शिक्षामा नवीनताको खोज - College Times : Educational Magazine
Headlines News :
Home » » शिक्षामा नवीनताको खोज

शिक्षामा नवीनताको खोज

Written By Collegetimes on Wednesday, April 23, 2014 | 2:11 AM


  • बद्रीविशाल पोखरेल


‘नव नवोन्मेषशालिनी प्रतिभा,’ अर्थात् पलपलमा नवीनताको खोजी गरिरहने क्षमता नै प्रतिभा हो । यसले ज्ञान, विज्ञान, वाणिज्यलगायतका क्षेत्रमा गरिने पुनरुत्पादन, पुनःसिर्जनामा विशेष ध्यान दिन्छ । प्रतिभा विशिष्ट सिर्जनात्मक चुम्बकीय तीक्ष्णतम् बौद्धिक क्षमता हो । यो कुरा पनि निरन्तरको लगाव र लगनबाट प्राप्त गर्न सकिन्छ । पुर्खाले एक एक इँटा गरेर निर्माण गरेको मानव सभ्यताको जगलाई दरिलो, भरिलो, अडिलो बनाउने महत्तम पक्ष एकाग्र रचनात्मक चिन्तन हो । प्रतिभाको आलोकमा पुनरुत्पादित बौद्धिक चिन्तनलाई कार्यान्वयन गर्दा जीवन र जगत् उन्नतिशील बन्दै गएको हो । यसका लागि मानवको मस्तिष्क मलिलो हुनु जरुरी छ । मस्तिष्कलाई सुकिलो, चहकिलो तथा उर्वर बनाउन शिक्षा र शिक्षण प्रक्रियाको अहम् भूमिका हुन्छ । यस्तोमा शिक्षार्थीको जीवनलाई सफा, सुग्घर र सुन्दर बनाउने साबुन हो, नवीन बहु–आयामिक शैक्षणिक प्रक्रिया । 

सदियौंदेखि विभिन्न मोड, घुम्ती र चरण पार गर्दै गतिवान् बनेको शिक्षा क्षेत्रमा बेला–बेला नवीनताको अन्वेषण भएका छन् । यसमा समयानुकूल नीति, पद्धति, प्रणाली र प्रक्रियाका बारेमा नवीनतम खोज अहिले पनि जारी देखिन्छ । ती खोज र तिनको प्रयोगबाट यस क्षेत्रमा शिक्षा र शैक्षणिक विधि र पद्धति स्थापित भएका छन् । यसका आधारमा ज्ञानको नयाँ क्षितिज खुल्दै गएको देखिन्छ । तर, शिक्षा क्षेत्रमा गरिएका आधुनिक विधि, पद्धति, प्रणाली र प्रयोग नेपाली शिक्षा जगत्मा प्रायः उपयोग नगरिएको पाइन्छ । त्यसमा पनि नवीन र नवीनतम खोजको अध्ययन गर्ने र त्यसलाई उपयोग गर्ने कुरा धेरै परको भएको देखिन्छ । पुरानै पाराको शिक्षण सिकाइका कारण यहाँको शैक्षिकस्तर अत्यन्त कमजोर छ । अध्ययन र अभ्यासका क्रममा प्रतिबद्ध शिक्षकले केही न केही नयाँ ज्ञान र अनुभव प्राप्त गरिरहेको हुन्छ । त्यसलाई समेटेर पनि नवीन शैक्षणिक पक्षलाई उजागर गर्न सकिन्छ । तर, नयाँ बाटोमा हिँड्न असजिलो मान्ने परिपाटीले यस क्षेत्रमा गम्भीर समस्या सिर्जना गरेको छ ।

नेपालमा प्रायः गिजुभाइको ‘दिवा स्वप्न’ नपढेका, शिक्षा विषयको मासिक पत्रिका नपल्टाउने, शिक्षा शास्त्रीय अवधारणाअनुसार विद्यालय र कलेज सञ्चालन गर्ने सोच कम भएकाहरूले शिक्षालय सञ्चालन गरेको स्थिति छ । यस क्षेत्रमा सेवाभाव बहुतै कम देखिन्छ । अहिले यो क्षेत्र आय–आर्जनको क्षेत्र भएकाले यसमा गैरशैक्षिक क्षेत्र द्रव्य मोहले लागेको देखिन्छ । त्यसैले यस विषयमा गम्भीर अन्तक्र्रिया माग भएको सन्दर्भमा नवीन शैक्षणिक पक्ष उपयोग गर्नु अपरिहार्य देखिन्छ ।

पहिलो, शैक्षिक प्रमुख र शिक्षकलाई भूतप्रेत ठानेर विद्यार्थी तर्सिने र तर्साउने प्रवृत्तिलाई त्याग्नु जरुरी देखिन्छ । गल्ती गर्दा डराउने र गल्ती नगर्दा नडराउने वातावरण शिक्षालयमा विकास गर्नुपर्छ । अझ नानीका कक्षामा गल्तीको प्रकृति हेरी सकेसम्म मायालु पारामा सम्झाएर सुधार्नुपर्छ । घरायसी अभिभावकीय भूमिका शिक्षालयमा हुँदा मात्र त्यहाँ पारिवारिक वातावरण हुन्छ । शैक्षिक प्रतिष्ठानको प्रमुख सरल र साधुसित जूनजस्तो अनि अष्टवक्र र असाधुसित पोल्ने घामजस्तो हुनुपर्छ । शिक्षालय प्र्रमुखले शिक्षालयमा पढौं–पढौं र पढाउँ–पढाउँ लाग्ने वातावरण निर्माण गर्न अगुवाइ गर्नुपर्छ । ज्ञान, विद्या, अध्ययन, अनुसन्धान, शिक्षण र प्राध्यापनको अनुभवप्राप्त व्यक्तित्वले पनि हर्दम शिक्षा र शैक्षणिक क्रियापलापको नवीन तथा तरोताजा ज्ञानबिना कुशल प्रशासन असम्भव हुन्छ ।

शैक्षिक प्रतिष्ठान व्यक्ति सुध्रिने स्थान हो । यहाँ आएर पनि कुनै बालक र विद्यार्थीलाई सुधार्न, सच्याउन र सच्याउने मार्ग प्रशस्त गर्न सिकिँदैन भने यस्ता संस्थाको कुनै काम छैन । एउटा विद्यार्थीलाई उसको घैंटामा घाम लाग्ने गरी सम्झाउने, सुधार्ने, सुधारात्मक दण्ड दिने तथा अन्य सिर्जनात्मक विधि अख्तियार गरेर विद्यार्थीलाई योग्य र सभ्य मानव बनाउन ध्यान केन्द्रित गर्नुपर्छ । हाम्रो समाजमा पाठन–कलामा विशिष्टता र नवीनताको खोजी कम भएको छ । एउटा चिनियाँ उक्तिमा... ‘शिक्षक सुत्यो भने विद्यार्थी मर्छ’ भन्ने पदावली छ । यसको आशय शिक्षकको बहु–आयामिक शैक्षिक तथा व्यावहारिक व्यक्तित्वको विद्यार्थीमा गहिरो प्रभाव पर्छ । विषयविज्ञ शिक्षकबाट विद्यार्थीले सम्बन्धित विषयको ज्ञान अघाउँजी पाउँछ । अचेल पनि एकाध शिक्षकले सधैं नवीन शिक्षण विधिको प्रयोग गरेर पढाउँछन् । तिनले पढाएको विषयमा विद्यार्थी अल्छी नमानी पढ्छन् र कक्षामा नै उनीहरूलाई तत् विषयको राम्रो ज्ञान हुन्छ, कक्षामा नै विषय छर्लङ्ग हुन्छ । तर, विडम्बना अचेल पनि धेरैजसो शिक्षक विद्यार्थी केन्द्रित तथा विद्यार्थीको अगुवाइमा सिर्जनात्मक तरिकाले कक्षा सञ्चालन गर्ने विधिका बारेमा अनभिज्ञ छन् । तिनको भावभङ्गिमा, बोली–वचन र लवाइखुवाइमा शिक्षक–प्राध्यापकको चरित्र कम झल्किन्छ । पाठ्यक्रम हेर्दैनन्, अतिरिक्त ज्ञान पितिक्क मात्र हुन्छ ।

कतिपय शिक्षक विषयगत लेखोटका केही हरफ विद्यार्थीलाई अक्षरशः लेखाएपछि आफ्नो काम सकिएको ठान्छन् । विद्यार्थीको समग्र चरित्र निर्माण गर्ने कुरो त तिनलाई थाहा पनि छैन । प्रश्नोत्तर, छलफल, लिखित वा मौखिक कक्षा अभ्यास केन्द्रित पढाइ गरे मात्र विद्यार्थी फूल जस्तो सुन्दर, स्वस्थ, सुगठित तथा सुवासिलो हुन्छ । नत्र जमरा जस्तो पढ्दा–पढ्दै सिल्टिम्मुर खाला जस्तो लुरे हुन्छ । ज्यान र ज्ञान भएको विद्यार्थी बनाउनका लागि परम्परागत किताबको किरो हुने, रटन्ते, घोकन्ते पुरानो परिपाटी त्याग्नुपर्छ । 

शिक्षकले विषयगत र अतिरिक्त ज्ञान सिर्जनात्मक विधिबाट प्रदान गर्नुपर्छ । आदर्श शिक्षकका लागि पढाइ भनेको गाह्रो कुरा होइन । जतिसुकै अप्ठेरो विषयलाई पनि कुशल शिक्षकले सजिलो तरिकाले पढाउने, बुझाउने र ज्ञानी बनाउने क्षमता राख्छन् । किनभने कलाकारका हातमा परेको ढुङ्गो बुद्ध–मूर्ति बन्छ । धपधपी बल्छ । नपढ्नेलाई पढ्न उत्प्रेरित गर्ने, पढ्नेलाई जान्ने बनाउने, जान्नेलाई विषयगत अनुसन्धान गर्न लगाउने खालको शिक्षण प्रक्रिया नै वास्तविक शिक्षा हो । यहाँ त विशिष्ट र प्रतिभाशाली विद्यार्थी भर्ना गरेर विशिष्ट श्रेणीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएकोमा गर्व गर्ने, फुलेल हुने शिक्षालय छन् भने अभिभावक पनि त्यस्तै सतही कुरामा मख्ख पर्छन् । प्रमाणपत्रमा विशिष्ट श्रेणीको नम्बर छ तर अत्यधिक विद्यार्थीमा तदनुसारको विशेषता कहीं, कतै पाइँदैन । यहाँ त स्नातकोत्तर तहमा पनि प्राध्यापकले पुरानै नोट घोटाइरहेको भेटिन्छ । शिक्षक र प्राध्यापकको काम पढ्नु, पढ्नु र फेरि पनि पढ्नु हो । ज्ञानका नवीन र आवश्यक क्षेत्रमा पहुँच राख्नु हो । 

पठन कलामा पनि नवीनताको खाँचो छ । पढ्नु कला हो । अचेल पनि कतिपय विद्यार्थी घर–घरमा टाउको हल्लाउँदै किताब वा नोटकपी ठूलो आवाजमा घोकिरहेका हुन्छन् । विद्यार्थीले विद्यालयमा पढ्दा पढाइमा समग्र ध्यान केन्द्रित गर्ने, घरमा पढ्दा दुई साथी मिलेर किताब वा नोटकपी हेरेर पालैपालो एकअर्कालाई शिक्षकले पढाए जस्तो गरेर पढ्ने हो भने सजिलै शिक्षार्थीले विषयको राम्रो जानकारी ग्रहण गर्छन् । पढ्ने, लेख्ने र मनन गर्ने कुराले विषयको बोध गर्न सरल हुन्छ । शिक्षकले पढाउने विषयको अघिल्लै दिन सामान्य अध्ययन गरेर कक्षामा पढ्दा अझ विषयगत जानकारी गर्न सजिलो हुन्छ । यसबाट विद्यार्थी पनि कक्षामा चनाखो हुन्छ, विद्यार्थीले शिक्षकसित विषयगत प्रश्नोत्तर गर्छ । 

कहिलेकाहीं विषयगत शिक्षक–शिक्षिका र प्राध्यापक विविध कारणले शिक्षालयमा अनुपस्थित हुन्छन् । यस्ता बेलामा ससाना नानीका कक्षामा अन्य जुनसुकै शिक्षकले खाली कक्षा धान्छन् । यस्तोमा पनि अतिरिक्त ज्ञान दिने गरी रोचक ढङ्ले कक्षा सञ्चालन गर्दा फलदायी हुन्छ । कक्षामा विषयविज्ञ वा सहजकर्ता बोलाएर उनीहरू र विद्यार्थीबीच अन्तत्र्रिmया गराउन सकिन्छ । जीवनोपयोगी शिक्षा, नेतृत्व विकास, सकारात्मक सोधखोज, विपश्यना योग, लागूपदार्थ सेवन, शान्ति–सुरक्षा, पत्रकारिता, ट्राफिक नियम आदि खाली कक्षामा भरिलो दीक्षा दिने विषय हुन सक्छन् । पठन–पाठन कला, अतिरिक्त क्रियाकलापको महत्व, विद्यार्थीमैत्री वातावरण आदिबारे सह–अन्तक्र्रिया गर्नुपर्छ । स्वतन्त्र लेखन गर्न लगाउने, विषय र सङ्कायअनुसार विद्यार्थीको तल्लो तहको पढाइमा केन्द्रित प्रश्नोत्तर र छलफल गराउने, लिखित सामग्रीमा देखिएका र पढ्ने–पढाउने क्रममा थाहा पाइएका सुधारका अवसरहरू औंल्याइदिने आदि काम गरेर सिर्जनात्मक रूपमा कक्षा सञ्चालन गर्न सकिन्छ । शिक्षामा हिजोआज नयाँ प्रयोगका अनेक तर्क र अभ्यास सतहमा छन् । मन्टेश्वरी, युसिमास, डिएमआइटी, त्रिभुजीय शिक्षा अनेक विचार र प्रयोगहरू बजारमा आएका छन् । अरू पनि आउँदै जालान् । तर, आज नयाँ भनिएका कतिपय विचार र प्रयोग उहिले अघिल्लो पुस्तालाई सिँगान पुछिदिंदै धूलौटे पाटीमा कखरा सिकाउने गुरुहरूले प्रयोग गरिसकेको आधारमा आएका छन् । तथापि विद्यार्थीहरूको रुचिअनुसार पठन–पाठनमा बाधा नपार्ने गरी बौद्धिक, अतिरिक्त, नयाँ प्रयोग गर्न सकिन्छ । खास खालको बौद्धिक अतिरिक्त क्रियापलापमा रुचि भएका विद्यार्थीको समूह एकत्रित गरी विषयविज्ञ शिक्षक वा प्रमुखको सक्रिय सहभागितामा विशेष अभ्यास गराउने हो भने विद्यार्थी बहुआयामिक हुन्छ । यसरी गरेको अभ्यासबाट लजालु विद्यार्थी, कार्यक्रममा उभ्भिने, अलिअलि बोल्ने, राम्ररी बोल्न जान्ने र जिल्लास्तरीय कार्यक्रममा सफलता प्राप्त गर्ने अवस्थाको प्रत्यक्ष अनुभव गरिएको छ ।

खाली सूत्र र सिद्धान्त मात्र लेखाएर, घोटाएर र त्यसैमा केन्द्रित परीक्षा लिने र उत्तीर्ण हुने–गर्ने परिपाटीमा परिवर्तन जरुरी रहेको छ । तर, हामी हिज्जेका सूत्र र सिद्धान्त घोकाउने पुरानो विधिमा अलमलिएका छौं । तर, नेपाली पाठन विधि, पद्धति, प्रयोग र प्रकृतिमा भिन्नता (नयाँपन) नल्याइहुँदैन । शिक्षा कुनै पनि मुलुकको सर्वोपरि महत्वको क्षेत्र अर्थात् मेरुदण्ड हो । मेकालेले भारत आएर आधुनिक शिक्षाका माध्यमबाट रोपेको पाश्चात्य भाषिक, धार्मिक तथा सांस्कृतिक प्रभाव हटाउन नसकिने गरी अझै परिरहेको देखिन्छ । तसर्थ, शैक्षणिक क्षेत्रलाई बहुतै कुशलता तथा धैर्यतापूर्वक परिचालन गर्नुपर्छ । अन्यथा राष्ट्रिता, जन–जीविका, आत्मनिर्भरता, राष्ट्रिय संस्कृति तथा परोक्ष रूपमा भए पनि जनसहभागिता हटाउँदा ‘नयाँ नेपाल’को शिक्षामा परनिर्भरता बढ्दै जानेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved