शिक्षामा देशकै प्रतिनिधि पूर्वाञ्चल - College Times : Educational Magazine
Headlines News :
Home » » शिक्षामा देशकै प्रतिनिधि पूर्वाञ्चल

शिक्षामा देशकै प्रतिनिधि पूर्वाञ्चल

Written By Neplee on Tuesday, May 15, 2012 | 5:36 PM

राजधानीलाई सबै सुविधाको लागि अग्रणी मानिन्छ । भनिन्छ हरेक क्षेत्रमा राजधानीले मात्र सहज पहुँच प्राप्त गरेको छ । तर, शिक्षाक्षेत्रमा भने पूर्वाञ्चलले देशकै नेतृत्व गरेको छ भन्दा अत्युक्ति नहोला । प्राविधिक शिक्षामा पूर्वाञ्चलको भूमिकाका कारण पूर्वाञ्चल शिक्षाको राजधानीको रूपमा विकास हुँदै गएको छ ।
देशकै प्रतिनिधित्व गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, मेची क्याम्पसलगायतले शिक्षासम्बन्धी विभिन्न कोर्स सञ्चालन गरिरहेको छ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन र कृषि इन्जिनियरिङले देशकै प्रतिनिधित्व गरेको छ । त्यस्तै, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा न्युट्रिसन एण्ट डाइटिसीयन र अर्को मेची क्याम्पस भद्रपुरमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट पनि देशभरमै अध्यापन हुने एकमात्र क्याम्पस हुन् ।
टी टेक्नोलोजी एण्ड मेनेजमेण्ट
झापा तथा इलाममा रहेका साना–ठूला गरी एक सय ४१ भन्दा बढी चिया कारखानाहरूले दक्ष जनशक्तिको अभावमा गुणस्तरीय चिया उत्पादन गर्न सकिरहेका छैनन् । विशेषगरी चिया विशेषज्ञहरू भारतबाट निर्यात गर्नुपर्ने समस्यासँगै बढी आर्थिक भार खेप्नु परिरहेको छ । विशेषज्ञता हासिल गर्न नेपालमा यस विषयको शिक्षा अपरिहार्य भए पनि पूरा हुन सकिरहेको थिएन । तर, शैक्षिक सत्र २०६८÷०६९ बाट मेची क्याम्पस भद्रपुरले टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट शिक्षाको अध्ययन–अध्यापन सुरु गरेको छ ।
यो शिक्षामा विशेषज्ञताका लागि विज्ञान विषयमा आइएससी वा प्लसटु गरेपछि चारबर्से कोर्स अध्ययन गर्न पाउँछन् । त्रिविअन्तर्गत नै रहने गरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमार्फत् यो शिक्षा लागू गरिएको हो । यस शिक्षाका लागि २४ कोटा छन्, जसमा यस वर्ष ३५ जनाले प्रवेशिकास्तर परीक्षा दिएका थिए । यो शिक्षाका लागि एक विद्यार्थीले करिब तीन लाख ३८ हजार खर्च गर्नुपर्ने क्याम्पस प्रशासनले जनाएको छ ।
नेपालमा राष्ट्रिय चिया तथा कफी नीति बनाए पनि कार्यान्वयनका पक्षमा भने सरकार आफैँ मौन रहेको टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषयमा स्थायी समिति सदस्य श्यामकुमार मिश्र बताउँछन् । उनका अनुसार चिया तथा कफी विकास बोर्ड छ तर, किसानहरूलाई फाइदा पुग्नेखालका अध्ययन–अनुसन्धान भने भएको छैन । देशकै प्रतिनिधित्व गर्ने यो शिक्षा मेची क्याम्पसमा लागू भएपछि भने मुलुकमै दक्ष जनशक्ति केही वर्षमा उत्पादन हुनेमा विज्ञहरू विश्वस्त छन् ।
विज्ञहरूले चियाको लागि माटो परीक्षण गर्ने, नर्सरी लगाउने, चियाको बुटा रोप्ने, स्याहार गर्नेदेखि चिया टिप्ने र प्रशोधन गर्ने प्रविधिको बारेमा जानकारी राख्नेछन् भने उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि पनि व्यवस्थापन प्रविधिको समेत सिकाइ हुन्छ । वि.सं. १९२० देखि नेपालमा चिया खेती सुरु गरे पनि विस्तार र गुणात्मक विकास गर्न, गोड्न, प्राविधिक जनशक्ति उत्पादन गर्न ध्यान दिइएको थिएन । सो कमीलाई पूरा गर्ने प्राविधिक उत्पादनका लागि गर्ने उद्देश्यले यो विषयमा अध्यापन थालिएको उनले बताए ।
टेक्नोलोजीका लागि २०६८ मै भारत आसामको जोराहाट विश्वविद्यालयमा गएर अध्ययन–अनुसन्धान गरी कोर्स डिजाइन गरिएको मिश्रको भनाइ छ । चिया नेपालबाट बढी निर्यात हुने एउटा महत्वपूर्ण कृषि उपज हो । दक्ष जनशक्ति उत्पादन भएमा चियाको विस्तार एवं विकासका लागि सहयोग पुग्ने र गुणस्तरीय चियाको उत्पादन नेपालमै हुनसक्ने उनको धारणा छ । ‘नेपालमा विस्तार भइरहेका हरेक चिया कारखानामा विशेषज्ञको आवश्यकता पर्छ त्यसलाई परिपूर्ति गर्नका लागि पनि सहज हुनेछ ।’
चियाक्षेत्रमा अवसरसँगै चुनौती पनि रहेको देख्छन् पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालका अनुसार आवश्यक पूर्वाधार, शिक्षक, उपकरण, मेसिन, ल्याबलगायतमा करोडौंको लगानी हुने गरेको छ । मेची क्याम्पससँग हाल भएको सय बिगाहा जग्गालाई टी प्लान्टेसन गर्ने योजनामा रहेको दाहाल बताउँछन् । त्यसबाट सीटीसी, अर्थोडक्स, र ग्रिन टीहरू उत्पादन गर्ने योजना छ । फार्मिङदेखि फ्याक्ट्रीको प्रोसेसिङ, मार्केटिङसम्मको शिक्षा यसभित्र पर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

रेफ एन्ड एसी
रेफ्रिजेरेसन एन्ड एयर कन्डिसन इन्जिनियरिङ शैक्षिक सत्र २०५३ सालदेखि सञ्चालित हुँदै आएको छ । एसएलसीपछि अध्ययन गर्न पाइने यो शिक्षाका लागि देशकै प्रतिनिधित्व गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान मात्रै हो । यसमा दुई महिलासहित २४ कोटा रहेको छ । सरकारी कोटामा तीन बर्से कोर्सको अध्ययन पूरा गर्न १५ हजार लाग्छ भने पेइङतर्फ ७० हजार खर्च हुन्छ ।
नेपालमा यसको महत्व बढ्दै गए पनि उच्चशिक्षाका लागि भने बीई नभएका कारण विद्यार्थीको सङ्ख्या कम हुने गरेको शिक्षक विश्वप्रशन्न अमात्यले बताए । नेपालमा टेली कम्युनिकेसन, होटल, हस्पिटल, अर्थोराइज डिलरहरूमा यसको काम हुने गरेको उनी बताउँछन् । आफैँले वर्कसप खोली आत्मनिर्भर बन्दै अन्यलाई पनि रोजगारको वातावरण सिर्जना गर्न सक्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसका प्रशस्त अवसरहरू रहेको शिक्षक अमात्यको दावी छ ।
एसी तथा रेफ्रिजेरेसनको क्षेत्रमा प्रगति हुन नसक्दा दक्ष जनशक्तिका लागि विदेशको मुख ताक्नुपरेको छ । रेफ एन्ड एसीमै स्नातक तह नभएका कारण विद्यार्थीहरू मेकानिकल गरी स्नातकोत्तर गर्नका लागि विदेशमै गई अध्ययन गर्नुपर्ने अवस्था छ ।
बढ्दो जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असरले हरेक सामग्रीहरू स्टोरेज गर्नुपर्ने बाध्यता बन्दै गएको परिस्थितिमा उद्योग, हस्पिटल, कृषिमा, वातावरण कन्ट्रोल गर्नका लागि कोल्ड स्टोरेजको आवश्यकतामा यो विषय लिएका विद्यार्थीहरूले अवसर पाउन सक्छन् ।
यसका चुनौतीहरू पनि त्यतिकै रहेको शिक्षक अमात्यको दावी छ । रेफ एन्ड एसीको बारेमा जानकारी कम हुनु र सिभिल साथै मेकानिकललाई मात्रै इन्जिनियरिङ सोचिएका कारण यो क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या कम छ । स्वेच्छाले पढ्ने विद्यार्थीको सङ्ख्या कम र पूर्वाधारलाई बढोत्तरी गर्न नसक्दा समस्या भइरहेको छ । ‘नयाँ–नयाँ प्रविधिहरू आएका छन्, त्यसलाई अपग्रेड गर्न सकिएको छैन’ उनी भन्छन्, ‘पाँच वर्षमा प्रविधिमा धेरै नै परिवर्तन भइसकेको हुन्छ ।’

कृषि इन्जिनियरिङ
शैक्षिक सत्र २०५७÷५८ देखि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सुरु भएको देशकै एकमात्र शिक्षा हो, कृषि इन्जिनियरिङ । यस शिक्षाका लागि ४८ कोटा रहेको छ । कृषिमा यान्त्रिकीकरण गरी कृषिलाई बढी उत्पादन गर्ने यसको प्रमुख ध्येय हो । आधुनिकीकरणको अभावमा कृषकहरूको आर्थिक उन्नतिलाई टेवा दिन नसकिरहेको बेलामा यस शिक्षाले कृषिलाई पूर्ण सहयोग गर्ने क्याम्पसका शिक्षण विभाग प्रमुख उद्धव श्रेष्ठ बताउँछन् । ‘कृषकहरूलाई बढीभन्दा बढी उत्पादन गर्ने बनाउने विधिको सिकाइ हुन्छ’ उनी भन्छन् ।
कृषिलाई उद्योगतर्फ डो¥याउनका लागि पनि यस शिक्षाको महत्वपूर्ण देन रहन्छ । तर, हाम्रोजस्तो देशमा कृषिलाई यान्त्रिकीकरण गर्न नसक्दा समस्या रहेको विद्यार्थी सुरज काफ्लेको बुझाइ छ । कृषि इन्जिनियरिङका लागि सिभिल इन्जिनियरिङको ३० प्रतिशत, मेकानिकल इन्जिनियरिङको ३० प्रतिशत र कृषिको ४० प्रतिशत अध्ययनको सम्मिश्रण हुने गरेको उनको भनाइ छ । ‘तर, कत्तिको बुझाइ कृषिमात्रै होला भन्ने छ,’ उनी भन्छन्, ‘तर, कृषिलाई आधुनिकीकरण गर्न सहयोग गर्ने सबै विषयहरू यसमा पर्छन् ।’ कृषिलाई विकास गरेर देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनका लागि यो शिक्षातर्फ आफू आकर्षित भएको उनी बताउँछन् ।
कृषि इन्जिनियरिङमा अध्ययन गर्नेहरू माटो, सिचाइँ, विकीरणीय उर्जासँग सम्बन्धित रहेर काम गर्न सक्छन् । कृषिका लागि चाहिने औजार तथा सामग्रीहरू पनि उत्पादन गर्नमा सहयोग पु¥याउँछ यो शिक्षाले’ कृषि विभाग उपप्रमुख यामकुमार राई भन्छन्, ‘भूमिलाई भौतिक, रासायनिक क्षयीकरणबाट बचाउन सहयोग गर्नु पनि यो शिक्षाको अर्को महत्वपूर्ण पाटो हो ।’ कृषि इन्जिनियरिङ सकेका जनशक्तिहरू विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूसँग सहकार्य गरेर वा आफैँ पनि रोजगारी सिर्जना गर्न सक्ने खुबी राख्छन् । सिचाइँ विभाग, कृषि विभाग, भूसंरक्षण तथा वन मन्त्रालयलगायतका सरकारी निकायले रोजगार दिन सक्छन् । यद्यपि अन्य विषयझैँ यसलाई चिनाउन सयम लाग्ने र प्रविधि तथा ल्याबहरूमा ठूलो धनराशि खर्च हुने गरेका कारण यो विषयको अध्यापन, अनुसन्धान, विकास र सञ्चालनमा चुनौती विद्यमान छ ।

पोषण तथा आहार विज्ञान
२०६२ सालदेखि राष्ट्रिय योजना आयोगले ध्यान दिन थालेको यो शिक्षा २०६७ सालदेखि मात्रै त्रिभुवन विश्वविद्यालयको आङ्गिक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले अध्यापनको स्वीकृति पायो ।
स्वीकृत पाएलगत्तै पहिलो वर्ष ९७ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । २४ जनाको कोटा रहेको यो विषय आईएस्सी वा विज्ञानमा प्लस टु गरेका विद्यार्थीले मात्रै अध्ययन गर्न पाउँछन् । प्रवेश परीक्षाबाट शीर्ष आठसम्म आउने विद्यार्थीले त्रिविको नोमिनलअन्तर्गत एक लाख तिरी अध्ययन गर्न पाउने सहायक क्याम्पस प्रमुख एवम् पोषण विभागका प्रमुख श्यामकुमार मिश्र बताउँछन् । ‘अन्य १६ जनाले भने तीन लाख १५ हजार खर्च गरी अध्ययन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘सन्तुलित आहार, खानेकुराको कमी हुने वा कुपोषणको प्रभावलाई हटाउने यसको मुख्य विषय हो ।’
नेपालको लागि यो विषय नौलो मानिन्छ । कुपोषणको सिकारले मानिसहरू मरेको खबरहरू सञ्चारमाध्ययममा आइरहँदा यस्तो रोगबाट मानिसहरूलाई बचाउनुपर्छ भन्ने लागेर यो विषय अध्ययन गरेको दोस्रो वर्षका विद्यार्थी अर्पण ढकाल बताउँछन् । खानपिन, अव्यवहार, अस्वस्थताका कारण कुपोषणको सिकार हुने समस्या बढ्दै गएकाले पनि त्यसतर्फ ध्यान दिँदै राष्ट्रिय योजना आयोगले यो शिक्षा लागू गरेको उनले बताए ।
पोषणविज्ञ भइसकेका जनशक्तिहरूले विशेषतः हस्पिटल, नेपाल सरकार तथा गैरसरकारी संस्थाले चलाएको परियोजना र जनस्वास्थ्य कार्यक्रमहरूमा रोजगार पाउँछन् । हाल देशमा जनशक्ति उत्पादन नहुँदा अहिले विदेशी अथवा विदेशबाट पढेर आएकाबाट काम चलाउनुपर्ने बाध्यता छ । स्टार होटल, खाद्य उद्योग, खेलकुद क्लब, जीमखाना, आर्मी तथा विद्यालयको होस्टललगायतक्षेत्रमा पोषणविज्ञको हाल ठूलो माग छ । तर, जनशक्ति कम भएका कारण त्यो पूरा हुन सकेको छैन । त्यस्तै निकट भविष्यमै नेपाल सरकारले प्रत्येक गाविस अथवा नगरपालिका पोषणविज्ञ राख्ने तयारी गरेकाले पनि यस विषय अध्ययन गरेका जनशक्तिले सहजरूपमा रोजगार पाउने छन् ।
भोजराज श्रेष्ठ
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved