शैक्षिक अप्रेसनमा अग्रजको दायित्व
Written By Neplee on Tuesday, May 15, 2012 | 5:40 PM
आजको पुस्ताले खोजेको शैक्षिक परिपाटी यस किसिमको फरकधारमा आधारित छ । आफूभित्र शैक्षिक जागरण ल्याउने सवालमा हिजोको पुस्ताले बाटो बिराएको छ । अतः नयाँ पिँढीका लागि नयाँ शैक्षिक मार्ग तयार गर्नु नितान्त आवश्यक भएको छ जसलाई निम्नानुसार सम्बोधन गर्न सकिन्छ ।
१. अतीतमुखी शिक्षाः हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा ‘आज’लाई नै भुलिन्छ र ‘भोलि’ अन्धकार हुन्छ । ‘आज’लाई पढ्न पाउनेले ‘भोलि’ आफैँ बनाउँछन् । ‘हिजो’मा भुल्दा त हाम्रो वर्तमान युग भताभुङ्ग र लथालिङ्ग भयो । वर्तमान पढाउन सके कसैलाई भविष्यको चिन्ता हुने छैन । वर्तमान पढेका मान्छेले स्वतः अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । यस्तै शैक्षिक वातावरणलाई निरन्तरता दिइरहने हो भने अतीतका मानसिक दरिद्रताका पाठहरू घोकाएर वर्तमान नर्कतुल्य पार्नुको विकल्प नै छैन । अतीत स्मृतिमा आधारित हुन्छ, बुद्धि जगाउने शिक्षा वर्तमानमुखी हुन्छ, भविष्यप्रति लक्षित हुन्छ । त्यसैले त अतीतबाट पाठ सिक्नुपर्छ । हामीलाई अतीतले जन्मायो, अतीतले हुर्कायो । तर, आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।
२. निश्चित शिक्षा ः शैक्षिक नीति भन्छ– ‘पाठ्यक्रम दिएको छु, पाठ्यपुस्तक थमाएको छु, शिक्षकलाई तालिम दिएको छु, शिक्षक त्यसैअनुरूप पढाउँदै छन्, पढाउने पनि छन् ।’ के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ ? असम्भव !
वास्तवमा मानवका लागि शिक्षा अनिश्चित हुन्छ । अनिश्चित ज्ञान दिएर सम्भव छैन । विद्यार्थी स्वयम्ले ज्ञान लिने परिपाटीको विकास हुनु आवश्यक छ । शिक्षकशिक्षिकाले त त्यसको पूर्वाधारको जग बसाल्ने हो, बाटो निर्देशित गर्ने, गराउने हो । त्यसप्रति वर्तमान शैक्षिक व्यवस्था अनभिज्ञझैँ छ ।
३. ‘टु पुस इन’मा आधारित शिक्षा ः शिक्षाले सिकारुको प्रतिभा प्रस्फुटनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकी अतीतमा सार्वजनिक भइसकेका सूचना र जानकारीहरू सिकारुको मनमा भित्र्याउने काम मात्र गरिरहेको छ । ‘टु ड्राउ आउट’को सिद्धान्तले सिकारुभित्रका कुरा बाहिर ल्याऊ भन्छ भने ‘टु पुस इन’को सिद्धान्तले बाहिरका कुरा जबरजस्त भए पनि भित्र घुसाऊ भन्छ । शिक्षाको वास्तविक ध्येय ‘टु ड्राउ आउट’को सिद्धान्तमा आधारित हुनुपर्नेमा ‘टु पुस इन’को सिद्धान्तमा आधारित छ । यसरी शैक्षिक क्षेत्रको प्रतिफल विद्यार्थीको हितसम्म पुग्न सकेको देखिन्न । विद्यार्थीको प्रतिभा प्रस्फुटन भन्नु नै उनीहरू भित्र रहेको ज्ञान बाहिर ल्याउनु हो । यसका लागि जिज्ञासु बन्ने वातावरण दिलाउनुपर्छ । विद्यार्थीले आफूभित्रका प्रश्न राख्ने प्लेटफर्म पाउँदा यो सम्भव छ ।
४. प्रतिस्पर्धात्मक शिक्षा ः शैक्षिक परिपाटीमा प्रतिस्पर्धाको खेल हुनु विडम्बनापूर्ण छ । ज्ञान हासिल गर्न कसैलाई उछिन्ने मानसिकता ठीक छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा बिल्कुलै अशोभनीय छ । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मनमा वितृष्णा उब्जिए मात्र शैक्षिक क्षेत्रमा नवीन अध्यायको सुरूवात हुन्छ । प्रतिस्पर्धाबाट अरूलाई पछारेर आफू अघि बढ्नु लोकप्रियता कमाउनु होइन । बरू अलोकप्रियता आर्जन हुन्छ । के कक्षामा भएका पैँतीस जनामध्ये प्रथम भई बाँकी चौँतीस जनाको मन कुल्चँदा उत्तम विद्यार्थी कहलिन सकिन्छ ? मनमा फाटो ल्याउने खालको चुनावी शिक्षा विडम्बनायुक्त छ । आजको पिँढीले कसैको स्तुतिगान गर्नु र कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालाले लाभ हैन जीवनलाई बोझिलो र निरस पार्छ । प्रेमलाई भगाएर, माया र सहानुभूतिको घाँटी दबाएर प्राप्त गर्ने प्रमाणपत्रको काम छैन । प्रतिस्पर्धा गर्न सिकाएर, अरूजस्तै बन्न लगाएर त आजको पिँढीले आफ्नो हैसियत र दायित्व भुलिरहेको छ । अनि ‘सबै हामी हौँ, हामी नै सबै हौँ’ भन्नुको सट्टा ‘सबै म नै हुँ । म नै हर कुरा हुँ’ भन्दै छ । त्यसैले आजका विद्यार्थीलार्ई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनु छैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयवद्धतालाई स्खलन गर्नुपरेको छैन ।
५. भौतिक उपार्जनमुखी शिक्षा ः आजको शिक्षा भौतिक उन्नति गर्ने सोचबाट प्रेरित छ । न त्यस सोचले पूर्णता पाएको छ, न बाटो नै बदलिएको छ । आफूले आर्जन गरेको ज्ञान र जानकारीका माध्यमबाट भौतिक उन्नति गर्न सक्ने अवस्था छैन । त्यही ज्ञानको जगमा उभिएर एकाध व्यक्ति आफ्नै खुट्टाले टेकेर जीवनरथ हाँक्दै छन् तर ठूलो छाती बनाएर बाँच्न भने सकेका छैनन् । आफूमा भएको प्रतिभाले जीवन चलाउन सक्षम हुने शिक्षा आत्मक्रान्तिन्नोमुखी शिक्षा हो । समाजको सोच स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ तर बाटाहरू प्रशस्त गर्न अक्षम छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । केहीलाई जागिर दिएर अरू सबैलाई शैक्षिक बेरोजगार पारेर शिक्षाले नै दास बन्न प्रेरित गरिरहेको छ । अध्ययनको एउटा चरण पार गरेपछि आत्मनिर्भर हुनुपर्नेमा त्यसो हुन सकेको छैन । आजसम्मको शिक्षाले बुद्धि त सिकाउँछ तर बुद्धिमान् बनाउन सकेको छैन । धन कमाऊ भन्छ तर धन कमाउने सीप दिँदैन, मार्गहरू खुलाउँदैन ।
६. अहङ्कारपूर्ण शिक्षा ः आज लेखपढ गरेका व्यक्तिमै अहङ्कार छ । ठूल्ठूला तहका प्रमाणपत्र बटुल्ने मान्छे नै बढी अहङ्कारी छन् । शैक्षिक जानकारी नै अहङ्कारपूर्ण छ । आजको शिक्षाले प्रेम सिकाउँदैन । केवल ईष्र्यालु विचार र भावनालाई प्रश्रय दिन्छ । अहङ्कार पतनको सङ्केत हो, प्रेमपूर्ण शिक्षा प्रगतिको संवाहक हो । अहङ्कारको नशा छुटाएर प्रेम र सहानुभूतिको बिजारोपण गर्न शैक्षिक परिपाटीमा आमूल सुधार आवश्यक छ । वास्तवमा शिक्षाले सिकारुमा अहङ्कार जन्माउनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनु शिक्षकको दायित्व बन्नुपर्छ । शिक्षक एक प्रकारको प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । यसो भएमा शिष्यले नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर फोहोर ठाउँ चहार्ने सुँगुरहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । आजका विद्यार्थीले अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने शिक्षा नै पाउनु बेस हुन्छ । आजसम्मको शिक्षा खरो अनुशासनमा आधारित छ । वस्तुनिष्ठ र मेसिनरी छ । त्यसै कारणले आज सबै जसोमा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ । हाम्रो अहङ्कारले भनिरहेको छ– ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरीमा चित्त बुझाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन, जनताको पनि होइन अब म सरकारको नोकर हुनुपर्छ । सरकारी नूनको सोझो गर्ने बन्नुपर्छ ।’ यसखाले चिन्तन भित्र्याउने शिक्षा दुर्भाग्यपूर्ण छ ।
७. त्रासमा आधारित शिक्षा ः अनुशासनले मान्छेभित्रको उत्सुकताको हत्या गरिरहेको छ । मानवीय भावनाको खुलमखुला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा तीतो यथार्थ भोग्न बाध्य हुनुको वैकल्पिक मार्ग छैन । यसको यथार्थ यस्तो हुन्छ– मनका कुरा भनेँ, चाहेका कुरा व्यक्त गरेँ भने अनुशासन भङ्ग होला कि ! सजायको कठघरामा उभिएर स्पष्टीकरणको लामो बयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि !’ यस्तै त्रासमा बाँच्नुपर्छ । मन खोलेर जुनसुकै जिज्ञासा शिक्षकनजिक ओछ्याउन पाइन्न । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर राख्नुपर्छ । विद्यार्थीले नमीठो अनुभवको सिकार भइरहनुपर्छ । भय र त्रासले तर्सिरहनुपर्छ । अतः आजका विद्यार्थीले मन खोल्ने मौका पाउनुपर्छ । ठीक–बेठीक भन्ने चेतना उघार्न पाउनुपर्छ । उज्यालो खोज्ने र भोग्ने हुनुपर्छ । अनुशासन नामको लगामले शिक्षक र विद्यार्थीबीच दूरी बढाउनु बिल्कुलै अशोभनीय हुन्छ ।
८. शिक्षक केन्द्रीत शिक्षा ः पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । मानवीय अभीष्ट क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीतिमा स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती बन्न पुग्यो । आज नयाँपुस्ताको अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु उनीहरूको कर्तव्य भएको छ । विद्यार्थीले उनीहरूबाट नै विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले सबैलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । विद्यार्थीलाईलाई केन्द्रमा राखेर शिक्षक परिधिमा रहने प्रकारको शैक्षिक परिपाटीको विकास हुनु नितान्त आवश्यक छ ।
९. उत्तरमुखी शिक्षा ः आजको शिक्षा उत्तरमा आधारित छ । पढाउने क्रममा नै शिक्षक पुस्तकमा समेटिएका सीमित प्रश्नको उत्तरमा केन्द्रीत रहन्छन् । विद्यार्थीले त्यतिमै सीमित रही चुप लाग्नुपर्छ । शिक्षकको दृष्टिमा विद्यार्थीको मनमा उब्जिएका हरेक कुराले उत्तर पाउनुपर्छ भन्ने छैन । विद्यार्थीलाई प्रश्नविहीन बनाउनु भनेको कि विद्यार्थी तिखारिएको विवेकवाला बन्नु हो कि जडबुद्धिवाला बनाउनु हो । अतः हरेक कुरामा विद्यार्थी प्रश्नको खोजीमा हुने वातावरण दिलाउनु नितान्त आवश्यक छ । प्रश्न जन्माउने खुबीको विकासले मान्छेको चैतन्य ऊध्र्वगामी बन्न जान्छ । सीमित उत्तरमा नै पूर्ण सन्तुष्ट रहेर प्रश्नोविहीन मनोदशामा हुँदा त्यो चैतन्य मुठारिन पुग्छ । अर्कातिर हामी शिक्षक विद्यार्थीलाई श्रद्धा गर्न सिकाउँछौँ, सम्मान गर्न लगाउँछौँ । शिक्षक श्रद्धेय नबनी र सम्माननीय नभई विद्यार्थीले त्यो ग्रहण गर्ने कुरै आउँदैन । शिक्षक फगत समाजको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिनतुल्य बनेका छन् । तर, शिक्षकले विवेकको बिर्काे खोल्न सहयोग गर्नुपर्छ । अतः विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ् । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । विद्रोह दबाउन दबाबको प्रयोग गर्ने हिम्मत गर्नुहुन्न । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह उर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नुपर्छ । विद्रोहको कारक तत्व पत्ता लगाउनुपर्छ । समाधानका लागि समस्या छ भने पारदर्शी ढङ्गले ओछ्याइदिनुपर्छ । उनीहरू आफैँ समाधान खोज्छन् ।
१०. वृत्तकारीय शिक्षा ः आजको शैक्षिक परिपाटी वृत्ताकारीय छ । जति चरण पार गरे पनि घुमिफिरी एकै ठाउँमा हुनेखालको शिक्षा लिइराखेका र दिइराखेका छौँ । शिक्षाले सिकारुमा नवीनभन्दा नवीन प्रज्ञाको ज्योति बाल्न सक्नुपर्छ । त्यो नभई जुन दियो बालिएको थियो, त्यसको प्रकाशमा तेज भर्ने काम मात्र अघिल्ला कक्षाले गर्दछ । एकथरी कुराको प्रभाव अनेकथरी कुरामा पर्दछ । शैक्षिक विषयवस्तुलाई निश्चित कोणबाट मात्र केलाउने प्रयत्न घातक हुन्छ । त्यही खेल अहिलेको शिक्षाले सिकाउँछ । फलस्वरूप हामी वृत्ताकारीयरूपमै फनफनी घुमिरहेका हुन्छौँ । ऊध्र्वगामी सोच भित्र्याउन विवेकपूर्णढङ्गले कोणकोणबाट विश्लेषण गर्न सक्नुपर्छ । त्यसको अभाव खड्किएको छ ।
११. पदमुखी शिक्षा ः हामीले त समय र परिस्थितिअनुसार हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने हुनुपर्छ । समयअनुसार कुलपति पनि बन्नुपर्छ र परिस्थितिले डोहो¥याएअनुसार ज्यामी–मजदुर पनि हुन रुचाउनुपर्छ । हाम्रो आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । हाम्रो भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कँज्याएर तलब–भत्ता पचाउनेमा हैन, मामका लागि काम पाउँदिन कि भन्नेमा हुनुपर्छ । हाम्रो शिक्षाले पदको भोक जगाइदिएको छ । प्रथम होऊ, सुखदायी ठाउँमा पुग भनिरहेको छ । सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा छ, प्रयोगात्मक छैन । सिद्धान्तको अन्धोभक्तताले ठूलाबडा हुन सिकाउँछ । श्रममा विश्वास छैन, पदमा भोक जगाउन प्रेरित गरिरहेको छ । त्यसैले पढेका मान्छे मानसिक श्रम गर्न रुचाए पनि शारीरिक श्रम भनेपछि तीन हात टाढै रहन्छन् । प्रतिस्पर्धामा लड र पदको सुखभोग गर भनिरहेको छ । आफूभित्र प्रज्ञाको, चैतन्यको दीप बाल र मान्छे बनेर देखाऊ भन्न सकेको छैन ।
अग्रजको दायित्व
अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा विडम्बनापूर्ण परिस्थिति भोग्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्ने सिर्जनात्मक प्रतिभाको कदर हुनुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवी त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो ? त्यो स्पष्ट हुनुप¥यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ । त्यसभन्दा बाहिर जाँदैन । हलो जोत्ने गोरुले हलो तान्न जान्दछ तर ठीकबेठीक के हो, छुट्याउन सक्दैन । के हामी मालिकको इसारामा नाच्ने बाँदर, भालुजस्ता जनशक्ति उत्पादन हुन् भन्ने चाहन्छौँ ? हामी त विवेकले काम गर्ने जनशक्तिको चाहना र कामना गरिरहेका छौँ । सैद्धान्तिक मार्गचित्रबमोजिम पढेको र घोकेको शिक्षाले मस्तिष्कको विकास त गर्छ तर हृदयको विकास ठप्प पार्छ । हृदयविनाको मान्छे गुलामबाहेक अर्थोक बन्न सक्दैन । म जे भन्छु त्यो मान् भन्नुको सट्टा मैले भनेको कुरा मलाई चाहिँ ठीक लागेको छ, तिमीलाई कस्तो लाग्छ भन्दियो भने बच्चामा खोजपूर्ण मन पैदा हुनसक्छ । आफैँले जन्माएका प्रश्नै–प्रश्नको घेरामा बच्चा रहने अवस्था आएमा उसमा सत्यको खोज गर्ने चाहना र सामथ्र्य विकसित हुँदै जान्छ । यसखाले वातावरण निर्माणमा हाम्रो भूमिका रहनुपर्छ ।
हरेक व्यक्तिका आफ्नै खालका इच्छा–आकाङ्क्षा हुन्छन् । सचेत बच्चा पनि आफ्नो इच्छापूर्ति गर्न प्रतिबद्ध हुनसक्छ तर बाबुआमा वा कसैको अपूरो इच्छापूर्ति गर्ने ठेक्का उसलाई स्वीकार हुन्न । किनभने ऊ पनि अरूजस्तै संसारमा साध्य भएर आउँछ, साधन भएर आउँदैन । अहिलेसम्मको महत्वाकाङ्क्षी समाजमा जसले अरूलाई जति बढी मात्रामा साधन बनाउन सक्यो, त्यति नै मात्रामा ठूलो मान्छे कहलिने काममा शिक्षित वर्ग नै सक्रिय छन् । आफू साध्य भएर रहन अरूलाई साधन बनाउनु के मानवोचित कार्य हो त ? अहँ, यो त चलाखी हो, महत्वाकाङ्क्षी सोच हो । यसखाले सोचले गर्दा त साधन बन्न विवशहरूले आफ्नो मौलिक व्यक्तित्व देखाउन सकेका छैनन् । आफ्नो मनलाई दबाएर, अरूको मनअनुरूप हिँड्न विवश छन् । अतः बच्चालाई जेहन्दार, तीक्ष्ण बुद्धि भएको बनाउन मातापितादेखि लिएर सामाजिक वातावरणको ठूलो भूमिका हुन्छ । प्रकृतिले शरीर दिए पनि उसको दिमाग भने समाजले दिन्छ । हामी जस्तो वातावरण दिन्छौँ, बच्चा त्यस्तै बन्छ ।
धर्तीमा अनुशासन सिकेर कोही आउँदैन । कसैले भनेको सरासर मान्नु बन्धन स्वीकार्नु हो । नमान्नु त्यसबारे आफ्नो धारणा बनाउनु हो । हरेक कुरा बुझेर मात्र स्वीकारेको र अपनाएको अनुशासनले बच्चालाई स्वतः मर्यादित बनाउँछ । उनीहरू सही मार्गमा त्यस बेलामा आउँछन्, जब उनीहरूको मस्तिष्कमा बौद्धिकताको मूल फुट्छ । त्यो मूल फुट्न बच्चालाई पूर्ण स्वतन्त्रता दिनु र दिलाउनुपर्छ । गलत काम र ठक्करले सिकाइ हुन्छ । जति बढी गल्ती हुन्छ र सिकारूमा जति बोध हुन्छ, त्यत्ति नै सिकाइ हुन्छ । बच्चा मर्यादित र अनुशासित हुँदा त सिकाइ गर्नै सक्दैनन् । मात्र अनुकरण गर्न सक्छन्, सिद्धान्त घोक्न सक्छन् । त्यसबखत हामीले बच्चालाई आफ्नो शरीरको सुरक्षा गर्ने सिद्धान्त दिनु भने अनिवार्य हुन्छ । बच्चालाई स्वतन्त्र छाडिदिनुपर्छ । नियन्त्रण गर्ने इरादाले निश्चित कुरा भन्नुहुन्न । बच्चालाई रिसाउन क्रोधित हुन दिनुपर्छ । त्यसमा समेत शरीरभरि ऊर्जाको पुञ्ज बग्छ । प्रसन्न मुद्रामा हुँदा अझ उनीहरूको मुहारमा सौन्दर्यता झल्कन्छ । धेरै मान्छे सल्लाह दिन्छन् तर लिने भने विरलै हुन्छन् । अतः सल्लाह दिने भूल गर्नुहुन्न । समझदार बन्न सहयोग गर्नु नै पर्याप्त हुन्छ । बच्चाको रेखदेखमा भने पर्याप्त समय दिनुपर्छ । बच्चालाई एकान्तमा रहने, सोच्ने र खेल्ने मौका पर्याप्त मात्रामा दिनुपर्छ । यसो गर्न सके उनीहरू स्वयम् आफ्नो विकास आफैँ गर्न सक्छन् । बच्चालाई एक्लै छाड्नु त हुन्न तर अभिभावक बाधक भने बन्नुहुन्न ।
गम्भीर नबन्नु र हँसिलो मुद्रामा हरबखत प्रस्तुत हुनु विद्यार्थीहरूको बानी हुन्छ । विद्यार्थीको यस्तो हाँसिरहने बानी खराब बिल्कुलै होइन । कुरा बुझाइ र विश्लेषण गराइमा कमी हुँदा यसले समाजमा गम्भीर बाधा पर्दछ भन्ने सोच हाम्रो रहन्छ जुन भ्रमपूर्ण छ । बालबालिकाका निम्ति हाँसोले बुद्धि बृद्धिका लागि अस्त्रको काम गर्दछ । सबै बच्चा हाँस्यवृत्तिका साथ जन्मन्छन् । उनीहरूको मौलिकपन हटाउन खोज्नु भनेको घाँटी निमोठ्नु हो । त्यसकारण हामी समाजका टाठाबाठाहरू बालबालिकाको जीवनमा गम्भीर चोट पार्न खोजिरहेका छौँ । के पशुपक्षीहरू हाँस्छन् त ? उमेर छिप्पिदै जाँदा स्वतः गम्भीरता बढ्दै जान्छ । बच्चाको निम्ति गम्भीरता त एक प्रकारको रोग हो । जोसँग प्रतिभा छ, त्यो सचेत बन्छ तर गम्भीरतालाई अङ्गालेर रहन सक्दैन ।
विद्यार्थी चञ्चल हुनुले अराजकता निम्त्याउँदैन । त्यसले त बौद्धिक विकासमा ठूलो भूमिका पो खेल्छ । चुलबुल नगर्ने बालबालिकाहरू जड बुद्धिका हुन्छन् । चञ्चलता प्रदर्शन गर्नेले कठिन कुरा पनि सरल तवरले बुझ्न र ग्रहण गर्न सक्छन् । बौद्धिक व्यक्तित्व निर्माणमा उनीहरूमा भएको चञ्चलता सहयोगी हुन्छ । कलिलो उमेरमा चञ्चलता दमनको नीति लिने हो भने अनिष्ट निम्तिन सक्छ । होसियार बच्चाले मात्र हरेक कुरामा चासो राख्छन् । सबै कुरा जान्न र बुझ्न खोज्छन् । यी कुरा अनावश्यक नभई आवश्यक हुन् । यसखाले प्रवृत्तिले उनीहरूको पढाइमा बाधा पार्ने कुरा आउँदैन । बरू सहयोग मिल्दछ । हरेक कुराको खोज गरी सत्य कुरा ग्रहण गर्ने बानीको विकास हुन्छ । स्वयम् जान्न र बुझ्न उद्यत हुनु भनेको गर्वलायकको कुरा हो ।
पतिपत्नीको रतिक्रिडाको समयमा आधारित मानसिकता, गर्भावस्थामा आमाको चालचलन र सोचविचार, प्रसवास्थामा आमाको मानसिकता, जन्मेपछिको बच्चाले पाउने सामाजिक वातावरणसम्मको प्रभाव बच्चामा पर्छ । विशेषगरी अभिभावकको सोच र क्रियाकलाप अनुकूल भए बच्चामा पनि अनुकूल र प्रतिकूल भए प्रतिकूल प्रभाव पर्दछ । वातावरण क्रोधित, झगडालु वा हिनताबोधी भए बच्चा त्यस्तै हुन्छन् । हामी बच्चाबाट आदर र सम्मानको अभिलाषी हुनुहुन्न । उल्टै उनीहरूलाई सम्मान र आदर गर्नुपर्छ । यसबाट उनीहरूलाई समझदार बनाउन सकिन्छ । तँ ऊजस्तै बन् भनेर तुलना गर्ने र उसको क्रियाकलापविरुद्ध पटकपटक जाने काम गरियो भने बच्चा कि हिनताबोधले ग्रसित बन्छ कि उग्र अहङ्कारी हुन्छ । उनीहरूले जान्नुपर्ने सत्यको लागि सिद्धान्त घोकाउनु जरूरी छैन तर सत्यको खोज कसरी गर्ने भन्ने शिक्षा दिनु भने जरुरी छ । जिज्ञासु बन्ने, प्रश्न राख्ने र खोजअनुसन्धान गर्ने शिक्षा दिनु आवश्यक हुन्छ । उपदेश दिएर हैन, नैतिकता, धर्म र संस्कृतिका कुरा भनेर समेत होइन, सहयोग गरेर, मानसिक ऊर्जा दिएर, सुरक्षित पारेर र रक्षा गरेर उनीहरूलाई जागरूक र बुद्धिमान बनाउनुपर्छ । टेलिभिजनहरूबाट हिंस्रक दृष्य देखाउने हैन, इतिहास, भूगोल, साहित्य, विज्ञान, सङ्गीत आदि विधाका रचनात्मक र सिर्जनात्मक कुरा देखाउने गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के हो भने बच्चाको मागप्रति नकारात्मक सोच राख्नुहुन्न । नकारात्मक कुराले बच्चाको सोचलाई नै नकारात्मक बनाइदिन्छ । जिज्ञासालाई दबाउने हैन उकास्ने र प्रोत्साहित गर्नाले सकारात्मक प्रभाव पर्छ । आफूले जानेका कुरा रिठ्ठो नबिराई भनिदिने गर्नुपर्छ तर नजानेको कुरा चाहिँ झूटो भनिदिने काम बिल्कुलै गर्नुहुन्न । बरू जान्दिनँ भनेर भनिदिनु नै उत्तम हुन्छ ।
बच्चामा एकाधिकार जमाउनु सर्वथा अनुचित कुरा हो । म आमा हुँ, म बाबु हुँ वा म बच्चाको यो हुँ र त्यो हुँ भनेर एकाधिकार जमाउन खोज्दा व्यक्तिको व्यक्तित्व नष्ट हुुन पुग्छ । अरूलाई पनि आफ्नै सम्झन सक्ने अवस्था दिलाउन सकेमा मात्र त्यो फलदायी हुन्छ । कतिपय बच्चाहरू अत्याधिक माया र अति मोहयुक्त नियन्त्रणले मात्तिएका र पात्तिएका देखिन्छन् । त्यसो हुनुमा अभिभावक नै जिम्मेवार छन् । जीवनलाई मन्दिर हैन कारखानामा परिणत गरिदिने भए मात्र बच्चाको स्वतन्त्रता र चाहनामा अङ्कुस लगाउनुपर्छ । हैन बच्चालाई स्वावलम्बी, कर्मयोगी र बुद्धिमान् बनाउने हो भने हरेक अभिभावकले समेत नयाँ शिक्षा लिनुपर्छ । पुरानो शिक्षाको जगमा उभिएर बच्चामा रहेको जीवन्तपनलाई मेट्न खोज्ने हो भने बच्चाका लागि अभिभावक बरदान हैनन् अभिशाप ठहरिन्छन् । किनभने बच्चाको त्यो जीवन्तपन दबाउँदा गम्भीरपन निर्माण हुन्छ । त्यसले सिकाइलाई सीमित पार्छ, बौद्धिकताको मार्ग थुन्छ । धन र पदमा सन्तुष्ट रहन सिकाउँछ । मानव जीवनको सार त्यत्तिमा मात्रै सीमित छैन । बच्चाले त खोजयात्रामा पो निस्कनुपर्छ । जीवनभरि नयाँ–नयाँ कुरा खोजिरहनुपर्दछ । त्यो प्रतिभा दिलाउन बच्चासँगको दूरी घटाउनुपर्छ ।
इमान्दारी, सच्चाइ र निष्ठाका साथ बच्चा हामीसामु हृदय खोल्छ तर हामी भने कार्यको बोझले जवाफ फर्काउँदैनौँ र फराकिलो खाडल तयार गरिरहेका हुन्छौँ । यस किसिमको विडम्बनालाई निर्मूल पार्न आफ्नो मन बच्चासँग साट्नुपर्छ, बदलामा बच्चा पनि आफ्नो मनपेट दिन्छ । अभिभावक एक मित्र, एक सहयोगीका रूपमा प्रस्तुत हुनुपर्छ । समग्रमा के बुझ्नुपर्छ भने बच्चालाई केकस्तो आकार र रूप दिने हो, त्यसको जीवनलाई कतातिर लग्ने हो, कहाँ पु¥याउने हो ? ती सबै हामी अग्रजकै हातमा छन्, हाम्रै क्रियाकलापमा आधारित छन् । उनीहरू त केवल गिलो माटो मात्र हुन् । दक्ष वा अदक्ष कुमाले त हामी नै हौँ ।
नन्दलाल आचार्य
0 comments:
Speak up your mind
Tell us what you're thinking... !