प्रतिष्ठा Vs एसएलसी - College Times : Educational Magazine
Headlines News :
Home » » प्रतिष्ठा Vs एसएलसी

प्रतिष्ठा Vs एसएलसी

Written By Collegetimes on Friday, April 18, 2014 | 2:12 AM


भोजराज श्रेष्ठ

‘फलामे गेट’ राम्रो तरिकाले पार गर्नु विद्यार्थीका लागि मात्रै हैन, विद्यालयका लागि पनि उत्तिकै चुनौती बन्न थालेको छ । कारण, नेपाल सरकारले यस वर्षबाट सेन्ट–अप परीक्षाको खारेजीले विद्यालयको आँकलनमा थप चुनौती थपिदिएको छ ।

सतप्रतिशत नतिजामा रमाउँदै आएका निजी तथा सामुदायिक स्कुलहरूका लागि सेन्टअप परीक्षा खारेज हुनु अहिले मुख्य काउसो बन्यो । यस्तोमा धरानका चर्चित निजी विद्यालयहरूको परीक्षाफल सतप्रतिशत नै होला ? के साँच्चै उनीहरूको प्रतिष्ठा  उस्तै रहला ? भन्ने जिज्ञासा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा हुनु स्वाभाविक छ । तर, शिक्षक तथा प्राचार्यहरूले नै यो वर्ष एसएलसी रेट के होला भन्ने आँकलन गर्न सकेका छैनन् ।

निजीतर्फ उत्कृष्ट हुँदै आएको विष्णु मेमोरियल उच्चमाविका प्राचार्य बेनिन्द्र कटुवालले सेन्टअपको खारेजीले विद्यार्थीहरूमा पढ्ने वातावरण र मेहनत गर्नुपर्छ भन्ने मानसिकता हटाइदिएको दाबी गर्छन् । उनको भनाइले सरकारी नीति एकातिर फलदायी होला तर विद्यालयहरूका लागि भने टाउको दुखाइको विषय बनेको हुन्छ । यस्तो अवस्थामा एसएसली साँच्चै मर्यादित र विद्यालयले सोचेअनुसारको होला त ?
कुनै बेला एसएलसीमा कति पास र कति फेलको कुरा चल्थ्यो । तर, अहिले कति विशिष्ट र कति प्रथम साथै विद्यालय सतप्रतिशत भयो कि भएन भन्ने विषय मुद्दा हुने गर्छ । त्यही भिडमा धरानका केही निजी र सामुदायिक विद्यालयको प्रतिस्पर्धा उल्लेख्य छ ः 

विष्णु मेमोरियल :
२०४६ सालमा स्थापित यस उच्चमाविले २०६० सालदेखि एसएलसी दिन थालेको हो । गत वर्ष केही चुके पनि ऊ अहिलेसम्म हरेक वर्ष उच्च अङ्क मात्रै हैन, सतप्रतिशत हुँदै आएको छ । यस वर्षको तयारी सोचेअनुरूप भएकाले सतप्रतिशतमा हुनेमा आशावादी रहेकोे प्राचार्य बेनिन्द्र कटुवालले बताए । ‘हाम्रो सधंैभरि रिजल्ट राम्रै छ,’ उनी भन्छन्, ‘यो वर्ष पनि तयारी राम्रै भएकाले हामी सतप्रतिशत नै हुन्छौं होला । तर, पनि परीक्षा हो, यसै भन्न सकिन्न ।’ गत वर्ष एसएलसीमा सहभागी ७२ मध्ये एक जना विद्यार्थी नतिजा ल्याउनबाट चुकेका थिए भने यो वर्ष ८४ जना एसएलसीको दौडमा छन् । कति पास हुने हुन् वा होइनन् त्यो समयले बताउँला तर, सेन्टअप खारेजी र ७५ प्रतिशत हाजिरीलाई मान्यता दिँदा भने विद्यार्थीहरूमा ‘फलामे गेट’प्रति चासो कम भएको दाबी उनको छ । 

डिपोट उच्चमावि :
२०१९ सालमा स्थापित यो शिक्षालय २०२२ सालदेखि एसएलसी दौडमा सहभागिता जनाउन थालेको हो । अहिलेसम्मको नतिजामा दौड जित्दै आएको डिपोट यस वर्ष पनि त्यही दौडलाई कायम गर्ने तयारीमा छ । तर, त्यो तयारीले उसलाई पहिलेको साविक लक्ष्य प्राप्ति होला–नहोला ? यसमा प्राचार्य राजकुमार राई आफैं अनभिज्ञ छन् । तर, ‘तयारी राम्रै र सकेसम्म गरिएको,’ उनी बताउँछन् । भन्छन्, ‘सदाको जस्तो सतप्रतिशत नै पास होस भन्ने हाम्रो चाहना हो ।’ 
यो शिक्षालयबाट यसवर्ष ७४ जना फलामे गेटसामु उभिएका छन् । गतवर्ष ६४ जना थिए, जसमा केही विशिष्ट, केही प्रथम र केही दोस्रो श्रेणी गरी सबैले गेट पार गरेका थिए । 

विजयपुर उच्चमावि :
विजयपुर उच्च मावि पनि एसएलसी दौडको राम्रै धावक हो । तर, नतिजामा कहिलेकाहीं अलिकति चुक्ने गरेको छ । गत वर्ष ९९ प्रतिशत ‘मात्रै’ भयो । यो पटक त्यो दौडका लागि ६७ जना लाइनमा उभिएका छन् । 
प्रबन्धक निर्देशक केशव नेपालीले पनि सेन्टअपको खारेजीलाई दोष थोपार्दै विद्यार्थी पास हुने रेट ठ्याक्कै भन्न नसक्ने बताए । तर, केही विद्यार्थी कमजोर रहेको कुरालाई उनले स्वीकारे । परीक्षामा आउने प्रश्नावलीको आधारमा पनि विद्यार्थीहरू पास हुने–नहुने अवस्था निर्धारण हुने उनको भनाइ छ । २०४२ सालमा स्थापित यस विद्यालयले पनि यसपल्टको एसएलसीबाट नाम उँचो बनाउने हो या निचो त्यो भने केही समय कुर्नुपर्ने हुन्छ । 

सैनिक महाविद्यालय :
सबैभन्दा कान्छो विद्यालयको लहरमा पर्ने सैनिक महाविद्यालयले रेकर्ड भने सबैभन्दा उँचो हुने गरेको छ । २०६८ सालदेखि एसएलसीमा सहभागी बन्न थालेको सैनिकले आफ्नो दुई वर्षको प्रतिष्ठालाई कायम गर्ला भन्ने जिज्ञासामा विद्यालयका प्राचार्य अजबहादुर केसीले सतप्रतिशत हुने दाबी गरे । उनले पूर्व–तयारीका क्रममा निकै मिहिनेत गरिए पनि परीक्षाको ग्यारेन्टी भने लिन नसकिने बताए । ९५ जना यस वर्ष एसएलसीको उपाधि होडमा छन् । गत वर्ष ९१ मा ८२ जना विशिष्ट श्रेणीमा उभिए, अन्य प्रथम श्रेणीमा । यो वर्षको अपेक्षा पनि योभन्दा राम्रो गर्ने छ । 

समिट उच्चमावि 
२९ जना दौडमा रहेका समिट उच्चमाविका विद्यार्थीलाई सतप्रतिशत गराउने ध्याउन्नमा स्कुल लागेको छ । तर, गत वर्षको नतिजाले मात खुवाएको समिटलाई यो पटक पनि त्यस्तै होला भन्ने डर भने नभएको होइन । ‘चार–पाँच जना विद्यार्थी अलि कमजोर नै छन्,’ प्राचार्य हरि त्रितालले भने, ‘अपेक्षाकै कुरा गर्दा त सतप्रतिशत होस् भन्ने हो !’ सेन्टअप नहुँदा विद्यार्थीमा पढ्ने मानसिकता हटाएकाले पनि यो वर्षको नतिजाप्रति अहिले नै भन्न नसकिने अवस्थामा रहेको उनले बताए । 
२०४८ सालमा स्थापित समिटले २०५० देखि नै एसएलसीको भिडमा सामेल भएको हो । सरकारको नीतिप्रति आक्रोशित हुँदै उनी भन्छन्, ‘यस्तो अव्यावहारिक नीतिका कारण विद्यार्थीमा पढ्नुपर्छ भन्ने मानसिकता नै हटेको छ ।’

शिक्षा निकेतन  
सामुदायिक स्कुलहरूमा निकै जेठो मानिने यो स्कुलले गत वर्ष मात्रै सात प्रतिशतको हाराहारीमा रिजल्ट बाहिर ल्यायो । जुन, सामुदायिक स्कुलहरूको रेन्जमा केही माथि नै हो । 
यस वर्ष एक सय २३ जना लाममा उभिएका विद्यार्थीहरूमा आशा र अपेक्षा धेरै भए पनि १२ प्रतिशत पुगिएला कि भन्ने आशा व्यक्त गर्छन् उच्चमाविका प्राचार्य हिराकाजी बुढाथोकी । विद्यार्थीहरूको एसएलसी तयारीका लागि थप मिहिनेत गरिएकाले यसवर्षको अपेक्षा प्रतिशतमा पनि वृद्धि गरिएको विद्यालयले जनाएको छ ।

पब्लिक उच्चमावि 
सामुदायिकहरूमध्येको एक नमुना विद्यालय पब्लिक उच्चमावि पनि हो । तर, हरेक वर्ष खस्किएको नतिजा पर्खन बाध्य सामुदायिक स्कुलहरूलाई भुइँ तहबाटै सुधार गर्न आवश्यकता रहेको सहायक प्राचार्य भूपेन्द्र कर्माचार्य बताउँछन् । यो विद्यालयबाट एक सय ४० विद्यार्थीले यसपटक एसएलसी दिँदै छन् ।
कर्माचार्यका अनुसार गत वर्षको उत्तीर्ण प्रतिशत सात रहेकोमा यस पटक विद्यालय सो प्रतिशत दोहोरो अङ्कमा पु¥याउने लक्ष्य लिएको छ । यसबाहेक सरकारी नीति अनुसारको ७५ प्रतिशत हाजिरीको छुटले गर्दा त विद्यार्थीहरूमा कसले रोक्न सक्छ भन्ने घमण्ड बढेको र एसएलसीको परिणाम अझ खस्किने डर रहेको उनले बताए । तर, चिन्ता एकातिर भए पनि १०–१२ प्रतिशत पास गराउने लक्ष्यका साथ विद्यार्थी सहभागी गराइउको उनको भनाइ छ । विद्यार्थीहरूको स्तर राम्रो भएकाले पनि यो वर्ष केही वृद्धि हुनेमा उनी आशावादी छन् । गत वर्ष एक सय ८५ विद्यार्थीमा १४ जनाले राम्रो ‘स्कोर’ गरेका थिए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved