कम नहुनुपर्ने हो ! - College Times : Educational Magazine
Headlines News :
Home » » कम नहुनुपर्ने हो !

कम नहुनुपर्ने हो !

Written By Collegetimes on Friday, April 18, 2014 | 2:05 AM


अमर काफ्ले 

एक समय एसएलसीमा जिल्लाकै अग्रणी मानिने सदरमुकाम इनरुवास्थित पाको शिक्षालय भगवती माविले केही वर्षयता आशातित उपलब्धि प्राप्त गर्न सकेको छैन । अचेल स्थानीय निजी विद्यालयले सतप्रतिशत नतिजा ल्याइरहँदा यस विद्यालयबाट प्रवेशिका परीक्षामा विद्यार्थी उत्तीर्ण प्रतिशत भने निकै कम छ । गत वर्ष एसएलसीमा एक सयभन्दा बढी विद्यार्थी सहभागी गराएको विद्यालयले अनुमान गरिएभन्दा निकै कम नतिजा हात पारेको थियो । यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा विद्यार्थी प्रवेशिकामा सहभागी गराएकोमा ३० देखि ४० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने आशा गरेको विद्यालयले जनाएको छ ।

दरबन्दीअनुरुप विषयगत शिक्षकको अभाव, कर्मचारी सरुवा–बढुवालगायतमा राजनीतिक हस्तक्षेप, अभिभावकका साथै स्वयम् विद्यार्थीहरूमा पढाइप्रतिको लगावमा कमी जस्ता कारणले चाहेर पनि सोचेअनुरुप नतिजा हात पार्न नसकेको प्रधानाध्यापक पुरुषोत्तम घिमिरे बताउँछन् । यस वर्ष भने अघिल्ला वर्षको तुलनामा केही उत्कृष्ट नतिजा ल्याउनेमा विद्यालय प्रशासन आशावादी छ ।

इनरुवाको पहिलो निजी विद्यालय इनरुवा इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले गत वर्ष सय जना विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी गराएको थियो, जसमा अपेक्षाअनुसार नै ९९ प्रतिशत नतिजा हात पा¥यो । गत वर्ष सहभागी विद्यार्थीमध्ये १० डिस्टिङ्सन, ७४ प्रथम र १५ तृतीय श्रेणी भए । गत वर्ष विद्यार्थी करण साहले ८९.३८ प्रतिशत अङ्क प्राप्त गरेका थिए ।  यस वर्ष विद्यालयबाट ९४ जनाले जाँच दिँदै छन् । यस वर्ष पाँचभन्दा बढी विद्यार्थीबाट उच्च अङ्कको आस गरेको प्रिन्सिपल शिशिरकुमार दत्तले बताए । विगतमा सोचेअनुसार सफलता प्राप्त गर्दै आएको यो स्कुलले यस वर्ष सतप्रतिशत नतिजाको अपेक्षा गरेको छ । गत वर्ष सतप्रतिशत नतिजाको आस गरेबमोजिम नै उपलब्धि हात पारेको नवयुग एकेडेमी बलाहा यो वर्ष झन् उत्साहित देखिन्छ । गत वर्ष यस विद्यालयबाट प्रवेशिकामा सहभागी ३८ विद्यार्थीमध्ये दीपिका आचार्य ९१.३८ प्रतिशत अङ्क ल्याएर अञ्चल तृतीय तथा जिल्ला टपरका भएकी थिइन् । विद्यालयले अपेक्षा गरेका २० मध्ये १६ जना डिस्टिङ्सन भए । २१ विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । 

यस वर्ष प्रवेशिकामा यस विद्यालयबाट ४७ जना विद्यार्थी सहभागी छन्, जसमा उच्चतम अङ्कसहित ९० प्रतिशतभन्दा बढी सफल हुने विद्यालयको आशा छ । गत वर्षको तुलनामा यस वर्ष विद्यालयले डिस्टिङ्सनको सङ्ख्या समेत थप हुने अनुमान गरेको छ । प्रिन्सिपल भरतराज आचार्यका अनुसार यस वर्ष विद्यालयले छात्रा अलका आचार्यबाट ९० प्रतिशतभन्दा बढी अङ्कको अपेक्षा गरेको छ । २०६५ सालयता यो विद्यालयले एक सय १० जना विद्यार्थी उच्च अङ्कका साथ उत्तीर्ण गराइसकेको छ । 

गत वर्ष आशातित सफलता हात पारेको आवर इङ्लिस बोर्डिङ स्कुलले पनि यस वर्ष सतप्रतिशत नतिजाको आस गरेको छ । अघिल्लो वर्ष प्रवेशिकामा सहभागी नौ परीक्षार्थीमध्ये छ जनाले डिस्टिङ्सन ल्याएका थिए । विद्यालयले यस पटक प्रवेशिकामा ११ विद्यार्थीलाई सहभागी गराउँदै छ । जसमा विद्यार्थी विवेक मेहताबाट महत्वपूर्ण उपलब्धिको अपेक्षा गरिएको छ । दुई वर्षको छोटो अवधिमा सतप्रतिशत नतिजा ल्याउन सफल भएको बताउने प्रिन्सिपल विदुर बराल यस वर्षसमेत आफ्ना विद्यार्थीहरूले प्रवेशिकामा राम्रो अङ्कका साथ उत्तीर्ण भई विद्यालयको नाम चम्काउनेमा विश्वस्त छन् । निर्मला मेमोरियल बाल–उद्यान सेकेन्डरी बोर्डिङ स्कुलबाट गत वर्षको प्रवेशिकामा सहभागी २८ मध्ये उच्च अङ्क ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । जसमा पाँच डिस्टिङ्सन, २१ प्रथम र दुई जना दोस्रो भएका थिए । निर्मला मेमोरियलले यस वर्ष परीक्षामा सहभागी २५ मध्ये कम्तिमा १० विद्यार्थीबाट डिस्टिङ्सनको अपेक्षा गरेको छ । विद्यार्थी बेन सुवेदीबाट ९० प्रतिशतभन्दा बढी अङ्कको आस गरिएको प्रिन्सिपल महेशप्रसाद आचार्यले बताए । 

प्रवेशिकामा विद्यार्थी सहभागी गराउन थालेयताकै उत्कृष्ट वर्षका रूपमा २०६७ साललाई लिने गरेको यस विद्यालयतले हालसम्म दुई सयभन्दा बढी विद्यार्थी उच्च अङ्कका साथ ‘आइरन गेट’ पार गराइसकेको छ । गत वर्ष प्रवेशिका परीक्षामा ३६ परीक्षार्थी सहभागी गराएको द मार्टर इङ्लिस बोर्डिङ स्कुलले पनि सत प्रतिशत सफलता हात पारेको थियो । परीक्षामा सहभागी विद्यार्थीमध्ये नौ डिस्टिङ्सन, २५ प्रथम र दुई जना दोस्रो श्रेणी हुने अनुमान लगाएकोमा ११ जना डिस्टिङ्सन र २५ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । विद्यालयका तर्फबाट अस्मिर बस्नेतले ८६ प्रतिशत अङ्क ल्याएका थिए भने विशान्त आचार्य, गणेश खड्का, करण चौधरी, समीप विश्व, हरिश्चन्द्र मेहता, मौसम ढुङ्गाना, अलका पोखरेल, अविना कटुवाल, दिवस श्रेष्ठ र आशीष कार्की डिस्टिङ्सन भएका थिए । 

अघिल्लो वर्र्षसरह यस वर्ष पनि सतप्रतिशत नतिजाको पर्खाइमा रहेको यस विद्यालयबाट यसपालि ३१ विद्यार्थी सहभागी छन् । परीक्षामा सहभागी दुई छात्रा रसिला आचार्य र निषा बेडारीबाट ९० प्रतिशतभन्दा बढी अङ्कको अपेक्षा गरिएको छ । अन्य सबै फस्ट डिभिजन हुनेमा प्रिन्सिपल अर्जुन कोइराला आशावादी छन् । यो विद्यालयले परीक्षार्थीहरू प्रवेशिकामा समावेश गर्न थालेयता एक सय ६० भन्दा बढी विद्यार्थी उत्तीर्ण गराइसकेको छ । नियमित डिस्टिङ्सन र प्रथम डिभिजनमा विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयबाट प्रवेशिकामा सहभागी विद्यार्थी हालसम्म त्यसभन्दा तल नझरेको विद्यालयले जनाएको छ ।

गत वर्ष प्रवेशिका परीक्षामा ९० विद्यार्थी सहभागी गराएको शारदा उच्चमावि बलाहाले अपेक्षित नतिजा पाउन सकेन । कम्ती २५ विद्यार्थी राम्रै अङ्कका साथ उत्तीर्ण हुने विद्यालयले अपेक्षा गरेको भए पनि पाँच जना प्रथम र बाँकी सबै दोस्रो श्रेणीमा उत्तीर्ण भए । यसपालि सहभागी ५७ विद्यार्थीमध्ये पाँच प्रथम डिभिजनसहित २० भन्दा बढी उत्तीर्ण हुने विद्यालयको आँकलन छ । विगतमा विद्यार्थी उत्तीर्ण प्रतिशतमा गिरावट आए पनि यस पटकको नतिजा भने सुधारोन्मुख हुने प्रधानाध्यापक तीर्थराज भट्टराईको भनाइ छ । अन्य सामुदायिक विद्यालयसरह नतिजा हात पार्दै आएको जनता उच्चमावि मधेसाबाट गत वर्ष प्रवेशिकामा सहभागी ९३ मध्ये तीन प्रथमसहित १२ दोस्रो र अन्य तीन तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । यस वर्ष सो विद्यालयबाट एक सय एक जना विद्यार्थी एसएलसी दिइरहेका छन् । प्रधानाध्यापक बसन्त अधिकारीका अनुसार यस वर्ष विद्यालयले केही सुधारिएको नतिजा ल्याउनेछ । ३५ भन्दा बढी विद्यार्थी उत्तीर्ण हुने विद्यालयको अपेक्षा छ । गत वर्ष प्रवेशिकामा राजाजी रामजी माविबाट सहभागी ७५ विद्यार्थी मध्ये २५ भन्दा बढी विद्यार्थी उत्तीर्ण हुने विद्यालयले आस गरेको थियो । तर, नतिजा भने सोअनुरुप हुन सकेन । १९ जनाले मात्र पास गरेका थिए । यस वर्ष विद्यालयबाट सहभागी ४९ विद्यार्थीमध्ये १५ जना उत्तीर्ण हुने अनुमान गरिएको प्रधानाध्यापक पर्शुराम मेहताले बताए । 

यस वर्ष सुनसरीबाट नियमिततर्फ १० हजार आठ सय २३, एक्जाम्टेडतर्फ चार हजार ६० गरी १४ हजार आठ सय ८३ विद्यार्थी परीक्षामा सहभागी छन् । जिल्लामा एक सय २६ निजी र ९६ सामुदायिक गरी दुई सय २२ विद्यालयले प्रवेशिकामा परीक्षार्थी सहभागी छन् । सुनसरीमा २०६८ सालमा ४० प्रतिशत र २०६९ सालमा ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष अघिल्लो वर्षको तुलनामा परीक्षा ‘बढी व्यवस्थित’ र ‘मर्यादित’ भएकाले परीक्षाफल पनि त्यसबाट प्रभावित हुनसक्ने जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काको अनुमान छ । ‘परीक्षाफल यसै होला भन्न गाह्रो छ,’ जिशिअ खड्काले भने, ‘गत ४२ प्रतिशतभन्दा कम नहुनुपर्ने हो !’

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved