देवकला कार्की
एसएलसी अर्थात् प्रवेशिका परीक्षामा धनकुटा जिल्लाका सामुदायिक तथा निजी विद्यालयले गत वर्षको तुलनामा यस वर्ष राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । जिल्लामा उत्कृष्ट भएको पूर्व–अनुभवसहित ती विद्यालयले यस वर्ष थप तयारी गरेकाले राम्रो नतिजा ल्याउने बताएका हुन् । गत वर्ष एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल अर्खाैले जितपुरको जनता उच्चमाविले यस वर्ष विगतभन्दा पनि राम्रो नतिजा ल्याउने जनाएको छ । गत वर्ष एसएलसीमा सो विद्यालयबाट ६९ मध्ये ४३ विद्यार्थी उत्तीर्ण भएका थिए, जसमा दुई विशिष्ट, १२ प्रथम, २८ दोस्रो र एक जना तेस्रो श्रेणीमा उत्तीर्ण भए ।
प्रधानाध्यापक नगेन्द्र भट्टराई विगत केही वर्षदेखि विद्यार्थी राम्रो अङ्कका साथ उत्तीर्ण हुँदै आएकाले यस वर्ष पनि राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको बताउँछन् । यस वर्ष सो विद्यालयबट ५६ विद्यार्थी सहभागी हँुदै छन् । ‘परीक्षार्थीका लागि हामीले असोज महिनादेखि नै थप कक्षा सञ्चालन ग¥यौं,’ भट्टराईले भने, ‘परीक्षा केन्द्रित भएर विशेष तयारी गरिएकाले नतिजा पनि राम्रो नै आउनेछ ।’
यस्तै, सहभागी पाँचमध्ये तीन प्रथम र दुई दोस्रो श्रेणीसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनकुटा इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले यस वर्ष सात विद्यार्थीमध्ये डिस्टिङ्सनसहित सतप्रतिशत प्रथम श्रेणीमा उत्तीर्ण हुने आशा राखेको छ । विद्यार्थीले जानेको कुरा तीन घण्टाभित्र लेखिसक्नुपर्ने भएकाले परीक्षाफल परीक्षाको वातावरणमा पनि भर पर्छ,’ प्रिन्सिपल राजन पौडेलले भने, ‘तथापि हामीले यसपटक विद्यालयको प्रतिष्ठा अझ बढ्ने आशा गरेका छौं ।’
धनकुटा सदरमुकामस्थित तुलसीमेहेर उच्चमाविबाट यो वर्ष २० जना विद्यार्थी सहभागी छन् । गत वर्ष २७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा छ विशिष्ट र २१ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । प्रिन्सिपल नन्द न्यौपानेले यस वर्ष पनि विशिष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालयकोे अपेक्षा रहेको बताए । ‘यस वर्ष पनि सोहीअनुसारको नतिजा ल्याउन विद्यालय र विद्यार्थीले निकै मेहनत गरेका छन्, मेहनतअनुुसारको फल आउने नै छ,’ प्रिन्सिपल न्यौपानेले भने । धनकुटा–७ स्थित तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुलको पनि अपेक्षा उस्तै छ । यस वर्ष परीक्षामा सहभागी २१ विद्यार्थीमा विशिष्ट श्रेणीसहित सतप्रतिशत उत्तीर्ण हुने भाइस–प्रिन्सिपल नरबहादुर विश्वकर्माको भनाइ छ । सो विद्यालयबाट गत वर्ष १३ विद्यार्थी सहभागी भएकोमा पाँच विशिष्ट र आठ प्रथम भए । भाइस–प्रिन्सिपल विश्वकर्माका अनुसार यस वर्ष विद्यालयले गत वर्षको भन्दा बढी समय र श्रम विद्यार्थीमा लगानी गरेको छ । छात्राबासमा बस्ने र नबस्ने सबै विद्यार्थीलाई बिहानदेखि बेलुकासम्म निगरानीमा राखेर थप कक्षा सञ्चालन गरिएकाले यस वर्ष थप सफलता मिल्ने विद्यालयको अपेक्षा छ ।
हरेक वर्ष एसएलसी परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको दीप इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले यस वर्ष पनि सोही अपेक्षा राखेको छ । विद्यालयका प्रिन्सिपल केशव श्रेष्ठले भने गत वर्ष हामीले आशा गरेअनुसारको नतिजा आएको थियो । परीक्षामा सहभागी ११ विद्यार्थीमध्ये एक विशिष्ट, नौ प्रथम र एक जना दोस्रो श्रेणीमा उत्तीर्ण भए । यस वर्ष सहभागी २१ विद्यार्थीबाट थप राम्रो नतिजा आउने आशा गरेका प्रिन्सिपल श्रेष्ठले बताए ।
गत वर्ष दुई विशिष्ट श्रेणी र ३८ प्रथम श्रेणीमा उत्तीर्ण गराउन सफल धनकुटा–१ हिलेमा रहेको मदरल्याण्ड उच्चमाध्यमिक विद्यालयले यस वर्ष चार÷पाँच विद्यार्थीले विशिष्ट श्रेणी ल्याउने अपेक्षा गरेको छ । गत वर्ष अलि बढी विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण हुने अपेक्षा थियो तर दुई जनाले विशिष्ट श्रेणी ल्याए ।
‘यस वर्ष अलि बढी विद्यार्थीबाट आशा गरिएको छ,’ विद्यालयका प्रिन्सिपल प्रेम सुब्बाले भने । यस वर्ष सो विद्यालयबाट ३७ विद्यार्थी सहभागी हुँदै छन् । कक्षा सुरु भएदेखि नै विषयगत रूपमा विद्यार्थीले ट्युसन लिएकाले यस वर्ष उच्च अङ्कका साथ सतप्रतिशत विद्यार्थी सफल हुने सुब्बाको भनाइ छ । बर्सेनि जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको धनकुटा–६ स्थित बालसंसार आवासीय स्कुलले पनि यस वर्ष सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेको छ । यस वर्ष २९ जना विद्यार्थी परीक्षामा सहभागी छन् । गत वर्ष ३२ विद्यार्थीले परीक्षा दिएकोमा पाँच विशिष्ट, २४ प्रथम र दुई जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । ‘यस वर्ष केही कमजोर विद्यार्थीलक्षित थप कक्षा सञ्चालन गरेकाले यस वर्ष सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने अपेक्षा गरेका छौं,’ प्रिन्सिपल श्याम आलेले भने ।
यस्तै, विद्यार्थीले सहज वातावरणमा लेख्न पाएमा गत वर्षभन्दा थप विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण हुने आशा गरिएको बताउँछन्, धनकुटा–६ स्थित गोकुण्डेश्वर उच्चमाविका प्राचार्य यज्ञप्रकाश चापागाई । गत वर्ष सो विद्यालयका एक सय दुई जना परीक्षार्थीमध्ये दुई विशिष्ट, सात प्रथम, २२ दोस्रो र छ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । ‘यस वर्ष दुईभन्दा बढी विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण हुने अपेक्षा लिएका छौं,’ प्राचार्य यज्ञप्रकाश चापागाईले भने, ‘यस वर्ष सहभागी ७९ मध्ये ५० प्रतिशतभन्दा माथि विद्यार्थी उत्तीर्ण हुने लक्ष्य राखिएको छ ।’ गत वर्ष दुई जनाले विशिष्ट श्रेणी ल्याउने आशा राखेको मनकामना इङ्लिस बोर्डिङ स्कुल धनकुटा–१ हिलेले यस वर्ष पनि दुई जना विशिष्ट श्रेणीसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने अपेक्षा गरेको छ । गत वर्ष १३ विद्यार्थी सहभागी भएकोमा विद्यालयले दुई जनाबाट विशिष्ट श्रेणीको अपेक्षा गरेको थियो । तर, एक जना विशिष्ट र १२ जना प्रथम भएका थिए । विद्यालयका प्रिन्सिपल इन्द्रबहादुर राईले यस वर्ष परीक्षामा सहभागी ११ मध्ये दुई विद्यार्थीबाट विशिष्ट श्रेणी र बाँकी प्रथम श्रेणाी हुन अपेक्षा गरिएको बताए ।
यस्तै, शितलादेवी बोर्ङिङ स्कुल पाख्रिबासले यस वर्ष एसएलसी दौडमा सहभागी २६ मध्ये विशिष्ट श्रेणीसहित सतप्रतिशत विद्यार्थीले फलामे गेट पार गर्ने विश्वास लिएको छ । गत वर्ष विद्यालयले सोचेअनुसार नतिजा ल्याएको र यस वर्ष विशिष्ट श्रेणीसहित सतप्रतिशत उत्तीर्ण हुने अपेक्षा लिइएको प्रिन्सिपल प्रणन्यकुमार गुरुङले बताए । गत वर्ष सो विद्यालयबाट सहभागी १३ विद्यार्थीमध्ये १२ प्रथम र १ जना दोस्रो भएका थिए । यस वर्ष धनकुटा जिल्लामा चार हजार चार सय ३६ विद्यार्थी एसएलसी परीक्षामा सहभागी रहको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ । जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेल यस वर्ष जिल्लाको नतिजा गत वर्षभन्दा कमजोर नहुने उल्लेख गर्दै भने, ‘धनकुटामा यस वर्ष एसएलसीको उपलब्धि प्रतिशत गत वर्षभन्दा केही बढ्छ नै भन्ने अपेक्षा छ ।’
0 comments:
Speak up your mind
Tell us what you're thinking... !