बन्दै–बन्दले विद्यार्थी आजित
Written By Neplee on Tuesday, May 15, 2012 | 5:29 PM
बालबालिकालाई शान्ति क्षेत्र घोषणा गर्ने घोषणापत्रमा प्रमुख राजनीतिक दल तथा तीनका भातृ संगठनहरुले विभिन्न समयमा हस्ताक्षर गरिसकेका छन् । यससम्बन्धी नेपाल सरकार तथा प्रमुख राजनीतिक दलले अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धिलाई समेत अनुमोदन गरिसकेका छन् । सार्वजनिक समारोहमा समेत बालबालिकालाई पढ्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि आन्दोलनका समयमा भने आन्दोलनकारी पक्षबाट स्कुल बसलाई समेत अवरोध हुने गरेको शिक्षक तथा अविभावकको आरोप छ ।
देशभर अनेक जातजातिको नाममा भएको बन्दका कारण वैशाखको अन्तिम साता बजार, यातायात तथा उद्योग, विद्यालय बन्द भयो । मोटरसाइकल चल्न दिइए पनि बन्द कडा भएको सर्वसाधारणले अनुभव गरे ।
त्यही मेसोमा पकली चोकमा बन्दको नाममा एउटा उल्लेख्य दृश्य देखियो । सो बन्द कुनै पार्टी वा संगठनले गरेको थिएनन् । स्कुले बालबालिकाले बन्दको विरोध गर्दै बन्द गराएका थिए । स्कुल जान नपाएको भन्दै बालबालिकाले सडकमा डोरी टाँगेर महेन्द्र राजमार्ग अवरुद्ध गरे । बालबालिकाको बन्दमा परेकाले बालबालिकालाई चकलेट र पैसाको लोभसमेत देखाए । तर डोरी टाँगेर बसेका बालबालिकाले उनीहरुलाई ढिम्किन पनि दिएनन् । ‘चकलेट चाहिँदैन,’ बालबालिकाले भने, ‘बरु पढ्न देऊ’ ।
ती बालबालिकाले सडकमा डोरी टाँगेर दुई घन्टा राजमार्ग अवरुद्ध नै पारे । ‘हामीले पढ्न नपाएको एक हप्ता भइसक्यो ।’ बक्लौरी–१ मा रहेको स्टेन्डर्ड इङ्लीस स्कूलमा कक्षा ४ मा पढ्ने कञ्चन दाहालले भनिन्, ‘वैशाख लागेदेखि महिनाभरि जम्मा पाँच दिन मात्र विद्यालय जान पाइयो ।’ विद्यालयले बस नपठाइदिँदा स्कुल जान नपाएको उनको गुनासो थियो । लगातारको बन्दका कारण आफूहरुले पढ्न नपाएकोमा आक्रोशित उनको पतिक्रिया थियो, ‘जबसम्म हामीलाई स्कुल जाने र पढ्ने वातावरण बनाइँदैन, तबसम्म हामी पनि बन्द गछौँ ।’
दुई हप्तायताको लगातारको बन्दका कारण दुई हप्तामा दुई दिन मात्र विद्यालय लागेकोले आफूहरुले पढ्न नपाएको भन्दै पकलीमा विद्यार्थीहरु आक्रोशित देखिन्थे । छोराछोरीको भविष्य बिग्रिने डरले अविभावकहरु पनि सडकमा छोराछोरीसँगै हात बाँधेर बाटो छेक्न बसेका थिए ।
‘महँगो शुल्क तिरेर खाई–नखाई आफ्ना छोराछोरी पढाउन पैसा जुटाएका छौँ ।’ इटहरीस्थित एक निजी विद्यालयमा आफ्नो छोरा पढाउने अभिभावक राधा शर्माले स्कुल बस नआएको गुनासो गर्दै भनिन्, ‘धनीका अविभावकले मोटरसाइकल र साइकलमा राखेर पु¥याइदिन्छन्, हामी पैसा नहुनेले कसरी लाने ?’ दैनिक स्कुल बस कुर्ने गरे पनि नआएपछि छोराछोरी निराश हुने गरेको बताउँदै उनले बालबालिकाको मनमा निराशा र आक्रोश भरिएको बताइन्् ।
बन्द खुलाउन आएका ट्राफिक प्रहरीहरु बालबालिकाले डोरी टाँगेर बन्द गरेको देखेपछि मुकदर्शक बनेर फर्केका थिए ।
बजार, एम्बुलेन्स, मोटरसाइकल सञ्चालनमा आउन दिएका बेलामा स्कुल बसलाई समेत चल्न दिई विद्यालय सञ्चालन हुने वातावरण बनाउनुपर्ने झुम्कास्थित लर्डबुद्ध उच्चमाविका प्रिन्सिपल बाबुराम खड्काले बताए । ‘एम्बुलेन्स, दूध बोकेको गाडी, जन्ती बोकेको बस र मोटरसाइकललाई जान दिइन्छ,’ उनले भने, ‘तर, भविष्यका कर्णधार मानिने बालबालिकाको शिक्षामा नै असर गर्ने गरी स्कुले बसको चाबी खोसिन्छ ।’ उनले बन्दका बेलामा पनि स्कुलबस सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।
लगातारको बन्दका कारण विद्यार्थी तथा अविभावकहरु जेठ अन्तिम सातासम्म पढ्न नपाउने अवस्था देख्छन् । अभिभावक सीमा कोइराला भन्छिन्, ‘राजनीतिक अस्थिरताले बालबालिकाको पढाइ चौपट भइसक्यो, जेठ अँितम साता यता विद्यालय सञ्चालन हुने छाँट देखिँदैन ।’ उनले लामो समय बन्द हुँदा शिक्षामा लगानी बालुवामा पानीझैँ भएको र छोराछोरीको भविष्यसमेत डामाडोल हुने अवस्थामा पुगेको बताइन् ।
स्कुलको पोशाक लगाएर विद्यालय जान ठिक परेको छोराको लागि बस नपाएपछि आक्रोशित अर्की एक अभिभावक महिलाले राजनीतिक मागका लागि सर्वसाधारणको दैनिकीमा असर पुग्ने गरी सडक बन्द नगर्न अनुरोध गरिन् । ‘ठूला मागलाई सामान्य जनतालाई दुःख दिएर किन पूरा गर्न खोज्नुहुन्छ ?’ बन्दकर्ताहरुसँग उनकोे प्रश्न छ ।
सुनसरीमा करीब तीन सय निजी विद्यालय छन् । ती विद्यालयमा तीस हजारभन्दा बढी विद्यार्थीहरु पढ्छन् । सरकारी विद्यालयको समेत जोड्ने हो भने यो झण्डै ८० हजार हुन्छ ।
आफैले लगाए ताला
निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरुको संगठन प्याब्सन मोरङले दुईसाता विद्यालय बन्द गरेको छ । बन्द र हड्तालका कारण पठन–पाठन हुन नसकेपछि यस्तो निर्णय लिनुपरेको प्याब्सन मोरङले जनाएको छ । आफ्ना माग पूरा गराउनकै लागि शिक्षण संस्था बन्द नगराउन पटक–पटक बन्दकर्ताहरूसँग आग्रह गरे पनि सफल हुन नसकेपछि केही समययता अध्ययन–अध्यापन अवरुद्ध हुँदै आएकोले बिदा दिइएको प्याब्सन मोरङ अध्यक्ष खम्बसिंह बस्नेतले बताए ।
यो बिदालाई गर्मी बिदा तथा अन्य बिदाहरूमा समायोजन गर्न सकिने प्याब्सन मोरङले जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !