एसएलसीमा अनेक घटना
Written By Neplee on Wednesday, April 24, 2013 | 7:22 PM
छिटफुट घटनाबाहेक यो वर्षको एसएलसी परीक्षा शान्तिपूर्ण रूपमा सकिएको छ । तथापि, यो वर्षको परीक्षामा सिरहामा समाचार सङ्कलन गर्ने गएका पत्रकारलाई कुटपिट गरेको, रौतहट र रुकुममा निरीक्षकको मिलेमतोमा चिट चोराउने कार्य भएको, दैलेखमा परीक्षामा कडा गरेको भन्दै निरीक्षकलाई ज्यान मार्ने धम्की दिएकोलगायतका केही अप्रिय घटना भएका थिए ।
यसवर्ष पनि नक्कली परीक्षार्थी भेटिए । भाइको नाममा परीक्षा दिइरहेका दाइ र बहिनीको परीक्षा दिइरहेकी दिदी पक्राउ परे । भक्तपुरमा पनि नक्कली परीक्षार्थी पक्राउ परे । नियमको अवज्ञा गर्दै परीक्षा हलभित्र लगिएका करिब एक सय ५० मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो । परीक्षामा अमर्यादित हुने परीक्षार्थीहरू कारवाहीमा परे भने विभिन्न ठाउँमा गरेर दुई दर्जनभन्दा बढी निरीक्षकसमेत कारबाहीमा परे ।
यस वर्षको परीक्षामा नियमिततर्फ ५ लाख ४७ हजार एक सय ६५ र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी सहभागी थिए ।
यो वर्ष एक हजार सात सय ८६ परीक्षाकेन्द्र थिए । सबैभन्दा बढी काठमाडौँमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एकएक केन्द्र कायम गरिएका थिए ।
परीक्षामा देशभरिमा एक हजार सात सय ८६ केन्द्राध्यक्ष, दुई हजार छ सय ५५ जना सहायक केन्द्राध्यक्ष, २१ हजार आठ सय ९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार आठ सय ६० जना सुरक्षार्कमी परिचालन गरिएको थियो ।
यस वर्ष सुस्तश्रवण भएका परीक्षार्थीले एसएलसीमा आधा घन्टासम्म सहजकर्ता राख्न पाउने व्यवस्था गरिएको थियो । त्यसैगरी दृष्टिविहीनले गत वर्षसम्म कक्षा ८ उत्र्तीण गरेकालाई सहजकर्ता राख्न पाउने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गरी यस वर्षदेखि दृष्टिविहीनले कक्षा ८ अध्ययन गरिरहेकालाई मात्रै सहजकर्ता राख्न पाउने व्यवस्था गरिएको थियो ।
परीक्षाको नतिजाको लागि देशभरिमा ६० वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका जाँच्ने काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी तीन महिनाभित्र परीक्षाको नतिजा प्रकाशित गरिसक्ने जनाएको छ ।
दुर्घटनाको वर्ष ः
सल्यानको खलङ्गास्थित त्रिभुवन जनता उच्चमावि केन्द्रमा परीक्षा सकेर फर्किएका विद्यार्थी चढेको ट्र्याक्टर दुर्घटना हुँदा एक छात्राको मृत्यु हुनाको साथै ३१ परीक्षार्थी घाइते भए । एसएलसी परीक्षा सकिएलगत्तै विद्यार्थी बोकेर फर्किदैँ गरेको जिप गुल्मीको दौँघा गाविसमा दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भए । जीप सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको थियो ।
पत्रकारमाथि कुटपिट ः
एसएलसी परीक्षाको समाचार सङ्कलन गर्ने गएका पत्रकारहरुलाई सुरक्षाकर्मीले लहानस्थित पशुपति आदर्श उच्चमावि परीक्षा केन्द्रमा कुटपिट गर्दै दुई थान क्यामरा तथा एक थान मोबाइल खोसेका थिए । विरोधमा जिल्लाका पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर काम गरे ।
वृद्ध र सबैभन्दा होची विद्यार्थी ः
उदयपुरबाट ६३ वर्षीय वृद्ध सहभागी भए । प्रभाकरी उच्चमावि रामपुरठोक्सिला–९ पोखरेका अमरबहादुर राईले नारद उच्चमावि बसाहा परीक्षाकेन्द्रबाट परीक्षा दिएका हुन् ।
दोलखाकी ३२ इन्च उचाईकी सावित्री ओलीले यो वर्ष एसएलसी दिइन् । तीनतला माथिको कोठमा उक्लिएर परीक्षा दिँदा कष्ट अनुभव गरेकी उनीलाई भुइँतलामा सारेर आवश्यकताअनुसार डेढ घन्टासम्म थप समय माग्ने व्यवस्था मिलाइएको थियो ।
निरीक्षक र सुरक्षाकर्मीमाथि आक्रमण ः
दैलेखमा चिट चोराउन केन्द्र वरिपरि भेला भएका अभिभावकले परीक्षा निरीक्षक र सुरक्षाकर्मीमाथि ढुङ्गामूढा गरे । तुर्सू मावि जगनाथ र अरनिको मावि चौराठा परीक्षाकेन्द्रमा सोमबार अभिभावकहरु प्रहरी र शिक्षकमाथि जाइलागेपछि एक जना प्रहरी हवल्दार घाइतेसमेत भए । अन्य केही परीक्षा केन्द्रमा समेत प्रत्यक्ष र अप्रत्यक्ष धम्कीको शिकार भए निरीक्षकहरू ।
ग्यारेन्टी पास ः
रौतहटका केही शिक्षक र नाइकेहरुले ग्यारेन्टीका साथ पास गराइने भन्दै पैसा लिएर झन्डै दुई सयभन्दा बढी बाहिरिया विद्यार्थी रौतहट ल्याएको घटना पनि यसपटकको एसएलसीमा सार्वजनिक भयो । १५ हजारदेखि २५ हजारसम्म रकम लिई ग्यारेन्टीका साथ पास गराई दिने आश्वासन दिएर मकवानपुर, सिन्दुरेघारी, काभ्रे, चितवन र छिमेकी बारा, पर्सालगायतका जिल्लाहरुबाट दुई सयभन्दा बढी विद्यार्थीहरू रौतहट ल्याएका हुन् । उनीहरुमध्ये आधा जसोले परीक्षा दिन नपाएपछि होटलमा रुवाबासी चलेको थियो । न्यूनतम हाजिर नभएका परीक्षाथीहरु वञ्चित भएको शिक्षा कार्यालय गौरले जनाएको छ । यस्तै सिरहामा पनि पास गराउन पैसाको चलखेल भएको घटना सार्वजनिक भयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !