पावेल खोज्दै नयाँ नेपाल - College Times : Educational Magazine
Headlines News :
Home » » पावेल खोज्दै नयाँ नेपाल

पावेल खोज्दै नयाँ नेपाल

Written By Collegetimes on Wednesday, April 23, 2014 | 2:07 AM



  • केशव दाहाल

किताबहरूमा जीवनको सुन्दरता र गति पाइन्छ । यसले बाँच्ने कला र सामथ्र्य दिन्छ । न त निदाउन दिन्छ न त सुस्ताउन नै । किताब जीवनजत्तिकै महत्वपूर्ण र गतिशिल हुन्छ । कहिलेकाहीं मलाई पात्रहरूले यसरी आफूसँगै हिँडाउँछन् कि वर्षौ सहयात्रा जारी रहन्छ । त्यसैले त अहिलेसम्म पनि म निकोलाई आस्त्रोभस्कीको कृति अग्नि–दीक्षाको पावेलसँग निरन्तर यात्रा गरिरहेको छु । त्यसो त ‘माघवी’को गालब पनि मलाई मनपर्छ । यो सहयात्रा सुरु भएको २०४१ सालबाट हो । जतिखेर म सङ्खुवासभा जिल्लाको एउटा एकान्त गाउँको साधारण हाइस्कुलमा कक्षा आठमा पढ्दै थिएँ । बहुतै साधारण थियो जीवन । स्कुल जाने र विद्यामा गाई–बाख्रा चराउने । गोठालो जाँदा चराका बच्चाहरू खोज्ने र खेल्ने । तर,, सायद सहरमा शान्ति थिएन । सहरमा नयाँ विचार, आस्था र सोचले मान्छेको जीवनलाई आन्दोलित गरिरहेको थियो । नयाँ किताबहरूले जबर्जस्त प्रभाव छोड्दै थिए । र, त्यहीबेला धरान कलेजबाट घर फर्किंदा दाइले केही किताबहरू साथमा ल्याउनुभएको थियो । 

त्यो समय पञ्चायतविरोधी आन्दोलनको जबर्जस्त प्रभाव बढ्दै थियो । अझ युवा, विद्यार्थीहरूमा त यो ज्यादै थियो । जस्तो वनमा आँधीको प्रभाव हुन्छ, त्यस्तै प्रभाव । विद्यार्थीहरू कहीं न कहीं आन्दोलनमा सङ्गठित थिए र नयाँ खाले किताबहरू लुकीलुकी पढ्ने गर्दथे । त्यसरी नै लुकाएर ल्याएका केही किताबहरू दाजुबाट मैले पाएँ । सुरुमा केही अप्ठेरो भए पनि किताबभित्रको रोमाञ्चक जीवनले मेरो किशोर मनलाई छोयो । म त्यस्ता विशेष किताबहरू पढ्न मन पराउन थाले । सारै राम्रा किताबहरू । जीवनलाई फरक हिसाबले परिभाषा दिने, जीवन र जगतलाई बुझ्न प्रेरित गर्ने र बदल्न सिकाउने खालका किताबहरू थिए ती । मैले धेरै बुझ्न त सकिनँ तर केही फरक प्रभावहरूको अनुभव भने गर्न सक्दथें । 

त्यही समय मैले अग्नि–दीक्षा, आमा, युवाहरूको गीता, खुइते कडेरिया, देवासुर सङ्ग्रामजस्ता किताबहरू पढेको हुँ । मैले त्यसपछि अन्तोन चेखोव, तोल्सटोय, मक्सिम गोर्की र अरू धेरै चीनिया तथा रुसी लेखकका कृतिहरू पढ्न थाले । कुनौ सस्ता हिन्दी उपन्यासहरू पढेजस्तो म गोठालो जाँदा एकै दिनमा आधा किताब छिचोल्न सक्थें । तर, बिस्तारै त्यस्ता किताब पढेपछि मेरो फुर्ती नै अर्को हुनथाल्यो । केही ताजा, जिम्मेवार, प्रखर र हिम्मतिलो मान्छे भएको आफूलाई अनुभव गर्दथें । दाजुसँग केही साना किताबहरू पनि थिए । साना तर जोसिला किताबहरू । पढेपछि दिल र दिमागमा भुइँचालो ल्याउने किताबहरू थिए ती । नाम नै उत्साहजनक लाग्ने । तर, म त्यो बेला अग्नि–दीक्षाको पात्र पावेलबाट अरूभन्दा बढी नै प्रभावित भएँ । 

अग्नि–दीक्षामा पावेल भन्ने नायक छ । उसको जीवनको सरलता, आस्था र कर्तव्यप्रति समर्पण, वर्गीय प्रेम, दृढ साहस र अठोट विचित्रको छ । पावेल बहादुर पनि छ । कठोर पनि । मान्छेलाई प्रेम गर्ने विचित्रको शक्ति छ उसमा । ऊ सबैलाई प्रेम गर्छ । तर,, केटीहरूसँगको प्रेम पनि विचित्रको छ । किशोर हुँदा नै पावेलको प्रेम तोन्या नामकी किशोरीसँग हुन्छ । त्यसको प्रभावले मेरो किशोर मनमा पारेको सुन्दर र कोमल छाप अहिले पनि म अनुभव गरिरहेको छु । पछि जब पावेल जिम्मेवार र युवा बन्छ, त्यो बेला उसले बडा सालीन र शिष्ट प्रेम गर्छ रितासँग । साँच्चै दुई कमरेडहरूको हार्दिकतापूर्ण न्यानो र चोखो प्रेम । तर, समयको वेग र सोभियत रुस पुनःनिर्माणको घटनाले उनीहरूको भेटघाटलाई केही समयका लागि टाढा बनाउँछ । पावेल मरेको हल्ला चल्छ । रितालाई पनि लाग्छ, पावेलले सहादत प्राप्त गरेको छ । उसको सम्झनामा रिताले डायरी लेख्छे । तर, पावेल मरेको हँुदैन र केही वर्षपछि उनीहरूको अकस्मात युवा–सम्मेलनमा भेट हुन्छ । जुनबेला रिताको विवाह भइसकेको हुन्छ । त्यो बेलाको क्षण, ओहो... त्यो हार्दिकता र खुसी अनि रिताले दिएको डायरी पढ्दा पावेलले अनुभव गरेको न्यायो । सायद हाम्रा अहिलेका कमरेडहरूले यस्तो पवित्र, न्यायो र हार्दिकतापूर्ण माया गरेका हुन् । राष्ट्र, जनता र जीवनप्रतिको विचित्र लगावले पावेललाई उन्नत मान्छे बनाएको छ । यसले जो कसैलाई पनि प्रभावित गर्छ । पावेलको चरित्रले मलाई पनि पावेल जस्तै बन्न प्रेरणा दियो । 

समय क्रमसँगै म कक्षा नौमा पुगे । मैले यो बीचमा दुई पटक अग्नि–दीक्षा पढें । मभित्रको पावेलले अझ प्रभाव पार्दै गयो । अलिक विद्रोही । म अग्नि–दीक्षाको पावेल जस्तै निडर र लडाकु हुन खोज्थें । त्यति नसहने । कक्षा आठको अन्त्यतिर एक जना सरसँग मेरो झगडा नै भयो । गल्ती मेरो थियो । वहाँले सोधेको प्रश्नको जवाफ नदिँदा मैले साँच्चै नराम्रोसँग पिटाइ खाएँ । तर, मभित्रको पावेलले पिटाइ सहन सकेन । मैले मनमनै प्रतिशोध लिने अठोट गरे । परिस्थिति यस्तो भयो कि वहाँको कक्षा हप्ता दिनसम्म बहिस्कार गरियो । त्यो राजनीतिक उतार–चढावको समय थियो । छिन्ताङ हत्याकाण्ड, पिस्कर हत्याकाण्ड, शिक्षक आन्दोलन, बहुदलको निर्वाचन र झापा आन्दोलनको प्रभाव मान्छेको जीवनलाई उथल–पुथल गर्न पर्याप्त थिए । कोही पनि यस्तो अवस्थाबाट प्रभावित नभई रहने स्थिति थिएन । हाम्रो विद्यालय पनि राजनीतिको केन्द्र बन्दै थियो । सायद सबै विद्यालयहरूमा यस्तै थियो । राजनीतिक चेतना परिपक्क नहुँदै हामी आन्दोलनमा सहभागी थियौं । राति–राति हिँड्ने । भित्तेलेखन गर्ने । गीतहरू गाउने । जङ्गलको बीच वा कुनै एकान्त घरमा बैठक गर्ने । ठुला मान्छेहरूसँग कसिलो हात मिलाउने । सबैलाई तपाई भनेर सम्बोधन गर्ने र जोसिलो ढङ्गले बात मार्ने । यतिसम्म भयो कि म आफूलाई पावेल जस्तै सम्झिन थालें । जबर्जस्त क्रान्तिकारी बन्ने धुन चढ्यो ।

एकदिन बाँसको कुची बनाएर रातो रङले भित्तेलेखन गर्दा हात रातै थियो । दिउँसो टिसर्टको गोजीमा हात हालेर हिँड्दै गर्दा एक जना साथीले शङ्का गरेर मेरो हात तानेर हे¥यो । उसले पहिलेदेखि नै शङ्का गरेको रहेछ । त्यहाँ उसको र मेरो बीचमा कुटाकुट नै भयो । त्यतिखेर उसले मलाई छुरी प्रहार ग¥यो अझै मेरो शरीरमा खत छ । 

त्यसो त पढेपछि कुनै पनि चरित्रहरूले पाठकलाई प्रभावित गर्छन् । मलाई माधवी को गालबले पनि केही समय पछ्यायो । आमाको पावेल पनि कम जबर्जस्त थिएन । राहुल सांकृत्यायनका कृतिहरूले पनि मन र मस्तिष्कलाई निकै तरङ्गित गर्छन् । चिनिया लाल–पात्रहरूदेखि पश्चिमा जीवन सबैले संसार बुझ्न साथ दिन्छन् । कथाहरूमा रुसी कथा ४१ औंको युवा जीवनले मान्छेको आस्थाप्रतिको समर्पणलाई बुझ्न सिकाउँछ । नेल्सन मण्डेलादेखि गान्धीसम्म र माक्र्सदेखि बिपीसम्म बढ्दा मान्छे, चेतना, जीवन र विविधता थाहा पाउन सकिन्छ । आखिर संसार यही विविधताको सङ्गम त हो नि ! मेरो जीवनमा सबै पात्रहरूभन्दा जबर्जस्त साथी पावेल नै भयो । यसको प्रभावले कहिल्यै छोडेन । यो यति नजिक भयो कि आन्दोलनहरूमा जान प्रेरणा दियो । दुःखमा सम्झायो । प्रेमलाई अझ जीवन्त बनाउन प्रेरित ग¥यो । जीवनको अन्तिम क्षणमा पावेल बिरामी पर्छ । न त उठ्न, बस्न, हिँड्न सक्छ न आँखा देख्छ र लेख्न नै सक्छ । तर, मान्छेलाई माया गर्ने उसको तागत यति बलियो छ कि उसलाई जीवन अर्थपूर्ण बनाउने अभिलाषाले छोड्दैन र हुरीका सन्तानहरू नामको उपन्यास लेख्न सुरु गर्छ । सहयोगीहरूले उसलाई मद्दत गर्छन् । उपन्यास सकिन्छ । 

एकदिन मेरो सानो पुस्तकालयबाट अग्नि–दीक्षा हरायो । मलाई पुस्तकालय नै अपुरो लाग्यो र काठमाडौं यात्राका क्रममा पुनः किनें । तर, पहिलेको जस्तो सम्पादन, मुद्रण राम्रो रहेनछ । त्यही भए पनि मसँग छ । कहिलेकाहीं असाध्यै खुसी अथवा निरास भएको बेला अग्नि–दीक्षा पल्टाएर पावेलसँग कुरा गर्नेगर्छु । म पावेलको सुन्दर भनाइलाई कहिल्यौ बिर्सिन सक्दिनँ । ऊ भन्छ, ‘मान्छेको जीवन एक पटक मात्र पाइन्छ । त्यसैले उसले यो जीवनलाई यसरी बिताउनुपर्छ कि मर्ने बेलामा उसले आफ्नो विगत सम्झिएर पछुतो गर्नु नपरोस् र गर्वका साथ उसले भन्न सकोस्, मैले सम्पूर्ण जीवन मानवताको रक्षा र समृद्धिका लागि बिताएँ ।’
समय फेरियो । अहिले न त सोभियत रुस छ, न त पावेल नै । तर, मान्छेको जीवन रक्षाको आन्दोलन जारी छ । मानवता र समृद्धिको अभियान रोकिएको छैन । युवाहरू परिवर्तनका लागि क्रियाशील छन् र पावेल सबै युवाहरूलाई अझ अगाडि बढ्न प्रेरण दिइरहेको छ । जीवनलाई प्रेम गर्न र सुन्दर बनाउन आह्वान गरिरहेको छ । अहिले हामी नयाँ नेपालको अभियानमा छांै । यो अभियानमा धेरै युवा पावेलहरूको खाँचो छ । सायद, फेरि पावेल आउनेछ र संसार निर्माणको अभियानमा हाम्रो नेतृत्व लिनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved