प्राविधिक शिक्षातर्फ विद्यार्थीको आर्कषण सँगै पूर्वका प्रविधिक कलेजको सङ्ख्या थपिने क्रम बढेको छ । विद्यार्थीको आर्कषणसँगै निजी कलेज सञ्चालकहरू त्यसतर्फ आर्कषित भएका छन् । यसैको परिणामस्वरूप विराटनगर, इटहरी, धरानलगायतका सहरमा कलेजको सङ्ख्या बढेको छ ।
विराटनगरमा ४ वटा इटहरीमा एउटा र घरानमा दुइवटा नयाँ नाम लिएर कलेज सञ्चालन हुन् थालेको हो । यसै शैक्षिक सत्रदेखि विराटनगरमा निहारिका, विराट मल्टिपल, हिमालय र विराट क्षितिज कलेज थपिएका छन् । इटहरीमा नीलगिरि र धरानमा धरान आर्दश र युएन कलेज नयाँ नाम र व्यवस्थापनबाट सुरु भएका छन् ।
कलेज नयाँ खुले पनि अधिकतर सञ्चालकहरू पुरानै अनुहार छन् । अर्किड कलेजका अध्यक्ष अमित ढकाल सोही कलेजका दीपेश बाँस्तोला र सिएम रिजालसहित सात जनाले सुरु गरेको निहारिकामा कोवासका सञ्चालक सदस्य रूपेश खतिवडासहित भानु मेमोरियलका दुई जना र हिसानका अध्यक्ष महेश निरौलासमेत सहभागी छन् । यस्तै, शिक्षादीप उच्चमाविका प्रिन्सिपल ज्ञानबहादुर खडका, शैलेन्द्र सिटौला, गणेश थापासहितको समूहले हिमालय कलेज सुरु गरेको हो । उता, धरानमा रहेको सुनसरी टेक्निकल कलेजबाट बिदा लिएका सात जना मिलेर विराट मल्टिपल कलेज सुरु गरेका हुन् । विराट क्षितिज कलेजका सञ्चालकहरू भने विराटनगरको शैक्षिक क्षेत्रमा नयाँ अनुहार हुन् । इटहरीमा सुरु भएको नीलगिरि कलेजका सञ्चालक पनि सुनसरी टेक्निकल कलेजबाटै आएका हुन् । धरानको युएन र धरान आदर्श पनि धरानका कलेजहरूमा रहेकै समूहले सञ्चालन गरेको हो ।
विराटनगरमा खुलेका सबै कलेजले त्रिभुवन विश्वविद्यालयको नयाँ कार्यक्रमको सम्बन्धन लिएका छन् । विराटनगरका चार वटै कलेजले त्रिविले यसै शैक्षिक सत्रदेखि सम्बन्धन दिएको बिएससी सिएसआइटी भन्ने नयाँ विषय पाएका छन् । निहारिका र हिमालयले बिबिएस र विराट मल्टिपलले खाद्य–प्रविधिमा बिटेकसमेत सञ्चालन गर्ने अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक निजी कलेजलाई सञ्चालन गर्न दिएको बिएससी सिएसआइटीको सम्बन्धन इटहरीको सुस्मा कलेजले समेत पाएको छ ।
यस्तै, इटहरीमा यसपटकदेखि सुरु भएको नीलगिरि कलेजले खाद्य–प्रविधिमा बिटेक अध्ययापन गराउने अनुमति पाएको छ । यस्तै, धरानको युएन कलेजले होटल मेनेजमेन्ट र बिबिएस पढाउन थालेको छ । प्राविधिक विषय खोज्ने विद्यार्थी टाढा जानुपर्ने बाध्यता टार्न नयाँ कलेजमा नयाँ विषय सञ्चालन गर्न लागिएको ती कलेजका सञ्चालकहरूले बताएका छन् । विराटनगरमा खाद्य–प्रविधि पढाइ हुने एउटा पनि कलेज नभएकाले बिटेक कार्यक्रमसहित कलेज सुरु गरेको विराट मल्टिपल कलेजका सञ्चालक श्रवणकुमार थापाले बताए । ‘विराटनगर क्षेत्रका विद्यार्थीलाई धरान गएर खाद्य प्रविधि पढ्न कठिनाइ भएकाले विराटनगरमा कलेज स्थापना गरेका हौं,’ थापाले भने ‘अब तराईका विद्यार्थीले घरमै बसेर आफ्नो वातावरणमा खाद्य–प्रविधि अध्ययन गर्न पाउँछन् ।’
निहारिका कलेजका सञ्चालक अमित ढकालले बिएससी सिएसआइटी इन्जिन्यरिङसरहको नयाँ विषय भएकाले विराटनगरका मात्र नभएर पूर्वाञ्चकै विद्यार्थीहरूको आकर्षण यसतर्फ भएको बताए । ‘विराटनगर पूर्वको शैक्षिक गन्तव्य हो । त्यसैले नयाँ–नयाँ प्राविधिक विषय विराटनगरको आवश्यकता पनि हो,’ ढकालले भने ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !