- रेनु बजगाई
नयाँ वर्षका सन्दर्भमा पूर्वका शैक्षिक व्यक्तित्वहरूले विविध काम गर्ने योजना बनाएका छन् । यो आलेखका लागि सम्पर्क गरिएका व्यक्तिवहरूमध्ये केहीले यो वर्ष पूरा हुन बाँकी योजना सफल बनाउन समय व्यवस्थापन गर्ने र केहीले नयाँ काम थालनी गर्ने बताए । मान्छेले लाखौं रुपैयाँ खर्च गरेर शिक्षा लिन बाहिर जाने विद्यार्थीलाई पूर्वाञ्चलमै रोक्न नयाँ कार्यक्रमहरू ल्याउने योजना भएको हिसान केन्द्रीय उपाध्यक्ष तथा मेरिल्याण्ड कलेजका संस्थापक भेषराज पोख्रेल बताउँछन् । हिसानको तर्फबाट यो वर्ष पूर्वाञ्चललाई शैक्षिक केन्द्रबिन्दु बनाउन विशेष अभियान सञ्चालन गर्ने योजना रहेको उनले बताए । यसबाहेक पोखरेलले यो वर्ष साथीहरूको समूह बनाएर विभिन्न विद्यालय–कलेजहरूको निरीक्षणका साथै नजिकका देशको तुलनात्मक अध्ययनमा निस्कने योजना पनि बनाएका छन् ।
२०७१ सालमा ‘टङ्क न्यौपानेका भाषिक चिन्तनहरू’ शीर्षकमा पुस्तक प्रकाशन गर्ने प्राध्यापक टङ्क न्यौपानेको योजना छ । सो पुस्तक प्रकाशनपछि भाषिक–शैक्षिक क्षेत्रमा नयाँ बहसको थालनी हुने न्यौपाने बताउँछन् । वैकल्पिक मञ्चका अध्यक्ष तथा लेखक डम्बरब खतिवडाले लेख्दै गरेका राजनीतिक दर्शनसम्बन्धी पुस्तकहरू ‘दर्शनशास्त्र विज्ञान’ र ‘समाजवादको चौथो–पुस्ता’ लेखेर सक्ने तथा प्रकाशन गर्ने योजना बनाएका छन् । खतिवडाले आफूआबद्ध बलाहा बहुमुखी क्याम्पसको व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना रहेको पनि बताए । एसओएस विद्यालय एवम् कोसी कलेजका शिक्षक तथा साहित्यकार मनु मञ्जिल एउटा उपन्यास लेख्दै गरेको र आगामी वर्षमा जसरी भए पनि निकाल्ने योजना भएको बताउँछन् । दुई वटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका कवि मनु मञ्जिल आफूले लेखिरहेको एउटा नाट्य कृति पनि यही वर्ष पूरा गर्ने योजनामा छन् । एभरेस्ट बोर्डिङ स्कुल विराटनगरका प्रिन्सिपल टीकाराम पुरी यस वर्ष आफ्नो विद्यालयमा सीमित विद्यार्थी मात्र भर्ना गर्ने योजनामा रहेको बताउँछन् । कक्षा एकदेखि आठसम्म निरन्तर मूल्याङ्कन प्रणालीबाट कक्षा अगाडि बढाउने अनि यो वर्ष सबै शिक्षकलाई तालिमप्राप्त बनाउने योजना छ,’ उनले भने । एभरेस्ट स्कुललाई स्तरवृद्धि गरेर साउनदेखि विज्ञान र वाणिज्य शास्त्रको ११ कक्षा सञ्चालन गर्न लागिएको पनि पुरीले बताए । विराटनगरबाट प्रकाशित हुने उज्यालो–पत्र दैनिकका सम्पादक तथा सह–प्राध्यापक यज्ञ शर्मा आगामी वर्षभरिमा उज्यालो–पत्रलाई पूर्वाञ्चलमै सबैभन्दा विश्वासिलो र नम्बर वान अखबार बनाउने योजना रहेको बताउँछन् । धरानस्थित ज्ञान–चक्षु विद्यालयकी प्रिन्सिपल केशरी थापा आफ्नो विद्यालयमा यस शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट अध्ययन–अध्यापन थालनी गर्ने योजना रहेको बताउँछिन् । दृष्टिविहीन मात्र नभएर विशेष अपाङ्गता (बोल्न नसक्ने, आँखा नदेख्ने, कान नसुन्ने, बौद्धिक अपाङ्गता) हुनेहरूको सङ्ख्या वृद्धि भइरहेको र यस्ता बालबालिका सधैं एउटा कुनामा मात्र बसिरहनु परेको विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न थापाले यो वर्ष एउटा विशेष महत्वाकाङ्क्षी योजना बनाएकी छन् । बहु–अपाङ्गता भएकाहरूको हात–खुट्टा तन्किन नपाए अवस्था अझ बिगँ्रदै जाने उल्लेख गर्दै उनले तिनीहरूका लागि धरानमा विशेष पार्क बनाउने योजना रहेको बताइन् ।
सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ गुणस्तरका हिसाबले क्याम्पसलाई अझ राम्रो बनाउँदै लैजाने योजनाका रहेको श्रेष्ठले बताए । उनले विश्वविद्यालयबाट क्युयुए प्राप्त गर्ने अभियानमा लागिपरेको र यही वर्षभरिमा सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार क्याम्पसलाई अनुसन्धानमूलक बनाउन यो वर्ष विभिन्न जर्नल तथा बुलेटिनहरू प्रकाशन गर्दै नयाँ सूचना र कार्यक्रमसम्म शिक्षक–विद्यार्थीको पहुँच वृद्धि गर्ने योजना छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !