स्ववियु निर्वाचनको प्रसङ्ग आउँदा मलाई २०४१ सालको एउटा घटना सम्झना
आउँछ । त्यो समय विद्यालयस्तरमा ‘विद्यार्थी राजनीति’ भर्खर प्रवेश गराइएको थियो । विद्यालयमा
समेत स्ववियु निर्वाचन हुन्थ्यो । हामी विद्यार्थीहरू नेवि सङ्घ र अनेरास्ववियुमा
विभाजित थियौं । यसको प्रभाव व्यवस्थापन समिति र शिक्षकहरूमा समेत देखिन्थ्यो ।
विद्यालयमा पक्ष–प्रतिपक्ष तथा तीव्र राजनीतिक ध्रुवीकरणको
अवस्था थियो । हामीलाई कक्षा ८ मा नेपाली पढाउने गुरु ठाकुर भण्डारीको अध्यापन
शैली असाध्यै जीवन्त थियो । उत्कृष्ट कथावाचकका रूपमा परिचित भण्डारी सरले कविता
गाउन थाल्दा हामी सबै विद्यार्थी मन्त्रमुग्ध हुन्थ्यौं । सरको स्वर ठूलो थियो, पढाउँदा वरिपरिको वातावरणसमेत शान्त
हुन्थ्यो ।
एकदिन नेपाली कक्षामा ‘पादुका दान’ कविता पढाइ भइरहेको थियो । म पछाडि बसेर
साथीहरूसँग गफ चुट्दै थिए । मेरो ध्यान पढाइमा थिएन । त्यो देखेर मेरो ध्यान खिच्न
सरले मलाई सोधेको प्रश्न ‘राम कसका छोरा हुन् ?’ को
जवाफमा मैले गफको सुरमा भनिदिएँ कि ‘म राम कसका छोरा हुन् भन्ने कुरा पढ्न
आएको हैन !’
यतिभए के चाहियो,
सरका दुई झापड
मेरा गालामा बज्रिए । मैले पहिलोचोटि तोरीको फूल त्यहीँ देखेँ । मेरा आँखाबाट तरर
आँसु आए । म कक्षाको प्रथम विद्यार्थी भएकाले मानसिक रूपमा पनि साथीहरूबीच बेइज्जत
भएको ठानेँ ।
कक्षा सकेर बाहिर निस्किन लाग्दा मैले सरलाई रोकेँ । मेरो प्रतिवाद थियो, निमाविस्तरको शिक्षकले माविका
विद्यार्थीलाई यसरी चुट्न मिल्दैन । सरसँग कक्षाकोठाको ढोकामै भनाभन सुरु भयो ।
विद्यार्थीको हुल जम्मा भयो । के हो ? कसो हो ?
हुँदै घटनाले
उग्ररूप लियो ।
घटनापछि
स्कुलमा राजनीति सुरु भयो । यही कारण देखाउँदै हामीले सरको कक्षा बहिस्कार ग¥यौं ।
हामीले भण्डारी सरलाई स्कुलबाट निकाल्न हस्ताक्षर सङ्कलन अभियान थाल्यौं । हामीसँग
राजनीतिक विचार मिल्ने सरहरू हाम्रो पक्षमा थिए । हाम्रो विचार इतरहरू भण्डारी
सरको पक्षमा थिए । यही विषयमा क्रमशः वालिङ, पोस्टरिङ र छुरा हानाहान भयो ।
भण्डारी सर प्रजातान्त्रिक पक्षधर र हामी अनेरास्ववियुआबद्ध खाँटी क्रान्तिकारी
थियौँ । हाम्रा पक्षका गुरुहरूले भित्रभित्रै हाम्रो आन्दोलन अझ तेज गर्न सल्लाह
दिएका थिए । अर्को पक्ष पनि सोको प्रतिवादमा कसिएर लागेको थियो । आखिरमा हाम्रो
कक्षाको कार्यतालिकाबाट भण्डारी सरलाई हटाइयो । यो घटनापछि सरसँग लामो समयसम्म
मेरो बोलचाल भएन । पछि सामान्य बोलचाल भए पनि सरसँग शिर ठाडो गरेर बोल्न सकिनँ ।
यो घटनाप्रति आज मलाई पछुतो छ । एकपटक सरलाई भेट्न र माफी माग्न मन छ । यो घटना
एउटा अबुझ केटाको हठ र स्कुलमा छिरेको अपरिपक्व राजनीतिको असर थियो भन्ने ठानेर
सरबाट माफी पाउन पाए यो पछुतोबाट मैले मुक्ति पाउने थिएँ ।- केशव दाहाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !