इटहरीमा झण्डै पाँच हजार निरक्षर
Written By Neplee on Wednesday, April 24, 2013 | 7:23 PM
निरक्षरतालाई साक्षर बनाउनका लागि सुनसरीमा ‘इच वान टिच वान’ अभियानको थालनीसँगै इटहरी नगरपालिकामा मात्र झन्डै पाँच हजार निरक्षर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
जिल्लालाई निरक्षरता उन्मूलन भएको घोषणा गर्ने गरी अभियान थालिएसँगै इटहरी नगरपालिकाले प्रत्येक स्कुलका विद्यार्थीलाई परिचालन गरी सङ्कलन गरेको तथ्याङकअनुसार चार हजार आठ सय ३२ जना निरक्षर भेटिएका छन् ।
जिल्लास्तरीय रुपमा पहिलोपटक थाल्न लागेको अभियानका क्रममा ‘एक जनाले एक जनालाई साक्षर’ बनाउनका लागि नगरपालिकाले विद्यार्थी खटाएर सङ्कलन गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी इटहरी वडा नम्बर २ मा सात सय ३७ जना निरक्षर रहेका छन् । यो वडामा महेन्द्र मावि र पशुपति इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेका थिए ।
पछिल्लो समयमा पहाड भोजपुर, सङ्खुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गाबाट वडा नम्बर २ मा बसाइँ सरी आउनेको सङ्ख्या बढेकाले गर्दा निरक्षरताको सङ्ख्या पनि बढेको हो । वडा नम्बर २ मा बसाइँ सरेर अधिकतरले विदेशको कमाइले धमाधम घर बनाउने क्रम पनि बढेको छ ।
माओवादी द्वन्द्व, मधेस आन्दोलन र सहरी जीवनको आकर्षणले इटहरीमा तीव्र जनसङ्ख्या वृद्धि हुने क्रम बढेसँगै वडा नम्बर ३ मा पनि छ सय ६६ जना निरक्षर रहेका छन् । यो वडामा पनि पछिल्लो समय जनसङ्ख्या थपिँदो छ । यहाँ सरस्वती माविका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेका हुन् ।
आधा घन्टामा विराटनगर र धरान पुग्न सकिने अनि मुलुकको जुनसुकै भागमा सडक यातायातबाट छिचोल्न पायक पर्ने इटहरी बसाइँ सार्नेको सङ्ख्या बढेकैले गर्दा वडा नम्बर ९ मा छ सय ४२ जना निरक्षर रहेका छन् । यो वडामा शान्ति सिर्जना निमावि र पीसजोन उच्च माविका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेको नपाले जनाएको छ ।
चैत २ गते नौवटै वडामा एकसाथ विद्यार्थी परिचालन गरी सङ्कलन गरिएको तथ्याङ्कअनुसार वडा नम्बर १ मा दुई सय १३ जना निरक्षर छन् । वडा नम्बर १ मा भने पछिल्लो समय जनसङ्ख्या नगन्य मात्र थपिएकाले गर्दा पनि निरक्षरको सङ्ख्या कम भएको हो । वडा नम्बर १ मा पीसजोन र गार्डेन एकेडेमीका विद्यार्थी तथ्याङ्क सङ्कलन गर्न खटिएका थिए ।
यस्तै, वडा नम्बर ४ मा पाँच सय ८८ जना निरक्षर रहेका छन् । यो वडामा इटहरी मोडल, इटहरी आवासीय, सेकेन्डरी र बुढीगङ्गा प्राविका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेको नगरपालिकाका कर्मचारी सुनिल गुरागाईले बताए ।
वडा नम्बरं. ५ को सुकुम्बासी वस्तीमा पाँच सय ४३ निरक्षर रहेका छन् । यो वडामा मकालु बोर्डिङ स्कुल, व्लुमिङ लोटस बोर्डिङ स्कुल, लोटस र पीसजोनका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेका थिए ।
वडा नम्बर. ६ मा पाँच सय नौ जना निरक्षर रहेका छन् । यहाँ लक्ष्मी निमावि र सेक्रेट हार्ट बोर्डिङ स्कुलका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेका थिए । वडा नम्बर ७ मा सरस्वती सदन छन् । यो वडामा कस्तुरी बोडिङ, फ्युचर स्टार, कन्चजनजङ्घा र कोसी सेन्ट जेम्सका विद्यार्थीले तथ्याङ्क सङ्कलन गरेका थिए ।
इटहरीमा दशकको अन्तरमा जनसङ्ख्या बढेर झन्डै दोब्बर भएको छ । २०५८ सालमा इटहरीको जनसङ्ख्या ४१ हजार दुई सय १० थियो । २०६८ सालको जनगणनाअनुसार इटहरीको जनसङ्ख्या ८० हजार पाँच सय तीन रहेको छ । २०६६ मा नगरपालिका आफैंले गरेको गणनामा ६० हजार तीन सय २७ थियो ।
निरक्षरलाई साक्षर बनाउन एसएलसी दिएर बसेका विद्यार्थीलाई स्वयम्सेवकका रूपमा खटाउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार अहिले निरक्षरलाई पढाउने व्यक्तिको तय गर्न थालेको नपा कार्यालयले जनाएको छ ।
‘जो निरक्षरले जसबाट पढ्ने भनी नाम टिपाएका छन् र जसलाई कोही पढाउन तयार हँुदैनन् त्यस्तालाई समूहमा मिलाएर सामूहिक कक्षा सञ्चालन गर्ने तयारी गरिँदैछ,’ कर्मचारी गुरागाईले भने ।
एसएलसी दिएर बसेकाबाहेक एसएलसीभन्दा माथिल्लो तहमा अध्ययन गरे पनि फुर्सदमा रहेका युवा जनशक्तिलाई पनि अभियानमा प्रयोग गरिनेछ ।
विशेषगरी १५ वर्षभन्दा माथि ७५ वर्ष उमेर समूह निरक्षरलाई अभियानमा समेटिने कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए ।
अधिकृत कार्कीका अनुसार इटहरीमा सहरीकरणको तीव्र रहेकाले गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, सडक, खानेपानी, ढल, बिजुली, सञ्चारलगायतका न्यूनतम पूर्वाधारको अभाव हटाउने विशेष अभियान सञ्चालन गर्नु आवश्यक छ । त्यस्ता अभियान सफल पार्न साक्षर जनशक्ति नहुँदा निकै समस्या हुन्छ । त्यसैले निरक्षरता उन्मूलनका लागि जिल्लामा सञ्चालित ‘इच वान टिच वान’ अभियान सफल पार्न इटहरी नगरपालिका लागिपरेको छ । यसमा नगरबासीको सक्रिय सहभागिता अपेक्षित छ ।
सुनसरीमा औंठाछाप उन्मूलन अभियान
इटहरी । ‘इच वान टिच वान’ (एकले अर्कोलाई सिकाऔं) कार्यक्रम गर्दै सुनसरीलाई निरक्षरमुक्त जिल्ला बनाइने भएको छ । २०७० असार मसान्तसम्ममा सुनसरीलाई निरक्षरमुक्त जिल्ला घोषणा गर्नका लागि जिल्ला विकास समितिले अभियान नै सञ्चालन गरिरहेको छ ।
अभियानअन्र्तगत जिविसले पहिलो चरणमा सुनसरीमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, पत्रकार, शिक्षक, कर्मचारीबीच अन्तक्र्रिया तथा विद्यार्थी
परिचालन गरिसकेको छ ।
जनगणना २०६८ को तथ्याङ्कअनुसार सुनसरीमा १५ वर्ष माथिका ९५ हजार व्यक्ति निरक्षर छन् । जिविसले ती सबै निरक्षरलाई एकै पटक साक्षर बनाउने जनाएको छ ।
अभियानको नारा ‘एकले अर्कोलाई साक्षर बनाऔँ, साक्षर सुनसरी अभियान सफल पारौँ’ राखिएको छ । ‘इच वान टिच वान कार्यक्रमलाई प्रभावकारी बनाउन हरेक शिक्षितले आफ्नो घरमा रहेका निरक्षरलाई सिक्न अभिप्रेरित गर्नेछन्, सिकाउनेछन्,’ स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले भने ।
उनले नागरिक समाज, शिक्षक, कर्मचारी, स्थानिय सङ्घ संस्था र स्वयम्सेवकहरू परिचालन गरी व्यक्तिगत तथा सामूहिक कक्षा सञ्चालन गर्दै जिल्लाका सबैलाई साक्षर बनाउने बताए । यसका लागि जिशिका र जिविसको सहकार्यमा सुनसरी जिल्लाका विभिन्न ठाउँमा नौ सयभन्दा बढी साक्षरता कक्षा सञ्चालन गरिसकेको छ ।
निरक्षरता उन्मूलन गर्ने राष्ट्रिय अभियानलाई सहयोग पु¥याउन सुनसरीमा यस्तो विशेष प्रकारको कार्यक्रम ल्याइएको पाण्डेको भनाइ छ । ‘यो अभियान सकिएपछि साउनदेखि सुनसरीका सबै सरकारी कार्यालयमा गरिने हरेक कामका लागि हस्ताक्षर अनिवार्य गरिनेछ,’ उनले भने, ‘औंठाछाप
(ल्याप्चे)का भरमा काम नहुने भएपछि सबैले अक्षर लेख्न सिक्नैपर्ने बाध्यता हुने हुँदा त्यसले निरक्षरमुक्त जिल्ला घोषणा अभियानलाई सहयोग पुग्नेछ ।’
सुनसरीमा निरक्षरता उन्मूलन अभियान चलाउनका लागि प्रसार–प्रसार, मूल्याङ्कन, अनुगमनलगायतका समितिसमेत गठन गरिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !