‘ब्यालेट इज स्ट्रोङ्गर देन बुलेट’ अङ्ग्रेजीमा यो भनाइ साह्रै प्रचलित छ ।
यसको अर्थ हो,
गोलीभन्दा मतपत्र
शक्तिशाली हुन्छ । मतपत्र त्यो वस्तु हो, जसमा धेरै विकल्पका बीचमा आफूलाई मनपर्ने व्यक्ति वा संस्था छानिएको
हुन्छ । यसरी धेरैमध्ये एकलाई छानेर आफ्नो नेता छान्न पाउनु भनेको प्रजातान्त्रिक
व्यवस्थाको उच्चतम अभ्यास हो । यसरी छान्नका लागि मतदान अर्थात् चुनावको आयोजना
गरिन्छ, जसमा गोप्य तरिकाले मतपत्रमा छाप लगाउने
व्यवस्था गरिएको हुन्छ ।
चुनाव आफ्नो विचारलाई स्थापित गर्ने विश्वमा स्वीकृत सबैभन्दा राम्रो
पद्दति हो । चुनाव विवादको सही समाधान पनि हो । अनि त्यस्तो व्यक्तिलाई
अधिकारसम्पन्न बनाउनु हो,
जसले आफ्ना
सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सम्बन्धित ठाउँबाट समाधानका लागि पहल गरिदेओस् ।
यसरी कुनै व्यक्तिलाई अधिकारसम्पन्न बनाउँदा उक्त व्यक्ति कत्तिको मिलनसार, गम्भीर, अध्ययनशील,
कुशलवक्ता, विश्लेषक, नेतृत्वकर्ता,
साहसी छ भनेर
चाहिँ विचार गर्नुपर्छ । अक्षम र खराब चरित्र भएको व्यक्तिले नेतृत्व पाएमा सिङ्गो
संस्था, सङ्गठनलाई मात्र भड्खालोमा जाक्दैन, बरु वरिपरिका सम्बन्धित व्यक्ति–वस्तुलाई समेत क्षति पु¥याउँछ । त्यसैले आफ्नो प्रतिनिधि, नेता छान्नु भनेको अनुयायीका लागि
सबैभन्दा ठूलो अवसर र चुनौतीपूर्ण काम हो ।
सन्दर्भ,
उच्चशिक्षा
अध्ययन–अध्यापन गरिने हाम्रा पाठशालाहरूमा
नजिकिँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको हो । विद्यार्थी सङ्गठन
भएका क्याम्पसमा प्रत्येक दुई वर्षमा युनियनको चुनाव हुने गर्छ । विभिन्न दलनिकट
विद्यार्थी सङ्गठनहरू आफ्ना प्रतिनिधि उठाएर नयाँ नेतृत्व हत्याउने कसरत गर्छन् ।
यस्तो अवस्थामा कतिपय क्याम्पसमा अनावश्यक विवाद र झै–झगडासमेत हुने गरेको छन् ।
तर,
यसपटकको चुनावलाई
विद्यार्थी नेताहरूले ऐतिहासिक नै बनाउने भनेका छन् । संविधानसभा चुनावको मिति
तोक्न राजनीतिक दलहरू अक्षम भइरहेको अवस्थामा विद्यार्थी नेताहरूले चुनावको मिति
तोक्न त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेर सहमतिको सन्देश दिएका छन् ।
विद्यार्थी निर्वाचनमा यसपटक पहिलोपल्ट प्रत्यक्ष र समानुपातिक गरी मिश्रित
प्रणालीको मतपत्र प्रयोग गर्न लागिएको छ । त्यति मात्र होइन, राष्ट्रिय राजनीतिमा एक–अर्कालाई सहन नसक्ने दलका भातृ–सङ्गठनले आसन्न चुनावीसभा एउटै मञ्चमा
गर्ने र चुनावमा फजुल खर्च नगर्ने नियम बनाएका छन् । प्रतिस्पर्धी सङ्गठनहरू मिलेर
भोट माग्नका लागि एउटै मञ्च सजाउनेसम्मको सहमति गर्नु राष्ट्रिय राजनीतिलाई
सकारात्मक सन्देश मात्र होइन, नेपालमा
नयाँ नेतृत्व असल र सक्षम हुने प्रमाण पनि हो ।
समयसापेक्ष रूपमा आउँदै गरेको यो चुनावले केही कामहरू गर्नैपर्नेछ ।
पहिले त राजनीति भन्नेबित्तिकै ‘डर्टी पोलिटिक्स’ भन्दै नाक खुम्च्याउने युवा–वर्गलाई राजनीति आफंैमा खराब हुँदैन
भन्ने प्रमाणित गर्न सक्नुपर्छ यो चुनावले । दोस्रो, साङ्गठानिक स्वार्थ जसको जे भए पनि विद्यार्थीहितका मुद्दामा साझा सहमति
बनाएर जाने प्रतिबद्धता गरी आउने समयमा त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्छ ।
तेस्रो, राजनीतिक दलको हौवामा नलागी विशुद्ध
विद्यार्थी र शैक्षिक स्वार्थमा अग्रसर हुनुपर्छ । विद्यार्थीहरूको चुनावको प्रभाव
राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली हुन्छ । राष्ट्रिय राजनीतिलाई दिशा–निर्देश गर्न विद्यार्थी तथा युवाहरूको
भूमिका अग्रणी हुन्छ । त्यसैले, विद्यार्थीलाई
जहिल्यै अस्त्रका रूपमा प्रयोग गर्ने राजनीतिक दलहरूको पछि लाग्ने हैन कि दललाई
आफ्नो पछि लगाउने गरी विद्यार्थी सङ्गठनहरू क्रियाशील हुनुपर्छ ।
को–को छन् आकाङ्क्षी
स्व वियु निर्वाचन नजिकिँदै गर्दा पूर्वका विभिन्न कलेजमा विभिन्न
राजनीतिक दल निकट विद्यार्थी सङ्गठनबाट उमेदवार बन्ने आकाङ्क्षीको होडबाजी चल्न
थालेको छ । उमेदवार बन्नका लागि आकाङ्क्षी विद्यार्थी नेताहरूले आ–आफ्नो लबिङ थालेका छन् । कोही
विद्यार्थी नेता पार्टीमा त कसैको विद्यार्थीमा राम्रो पकड भएका कारण उमेदवार
बन्नका लागि आकाङ्क्षा बढाएको पाइन्छ ।
स्ववियु निर्वाचनका लागि चर्चाको शिखरमा रहेको महेन्द्र मोरङ बहुमुखी
क्याम्पस विराटनगरमा आठ जनाले सभापति पदका लागि उमेदवारी दिने तयारी गरेका छन् ।
अहिलेसम्म उमेदवार हुने चर्चामा रहेकामध्ये अनेरास्ववियुका तर्फबाट वर्तमान
स्ववियु सचिव तथा अनेरास्ववियु मोरङ अध्यक्ष भास्कर खनाल र सचिव गोर्कण घिमिरे छन्
।
स्ववियुका पूर्व उपसभापति दीनानाथ आचार्यले पनि नेविसङ्घका तर्फबाट
सभापतिका लागि दावेदारिता प्रस्तुत गदैं आएका छन् । विद्यार्थीमा उनको राम्रो पकड
भएको मानिन्छ । एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीबाट तीन जनाको नाम चर्चामा छ
। क्रान्तिकारीले पहिलोपटक महेन्द्र मोरङमा महिलालाई उमेदवार बनाउने भन्दै सविना
दाहालको नाम अगाडि ल्याएको छ । दाहाल क्रान्तिकारीकी केन्द्रीय सदस्य हुन् ।
क्रान्तिकारीकै देवानन्द यादव र नवीन मिश्र पनि सभापतिको उमेदवार बन्ने
होडमा छन् । मोहन वैद्य पक्षधर क्रान्तिकारीबाट तिलक बस्नेतले उमेदवारी दिने पक्का
भएको छ, उनी सो सङ्गठनका केन्द्रीय सदस्य हुन् ।
स्ववियु निर्वाचन हुने पूर्वको अर्को चर्चित शिक्षालय डिग्री कलेज विराटनगरमा एकीकृत माओवादीनिकट
अखिल क्रान्तिकारीका सुमन कालिकोटे, नेविसङ्घबाट विक्रम श्रेष्ठ र अनेरास्ववियुबाट तुलसी अधिकारी (सुमन)को
नाम सभापतिका लागि चर्चामा छ । कालिकोटे वर्तमान स्ववियुका उपसभापति हुन् भने
श्रेष्ठ कोषाध्यक्ष । श्रेष्ठ र वर्तमान सभापति गोपाल सेढाईले स्ववियुमा अनियमितता
गरेको र हिसाब सार्वजनिक नगरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरे पनि समस्या अझै
समाधान भएको छैन ।
विराटनगरकै कोसी नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी पूजा राजवंशीको नाम
चर्चा छ । यस्तै,
उर्लाबारी
बहुमुखी क्याम्पसमा अनेरास्ववियुका ईश्वर भण्डारी चर्चामा छन् । सुकुना बहुमुखी
क्याम्पसमा अनेरास्ववियुका चरण गुरुङ, हरि कट्टेल,
प्रकाश खनाल र
मिलन बस्नेत आकाङ्क्षी देखिएका छन् । विद्यार्थीहरूले भने अहिलेका सभापति बद्री
अर्याललाई नै दोहो¥याउन माग गरेका छन् । नेविसङ्घबाट सुमन
ढकाल र होम पोखरेलको नाम सभापतिका लागि चर्चामा छ । एकीकृत क्रान्तिकारी निरज श्रेष्ठ र वैद्य पक्षका लोचन अधिकारीको नाम चर्चामा छ ।
इटहरीको जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका विज्ञान राई
एक मात्र आकाङ्क्षी हुन् । सचिवमा रुद्र भट्टराई छन् । तर, थारुसँगै अन्य समुदायबाट सचिव उमेदवार
बनाउने प्रयास पनि भइरहेको स्रोतले बतायो । अनेरास्ववियुका तर्फबाट दुई जना नवराज
नेपाल र जिबी गजल आकाङ्क्षी छन् । यी दुईमध्ये नेपालको पार्टीमा राम्रो र गजलको
विद्यार्थीमाझ बलियो पकड छ । सचिवमा पर्वत कट्टेल, सञ्जिव विष्ट र अर्जुन दाहालको नाम चर्चामा छ । माओवादीनिकटबाट निराजन
ओझा र सीताराम चौधरी आकाङ्क्षी छन् । नेकपा–माओवादीनिकट क्रान्तिकारीबाट अहिलेसम्म खुलेर उमेदवार देखिएका छैनन् ।
नेकपा–माओवादीका अरुण राईले व्यक्तिभन्दा पनि
सङ्गठनलाई जिताउने रणनीति बनाएकाले गर्दा कोही आकाङ्क्षी भए पनि नखुलेको बताए ।
महेन्द्र बमुमुखी धरानमा नेविसङ्घबाट चन्द्रसुन्दर खेवाहाङ र तीर्थ
राईको नाम सभापतिका लागि चर्चामा छ । अनेरास्ववियुका टीका लिम्बू चर्चामा छन् ।
क्रान्तिकारीले रामकुमार राईलाई अघि सार्ने बुझिएको छ । पूर्वाञ्चल इञ्जिन्यरिङ
क्याम्पस धरानमा अनेरास्ववियुका इकाइ अध्यक्ष बाबुराम दाहाल नेविसङ्घका सुमन थापा, विष्णु दाहाल, विश्वदीप आले आकाङ्क्षी देखिएका छन् ।
पिण्डेश्वरमा अनेरास्ववियुका पशुपति ढुङ्गाना, नेविसङ्घका प्रताप भट्टराईको नाम अगाडि छ । केन्द्रीय प्रविधि क्याम्पस
हात्तीसारमा अनेरास्ववियुका सन्तोष पाण्डे नेविसङ्घका ज्योति आचार्य उमेदवार हुने
सूचीमा छन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवाबाट नेविसङ्घका मुकेश मेहता र वसिम
अख्तरको नाम सभापतिका लागि प्रस्ताव हुने बुझिएको छ । त्यस्तै, मधेसी विद्यार्थी फोरम नेपालबाट महानन्द
यादव, अनेरास्ववियुबाट बसन्त सुवेदीलाई अघि
सार्ने तयारी भइरहेको छ ।
मेची बहुमुखी क्याम्पस भद्रपुरमा अहिलेका सभापति अनेरास्ववियुका असरु
राजवंशीले दोहो¥याउने चर्चा छ भने नेकपा–माओवादीनिकट विद्यार्थी सङ्गठनका नरेश
चुडालको नाम पनि चर्चामा छ । यस्तै, भद्रपुर क्याम्पसमा भने निर्विरोध पदाधिकारी छनोटका लागि विद्यार्थी
सङ्गठनहरू छलफल गरिरहेको अखिल क्रान्तिकारीका जीवन घिमिरेले जानकारी दिए ।
के भन्छन् विद्यार्थी नेताहरु
विगतको निर्वाचनभन्दा अहिलेको निर्वाचनमा केही फरक ल्याउँदैछौ । पहिलो
कुरा भड्किलो प्रचार–प्रसार गर्दैनौँ । सबै सङ्गठनले चुनावी
कार्यक्रम एउटै मञ्चमा गर्नेछौं । दोस्रो कुरा, भोटकै लागि विद्यार्थी भर्ना गरिँदैन । यसपटक मिश्रित प्रणालीको चुनाव
गर्ने सहमति भएकाले केही फरक हुन्छ नै । अनि, पहिले स्ववियु सभापति अधिकारको रूपमा केन्द्रित गरिन्थ्यो, अब सामूहिक निर्णयमा चल्ने बनाउँछौँ ।
आफ्ना विषयवस्तुलाई अगाडि सार्ने, विचार
र एजेन्डाको आधारमा विद्यार्थीले भोट हाल्ने वातावरण निर्माण गर्ने प्रयत्नमा छौँ
। यो मिनी संविधानसभाको चुनाव पनि हो ।
– माधव ढुङ्गेल,
अध्यक्ष, अनेरास्ववियु
हामी चाँडै देशभरिका स्ववियु सभापतिको नाम सार्वजनिक गर्छौ । प्रचार
सामग्री बनाउने,
कार्यकर्ता
परिचालन गर्नेलगायतका काम तीव्र रूपमा भइरहेको छ । हाम्रो मुख्य एजेन्डा त्रिभुवन
विश्वविद्यालय सञ्चालन गर्नु नै हो । त्यसैको वरीपरि रहेर अरू एजेन्डाहरू त्याग
गरेका छौं । शिक्षाको गुणस्तर, सरकारी
कलेजमा जागिर खाएर अन्त पढाउने, यहाँ
हुने अनियमितता,
भ्रष्टाचार
हटाउने, विश्वविद्यालयलाई सत्ता–राजनीतिमुक्त राख्ने हाम्रा एजेन्डा
हुन् । हाम्रा एजेन्डा अरूका भन्दा राम्रा छन् । – हिमाल शर्मा, अध्यक्ष, अखिल क्रान्तिकारी
सबै विद्यार्थीहरू सहकार्य गरेर चुनावमा लागेका छौं । विनापम्प्लेट, विनामाइकिङ चुनाव लड्दै छौँ । भड्किलो
चुनाव प्रचार–प्रसार कसैले गर्ने छैनन् । विद्यार्थी
सङ्गठनले आ–आफ्ना एजेन्डा राखेर एउटै मञ्चमा भोट
माग्नेछौं । यो चुनावले राष्ट्रिय एजेन्डा प्रष्ट पार्नेछ । यसले संविधानसभाको
चुनावका लागि पनि एउटा सन्देश दिनेछ । हामीलाई लाग्छ स्ववियु निर्वाचन नेपालको
राजनीतिक एजेन्डा र कार्यदिशा प्रस्ट्याउने चुनाव हो । विद्यार्थीको हक–हित संरक्षण गर्दै गुणस्तरीय शिक्षाको
पक्षमा हामी छौं ।
–रन्जित कर्ण, सभापति, नेविसङ्घ
स्ववियु चुनावलाई लिएर हालै हाम्रो केन्द्रिय कमिटीको बैठक बस्यो ।
प्रचार–प्रसारमा व्यस्त छौँ । नेपालको इतिहासमै
पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हँुदैछ । यसबाट क्रान्तिकारी शक्तिले नै
जित्नुपर्छ भन्ने हाम्रो एजेन्डा हो । स्ववियुलाई पुनर्संरचना गर्ने, स्ववियुका विकृति विसङ्गति हटाउने, राष्ट्रियताको मुद्दालाई युवा
विद्यार्थीका बीचमा उठाउने,
विश्वविद्यालयीय
शिक्षालाई गुणस्तरीय बनाउने हाम्रो सङ्गठनको मुख्य एजेन्डा हुन् ।
–शरद रसाइली, अध्यक्ष,
अखिल
क्रान्तिकारी (वैद्य)
हाम्रो माग पुरा भएको छैन । पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मतदान
हुनुपर्छ भन्ने हाम्रो माग हो । सम्बद्ध पक्षहरूमा मागपत्र बुझाएपनि वेवास्ता
गरियो । हाम्रो माग पुरा भएन भने निर्वाचनमा सहभागि त हुँदैनौं नै, साथमा मोर्चाबन्दी गरेर विरोध पनि
गर्छौं ।
–लहाङ लिम्बु, अध्यक्ष,
संघीय विद्यार्थी
युनियन
हामीले पूर्वका सबै क्याम्पसहरूमा सङ्गठन विस्तार गरिसकेका छौं । जित्ने
क्याम्पसहरूमा हामी दरिलो उपस्थिति जनाउँछौं भने नजित्ने क्याम्पसमा अरूसँग
एलायन्स गरेर जान्छौं । उत्पादनमूलक सङ्घीय त्रैभाषिक शिक्षा प्रणालीका लागि
अग्रगामी विद्यार्थी युनियनको जन्म भएको हो । न्याय र समानताका लागि हाम्रो
सङ्गठनलाई भोट हाल्नुपर्छ ।
– शैलेश लामा, अध्यक्ष,
अग्रगामी
विद्यार्थी युनियन
समानुपातिक निर्वाचन प्रणाली नहुँदा–नहुँदै पनि स्ववियुको उपलब्धिलाई संस्थागत गर्न हामो सङ्गठन चुनावी
तयारीमा जुटेको छ । न्याय,
समानता र
सङ्घीयता पक्षधर विद्यार्थी सङ्गठनहरूसँग एकता गर्दै चुनावमा सहभागी बन्छौं ।
–कपलेश्वर यादव, सभापति, मधेसी
विद्यार्थी फोरम लोकतान्त्रिक

0 comments:
Speak up your mind
Tell us what you're thinking... !