्षा आयतित हुने र यहाँको माटो सुहाउँदो र विद्यार्थीहरू सैद्धान्तिक शिक्षा नहुँदा पनि समस्या देखिएको हो ।’ भट्टराई भन्छन्, ‘स्कुल शिक्षा र कलेज शिक्षामा समयको केही अन्तर हुनु, विद्यार्थीको रुचिअनुसारको शिक्षा नहुनु, हरेक विद्यार्थीको रुचि क्षमताको
मूल्याङ्कन गर्ने परिपाटी नहुनुले पनि शिक्षाप्रति नैराश्यता बढ्ने गरेको छ ।’
विद्यार्थीको व्यावहारिक पक्षको मूल्याङ्कन गर्ने प्रणाली नहुनुसँगै सैद्धान्तिक ज्ञान मात्रै दिइनुले पनि विद्यार्थीहरूमा शिक्षाप्रति विग्रह उत्पन्न हुने गरेको उनी बताउँछन् । व्यावहारिक शिक्षा नहुँदा जागिर पाइँदैन भन्ने गलत सोचाइका कारण कतिपय विद्यार्थीले प्रवीणता प्रमाणपत्रतहदेखि नै पढाइलाई ब्रेक गर्छन् । तर, जब त्यसभन्दा माथि कक्षामा पुग्छन् त्यसपछि भने उनीहरूमा जिम्मेवारी बोध हुन्छ ।
जागिर पाइँदैन भन्ने सोचाइका कारण पनि धेरै विद्यार्थीहरूमा नकारात्मक सोचाइको विकास भएको नवज्योति स्कुलका शिक्षक वेदकुमार सुब्बा बताउँछन् । उनी भन्छन्, ‘जागिर पाइँदैन किन पढ्नु भन्दै जवाफ फर्काउने धेरै छन् । बुबा–आमाको लागि पढिदिएझै गर्छन् विद्यार्थीहरू, जुन उनीहरूमा विकसित हुँदै गएको नैराश्यता र गलत सोचको मिश्रित परिणाम हो ।’
पढेपछि जागिर पाउनैपर्छ भन्ने मान्यताले जरो गाड्दै गइरहेको छ । पढाइलाई जागिरको पर्यायवाचीको रुपमा हेर्ने कारणले पछिल्लो समयमा धेरै युवा–युवतीहरू पढाइभन्दा जागिर खाइहाल्ने र विदेश जाने लर्को चलेको चन्द्र संस्कृत उच्चमाविका प्राचार्य जनार्दन वस्ती बताउँछन् ।
निम्नमध्यम वर्गीय परिवारका सदस्यका लागि स्वाभाविक रुपमै जागिर पहिलो नम्बरमा पर्ने उनको धारणा छ । ‘पढाइले कमाउने वातावरण नबनाएपछि विदेसिन बाध्य हुन्छन्,’ उनले भने । यद्यपि पढाइलाई निरन्तरता दिएमा कुनै न कुनै दिन अवसर मिल्ने उनको तर्क छ ।
प्राचार्यकै तर्कलाई मान्छन् वाणिज्य सङ्कायमा कक्षा ११ अध्ययरत विद्यार्थी विशाल भण्डारी । उनी कसैले पनि आफ्ना लागि अध्ययन गर्नुपर्ने बताउँछन् । ‘जागिर दोस्रो कुरा हो, पहिलो आफूले अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘पढाइ पूरा गरेपछि कुनै न कुनै बेला अवसर कसो नआउला !’ उनले भने ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !