भनिन्छ, अति भएपछि खती हुन्छ । सहनुको पनि एउटा सीमा हुन्छ । पूर्वको नमुना
अस्पताल मात्र नभई अध्ययन– अध्यापनका लागि दक्षिण एसियाकै उत्कृष्ट मानिने बिपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा एक शिक्षकको कर्तुतविरुद्ध विद्यार्थीले गरेको प्रतिकारबाट
उक्त नेपाली उखान फेरि सत्य प्रमाणित भएको छ । तर, अध्यापनका लागि उत्कृष्ट मानिएको सो
शैक्षिक प्रतिष्ठानको वास्तविकतामाथि बेला–बेलामा प्रश्नचिन्ह लाग्ने गरेको छ ।
कहिले विद्यार्थी र कहिले शिक्षकले गर्ने आन्दोलनले सो मेडिकल कलेजको ‘कुरूप’ पक्षलाई जगजाहेर गर्दै आएको छ ।
प्रतिष्ठानका शिक्षकहरूको आचरण र शैक्षिक दक्षतामा प्रश्न उठ्ने गरेकै
कारण केही शिक्षकसहित प्रतिष्ठान विवादित हुने गरेको तथ्य गत वैशाख २ गतेदेखि भएको
आन्दोलनले पनि प्रष्ट पारेको छ । प्रतिष्ठानको दन्तचिकित्सा विभागअन्तर्गत
पेरियोडेन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर धीरेन्द्रकुमार गिरीले ‘बिडिएस तेस्रो
वर्षका विद्यार्थीमाथि गरेको ज्यादतीविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलन नमुना
बनेको छ ।
आन्दोलन किन
सन् २००७ देखि २०१२ ब्याचका बिडिएस तेस्रो वर्षका एक विद्यार्थीलाई उठबस
गराएको निँहुबाट सुरु भएको विरोध प्रदर्शनले प्रतिष्ठान तीन हप्तासम्म आन्दोलनमय
भयो । निकैअघिदेखि डाक्टर गिरीको ज्यादती सहँदै आएका विद्यार्थीहरूले त्यो पीडालाई
भने सहन सकेनन् । फलस्वरूप आन्दोनलको आँधी चल्यो । आन्दोलनलाई टुङ्ग्याउन
प्रतिष्ठान प्रशासनले दैनिकजसो बैठक र वार्ता भन्दै सहमतिको प्रयास गरे पनि गिरीको
राजीनामा मागिरहेका विद्यार्थीलाई सहमतिनजिक पु¥याउन दुई हप्ता लाग्यो ।
आन्तरिक रूपमा चैत २७ देखि सुरु भएको सो आन्दोलन वैशाख ३ गतेदेखि सतहमा
आएको थियो । त्यसपछिका दिनमा आन्दोलनका स्वरूपहरू परिवर्तन भए । वैशाख ४ गते
शिक्षाध्यक्ष र डाक्टर गिरीकै कार्यकक्षमा तालाबन्दी गरेपछि विद्यार्थी आन्दोलन
झन् व्यापक भएको थियो । त्यति मात्र हैन, वैशाख ५ गते दन्तचिकित्सा महाविद्यालयमा
अनिश्चितकालीन तालाबन्दी भएपछि प्रशासनलाई पनि मुद्दा मिलाउन हम्मे–हम्मे परेको थियो
। विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध मैदानमा उत्रिएका विद्यार्थीमध्ये बिडिएसमा
अध्ययनरत दुई सय ३० जनाले गिरीको शैक्षिक दक्षता, क्लिनिक बारेको दक्षता र व्यवहारमाथि नै
प्रश्नचिन्ह खडा गरेका थिए ।
गिरीको अचारणमाथि विद्यार्थीको प्रश्न
विद्यार्थीहरूले सार्वजनिक गरेको ‘डाक्टर गिरीको २१ बुँदे आचरणपत्र’ले उनको व्यवहार
घामजत्तिकै छर्लङ्ग पारेको छ । ‘डाक्टर गिरीको राजीनामा किन ?’ भन्ने शीर्षकमा विद्यार्थीद्वारा
प्रस्तुत २१ बुँदे आचरणपत्रमा शिक्षणतर्फ गिरीको पढाउने शैली नभएको, एक घन्टाको
पढाइलाई १५ मिनेटमा सकेर अन्य समय सस्तो मनोरञ्जन गराउने, विद्यार्थीहरूको
भविष्यमाथि खेलवाड गर्ने प्रवृत्ति भएको उल्लेख गरिएको छ । क्लिनिकतर्फ गिरीले
इन्टर्न गरिरहेका विद्यार्थी र कर्मचारीलाई दुव्र्यवहार गर्ने, उपचारमा सामान्य
नियम नअपनाउने, बिरामीलाई राम्रो उपचार नगर्ने आदि लेखिएको छ । त्यस्तै, विद्यार्थीले
सार्वजनिक गरेका गिरीका व्यक्तिगत दुर्गणहरूमा छात्र–छात्राबीच
लैङ्गिक विभेद गर्ने, विद्यार्थीलाई कुकुरजस्तो भुक्न लगाउने, यौनजन्य चुट्किला भन्न लगाउने, डन प्रवृत्ति
देखाउने, कानसमाएर उठबस गर्न लगाउने, मार्करले झटारो हान्ने, केटा वा केटी
साथी भए–नभएको बारेमा केरकार गर्ने, थर्काउने आदि छन् ।
उल्लेख गरिएका यीबाहेक उनका अन्य कमजोरीहरू पनि निकै छन् । सन् १९९९ मा
प्रतिष्ठानमा भर्ना भएका उनी बिडिएस दोस्रो ब्याचका विद्यार्थी हुन् । पैसाकै बलमा
प्रतिष्ठानमा अध्ययन गर्ने मौका पाएका गिरी हरेक वर्षको परीक्षामा अनुत्तीर्ण भएको
रेकर्ड छ । हरेक वर्ष मौका परीक्षामा मात्रै पास हुँदै आएका उनी विश्वविद्यालयको फाइलन
परीक्षामा पनि अनुत्तीर्ण भएका थिए । फाइलनमा छ महिना अड्किएका उनले नेपाल मेडिकल
काउनीसलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने प्रतिष्ठानकै पहिलो विद्यार्थी भएर
विश्वसनीय शिक्षालयको प्रतिष्ठामै दाग लाग्ने खराब रेकर्ड बनाएका थिए ।
उनले दुई पटकमा मात्रै काउनीसलको
लाइसेन्स प्राप्त गरेका थिए । प्रतिष्ठानको २० वर्षको इतिहासमा उनी र अर्का एक
विद्यार्थी मात्रै काउनीसलको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको सूचीमा
पर्छन् । उनी होस्टेलमा रहँदा पनि केटी साथीहरू होस्टेलमै ल्याई राख्ने र होहल्ला
गर्ने खालको भएको प्रतिष्ठान स्रोत बताउँछ । त्यस्तै, डष्टविन फुटाउने, होहल्ला
गर्नेलगायतको आचरण रहेको स्रोतको भनाइ छ ।
विरोधको ताप यथावत
डाक्टर गिरीको राजीनामापछि मात्रै आन्दोलन रोकिने भन्दै मैदानमा
उत्रिएका विद्यार्थीहरूलाई प्रशासनले सहमतिका नाममा ललिपप खुवाउने प्रयास गरेको छ
। एकैपटकको कम्प्लेनले निकाल्न नसक्ने बताउने प्रतिष्ठान प्रशासनले आन्दोलित
विद्यार्थीलाई भिन्न–भिन्न कोणबाट बुझाउँदै अस्थायी सहमतिको बिन्दुमा उभ्याएको छ । सुरुमा एक
सूत्रीय माग रहे पनि सहमतिको बिन्दुमा पुग्दा आठ बँुदे सहमतिपत्रमा आन्दोलित
विद्यार्थी र प्रतिष्ठान प्रशासनबीच हस्ताक्षर भएको थियो ।
आन्दोलनको परिणामस्वरूप डाक्टर गिरीले लिखित रूपमा गल्ती स्वीकार गर्ने
र विद्यार्थीहरूले नभनुन्जेलसम्म शैक्षिक गतिविधिमा संलग्न हुन नपाउने मुख्य सहमति
भएको छ । यसबाहेक गिरीले पूर्वाग्रही भावना राखेमा प्रतिष्ठानले निस्काशनसम्म
गर्ने, गिरीको कार्यकक्षमा लागेको ताला १५ दिनपछि मात्रै खोलिने, पेरियोडेन्टिक्समा
नयाँ फ्याकल्टी ल्याउने, डेन्टल फ््याकल्टी, पदाधिकारी र विद्यार्थीहरूबीच सद्भावना
भेटवार्ता गर्ने सहमतिपत्रमा उल्लेख छ । त्यस्तै, विद्यार्थीहरूको अन्य शैक्षिक माग पूरा गर्न प्रतिष्ठान प्रतिबद्ध रहने
र आन्दोलनमा संलग्न कोही पनि विद्यार्थीलाई प्रतिष्ठानले कारबाही नगर्ने सहमति पनि
भएको छ ।
पछिल्लोपटक
विद्यार्थी आन्दोलनले अस्थायी विश्राम लिए पनि बिपी प्रतिष्ठानमा विद्यमान गिरी
प्रवृत्तिविरुद्ध विरोधको भुत्भुते यथावत रहेको विद्यार्थीहरू बताउँछन् ।









0 comments:
Speak up your mind
Tell us what you're thinking... !