२०३६ सालको जनमत सङ्ग्रहपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन
भएको हो । पहिलो स्ववियु निर्वाचन पनि २०३६ सालमै भएको हो । तत्कालीन समयमा
राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए । भूमिगत रूपमा रहेका दलहरूले भित्र–भित्रै स्ववियुलाई राजनीति गर्ने मुख्य
थलो बनाए । खुला राजनीति गर्न नपाएका दलहरूको राजनीति गर्ने एउटै मात्र खुलामञ्च
थियो स्ववियु ।
स्ववियुलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलले सारा शक्ति स्ववियु
निर्वाचनमा केन्द्रित गर्दथे । तर, अहिले आएर राजनीति स्ववियु केन्द्रित छैन । अहिले त झन दलहरू
स्ववियुभन्दा संविधानसभा निर्वाचनको तयारीमा जुटिरहेका छन् । उनीहरूले स्ववियु
निर्वाचन परिणामले संविधानसभाको निर्वाचनमा समेत प्रभाव पार्ने नेताहरूको आँकलन छ
।
२०४१ सालदेखि महेन्द्र मोरङ क्याम्पसको स्ववियुमा प्रवेश गरी २०४५ मा
सभापति भएका महेश रेग्मी भन्छन्, ‘त्यसबेला सबै राजनीति स्ववियु केन्द्रित हुन्थ्यो । सङ्गठन निमार्ण र
परिचालन त्यहीबाट सजिलो हुने तथा वैधानिक मञ्च भएकाले नेता मात्र हैन, आम जनताको पनि उत्तिकै चासो हुन्थ्यो
स्ववियु निर्वाचनमा ।’ हाल
नेकपा एमाले मोरङको नेतृत्व गरिरहेका रेग्मीले प्रजातन्त्र आएपछि स्ववियुमा सबैको
चासो कम हँुदै गएको बताए ।
‘राजनीति खुला भएपछि स्ववियु
निर्वाचनप्रति सबैको चासो कम हँुदै गयो,’ उनले भने । जनता क्याम्पस इटहरीका पूर्व
स्ववियु सभापति हेमकर्ण पौडेल पनि स्ववियु निर्वाचनको चमक पहिलेको जस्तो नभएको
बताउँछन् ।
राजनीतिक दलनिकटका विद्यार्थी सङ्गठनले स्ववियु आफ्नो पक्षमा बनाउन
भएभरको शक्ति प्रदर्शन गर्दै आएका छन्, जसको कारण स्ववियु निर्वाचनमा ठाउँ–ठाउँमा झडप हुने गरेको छ । स्ववियु निर्वाचनकै विषयलाई लिएर २०३८ सालमा
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा फडिन्द्र तिम्सिनाको हत्या भयो । स्ववियुको
निर्वाचनको विरोध गर्दै आएको सङ्घीय विद्यार्थी युनियन धुलाबारी क्याम्पसमा २०६५को
स्ववियु निर्वाचन बिथोल्न खोज्दा प्रहरीले गोली चलायो । गोली लागेर मनिल तामाङको
मृत्यु भयो ।
२०३६ सालमा स्ववियु निर्वाचन सुरु हुँदा क्याम्पसहरू सीमित थिए । सरकारी
कलेजमा मात्र स्ववियु निर्वाचन हुन्थ्यो । अहिले देशभरका ६० वटा सरकारी साथै
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका सामुदायिक र निजी गरी आठ
सय ५२ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भनिए पनि धेरै निजी र केही सामुदायिक
क्याम्पसमा स्ववियु गठन भएको छैन । प्रत्यक्ष निर्वाचन प्रणालीबाट हँुदै आएको
स्ववियु चुनाव यस वर्षदेखि मिश्रित प्रणालीमा हुने भएको छ । यद्यपि सङ्घीय
विद्यार्थी युनियनलगायत साना पार्टीनिकटका विद्यार्थी सङ्गठनले भने पूर्ण
समानुपातिक प्रणालीबाट निर्वाचन गर्नुपर्ने माग गर्दै आएका छन् । मिश्रित
प्रणालीको स्ववियु निर्वाचनमा भाग नलिने उनीहरूको अडान छ ।
को–को भए विद्यार्थीबाट नेता
विद्यार्थीकालबाट राजनीति सुरु गर्नेहरू नै आज राजनीतिक दलको प्रभावशाली
नेता भएका छन् । विशेष गरी नेपाली काङ्ग्रेस र नेकपा एमालेको नेतृत्व तहमा
विद्यार्थी राजनीतिबाट उक्लनेको सङ्ख्या ज्यादा छ । अरू साना दलमा पनि विद्यार्थी
राजनीतिबाटै सत्ता–राजनीतिमा प्रवेश गर्ने मात्र हैन
नेतृत्व नै गरिरहेका उदाहरण छन् ।
नेकपा एमाले अध्यक्ष झलनाथ, काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा विद्यार्थी राजनीतिबाटै आएका
हुन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार हुन् या
नेपाल समाजवादी दलका अध्यक्ष उपेन्द्र गच्छेदार, दुवैको राजनीतिको सुरुवात महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट भएको थियो
। दुवै जनाले नेपाल विद्यार्थी सङ्घको राजनीति गरेका थिए । उपेन्द्र गच्छेदार
महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति पनि भएका थिए ।
विद्या भण्डारी,
भीम आचार्य, भीम रावल, धनश्याम खतिवडा,
राजेन्द्र गौतम, नरेश पोख्रेललगायत नेताहरू
अनेरास्ववियुका उत्पादन हुन् । त्यसैगरी, नेविसङ्घका महेश आचार्य, मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, गुरुराज घिमिरे, एनपी साउद, धनराज गुरुङ, जेपी गुप्ता, विश्वप्रकाश शर्मा, गगन थापा, ज्ञानेन्द्र कार्की, किशोरसिंह
राठौर आदि नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थी राजनीति नै हो । विद्यार्थी
राजनीतिबाटमाथि उक्लिएकामध्ये केहीले सङ्गठनको नेतृत्व सम्हाल्ने अवसर पाए भने
केही त्योभन्दा माथि पुगेका छन् ।
राम्रो–नराम्रो स्ववियु
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक–हितका लागि काम गर्ने सङ्गठन हो ।
आफूलाई समस्या पर्दा सिधै क्याम्पस प्रशासनसँग पुग्न नसक्ने विद्यार्थीलाई सहयोग
गर्ने, आर्थिक अवस्था कमजोर भएकालाई
छात्रवृत्ति सिफारिस गर्ने,
विद्यार्थीलाई
पढाइ र प्रशासनिक क्षेत्रमा मात्र नभएर नियमित पढाइहुने वातावरणका लागि क्याम्पस
प्रशासनलाई दवाव दिने लगायका काम स्ववियुले गर्दै आएको छ । तर केहि क्याम्पसमा
राजनीतिक खिचातानीले स्ववियु काम नलाग्ने भएको पाइन्छ भने केहि क्याम्पसका स्ववियु
पदाधिकारीको मनोमानीका कारण विद्यार्थीलाई समस्या मात्र हैन ठुलो अर्थिक अनियमितता
हुने गरेको छ ।
जनता क्याम्पस इटहरीमा २०६५ साल अगाडीका स्ववियु विद्यार्थीको हक हितका
साथै क्याम्पसको शैक्षिक सुधार र भौतीक पूर्वाधार निर्माणमा सक्रिय थियो । ०६५
सालमा भएको निर्वाचनबाट निर्वाचित पदाधकिारीहरूलाई प्रतिदन्दी सङ्गठनले अस्विकार
गरेपछि स्ववियु विवादले एकवर्षसम्म क्याम्पसको पठन पाठन र कामकाज प्रभावित बनायो ।
विवाद साम्मे भएपनि स्ववियुले काम गर्ने मौका भने पाएन ।
उता सुकुना बहुमुखि क्याम्पस मोरंगको स्ववियु भने उदाहरणीय रूपमा
प्रस्तुत भयो । विद्यार्थीको हक हितका कामसगैं विद्यार्थीको क्षमता अभिवृद्धि र
रोजगारीका लागि सहज बनाइदिन सिर्जनात्मक काम गर्यो । स्ववियुको सक्रियतामा
क्याम्पस हातामा ६ लाखको लागतमा मञ्च निमार्ण, ४० जना विद्यार्थीलाई तीन महिने कम्प्युटर तालिम, आधारभुत पत्रकारीता तालिम, रेडियो उद्घोषण तालिमका साथै
विद्यार्थीको हितका लागि एककरोडको अक्षयकोष निर्माणसम्म थालेकोमा १८ लाख रूपैया
संकलन भैसकेको स्ववियु सभापति बद्री अर्यालले बताए ।
यस्तै पूर्वकै चर्चित र धेरै विद्यार्थी हुने महेन्द्र मोरङ क्याम्पस
मोरंगका अघिल्ला स्ववियु पदाधिकारीले क्याम्पस र विद्यार्थीको हितका लागि प्रशस्तै
कार्य गरेपनि यस पटकका पदाधीकारीले सम्झन लायक काम गरेको देखिदैन । यस्तै डिग्रि
क्याम्पसका पहिले पहिलेका स्ववियुकै सक्रियतामा नयाँ नयाँ भवन र विद्यार्थीका लागि
सुविधा थपिएको सम्झन्छन् २०५८ का स्ववियु सचिव धर्मराज ढकाल । त्यस अगाडीका
पदाधिकारीले पुस्तकालय,
राम्रा शिक्षकको
माग शैक्षिक वातावरण सुधारका साथै भौतिक विकासका लागि समेत पहल गरेको उनले दावी
गरे । तर अहिलेका स्ववियु पदाधिकारी चरम आर्थिक अनियमितताको दलदलमा फँसेका छन् ।
स्ववियु सभापती गोपाल सेढाइ र कोषाध्यक्ष विक्रम श्रेष्ठ मिलेर चार वर्ष देखिको
हिसाव किताव देखाएका छैनन् भने स्ववियु सभापतीले २५ हजार रूपैया हिनामिना गरेको
खबरले एकवर्ष अगाडी विराटनगरका सञ्चारमाध्यममा राम्रो ठाउँ पाएको थियो ।
स्ववियु निर्वाचन कार्यतालिका
काठमाडौं÷त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३
गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यका अनुसार जेठ ९ गतेसम्म
स्ववियु निर्वाचन समितिको कार्यालयमा सङ्गठन दर्ता तथा जेठ १० गते मतदाता नामावली
प्रकाशन गरिनेछ ।
सार्वजनिक कार्यतालिकाअनुसार जेठ १३ गते मतदाता सूचीमाथि दाबी विरोधसहित
अन्तिम नामावली प्रकाशन गर्ने, जेठ
१४ गते प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उमेदवारका लागि मनोनयनपत्र वितरण र
जेठ १६ गते उमेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुमातिकतर्फको शिलबन्दी
नामावली दाखिला एवम् प्रत्यक्षतर्फको उमेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसैगरी,
उमेदवारको
नामावलीमाथि दाबी–विरोध एवम् नामावली प्रकाशन जेठ १७ गते, उमेदवारको नाम फिर्ता एवम् अन्तिम
नामावली प्रकाशन जेठ १९ गते र मतदान जेठ २३ गते हुनेछ ।
पूर्वमा चुनाव
२०६५ देखि स्ववियुविहीन भएर क्याम्पसमा सेलाएको विद्यार्थी राजनीति
यतिखेर राक्किँदो छ । जेठ २३ गते स्ववियु निर्वाचन हुने निश्चित भएसँगै चुनावी
सरगर्मी ह्वात्तै बढेको छ । देशका ६० आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त दुई
सयभन्दा बढी सामुदायिक कलेजहरू मिनी जनमत सङ्ग्रह मानिने विद्यार्थी राजनीतिको
रङमा रङ्गिएका छन् ।
आसन्न संविधानसभाको चुनावलाई पनि विद्यार्थी चुनावको नतिजाले प्रत्यक्ष
प्रभाव पार्ने प्राध्यपाक राजेन्द्र शर्मा बताउँछन् । ठूला नेताहरूले स्ववियुको
आधारबाटै थालेर राजनीतिक उचाइ पाएको उल्लेख गर्दै शर्माले भने, ‘यो एउटा
प्रशिक्षण थलो बनेको छ,
जसको राष्ट्रिय
राजनीतिमा प्रत्यक्ष भूमिका हुन्छ ।’
अहिले पूर्वी नेपालका सबै क्याम्पसहरूलाई चुनाव लागिसकेको छ । एमालेनिकट
अनेरास्ववियुकी सुनसरी सचिव गीता राई यो चुनावमा अखिलले वर्चश्व कायम राख्ने
बताउँछिन् । राष्ट्रिय राजनीतिमा आफ्नो अभिमत व्यक्त गर्न नपाएको युवापुस्ताले
स्ववियु चुनावलाई महत्वका साथ हेरेको र नौ वर्षपछि हुन लागेकाले पनि स्ववियु
चुनावका लागि विद्यार्थीहरू जोसिएको उनी बताउँछिन् ।
नेपाली काङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले पनि
स्ववियुमा प्रभुत्व जमाउन भित्रभित्रै तयारी गरिरहेको छ । सुनसरी सचिव सागर प्रसाई
भन्छन्, ‘नेवि सङ्घलाई
कुनै पनि सङ्गठनको पुरानो उपस्थितिले प्रभाव पार्दैन । तर, शैक्षिक मुद्दामा कोही सहकार्यका लागि
आए हामीहरू सहकार्य गर्न तयार छौं ।’
अघिल्लो
चुनावदेखि आफ्नो प्रभाव जमाएको एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका
विद्यार्थीहरू पनि चुनावमा होमिएका छन् । ‘हामी मुद्दामा केन्द्रित हुने भएकाले यसपटक हाम्रो
जित निश्चित छ,’ जिल्ला
अध्यक्ष मिराक लिम्बूले भने । उनी पनि मुद्दा मिल्ने सङ्गठनहरूसँग सहकार्य गर्न
सकिने सम्भावना रहेको बताउँछन् । पार्टी फुटले कुनै असर नगर्ने उनको दाबी छ । – भोजराज

0 comments:
Speak up your mind
Tell us what you're thinking... !