१३ वर्षीया सम्झना गुरूङ इटहरी–१ स्थित पोखरेल थरका एक व्यक्तिको घरमा बालमजदुरका रूपमा काम गर्दै आएकी छन् । कविर माविमा कक्षा ४ मा अध्ययनरत उनी विद्यालय गएबाहेकको सम्पूर्ण समय भाँडा माझ्ने, भात पकाउने, किनमेल गर्ने, लुगा–कार्पेट धुने, घर–शौचालय सफा गर्ने काममै बित्छ । कामले गर्दा दिउँसो घरमा पढ्ने समय पाउँदिनन् । जीउ फतक्क गलेपछि राति पढ्न मन पनि लाग्दैन ।
‘स्कुल जान्छु, होमवर्क पनि दिएको हुन्छ तर कामले गर्दा घरमा पढ्ने समय नै पाउँदिन,’ सम्झना भन्छिन्, ‘कहिलेकाहीं त स्कुल जान पनि पाउँदिनँ, आज घरमा निकै काम छ, स्कुल न जा भन्छन् ।’
उनलाई ‘मालिक’ले कहिलेकाहीं कुटपिट पनि गर्छन्् । घरबेटीबाट कुटपिटबाहेक अन्य घरायसी दुव्र्यवहार पनि उनले खेप्नुपर्छ । घरेलु बालमजदुर भएकाले स्कुलमा सहपाठीहरूले जिस्क्याएर हैरान पार्छन् । बसेको घरमा दुव्र्यवहार हुँदा र सहपाठीहरूले जिस्क्याउँदा उनलाई नरमाइलो लाग्छ । तर, घरको आर्थिक अवस्था सम्झेर, अनेक–थोक सहेर भए पनि अर्काकोमा बस्नुपरेको उनले सुनाइन् ।
‘साथीहरूले त जिस्क्याउँछन्–जिस्क्याउँछन्, सरहरूले पनि हामीजस्तालाई त्यति चासो दिँदैनन्,’ उनले स्कुलको वातावरणबारे भनिन् । नेपाली सजिलो र गणित गाह्रो लाग्ने उनलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन मन लाग्छ तर अवसर पाउँदिनन् ।
आफन्तको सम्पर्कबाट पोखरेलको घरमा काम गर्न आइपुगेकी उनी काम गरेबापत भने पारिश्रमिक पाउँदिनन् । खान, बस्न, लाउन र विद्यालय जान दिइएको छ । घरबेटीले प्रायः उब्रिएको खानेकुरा दिने गरेको उनले बताइन् ।
यता, विद्यालय जान पाए पनि आवश्यक शैक्षिक सामग्रीमा उनको सहज पहुँच छैन । घरबेटीले समयमा कापी, कलम र किताब किनिदिँदैैनन् ।
सम्झनाजस्तै, कविर माविमा कक्षा ४ अध्ययनरत हिरामाया सुनुवारको पनि विद्यालय गएबाहेकको समय भाडा माझ्ने, लुगा धुने, घर–शौचालय सफा गर्ने काममै बित्छ । कामले थाकेर
घरमा पढ्न मन लाग्दैन । विद्यालय पठाउने कुरामा घरबेटीले चासो राख्दैनन् तर पनि उनी घरमा कामको समय मिलाएर नियमित विद्यालय चाहिँ जान्छिन् । विद्यालयमा शिक्षकबाट समेत बेवास्ता गरिन्छिन् ।
उनले घरबेटीबाट भोग्नुपरेको प्रमुख समस्या अध्ययनको नै भएको बताइन् । घरबेटीको व्यवहार ठीकै भए पनि पढ्न नपाएकोमा आफ्नो भविष्य कस्तो हुने हो भन्नेमा उनी चिन्तित छिन् । राम्रोसँग पढ्न पाउने आसमा आफन्तमार्फत् अर्काकोमा काम गर्न बसेकी घरेलु बालमजदुर हिरामायाको राम्रोसँग पढ्ने सपना चकनाचुर भएको छ । ‘बरु आफ्नै घरमा हुँदा जे–जस्तो दुःख परे पनि पढाइ राम्रो थियो,’ उनले भनिन, ‘अहिले त पढाइ पूरै बर्बाद भयो ।’
सम्झना र हिरामाया मात्र होइन, इटहरी क्षेत्रमा घरेलु बालमजदुरको रूपमा काम गर्ने बालबालिकालाई पढाइको सट्टा चर्को काममा लगाउने गरेको पाइन्छ । घरेलु बालमजदुरका रूपमा काम गर्ने बालबालिकाको यकिन तथ्याङ्क नभए पनि कलेज टाइम्सले २० जना घरेलु बालश्रमिकलाई नमुनाका रूपमा लिई गरेको सर्वेक्षण–अध्ययनबाट हरेक घरबेटीले बालबालिकालाई पढाइदिने बाचा गर्दै ल्याए पनि पढ्ने उपयुक्त वातावरण भने नदिने, नामका लागि मात्र विद्यालयमा भर्ना गराइदिने र सकेसम्म काममै घोटाइराख्ने गरेको पाइएको छ ।
कतिपय घरेलु बालमजदुरले घरायसी कामसँगै गोठ, खेत तथा बगैंचाको काम पनि गर्नुपर्छ । ‘मैले त घरको कामसँगै तीन वर्षदेखि गोठ र बगैंचाको पनि काम पनि गर्दै आएकी छु,’ इटहरीकै कुमारी न्यौपानेको घरमा बस्ने प्रीति पाण्डेले भनिन् ।
इटहरीको कविर मावि, जनता मावि र कचना माविमा घरेलु बालमजदुरका रूपमा काम गर्दै पढ्ने गरेका बालबालिकाको अध्यययन गर्दा नमुनाका रूपमा लिइएका सबै बालबालिकाले भाँडा माझ्ने, भात पकाउने, किनमेल गर्ने, लुगा–कार्पेट धुने, घर–शौचालय सफा गर्ने, बालबालिकाको हेरचाह गर्ने काम गरी स्कुल जाने गरेका छन् । अधिकतरको पढाइ नाम मात्रको हुने गरेको छ । केही बालबालिकाले गोठ, खेत तथा बगैंचाको काम पनि गर्दै आएका छन् ।
अध्ययन गरिएका बालबालिकामध्ये १८ जना नियमित विद्यालय जाने गरे पनि घरमा रहँदा जतिबेला पनि काम गर्नुपर्ने भएकाले पढ्ने समय र वातावरण नपाएर अधिकतरको शैक्षिकस्तर कमजोर देखिन्छ । शैक्षिकस्तर कमजोर भएका बालबालिकालाई शिक्षकले चासो दिने, उत्प्रेरित गर्ने तथा स्तर उकास्न विशेष कार्य योजना बनाउने गरेको पाइँदैन । ‘स्कुलमा हामीलाई पढ्न जानेनन् भनेर गाली–गलौज र दुव्र्यहार हुने गर्छ,’ बालमजदुर स्वतिष्का श्रेष्ठले भनिन् । केही बालमजदुर शिक्षक–शिक्षिकाकै घरमा पनि छन् । शिक्षक–शिक्षकाको घरमा बस्ने उनीहरूलाई देखावटी रूपमा ‘राम्रो’ व्यवहार गरे पनि घरभित्र भने छुवाछुत र भेदभाव गर्ने गरिएको छ ।
मामला अध्ययन गरिएका घरेलु बालमजदुरमध्ये सबै पढाइका लागि सामुदायिक विद्यालयमा भर्ना गरिएका छन् । उनीहरूमध्ये धेरैलाई नेपाली विषय सजिलो लाग्ने गरेको पाइयो । २० मध्ये आठ जनालाई नेपाली र चार जनालाई गणित विषय सजिलो लाग्ने गरेको पाइयो । उनीहरू चार जनालाई अङ्ग्रेजी र चार जनालाई गणित विषय अप्ठ्यारो लाग्ने गरेको पाइयो ।
अतिरिक्त क्रियाकलापमा कतिको सहभागी हुने गरेको छ ? भन्ने प्रश्नको जवाफमा आठ जना प्रायः हुने गरेका, चार जना मन नलाग्ने गरेको, छ जनाले अवसर नै नपाउने गरेको र दुई जनाले प्रतियोगितामा जित्छु जस्तै नलाग्ने गरेको जवाफ दिए । ‘अतिरिक्त क्रियाकलापमा सहभागी हुन मन लागे पनि अवसर नै पाउँदिनँ,’ बालमजदुर मुना गड्तौलाले भनिन् ।
सर्वेक्षणमा परेका बालमजदुरहरूको अतिरिक्त क्रियाकलापको सहभागिताका हकमा छ जनाले केही अवसर नपाएका, छ जना बेलाबेलामा सहभागी हुने गरेका, चार जना बाल क्लबआबद्ध र दुई जना क्लास मनटिर रहेको पाइयो ।
‘घरेलु बालश्रमिकमा मानसिक रूपमा अपहेलित भएजस्तो भान हुन्छ, कक्षामा प्रभावकारी नेतृत्व र सहभागिता पाइँदैन,’ कचना माविका शिक्षक प्रकाश गौतमले भने । कविर माविका प्रधानाध्यापक नेत्रप्रसाद कोइराला बालमजदुरको शैक्षिक पहुँचमा वृद्धि गर्नका लागि दण्ड, सजाय र होच्याउने व्यवहार नगरी समान व्यवहार गर्ने तथा सरकारी नियमकारी निकायले छात्रवृत्तिसँगै छात्रावासको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
नमुना छनोटमा परेका घरेलु बालमजदुरले घरबेटीले बाधा अवरोध गर्ने गरेकाले पढाइमा समस्या हुने गरेको बताएका छन् । अधिकतर घरबेटीले घरकै काममा व्यस्त बनाएर पढाइमा अवरोध सिर्जना गर्ने–गरेको पाइएको छ । केहीलाई भने शैक्षिक सामग्री नकिनिदिएर र कुटपिट गरेर पनि पढाइमा अवरोध सिर्जना गर्ने गरेका छन् । घरबेटीले अवरोध सिर्जना गर्ने गरेकैले अधिकतर बालबालिका नियमित विद्यालय नजाने, गए पनि होमवर्क–प्रोजेक्ट वर्क नगर्ने गरेको पाइयो । ‘केहीले मात्र होमवर्क गर्छन्, बढीले गर्दैनन्,’ कविर माविकी शिक्षिका क्यामुना खुलालले भनिन्, ‘घरबेटीले उनीहरूलाई पढ्ने वातावरण नै दिँदैनन्् अनि कसरी होमवर्क गरुन् त ?’
खुलालका अनुसार घरेलु बालश्रमिकलाई पढाउने क्रममा विद्यार्थीलाई दिएका कार्य पूर्ण रूपले नगर्दा समस्या भोग्नुपरेको छ । घरेलु बालमजदुरको सिकाइमा रहेको समस्या उल्लेख गर्दै जनता माविका शिक्षक गोविन्द मिश्रले गृहकार्य नगर्ने, नियमित विद्यालय नआउने र आए पनि विद्यालयमा पूरा समय नबस्नाले उनीहरूलाई सिकाउन समस्या हुने गरेको बताए ।
घरेलु बालमजदुरलाई समयमा कापी, कलम र किताब नकिनिदिएर पनि समस्या हुने गरेको पाइयो । अध्ययनका क्रममा यस्ता बालबालिका चार जना भेटिए । शब्दकोश, व्याकरण, ज्यामिति–बक्सजस्ता शैक्षिक सामग्रीमा पहुँच नभएका दुई जना भेटिए ।
घरमा पढ्न पाउने न्यून बालबालिकाले पनि मुस्किलले अवस्था हेरेर एक–दुई घन्टा समय पाउने गरेका छन् । ‘विद्यार्थी’ भनिए पनि उनीहरूको दिनचर्या घरको काम गरेर नै बित्ने गरेको छ । घरेलु बालश्रमिकमध्ये आधाजसोले घरायसी दुव्र्यहार भोग्ने गरेका छन बाँकी आधाले अधिक श्रम गर्ने गरेका छन् । राम्रो पढाइसँगै खाने, बस्ने र लाउने सेवा–सुविधा प्रदान गर्ने सर्तमा ती बालबालिका काम गर्न राखिएका छन् ।
नमुना छनोटमा परेका दुई जना साहराका लागि र दुई जना परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्य भएको भेटिए पनि अरू बालबालिका पढ्न पाउने लालसाले अर्काको घरमा काम गनृ बसेको पाइयो । बालमजदुरमध्ये न्यूनले मात्र पारिश्रमिक पाउने गरेका छन, त्यही पैसा पनि आफन्त तथा आमाबाबुले लाने गरेका छन् ।
घरेलु बालश्रमिक राख्ने कतिपय घरबेटी अप्ठ्यारोमा परेका बालबालिकालाई उद्दार गरेको, घरमा राखेर आश्रय दिएको बताउँछन् । घरेलु बालमजदुर राखेका वीरबहादुर भण्डारीले आफूले टुहुरो बालकलाई साहरा दिएको बताए । तर, उपयुक्त पढ्ने वातावरण दिँदा पनि बिरामी भइरहने समस्याले गर्दा उसले पढाइलाई निरन्तरता दिन नसकेको सुनाए ।
यसरी काम गर्ने बालबालिका बालअधिकारका बारेमा अनभिज्ञ छन् । केहीले रेडियो सुनेर, टिभी हेरेर र किताब पढेर थाहा पाए पनि विस्तृत ज्ञान छैन । खानामा समेत घरेलु बालमजदुरलाई भेदभाव गर्ने गरेको पाइएको छ । अधिकतरलाई अरूजस्तै खाना दिइए पनि दुई जनालाई उब्रिएको बाँकी र दुई जनालाई छुट्टै पकाएर दिने गरेको अध्ययनका क्रममा भेटियो । अझ मार्मिक पक्ष त केही बालिकालाई भने घरबेटी तथा तिनका परिवारका सदस्यले यौन–दुव्र्यवहारसमेत गर्ने गरेको पाइयो ।
अध्ययनका लागि जिज्ञासा राख्ने क्रममा दुई बालिकाले घरबेटीले यौन दुव्र्यहार गर्ने गरेको बताए । ‘राति गर्ने काम गर्छन्,’ एक बालिकाले भनिन् । गोप्य फाराम भर्न लगाउँदा उनले आफू यौन दुव्र्यवहारमा परेको खुलाएपछि थप जिज्ञासा राख्दा ‘राति गर्ने काम गर्छन्,’ भन्ने जवाफ दिइन्, बाँकी बताउन अप्ठेरो मानिन् ।
इटहरी क्षेत्रमा बालश्रमिकको समस्या बढ्दो भए पनि यस क्षेत्रका सामुदायिक विद्यालयमा अहिलेसम्म घरेलु बालमजदुरका लागि विशेष योजना तथा सेवा–सुविधा केही छैन । घरेलु बालमजदुर भएको पहिचान भए पनि यकिन तथ्याङ्क छैन । घरेलु बालश्रमिकका लागि अहिलेसम्म कुनै संस्थाले सहयोग गरेका छैनन् ।
‘विभिन्न संघ–संस्थाले बालश्रमिक विद्यार्थीको खोजी त गर्छन् तर अहिलेसम्म तिनीहरूका लागि केही सेवा–सुविधा उपलब्ध गराएका छैनन्,’ कविर माविका प्रधानाध्यापक कोइरालाले भने । उनका अनुसार घरेलु बालश्रमिकलाई सुधार्नका लागि घरेलु बालश्रमिक राख्ने अभिभावकले पढ्ने समय दिनुपर्ने र सरकारीस्तरबाट छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ ।
‘घरेलु बालश्रमिकको अहिलेको पढाइ हेर्दा मिहिनेत गरेमा राम्रो हुन्छ, उनीहरूलाई राम्रो बनाउन लागि विद्यालयले नै प्रोत्साहन गर्नुपर्छ तर अहिलेसम्म भएको छैन,’ जनता माविका प्रधानाध्यापक छत्रपति ढुङ्गेलले भने ।
बालबालिकासम्बन्धी ऐन २०४८ र बालश्रम निषेधित र नियमित ऐन २०५६ अनुसार १६ वर्ष उमेर पूरा नगरेकाहरू बालक हुन् । दुवै ऐनले १४ वर्ष पूरा नगरेकालाई श्रमिकको रूपमा काम लगाउन निषेध गरेको छ । नमुना छनोट र मामला अध्ययन गरिएका सबै बालबालिका १४ वर्षमुनिका हुन् ।
तीव्र जनसङ्ख्या वृद्धि, गरिबी, अशिक्षा, परिवारमा उचित वातावरणका साथै बाबुआमाको माया, रेखदेखको अभावका कारण बालश्रमिकको रूपमा बालबालिका काम गर्न बाध्य हुने उप्का नेपाल इटहरीका मेघराज न्यौपानेले बताए । उनका अनुसार उप्का नेपालले परियोजना सञ्चालन गरी त्यस्ता बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम, व्यवसायमा सहयोगलगायतका बालअधिकार र संरक्षणमा अभिमुखीकरण गर्ने गरेको छ ।
घरेलु बालमजदुरको क्षमता अभिवृद्धि र अवस्था सुधारका लागि अभिभावक शिक्षा, शैक्षिक पाठ्यक्रममा बालअधिकारका विषय समावेश गर्नुपर्ने र भएका कानुन कार्यान्वयनका लागि दबाब दिनुपर्ने न्यौपानेको तर्क छ ।
गरिबीबाट मुक्ति पाउनका लागि बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभिन्न काममा लगाइन्छ । ग्रामीण क्षेत्रका त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सहरमा सेवा–सुविधा दिने र पढाइ दिने आशा देखाएर हुनेखाने परिवारले बालमजदुरलाई राख्ने गरेका छन् । बालमजदुर राख्नेको सङ्ख्या बढ्दो छ । यसरी बालमजदुरको सङ्ख्यामा वृद्धि हुनु र गरिबीबाट मुक्ति पाउनका लागि बालबालिकालाई काममा लगाइनुले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि खस्कने कुरामा शङ्का छैन । यसले मानवीय विकासको सूचकाङ्क र राष्ट्रिय विकास लक्ष्य प्रभावित बनाइरहेको छ ।
बालश्रममा संलग्न अधिकतर बालबालिका मानवका आधारभूत अधिकारदेखि वञ्चित छन् । घरबेटीले त्यस्ता बालबालिकालाई शोषण र भेदभाव गर्ने सजिलो माध्यमका रूपमा ठान्छन् । किनकि तिनीहरू आज्ञाकारी, सजिलै पाइने र सजिलैसँग शोषित हुनेखालका हुन्छन् ।
विद्यालय गएबाहेक साथीभाइसँग रमाउँदै–खेल्दै पढ्नुपर्ने र शिक्षासम्बन्धी अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने समयमा धेरै बालबालिका विवशतावश श्रममा लाग्न बाध्य छन् । तथापि बालबालिकालाई नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सभा–सम्मेलनहरूमा बालश्रम शोषणबाट सुरक्षा र शिक्षामा सुनिश्चितता गर्ने प्रतिबद्धता गरेको पाइन्छ । तर, विडम्बना नेपालमा बालश्रमिक, उनीहरूमाथि कामको बोझ र अन्याय समस्या दिनानुदिन बढ्दो छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !