नाटकमा वेदना
Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM
‘बुवा, कहिलेकाँही भेट्न आउनु ल !’ विराटनगरकी २६ वर्षीया अस्मिना कर्णले नाटकमा घरेलु श्रमिक देवीको भूमिकामा आफ्ना बुवासँग आग्रह गरिरहँदा दर्शकदीर्घामा रहेकी सञ्चारकर्मी प्रतिक्षा पोखरेलको आँखाबाट आँसु झरे । उनले आँसु पुछ्दै भनिन्, ‘साह्रै मार्मिक रै’छ !’ प्रतीक्षाको मात्र हैन विराटनगरस्थित गुरुकुलमा आयोजित लिलिपुट मन्टेश्वरीको अभिभावक दिवसको कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए ।
सानैमा आमालाई गुमाएकी देवीले बुबाको जागिरका कारण आफ्नै घरमा बसेर पढ्न पाइनन् । थोरै कमाइ भएका कारण उनलाई आफ्नै बुबाले पहाडबाट विराटनगरसम्म ल्याए कृष्णप्रसादको घरमा । कृष्णप्रसाद र राधा दम्पतिले पनि देवीलाई पढाइदिने वाचा गर्दै आफ्नै साथमा राखे । देवी र उनका बुबाको एउटै सपना थियो, देवी पढेर ठूली हुन्छे । यो सपना सार्थकतामा बदलिँदै थियो ।
मुटुकी टुक्रा, एकमात्र सन्तान देवीलाई छाडेर जाने बेलामा उनका बुबाले सम्झाए, ‘साह्रै असल मान्छे रहेछन् । राम्ररी पढेस् छोरी, ठूली भएर मलाई पनि पाल्नु ।’ देवीले आँशुका धारा बगाउँदै भनिन्, ‘हुन्छ बुबा तर कहिलेकाँही भेट्न आउँदै गर्नु ल !’
नेपालका गाउँ तथा शहरमा रहेका श्रमिक बालबालिकाकी प्रतिनिधि पात्र हो देवी । भरे भोलि भन्दै तीन वर्ष अर्काको घरमा काममात्रै गरेर बिताए पनि अन्त्यमा पढ्न पाएकी देवीको मुहारमा झल्किएको खुसी भावलाई धेरै दर्शकहरुले अनुभव गरे । गरिबीका कारण अर्काको घरमा बसेर पढ्ने इच्छा बोकेर आएकी देवी नामक पात्रलाई पढ्ने अधिकारबाट वञ्चित गरी मात्र बालश्रमिक बनाएर राखेको मार्मिक कथा समेटिएको यो नाटकलाई उपस्थित धेरैले मन पराए ।
जीवन्त प्रस्तुति गरेका बालबालिकाको अभिनयले धेरैलाई गम्भीर बनाएको थियो । बालश्रमिक र आफ्ना सन्तानलाई गरिने फरक व्यवहारलाई समेत जीवन्त प्रस्तुत गर्दै बालबालिकाको हक–अधिकार सुनिश्चितताको लागि नाटकले सघाउ पु¥याएको अभिभावक तीलकुमारी शर्माले बताइन् ।
कार्यक्रममा लिलिपुट मन्टेश्वरीका बालबालिकाले विभिन्न नाचगान र संस्कृति झल्कने फेसन सोसमेत गरेका थिए । १८ महिनादेखि ६ वर्षसम्म अध्ययन गर्ने मन्टेश्वरीमा यस वर्षदेखि १२ महिनादेखिका बालबालिका राखिने प्रिन्सिपल अमिना तिम्सिनाले बताइन् । पूर्ण मन्टेश्वरी प्रविधिबाट दक्ष शिक्षकले अध्ययापन गराउने यस चिल्ड्रेन हाउसले दिवसकै अवसरमा स्थानीय एक वृद्धाश्रमलाई ११ हजार एक सय ११ रुपैयाँको चेकसमेत हस्तान्तरण गरेको थियो । चिल्ड्रेन हाउसमा हाल एक सय ११ जना बालबालिका अध्ययनरत छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !