- कपिल काफ्ले
कुनै समाचार वा मुद्दा (इस्यु) कहिलेसम्म नयाँ वा ताजा हुन्छन् ? सिद्धान्ततः फूलजस्तो वा सागजस्तो आइलाउने र कस्तुरीजस्तो चिरकाल मगमग भइरहने समाचारका विषयमा अग्रज पत्रकार कपिल काफ्लेको सोधिखोजी, पत्रकारिताका विद्यार्थीका लागि विशेष सामग्री :
‘नयाँ जानकारी समाचार हो,’ भन्ने अभिव्यक्तिलाई कसैले चुनौती दिन सकेको छैन, तर कुनै समाचार कति समयसम्मका लागि नयाँ हुन्छ वा समाचारको आयु कति हो भन्ने सम्बन्धमा भने खासै विश्लेषण भएको छैन । समाचारको आयु नाप्ने विषयमा यस विधाका चित्रगुप्तहरूले गहिरिएर जाँगर चलाएको पाइँदैन ।
बेलायतका दुई पत्रकार पल ब्रिथटोन र डेनिस फोईले सन् २००६ मा स्थानीय पाँच टेलिभिजनका समाचारको विश्लेषण गरेर समाचारको आयुका सम्बन्धमा परोक्ष रूपमा चर्चा गरे । यद्यपि कस्ताखाले टेलिभिजनमा कस्ता समाचारले कति लामो स्थान पाउँछन् भन्ने विषयमा उनीहरूको अध्ययन केन्द्रित थियो, तर पनि समाचारको आयुका सम्बन्धमा उनीहरूको प्रतिवेदनमा परोक्ष रूपमा मात्र भए पनि चर्चा हुन पुग्यो । उनीहरूको निष्कर्ष थियो– समाचारको आयु हुन्छ तर संसारका सबै मुलुकका मानिसको मृत्युदर एउटै नभएजस्तै, सबै समाचारको आयु एकनास भने हुँदैन । कुनै समाचार केही मिनेटमै पुरानो र बासी हुन्छ भने कुनै समाचारको आयु हप्तौंसम्म पनि ताजै रहन्छ । कुन समाचारको आयु लामो र कुन समाचारको जीवन छोटो हुन्छ भन्ने तथ्य समाचारको प्रकारमा निर्भर गर्छ, जस्तै :
जति बढी प्रभावशाली विषय उति लामो आयु : पल र डेनिसले अध्ययनको अवधिमा ३१ वर्षअघि भएको हत्याको दोषीलाई पक्राउ गरेको समाचार तुलनात्मक रूपमा लामो समयसम्म टेलिभिजनमा प्रसारण भएको पाए । हत्या भएको व्यक्ति, अवस्था, कारण र हत्यारा लामो समयसम्म दण्डहीनताको अवस्थामा रहनुका जटिल र मार्मिक कारणहरूले गर्दा पनि समाचारको आयु लामो भएको उनीहरूको विश्लेषण देखिन्छ । नेपालमा यस्तै उदाहरण खोज्ने हो भने धेरै पाइन्छन्, पछिल्लो समयमा बालबालिका र वृद्धाहरूलाई आश्रय दिने ‘आमा घर’ चलाएर चर्चा र प्रतिष्ठा आर्जन गरेकी दिलशोभा श्रेष्ठका विरुद्ध एक दैनिक अखबारले समाचार प्रकाशित ग¥यो, जसको आयु तुलनात्मक रूपमा निकै लामो देखियो, महिनौंसम्म पनि त्यस सन्दर्भले स्थान पाइरह्यो ।
यस सन्दर्भमा अलिकति के कुरामा प्रष्ट हुनु आवश्यक छ भने, समाचारले चर्चा पाएको हो कि विषयले ? नेपालले बङ्गलादेश गएर क्रिकेटमा विश्वकपका लागि आफ्नो अपूर्व क्षमता पहिलो पटक देखाएर आयो । ट्वान्टी–ट्वान्टीको यस प्रतिस्पर्धाको समाचारले चर्चा मात्र पाएन, समाचारको आयु पनि तुलनात्मक रूपमा लामो रहेको देखियो । यद्यपि निरन्तर खेल हुने र अनलाइन तथा प्रसारण माध्यमहरूले छिनछिनमा समाचार दिने भएकाले कुन समाचारको आयु कति लामो रह्यो विश्लेषण गर्न भने सजिलो थिएन । ‘डेभलपिङ’ घटनाका समाचार क्षण–क्षणमा दिंदै जाने वा हरेक नयाँ विकासक्रमसँगै नयाँ समाचार बनाउने अभ्यास हेर्दा कुन चरणको बारेमा लेखिएको समाचारको आयु तुलनात्मक रूपमा लामो थियो, सामान्यतः भन्न सकिन्न । त्यसैले समाचारको आयु भन्नुभन्दा समाचारको विषयको आयु भनियो भने बढी वस्तुगत हुनआउँछ । सञ्चार प्रविधिको विकाससँगै आवधिक अन्तरालमा समाचार सम्प्रेषण गर्ने शैलीमा पनि परिवर्तन आएको सन्दर्भसँग सापेक्ष रहेर यस विषयलाई सम्बोधन गर्नैपर्छ । त्यसैले समाचारको आयु भन्नु त्यसले समेटेको विषय, मुद्दा वा सन्दर्भको जीवन–अवधि हो ।
मरिसक्यो तर भेन्टिलेटर चालु : सभासदले अमुक टोलका १० घर–परिवारको खानेपानीको घारो उद्घाटन गरे भने टेलिभिजनले एक पटक समाचार बजाएर थन्काए हुन्छ । यदि त्यही विषयमा विवाद छ, ५० घरको पानीको पाइप बन्द गराएर राजनीतिक समर्थक १० घर–परिवारका लागि सभासदले शक्तिको प्रयोग गर्दै पानी उपलव्ध गराएका हुन् भने त्यसले चार–पाँच वटा बुलेटिनमा पनि क्रमशः स्थान पाउनसक्छ । पानी खानबाट वञ्चित गाउँलेहरू खुँडा–खुकुरी बोकेर आक्रमणका लागि आए, प्रहरीसँग भिडन्त भयो, मृत्यु वा घाइते हुने अवस्था पनि आयो भने त्यसको आयु दिनभरि घण्टैपिच्छे समाचार बजाउँदा पनि फरक पर्दैन ।
नेपालको सन्दर्भमा भने प्रायः आयु सकिएका वा मरिसकेका समाचारलाई पनि भेन्टिलेटरमा हालेर जीवित भएको भ्रम दिने खेती निकै फस्टाएको छ । एकातिर पर्याप्त समाचार सङ्कलक वा रिपोर्टरको अभाव र अर्कातिर पाठक–दर्शक–श्रोताप्रति इमान्दार नभए पनि चल्छ भन्ने मानसिकताका कारण मरेको समाचारलाई उफारिरहने गरिन्छ । खासगरी दशैं–तिहारजस्ता चाडबाड आएको बेला सञ्चारमाध्यसँग समाचार नै हँुदैन । ‘विचरा’को अवस्थामा देखिन्छन् खासगरी टेलिभिजन र रेडियो स्टेसनहरू ।
घिडघिडोमा समाचार : समाचारको प्रभाव खासै बाँकी नरहे पनि कुनै घिडघिडोले त्यसलाई जीवित गराउने विकृति देखिन्छ । ‘वैशाख मसान्तमा प्राण त्याग्ने साधुको घोषणा’ शीर्षकको समाचारको आयु कम्तीमा त्यस मितिसम्म त रहने नै भयो । ‘आज साधुको रक्तचाप न्यून’, ‘आज सम्पूर्ण शरीर सिथिल’, ‘आज चिमोट्दा पनि साधुलाई दुखेन’...भन्दाभन्दै प्रकाशक–प्रसारकले तोकेको मितिसम्म समाचार बेचिरहेका हुन्छन्, अर्थात समाचार जीवित हुन्छ । तर, इच्छामृत्यु सम्भव छैन, न त मृत्युबारे पूर्व जानकारी सहज विषय नै हो भनेर बुझेका विज्ञानका विद्यार्थीले रमाइलोका लागि समाचार पढे पनि यसमा विश्वास गरेका हुँदैनन् । समाचारलाई कुनै घिडघिडोमा अड्काएर व्यापार चलाउने खेती दक्षिण एसियामा फस्टाउन थालेका धेरै उदाहरण भेटिन्छन् । वस्तुतः यस प्रकारको व्यवहार पाठक–श्रोतामाथिको बेइमानी हो । इनारमा खसेको राजकुमार नामको बालकलाई बाहिर निकाल्नुको साटो ‘राजकुमार अभी पाउरोटी खा रहा है... बिल्लीका जैसा उसका आँख चमक रहा है,’ भनेर तिललाई पहाड बनाउने र मुलुकको ध्यान ‘सबै काम छोडेर पुच्छर’ तिर लगाउने छिमेकी भारतको ‘पत्रकारिता’ मा घिडघिडोका सिर्जना दिनदिनै जसो हुनेगरेको देखिन्छ । ठूलो भारतको प्रभाव साना छिमेकी मुलुकको मिडियामा पनि परेको छ । सही अर्थमा समाचारको आयु कुनै चोकेमा अड्काएर पाठक–दर्शक ठग्ने खेल मात्र हो यो । सन्निकटतामा निर्भर आयुः लक्षित पाठक हेरेर पनि कुन समाचारको आयु लामो हुन्छ कि छोटो भन्न सकिन्छ । विदेशमा रहेका नेपालीका लागि प्रकाशित अखबारमा एनआरएनलाई दोहोरो नागरिकता दिने वा नदिने विषयमा लेखिएको समाचारको आयु अवश्य लामो हुुन्छ । नेपालकै जेलमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजको दिनचर्या पनि नेपालीका लागि निकै दिनसम्म ‘ताजै’ रहने विषय हो ।
आयुमा परिणामको प्रभावः व्यापक परिणाम हुने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय महत्वको समाचारको आयु लामो हुन्छ । यस्ता समाचारका विषयमा अनुगमन, फिचर, अन्तर्वार्ता, विश्लेषण आदि लेख्दै आयु बढाउने गरिन्छ । पाठकको चाहनाअनुसार समाचार प्रकाशित गरिने भएकाले परिणामलाई हेरेर समाचार लेख्नु वा त्यसको आयु निदान गर्नु भने स्वाभाविक मान्नुपर्छ ।
जति गहिराइ उति आयुको लम्बाइः ‘स्कुप समाचार’ को आयु प्रायः छोटो हुँदैन । विस्तृत रूपमा खोज गरेर लेखिएको अथवा ‘इन्भेस्टिगेटिभ समाचार’को आयु लामो हुन्छ । एउटै समाचारले विभिन्न पक्षलाई समेट्ने, सरोकारवालाहरूको घेरा फराकिलो हुने र अनुगमन तथा प्रतिक्रियालाई पनि समेट्दै जानुपर्ने भएकाले गहिराइमा पुगेर तयार पारिएको समाचारको आयु लामो हुनु स्वाभाविक हुन्छ ।
ठूलो विषय लामो आयुः अस्वाभाविक विषय समाचार हो, नयाँ जानकारी समाचार हो, ठूला व्यक्तिका गतिविधि र बोली समाचार हुन्... आदि परिभाषाका साथ यसको पहिचान गरिए पनि कस्ता समाचारको आयु लामो हुन्छ भनेर खोजी पस्दा ठूला विषयले दीर्घजीवन पाएको देखिन्छ । राजा वीरेन्द्रको वंशविनास हुनेगरी भएको हत्या प्रकरणका सम्बन्धमा महिनौंसम्म पनि समाचार लेखिनु यसकै सटीक उदाहरण हुनसक्छ ।
यस अतिरिक्त जति बढी त्रास फैलाउने, द्वन्द्व देखाउने र गम्भीर परिणाम इङ्गित गर्ने विषय समेटिन्छ उति त्यसले लामो आयु पाउँछ । तर, यस सम्बन्धमा पत्रकारले आफ्नो जिम्मेबारीलाई ध्यान दिँदै समाजमा सद्भाव विस्तार, स्थायी शान्ति र समन्वयका लागि कलम चलाउने कार्यलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । उन्नत जातको धानको बीउका बारेमा गहिराइसम्म पुगेर लेखिएको समाचारले पनि उत्तिकै लामो आयु पाउनसक्छ, आम कृषकले त्यस प्रकारको समाचार खोजी–खोजी पढ्छन्, ‘एक साताअघि छापिएको वर्णशङ्कर धानको बीउबारेको समाचार भएको पत्रिका होला ?’ भन्दै ग्राहकहरू त्यस समाचारको आयु लामो रहेको जनाउ दिइरहेका हुनसक्छन् । त्यसैले पत्रकारले आयुभन्दा बढी जिम्मेदारीलाई ध्यान दिएर कलम चलाउनु आवश्यक हुन्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !