राष्ट्रको दाँजोमा उत्कृष्ट आशा - College Times : Educational Magazine
Headlines News :
Home » » राष्ट्रको दाँजोमा उत्कृष्ट आशा

राष्ट्रको दाँजोमा उत्कृष्ट आशा

Written By Collegetimes on Friday, April 18, 2014 | 1:58 AM


विष्णुप्रसाद

मुलुकमै ‘टप’ हुनुको स्वाद चाखेको मोरङले एसएलसीमा यस वर्ष पनि अब्बल हुने आशा सँगालेको छ । २०६५ सालमा राकेश गिरी र २०६८ मा अभिषेक कालिकोटेजस्ता ‘बोर्डफस्ट’हरूको विद्यालय बालकल्याण विद्या मन्दिर (बिकेभिएम) विराटनगर हरेक वर्ष अब्बल रहँदै आएको छ । गत वर्ष एसएलसीमा एक सय ५८ विद्यार्थी सहभागी गराएकोमा एक सय एक जना डिस्टिङ्सन र ५० जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यस वर्ष एक सय ६८ जना सहभागी हुँदै छन्, जसमध्ये सयभन्दा बढी डिस्टिङ्सनसहित सतप्रतिशत हुने विद्यालयको अपेक्षा छ । एसएलसीभन्दा कडा मानिने आन्तरिक परीक्षामा ६० भन्दा बढीले डिस्टिङ्सन नम्बर ल्याएकाले यो वर्ष पनि अपेक्षाकृत सङ्ख्यामा ‘विशिष्ट’ हुने विश्वास बढेको लेखापाल दीपक निरौलाले बताए । ‘यो वर्ष पनि हामी अब्बल नै हुनेछांै, यसमा दुईमत छैन,’ निरौलाले भने । 

गत वर्ष ‘नेपाल सेकेन्ड’ मानिएको सगरमाथा उच्चमावि पाञ्चाली पनि उत्कृष्टताको दौडमा उल्लेख्य अगाडि छ । गत वर्ष एसएलसीमा दुई सय आठ विद्यार्थी सहभागी थिए, जसमा ३८ डिस्टिङ्सनसहित सबै प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यस वर्ष एक सय ७८ विद्यार्थी सहभागी गराइरहेको सगरमाथाले सयभन्दा बढीबाट डिस्टिङ्सनको अपेक्षा गरेको छ । आन्तरिक परीक्षामा सयभन्दा बढीले डिस्टिङ्सन नम्बर ल्याएकोलाई त्यस्तो अपेक्षाको आधार मानेको प्रिन्सिपल त्रिलोचन गौतमले बताए । २०५३ देखि एसएलसीमा सहभागी हुँदै आएको सगरमाथाले हालसम्म आठ सयभन्दा बढी डिस्टिङ्सन उत्पादन गरिसकेको छ । 

एभरेस्ट बोर्डिङ स्कुल विराटनगर–६ ले गत वर्ष एसएलसीमा ७१ जना सहभागी गराएकोमा ३८ डिस्टिङ्सनसहित सबै प्रथम श्रेणीमा उत्तीर्ण भए । सो विद्यालय २०६८ सालमा सहभागी ६७ विद्यार्थीमध्ये ६० डिस्टिङ्सन र सात प्रथम श्रेणीसहित ‘नेपाल दोस्रो’ भएको थियो । नामअनुसारको कामबाट पनि उत्कृष्टता प्रमाणित गर्दै आएको एभरेस्टले यो वर्ष ९८ परीक्षार्थी सहभागी गराएको छ । ‘आन्तरिक परीक्षामा ६० भन्दा बढी डिस्टिङ्सन भएकाले यो वर्षको रिजल्ट पनि उत्कृष्ट नै हुने अपेक्षा छ,’ प्रिन्सिपल टीकाराम पुरीले भने । अर्किड उच्चमावि विराटनगरबाट गत वर्ष एसएलसीमा ४५ विद्यार्थी सहभागी थिए, जसमा १५ डिस्टिङ्सनसहित सबै प्रथम श्रेणीमा उत्तीर्ण भए । विद्यालयका संस्थापक तथा हिसान मोरङका अध्यक्ष बलराम पन्त यो वर्षको ब्याच पनि निकै राम्रो रहेको बताउँछन् । ‘यो वर्ष ४८ विद्यार्थीमध्ये २० जनाभन्दा बढी डिस्टिङ्सन हुने अपेक्षा गरेका छौं,’ पन्तले भने, ‘आन्तरिक परीक्षामा विद्यार्थीले राम्रो गरेकाले विद्यालय आशावादी छ ।’

विराटनगर–२ तीनपैनीस्थित देवकोटा मेमोरियलबाट गत वर्ष २२ विद्यार्थी सहभागी थिए, जसमा अपेक्षा गरेअनुरुप आठ डिस्टिङ्सनसहित सबै प्रथम श्रेणीमा उत्तीर्ण भए । यस वर्ष अर्थात् ३० औं ब्याचमा देवकोटाका ३२ विद्यार्थी सहभागी छन् । ‘परीक्षा हो रिजल्ट नआई यसै भन्न सकिन्न,’ प्रिन्सिपल तथा एन–प्याब्सनका सल्लाहकार टीकाप्रसाद उप्रेती भन्छन्, ‘आन्तरिक परीक्षामा १५ जना डिस्टिङ्सन र अरू सबै फस्ट भएकाले एसएलसीमा गत वर्षभन्दा यो वर्ष राम्रो रिजल्ट होला भन्ने अपेक्षा छ । हाम्रा दुई जना विद्यार्थी अत्यधिक राम्रा छन् ।’

एसएलसीमा सतप्रतिशत सिकाइ–उपलब्धि प्राप्त गरिरहेको ग्यालेक्सी पब्लिक हाइस्कुलबबाट गत वर्ष १७ विद्यार्थी सहभागी थिए, जसमा सबै प्रथम श्रेणीमा उत्तीर्ण भए । यस वर्ष २४ जना छन् । यो वर्ष विद्यालयले विद्यार्थी सङ्ख्या मात्र होइन, अपेक्षा पनि बढाएको छ । ‘आन्तरिक परीक्षालाई आधार मान्ने हो भने चार जनाभन्दा बढी डिस्टिङ्सन र अरू फस्र्ट डिभिजन हुनुपर्ने हो,’ निर्देशक मोहन खनालले भने, ‘अहिलेको ब्याज पहिलेको भन्दा राम्रो छ ।’

सामुदायिक विद्यालयतर्फ डाँगीहाटस्थित महेन्द्र मावि गत वर्षको एसएलसीमा जिल्ला प्रथम भयो । विद्यालयबाट सहभागी ५७ विद्यार्थीमध्ये २८ प्रथम श्रेणीसहित ५२ विद्यार्थी उत्तीर्ण भए । ९२.९८ प्रतिशत उपलब्धिसहित ‘मोरङ टप’ भएको महेन्द्र माविबाट यस पटक ५२ विद्यार्थी सहभागी हुँदै छन् । पहिलो ब्याचमा ८५.९१ प्रतिशत तथा दोस्रो ब्याचमा ९२.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल महेन्द्र माविले यस वर्ष के गर्ला ? भन्ने कलेज टाइम्सको जिज्ञासामा प्रधानाध्यापक गणेश आचार्य भन्छन्, ‘यो वर्ष गत वर्षकै जस्तो होला भन्न सकिन्न तर रिजल्ट ६० प्रतिशतभन्दा माथि नै हुन्छ ।’

गत वर्ष सामुदायिक विद्यालयतर्फ विराटनगर प्रथम पोखरिया उच्चमाविले यस वर्ष पनि उत्कृष्टताको अपेक्षा गरेको छ । गत वर्ष जाँच दिएका ९४ मध्ये १९ प्रथमसहित सबै विद्यार्थी दोस्रो श्रेणीमा उत्तीर्ण गराउन सफल यो विद्यालयबाट यस वर्षको एसएलसीमा ९६ विद्यार्थी सहभागी छन् । ‘यस वर्ष गत वर्षभन्दा बढी मेहनत गरिएको छ,’ प्रधानाध्यापक खेम भट्टराईले भने, ‘२० जनाभन्दा बढी प्रथम श्रेणीसहित सतप्रतिशत पास होलान् भन्ने आस छ ।’ मोरङ जिल्लाबाट एसएलसी परीक्षामा गत वर्ष १९ हजार विद्यार्थी सहभागी थिए यस वर्ष १८ हजार सहभागी छन् । गत वर्ष ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए, यस वर्ष ५० प्रतिशत उत्तीर्ण होलान् भन्ने लागेको छ, सहायक जिल्ला शिक्षा अधिकारी राजकुमार थापालाई । ७० प्रतिशतभन्दा बढी शिक्षकलाई पेसागत तालिम दिइसकिएको र कक्षाको सिकाइ–उपलब्धि दर बढाउन सघन अनुगमन गरिएकाले यो वर्ष राष्ट्रिय उपलब्धिभन्दा जिल्लाको उपलब्धि केही माथि नै हुने थापाले बताए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved