कसरी बन्ने उत्कृष्ठ - College Times : Educational Magazine
Headlines News :
Home » » कसरी बन्ने उत्कृष्ठ

कसरी बन्ने उत्कृष्ठ

Written By Neplee on Saturday, March 16, 2013 | 6:40 PM


‘सफलताका लागि तीन कुरा आवश्यक हुन्छ, आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यास,’ खप्तडस्वामीको यो भनाइ यतिबेला परीक्षामा सहभागी भइरहेका विद्यार्थीका लागि निकै प्रेरणादायी छ ।
आत्मविश्वास
कतिपय विद्यार्थीहरू आफैँले लेखेको जवाफमा विश्वास गर्दैनन् । अनि, अरूले लेखेको हेरेर सार्ने प्रयत्न गर्छन् । अर्थात् आफूलाई कमजोर ठानेर पनि उनीहरू परीक्षामा राम्ररी लेख्न सक्दैनन् । परीक्षा हलमा पुगेपछि कतिपय विद्यार्थीहरू आफूले जानेको कुरा पनि बिर्सछन् । उनीहरू डरले काम्ने, चिढिनेजस्ता प्रवृत्ति देखाउँछन् । यो सबै आत्मविश्वासको कमिले हो ।  विद्यार्थीले आफूले जानेको कुरा परीक्षामा कुशलतापूर्वक लेख्नका लागि आत्मविश्वास अपरिहार्य हुन्छ । मैले परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्छु भन्ने दृढ सङ्कल्प विद्यार्थीले पालेको हुनुपर्छ । यस्तो नतिजा हासिल गर्नमा सक्षम छु भन्ने भावना हुनुपर्छ । आत्मविश्वासले सफलता प्राप्तिको दर दोब्बर बनाउँछ ।
लगनशीलता
हरेक कुरामा सफलता पाउन लगनशील हुनैपर्छ । विद्यार्थीहरू लगनशील नहुने कुरै भएन । अध्ययनमा लगाव राख्ने विद्यार्थीहरू परीक्षाको समयमा पछुताउनुपर्दैन । कुनै पनि विषयबारे जान्न उत्सुक हुने, जान्नका लागि प्रयास गरिरहने बानीले विद्यार्थीलाई परिपक्क बनाउँछ । मन लागेको बेला पढ्यो अरू बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरूले जानेको कुरा पनि बिर्सन सक्छन् । त्यसैले आफूले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नुपर्छ । नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्नुहँुदैन । बरू, त्यही अप्ठ्यारो कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ ।  योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझ्न सजिलो हुन्छ । दिनदिनै नयाँ कुरा पढ्दै जादाँ अगाडि पढेका कुरा पनि बेला बेला सम्झनुपर्छ र अभ्यास गर्नुपर्छ । आफूले नजानेका कुरा साथीहरूसँग छलफल गरेर जान्न सकिन्छ । अभिभावक, शिक्षकको साहयताले पनि नजानेका विषय जान्न मद्दत मिल्छ । यस्तो लगनशीलताले विद्यार्थीलाई सधैँ सफलतातर्फ डोहो¥याइरहेको हुन्छ ।
अभ्यास 
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पूर्ण बनाउँछ । गणितजस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गर्नुपर्छ । अन्य विषयको अध्ययन गर्दा विद्यार्थीहरू बसेर छलफलको माध्यमबाट गर्न लाभदायक हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयहरूको बारेमा मनन गर्नुपर्छ । अध्ययन गरेको कुराबाट मैले के–के जानेँ भनेर आँखा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुनः अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधि निकै प्रभावकारी हुन्छ । अभ्यासद्वारा प्राप्त गरेको ज्ञान स्मरण गरिरहन र परीक्षामा मौलिक रूपमा अभिव्यक्ति गर्न सकिन्छ ।
अब चिन्ता हटाउनुहोस्
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउँछ । त्यस्तै परीक्षा नजिकिदै जाँदा पनि उनीहरूमा चिन्ता बढ्दै जान्छ । हुन त सबै विद्यार्थीमा नै परीक्षाको बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रूपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यसैले विद्यार्थीले तनाव कम गर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्नेतर्फ ध्यान मोड्नुपर्छ ।
सकारात्मक सोचाइ एवम् परिश्रमको फल जहिले पनि मिठो हुन्छ । परीक्षाको रूपमा शारिरीक कम्पन अनुभव हुनु सामान्य मानिन्छ । यद्यपि तनाव धेरै बढ्नुको कारण अध्ययनमा कमजोर हुनु नै हो । धेरैजसो विद्यार्थीहरू परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन् । एकातिर परीक्षाको तनाव अर्कोतिर पढाइको भारले उनीहरू मानसिक रूपले थाक्छन् । त्यसैले पढेका कुराहरू सजिलै ग्रहण गर्न सक्दैनन् । फलतः उनीहरू झनै अतालिने गर्छन् । परीक्षामा कसरी लेख्ने भन्ने भयले उनीहरूमा गम्भीर चिन्ता पैदा गरिदिन्छ । त्यसैले, पछि पछुताउनुभन्दा समयमै मेहनत गर्न ध्यान दिनु बुद्धिमतापूर्ण हुन्छ ।
सुरूदेखि नै पाठयोजना र समयतालिका बनाएर अध्ययन गर्ने बानी बसाल्नुपर्छ । नियमित अध्ययन गर्ने विद्यार्थीलाई परीक्षाको समयमा मानसिक भार हुँदैन । अगाडि नै अध्ययन गरेका विषयलाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्नु पर्न भएकाले उनीहरू परीक्षामा के लेख्ने भन्ने चिन्तामा हँुदैनन् । योजनावद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, विगतमा अध्ययन गरेको पाठबारे चिन्तन गर्नुपर्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved