शेखर ढकाल
पूर्वका विभिन्न विद्यालयबाट विभिन्न प्रकारका फरक क्षमता (अपाङ्गता) भएका दुई दर्जनभन्दा बढी छात्र–छात्रा यस वर्षको एसएलसी परीक्षामा साङ्गहरूसँगै सहभागी हुँदै छन् । तर, फरक क्षमता भए पनि साङ्गसरह परीक्षा दिनुपर्दा आफूहरूलाई निकै कष्टककर अनुभव हुने विद्यार्थीहरूले बताएका छन् । ज्ञानचक्षुका छात्र जीवन विष्टले निमावि तह पढ्ने सहयोगी राखेका भरमा परीक्षा दिनुपर्दा निकै समस्या पर्ने बताए । विष्टका अनुसार एक त उनीहरूले ‘स्पिेलिङ’ कति गल्ती गरिदिन्छन् थाहा हुन्न, त्यसमा सहयोगी सानो उमेरका भाइ–बहिनी भएकाले थाकेर दिक्दार हुन्छन्, अनि चाहेको कुरा लेख्न नै सम्भव हुन्न । परीक्षामा विष्टले झैं दुःख खेपिरहेकी ज्ञानचक्षुकै स्मृति कोइरालाले फरक क्षमता भएका परीक्षार्थीका लागि दिइने एक घण्टाको अतिरिक्त समय अपुग हुने बताइन् । ‘एक त बिस्तारै लेखाउनुपर्दा समय पुग्दैन, त्यसमाथि परीक्षा केन्द्रमा ढिलो भयो भनेर हतार लगाइन्छ, झर्को–फर्को पनि हुन्छ भन्ने सुनेकी छु,’ कोइरालाले भनिन् ।
उनका अनुसार परीक्षा केन्द्रका निरीक्षक र केन्द्राध्यक्षहरू विशेष विद्यालयसँग सम्बन्धित नभएकाले फरक क्षमता भएका विद्यार्थीको भावना बुझ्न सक्तैनन् । परीक्षा केन्द्रमा विभिन्न बोली र व्यवहारद्वारा फरक क्षमता भएकाहरूप्रति घोचपेच तथा झर्कोफर्को हुने गरेको यसअधिका परीक्षार्थीबाट सुनेको उनको भनाइ छ । विष्ट र कोइरालाले आफ्नो पालामा जे भए पनि अबदेखि दृष्टिविहीनहरूका लागि परीक्षा लिने–दिने विशेष व्यवस्था हुनुपर्ने पनि माग गरे ।
‘एसएलसी परीक्षाका सन्दर्भमा दृष्टिविहीनहरूले पाउने दुःख, कष्ट र अप्ठेरोको बयान गरेर साध्ये छैन,’ ज्ञानचक्षुकी प्रिन्सिपल केशरी थापाले भनिन्, ‘हामीले विशेष व्यवस्था हुनुप¥यो भनेर समाजकल्याण परिषद् र मन्त्रालयमा निकै पटक गुनासो गरिसक्यौं तर कुनै सुनुवाइ नै भएको छैन ।’ प्रिन्सिपल थापाका अनुसार २०६८ भन्दाअघि नौ कक्षा पढ्ने सहयोगी राखेर परीक्षा दिँदा तै अथवा थियो । अचेल कक्षा आठसम्मका विद्यार्थी मात्र सहयोगी राख्नुपर्ने नियम बनाइएकाले फरक क्षमता भएकाहरूका लागि समस्या झन् थपिएको छ । एसएलसी दिने फरक क्षमताका छात्रछात्रा उमेर बढी र अलि फरक खालको शारीरिक अवस्था हुने भएकाले कम उमेरका सहयोगी ‘फरक क्षमतामैत्री’ हुँदैनन् । र, परीक्षार्थीहरूको वास्तविक मूल्याङ्कन अहिलेको विधिद्वारा हुन सक्तैन । उनले दृष्टिविहीनको परीक्षा ब्रेल लिपि र ब्रेलसेट कम्प्युटरबाट हुनुपर्ने पनि बताइन् । दृष्टिविहीनहरूका लागि धरानमा सञ्चालित एक मात्र विशेष शिक्षालय पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट यसवर्ष तीन छात्रासहित ११ जना एसएलसी परीक्षामा सहभागी छन् । गत वर्ष तीन छात्रासहित १० जनाले परीक्षा दिएकोमा नौ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । ल्याबरोटरी मावि परीक्षा केन्द्रमा एसएलसी दिइरहेका यो ब्याचका विद्यार्थीहरू विशिष्ट श्रेणीसहित सतप्रतिशत उत्तीर्ण हुने विद्यालयको अपेक्षा छ ।
प्रिन्सिपल थापाका अनुसार १८ वर्षको इतिहासमा २०५३ सालयता एक सय २९ र त्यसअघि १४ गरी ज्ञानचक्षुका एक सय ४३ विद्यार्थीले एसएलसी परीक्षा उत्तीर्ण गरिसकेका छन् । ज्ञानचक्षुले २०६९ को ब्याचदेखि आफ्नै नामबाट एसएलसीमा विद्यार्थी सहभागी गराउन थालेको हो । त्यस्तै, विराटनगरमा रहेको विराट बहिरा माविबाट १७ जना छात्र–छात्रा यस वर्षको एसएलसी परीक्षामा सहभागी हँुदै छन् । गत वर्ष ११ जनाले परीक्षा दिएकोमा तीन जना प्रथम र आठ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । यस पटक गतवर्ष भन्दा राम्रो रिजल्ट आउने अपेक्षा गरिएको विद्यालयकी प्रिन्सिपल मिनु अधिकारीले बताइन् । सबै विद्यार्थीलाई होस्टलमा राखेर ट्युसन पढाएकाले उनीहरूले राम्रो रिजल्ट दिने अधिकारीको भनाइ छ । साङ्गसरह एसएलसी परीक्षामा सहभागी बहिरा विद्यार्थीका लागि प्रश्न–पत्र बहिराले बुझ्ने भाषामा अनुवाद गर्ने दोभाषेले आधा घण्टासम्म बस्न पाउने व्यवस्था छ । प्रिन्सिपल अधिकारीका अनुसार दोभाषे हटाइएपछिको बाँकी समय भने परीक्षार्थीका लागि असहज हुने गरेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !