‘म्यान्डेक्स्’ खाने रहर - College Times : Educational Magazine
Headlines News :
Home » » ‘म्यान्डेक्स्’ खाने रहर

‘म्यान्डेक्स्’ खाने रहर

Written By Collegetimes on Friday, April 18, 2014 | 1:49 AM


केदार शर्मा

झन्डै साढे तीन दशकअघिको कुरा । कुनै न कुनै मात्रामा समाजमा लागूपदार्थ दुव्र्यसन नभएको होइन, तर ‘लागूपदार्थ’ वा ‘ड्रग्स्’ भन्ने शब्दहरू खासै चल्तीमा थिएनन् । गाँजा, ‘ह्यास’ प्रतिबन्धित भए पनि पहुँचबाहिर थिएनन् । अहिले बुझ्दा, सेता–खैरा हेरोइनहरू त्यसबेला नै भित्रिइसकेको हुनुपर्छ तर तिनको चल्ती हामीले थाहा पाउने तहसम्म आइसकेको थिएन । त्यसबेला ड्रग्सको पर्याय थियो ‘म्यान्डेक्स्’ । सुनेको हो, देखेको होइन । अरूले बोलेको सुनेर सिकिएका शब्दहरू प्रायः गलत सिकिएका हुन्छन् । पछि बुझ्दा त्यो ‘म्यान्ड्रेक्स्’ रहेछ, मेथाक्वोलोन नामको रसायनबाट निर्मित मनोद्दीपक लागूपदार्थ ।

म इञ्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसमा पढ्थें । पढाइमा लद्दु त थिइनँ तर इञ्जिनियरिङको पढाइसित मेरो चाख, चाहना, रहर, महत्वाकाङ्क्षा केही पनि जोडिएको थिएन । परिबन्दमा परेर मात्र म त्यो विषय पढ्न पुगेको थिएँ । मनले नखाएको विषय पढ्दै गरेको र आफूलाई कवि–कवि ठान्न थालेको किशोर, म सायद सुझ न बुझ ‘जिन्दगीका कुरा’ गर्न थालेको थिएँ ।

खेतीपातीका काममा चाख राख्न थालेपछि हिजोआज लाग्न थालेको छ, केटाकेटी उमेरमै गम्भीर हुँदै यो ‘जिन्दगी...’ भन्नु भनेको बियाडमै फुल्ने बीउजस्तो हुनु हो । त्यस्तो बीउलाई फुलाङ्गो भन्छन् । काम लाग्दैन । हाँसखेल र रमाइलो गर्ने, सबै कुराप्रति सकारात्मक भावनाहरू हुर्काउनुपर्ने उमेरमा दार्शनिक भइटोपल्नु पर्दैन । अध्ययन, अनुभव, एक्पोजर, भोगाइ, सङ्गत, समय आदिका प्रभावले बिस्तारै विकास हुने भावना अचानक उब्जिनु स्वाभाविक हुँदैन । किशोरावस्थामा नै टेन्सन, बोर, ¥याक, झूर, झमेला जस्ता शब्दहरू प्रयोग गर्न थालियो भने त्यस्तो टेन्सन भगाउने उपायहरूको पनि खोजी गरिन्छ । र, त्यस्ता उपायहरूको परिणति असल हुँदैन।

तर, यो पनि अहिले बुझेको कुरा । त्यसबेला त ठूलो हुन मात्र मन लाग्थ्यो र ठूलाहरूले जस्तै जिन्दगीको कुरा गर्न मन लाग्थ्यो । जस्तो कि, प्रायः कविहरूले कविता लेख्न सिक्दा–सिक्दै जिन्दगीका बारेमा लेख्न भ्याइहालेका हुन्छन् र पछि साँच्चै जिन्दगी बुझ्दै गएपछि आफ्नो त्यो पुरानो कविता सम्झेर नलजाउने पनि कमै हुन्छन् । ती दिनहरूमा म पुलचोक क्याम्पसमा सिभिल इञ्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तहमा पढ्थें । मनले नखाएकै विषय भए पनि राम्रै गर्दै थिएँ । पास हुनासाथ राजपत्र अनङ्कित पहिलो श्रेणीको सिभिल ओभरसियर भइन्थ्यो । एक–दुई वर्ष प्रयास गरेपछि त्यसबेलाको सोभियत संघको छात्रवृत्तिमा उतै गएर इञ्जिनियरिङ पढ्न पाइन्थ्यो । तर, पनि बेला–बेलामा ‘बोर’ लागि नै रहन्थ्यो । अहिले केलाउँदा त्यो ‘बोर’ दिक्दारी होइन, निराशा पनि होइन । त्यत्तिकै, फेसनमा रहेको शब्द मात्र थियो ।

एकदिन एक जना साथीले बोरडम हटाउन ‘म्यान्डेक्स’ खाने प्रस्ताव ल्यायो । उसले ‘म्यान्डेक्स खानुपर्छ, बोरसोर केही हुँदैन,’ भनेपछि मैले पनि रहर गरें । उसले आफ्नो कुरामा ‘रे’ भनेको थियो कि थिएन, बिर्सिएँ । तर, खोज्दा पनि म्यान्डेक्स नपाइएको, अर्थात खोज्न नजानेको हिसाबले हेर्दा उसले आफैं चाहिँ चाखेको थिएन कि जस्तो लाग्छ । त्यस दिन ‘म्यान्डेक्स्’ पाइएको भए के हुन्थ्यो होला ? अहिले त सम्झँदा पनि डर लाग्छ ।

पाइएको भए के हुन्थ्यो होला त ?
पक्कै खाइन्थ्यो ।

त्यो खाएपछि मलाई रिल्याक्स भएको अनुभव हुनेथियो । बिस्तारै मैले सबै टेन्सन हटेको जस्तो ठान्ने थिएँ । अनि मलाई अङ्ग्रेजीमा युफोरिया भनिने एक किसिमको परम आनन्द अनुभव हुने थियो, म अकारण नै गदगद हुने थिएँ । शरीर अलि लाटो जस्तो भए पनि आत्मविश्वास बढेको अनुभव गर्ने थिएँ । मलाई मन नपर्ने ट्रिगोनोमेट्री र फिजिक्स सहजै हुत्याउने आँट बढ्ने थियो । अलि–अलि रिँगटा लागे पनि, अलि–अलि शरीर हुत्तिन खोजे पनि म मस्तले निदाउने थिएँ ।

भोलिपल्ट उठ्दा अलि–अलि रिँगटा जस्तो लाग्न खोजे पनि, बोली लर्बरिन–लर्बरिन खोजे पनि मलाई अघिल्लो दिनको अद्भूत अनुभूतिको आनन्दले डोहो¥याइरहने थियो । अलि छटपट हुन्थ्यो, अलि कमजोर भएको जस्तो पनि लाग्थ्यो । ढिलो–ढिलो भए पनि क्याम्पस जाने थिएँ । होमवर्क गरेको हुने थिएन । सरले होमवर्कका बारेमा सोध्दा आफैंले नपत्याउने कुनै बहाना गर्ने थिएँ । कता–कता अपराधबोध हुन्थ्यो, बाआमाले पढ्न पठाएको छोरो म, यो के गर्दैछु नि भने जस्तो लाग्ने थियो ।

दिनभर मेरो मन म्यान्डेक्स र कलेजका बीचमा पिङ खेलिरहने थियो । तर, मेरै उमेरको फलानो रक्सी खान्छ, फलानो चुरोट खान्छ, मैले त त्यस्तो केही गरेको छैन नि भनेर आफ्नै चित्त बुझाउने थिएँ । म्यान्डेक्सलाई मेरो अम्मल हुन दिन्न भन्नेमा प्रतिबद्ध हुने थिएँ, तर हिजोको आनन्दातिरेकले मलाई फेरि लोभ्याउने थियो र आज एक दिन मात्र भनेर बेलुकासम्ममा फेरि एक डोज लिने थिएँ । अनि यो चक्र हुने थियो, कुचक्र हुने थियो । एउटा व्यक्ति र परिवारका लागि दुर्भाग्य हुने थियो ।
kedarsharma@gmail.com
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved