हुर्काउँदैछ ज्ञानचक्षु थरिथरि प्रतिभा - College Times : Educational Magazine
Headlines News :
Home » » हुर्काउँदैछ ज्ञानचक्षु थरिथरि प्रतिभा

हुर्काउँदैछ ज्ञानचक्षु थरिथरि प्रतिभा

Written By Collegetimes on Saturday, November 2, 2013 | 3:16 AM



हियाएर नगोडिएका बिरुवाहरू
यहि बगैंचामा आएर फुल्छन्
धिक्कारेर निचोरिएका सपनाहरू
यहाँ स्वतन्त्रपूर्वक डुल्छन्
जीवनदेखि वाक्क मनहरू
यहाँ ज्ञान–सागरमा झुल्छन्
यो मन्दिर हो
जहाँ दृष्टिविहीनका प्रज्ञा–चक्षुहरू खुल्छन् ।


कक्षा ११ मा अध्ययनरत रमेश प्रसाईले यो दुनियाँ देख्न पाएका छैनन् । आफ्नो विद्यालयका बारेमा उनैले लेखेको कविताको एक अंश हो यो । लय हालेर कविता सुनाउने उनी गीत गाउन पनि उत्तिकै खप्पिस छन् । धरान–१५ मा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय पुग्दा तपाईंलाई अचम्म लाग्नसक्छ, दृष्टिविहीनका प्रतिभा देख्दा । क्यारिकेचर होस् या नृत्य, जे गरेर भए पनि अरूलाई आर्कषित गर्ने कला छ उनीहरूसँग । आफैं वाद्यवादन बजाएर नृत्य गर्दा हेर्नेहरू मख्ख नपर्ने कुरै छैन । विद्यालयमा आउने पाहुनालाई स्वागत गर्दै मख्ख पार्ने माध्यम नै गीत, नृत्य साथै क्यारिकेचर भएको छ । गगन आले, सुमी चौधरी, सुजाता लिम्बु, रश्मि गुरुङ गीत गाउन माहिर छन् भने । वाद्यवादनमा निकेश थापा, डिल्ली दुलाल, आषीश राई, अरूण थापालगायत विद्यार्थीहरूको प्रतिभा कदरयोग्य छ ।
बेग्ला–बेग्लै लक्ष्य बोकेर पढिरहेका दृष्टिविहीन विद्यार्थीहरू पढाइका साथै अरू क्रियाकलापमा पनि उत्तिकै सक्रिय र लगनशील छन् । विद्यालयमा आउने पाहुनालाई स्वागत गर्न होस् या विद्यालयका सांस्कृतिक कार्यक्रममा होस् उनीहरू आफ्नो प्रतिभा देखाउँछन् । अध्ययन सँगसँगै दृष्टिविहीन बालबालिकाहरू गीत, गजल, कविता, नाटक लेखनका साथै वतृत्वकला, हाजिरी–जवाफलगायतमा अब्बल रहेको विद्यालयकी प्रधानाध्यापक केशरी थापाले बताइन् । समाजले दृष्टिविहीन बालबालिकाको क्षमता, कला र प्रतिभा पहिचान गर्नुपर्नेमा थापाको जोड छ । ‘शिक्षासँगै कला सङ्गीतमा नेत्रहीनले गर्न नसक्ने कुरै छैन, तर खाँचो छ प्रेरणाको,’ उनले भनिन् ।

कस्तो हो ज्ञानचक्षु विद्यालय
ज्ञानचक्षु विद्यालय दृष्टिविहीनहरूकै लागि स्थापना गरिएको पूर्वको एक मात्र विशेष विद्यालय हो । दृष्टिविहीनकै लागि भनेर स्थापना गरिए पनि अहिले विद्यालयमा न्यूनदृष्टि भएका विद्यार्थीलाई विशेष स्रोत कक्षा र दृष्टिविहीनलगायत अन्य बहुअपाङ्गता भएका विद्यार्थीका लागि पनि छुट्टै कार्यक्रम सञ्चालन भइरहेको छ ।
धरान–१५ मा २०३४ मा स्थापित भएको विद्यालयमा अहिले ९८ जना दृष्टिविहीन विद्यार्थी छन् । दृष्टिविहीनसहित बहुअपाङ्गता भएका बालबालिकासमेत छन् । २०५५ सालसम्म प्रावि रहेको विद्यालय २०६८ देखि कक्षा ९ र २०६९ देखि कक्षा १० सम्मको पढाइ हुन थालेको छ । २०६९ देखि नै दृष्टिविहीनलगायत अन्य बहुअपाङ्गता भएका विद्यार्थीका लागि पनि छुट्टै कक्षाको व्यवस्थापन गरिएको छ । पहिलोपटक २०६९ सालको एसएलसी परीक्षामा सहभागी १० जना दृष्टिविहीनमध्ये ९ जना प्रथम र एक जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए ।
विद्यालयबाट पढाइसकेकाहरू विभिन्न ठाउँमा सहज र सम्मानित जीवन बिताइरहेका छन् । समाजको उदाहणीय बनेका छन् । २०५१ सम्ममा १४ जना र २०६९ सम्म आइपुग्दा एक सय ३९ जना दृष्टिविहीन पुनःस्थापित भइसकेका छन् । यहाँका पूर्व विद्यार्थी शाखा अधिकृतदेखि समाजका विभिन्न क्षेत्रमा छन् भने धेरै जना शिक्षण पेशामा आबद्ध रहेको प्रधानाध्यापक थापाले बताइन् ।

के के छ विद्यालयमा
नेपाल सरकार विभिन्न दातृसंस्थाले बनाइदिएका आठ वटा पक्की र पाँच वटा कच्ची भवनमा ८१ वटा कोठा छन् । तीनै कोठा कक्षाकोठा र आवासका लागि प्रयोग भइरहेका छन् । १२ वटा कम्प्युटरमध्ये ८ वटा ल्याबमा र अरू प्रशासनिक कार्यका लागि प्रयोगमा छन् । कम्प्युटर र बत्तीका लागि सोलारको ठूलो प्यानल राखिएको छ । पानीको सुविधासहितका २२ वटा शौचालय छन् ।
विद्यालयको आफ्नै गाडी छ । हाते इम्बोसर बे्रले प्रिन्टर, बे्रललिपि, अडियो लाइब्रेरी, रेकर्डिङ कोठा, न्यूनदृष्टिका विद्यार्थीका लागि विशेष कक्षा, कम्प्युटर, सूक्ष्म प्रयोगशाला आदि रहेका छन् ।
यस्तै, शैक्षिक जनशक्तिका रूपमा १४ जना शिक्षक र १० जना कर्मचारी रहेका छन् । विद्यालयले एक जना अहेबलाई विद्यालयमा बोलाएर विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

समस्यै–समस्या
विशेष विद्यालय भएकाले पहिलो त शैक्षिक सामग्रीकै समस्या छ । ब्रेललिपिमा शैक्षिक सामग्री पर्याप्त मात्रामा उपलब्ध छैनन् । त्यस्तै यस विद्यालयमा पढाउने दक्ष शिक्षकको पनि अभाव रहेको प्रधानाध्यापक थापाले बताइन् । ‘एक त स्पर्श र ध्वनिका भरमा पढाउनुपर्ने हुनाले यस्तोमा दक्ष शिक्षक छैनन् झन् विषयगत शिक्षक त पाउनै गाह्रो,’ उनले भनिन्, ‘यसतर्फ न सरकारले ध्यान दिएको छ न त सरोकारवालाहरूले नै सोचेका छन् ।’ अर्को समस्या हो, आर्थिक समस्या । विद्यालयमा रहेका ९८ विद्यार्थीमध्ये ३७ जनालाई सरकारले प्रतिवर्ष १७ हजारका दरले रकम उपलब्ध गराउँछ भने बाँकीलाई दाताहरूको सहयोगबाट धान्नुपरेको थापाले बताइन् । सरकारले दिएको रकमले एकछेउ पनि नपुग्ने उनको भनाइ छ । विद्यालयमा पढ्ने ६१ जनालाई विद्यालयले नै खर्च जुटाउनुपर्छ भने १० कक्षा सकेर ११ र १२ पढ्दै गरेका विद्यार्थीलाई पनि आवासको व्यवस्था गर्नुपरेको छ । ल्याबरोटरी माविमा प्लसटु पढ्ने २२ जना दृष्टिविहीन विद्यार्थीको घर ज्ञानचक्षु नै हो । त्यसैले विद्यालयलाई आर्थिक भार धेरै भएको थापाको भनाइ छ । शिक्षक कर्मचारीको तलब सरकारले उपलब्ध गराए पनि विद्यार्थीलाई आवासको व्यवस्था गर्दा उनीहरूका लागि न्यूनतम आवश्यक्ता र औषधि उपचारका लागि ठूलो खर्च लाग्छ ।
खर्च जुटाउन स्थायी र अस्थायी दाताहरूको खोजी जहिले पनि जारी रहने बताउँदै यसवर्ष फरवर्ड लुकिङ काठमाडौं, पहार ट्रष्ट नेपाल, एसओएस बालग्राम, प्लान नेपाललगायत संस्थाले सहयोग गरेको उनले सुनाइन् । हरेक वर्ष यस्ता सहयोगी संस्थाको सूची परिवर्तन हुन्छ । नेपालकै एउटा विशेष विद्यालयलाई सहयोग गर्दै सबै दृष्टिविहीनलाई उच्चशिक्षाको पहुँचसम्म पु¥याउँनु राज्यको दायित्व हो । यसका लागि सहयोग गर्नु आम नागरिकको पनि उत्तिकै दायित्व छ । रमेश प्रसाईको कविताको यो अंशले हामीलाई अझ बढी दायित्वबोध गर्ने प्रेरणा दिन्छ ।
यहाँ प्रेरणा दिइन्छ
आफूभित्रको उदाउँदो सूर्य चिन्ने
यहाँ अपमानको बदला पनि सम्मान सिकाइन्छ
घृणाको बदला प्रणय
ज्ञानचक्षुको दिव्य छहारी
 यहि हो मेरो विद्यालय ।

 »शब्द : शेखर ढकाल »तस्बिर: शेखरनाथ जोगी

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved