विद्यालयमा विष - College Times : Educational Magazine
Headlines News :
Home » » विद्यालयमा विष

विद्यालयमा विष

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:50 PM


‘छिटोमिठो अनि भिटामिन र मिनरल्स युक्त चाउचाउ’
थरिथरिका ‘पौष्टिक तत्वले भरपुर चाउचाउ’
यस्ता कैयन् विज्ञापनले टेलिभिजन र रेडियोमा ठाउँ पाएका छन् । शरीरलाई स्वस्थ बनाउनेदेखि आकर्षक उपहार पाइने भन्ने आशयका विज्ञापन जोडतोडका साथ बजिरहेका छन् । चाउचाउको प्याकेटमा पनि नानाथरीका पौष्टिक पदार्थ हुने उल्लेख छ । कानुनले निषेध गरे पनि ज्ञानज्योति बाल्ने या यस्तै अनेक बहानामा बालबालिकाको विज्ञापनहरुमा प्रयोगसमेत भइरहेको अवस्था छ ।
विज्ञापनको प्रभाव या बढ्दो व्यस्त जीवनशैलीका कारण घरघरमा छिटोमिठो खाजाको रुपमा चाउचाउको प्रयोग बढ्दो छ भने विद्यालय जाने बालबालिकाको टिफिनबक्समा समेत चाउचाउले राम्र्रै ठाउँ पाइरहेको छ । तर, बालकदेखि वृद्धहरुको प्रिय खाजा बनेको चाउचाउ स्वास्थ्यका लागि कति उपयोगी छ भन्नेतर्फ भने धेरै कमले मात्र ध्यान दिएका छौँ ।
धेरैको छिटो–मिठो खानेकुरा बनेको चाउचाउलगायतका जङ्कफुडले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । बालबालिकामा त त्यसको असर अझ धेरै हुन्छ ।
जङ्कफुडको नियमित प्रयोगबाट बच्चामा खानाप्रतिको रुचि घट्ने र पेटसम्बन्धी समस्या देखिने चिकित्सकहरु बताउँछन् । सन्तुलित खानाको अभावमा उनीहरुमा रगतको मात्रा कमि हुने बताइएको छ ।
बजारमा विभिन्न किसिमका चाउचाउहरु पाइन्छन् । भेज, ननभेजदेखि उपहार राखिएका र नराखिएका । अनि, एउटा किन्दा एउटै मात्र पाइने र एउटा किन्दा दुई वटा पाइने पनि छन् । विभिन्न स्वादमा पाइने यस्ता चाउचाउ स्लो पोइजनको रुपमा मानिसको स्वास्थ्य बिगार्न तम्तयार छन् ।
चाउचाउमा भनिए र प्रचार गरिएअनुसार यसमा पौष्टिक तत्व केही हुँदैन । बरु कुहिएको पिठोको प्रयोग गरिनु र म्याद गुज्रिएका चाउचाउको समेत निर्वाध बिक्री–वितरण हुनुले चाउचाउलाई स्वास्थ्यको प्रतिकूल बनाएको छ । एकताका गुणस्तर कायम गरेका वाइवाइ, रमपम ब्राण्डका चाउचाउको समेत स्तर पछिल्लो केही समयमा खस्किएको छ । त्यति मात्र होइन, बढ्दो प्रतिष्स्र्धाकै कारण गुणस्तरभन्दा उपहारमा ग्राहक लोभ्याउन थालिएको छ, जसबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना बढ्दो छ ।

जङ्कफुड निषेध गरिने
जङ्कफुडबाट हुने हानीकै कारण सरकार जङ्कफुडबाट स्कुले विद्यार्थीलाई टाढा राख्ने तयारीमा छ । जसका लागि विद्यालयमा जङ्कफुड प्रतिबन्ध गर्ने तयारीमा सरकार लागेको छ । आउँदो शैक्षिक सत्रदेखि चाउचाउ, चकलेटजस्ता तयारी जङ्कफुड स्कुलमा लान पाइने छैन भने स्कुल क्यान्टिनमा समेत यस्ता खाजा बेच्न प्रतिबन्ध लगाइने छ ।
रसायनयुक्त तयारी खाजा (जङ्क फुड) ले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर गरेको सरकारी अनुसन्धानमा पुष्टि भएपछि विद्यालयमा यस्तो खाजा निषेध गर्न लागेको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९मै व्यवस्था गरेर विद्यालयमा जङ्कफुड प्रतिबन्ध गर्ने सरकारी तयारी छ ।
निर्देशिकाअनुसार विद्यालयको क्यान्टिनमा तयार गरिएको वा विद्यार्थीले घरैबाट ल्याएको स्वस्थकर खाजा मात्र खान सक्छन् ।  निर्देशिकाअनुसार विद्यालयले क्यान्टिनमा खाजा र खानाको दैनिक मेनुु राख्नुपर्ने, व्यवस्थापन समिति र अभिभावकको छलफलबाट विद्यालयले मौसमअनुसारको खाजासूची वितरण गर्नुपर्नेछ ।

भारतमा समेत प्रतिबन्धित जङ्कफुडको प्रयोगबाट विद्यार्थी तथा बालबालिकामा लाग्नसक्ने दीर्घकालीन रोग नियन्त्रणका लागि भारतका विद्यालयहरुमा समेत जङ्कफुड निषेध गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विद्यालयहरुमा जङ्कफुड र कार्बाेनेटेड पेय पदार्थमा प्रतिबन्ध लगाएको हो ।
त्यस्ता खानेकुरामा क्यालोरी बढी र महत्वपूर्ण पोषकतत्व कम हुने भएकाले बालबालिकामा स्वास्थ्य समस्या देखिने मन्त्रालयको तर्क छ । मन्त्रालयले स्वास्थ्यका दृष्टिले हानिकारक मानिएका खाद्य र पेय पदार्थको बिक्री रोकेर बालबालिकालाई उचित र स्वस्थ आहारको प्रयोगमा जोड दिन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

प्रतिबन्धको विरोध
नयाँ शैक्षिक सत्रदेखि विद्यालय हातामा जङ्कफुड प्रतिबन्ध गर्ने सरकारी निणर्यलाई चाउचाउ उद्योग डुबाउने खेल भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । चाउचाउ उत्पादक संघले शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चाउचाउ जङ्कफुडभित्र नपर्ने दाबीसमेत गरेको छ । उद्योगीहरुले सरोकारवालासँग छलफलै नगरी सरकारले एकतर्फी ढङ्गमा चाउचाउसमेत प्रतिबन्धित गरेको भन्दै आपत्ति जनाएका छन् ।

जङ्कफुडले प्रजनन्शक्ति घटाउने
पछिल्लोपटक गरिएको एक अनुसन्धानले पिज्जा, चिप्स, चाउचाउ तथा अन्य स्न्याक्सजस्ता जङ्कफुड खाने पुरुषहरुमा प्रजनन क्षमता कम हुने तथ्य पत्ता लगाएको छ ।
अमेरिकाको हार्वड विश्वविद्यालय र स्पेनको मर्सिया पोषण विश्वविद्यालयका
डाक्टरहरुले गरेको अनुसन्धानअनुसार जङ्कफुडको सेवनले पुरुषको प्रजनन क्षमतामा सिधा असर पु¥याउँछ ।
१८ देखि २० वर्ष उमेर समूहका एक सय ८८ युवकमा गरिएको परीक्षणमा जङ्कफुड मात्र खाने युवकको वीर्यमा स्वस्थ शुक्रकिटको सङ्ख्या फलफूल, दूधजस्ता पौष्टिक पदार्थ खानेको भन्दा कम पाइएको थियो ।
बेलायतमा केही समयअघि गरिएको अध्ययनअनुसार मस्तिष्कलाई जङ्कफुडले नशालु पदार्थलेजस्तै असर गर्छ । मुसामा गरिएको उक्त परीक्षणमा अत्याधिक मात्रामा जङ्कफुड खाने मुसा धेरै मोटो हुनुका साथै धेरै खाना खाएको र खानाको माग नशाजस्तै बढ्दै गएको पत्ता लागेको थियो ।

अजिनोमोटोबाट बचौं
हामीले दिनहुँ खाजाका रुपमा प्रयोग गर्ने चाउचाउ तथा अन्य जङ्कफुडहरुमा विभिन्न मसलाका साथमा मानिसको स्वास्थ्यलाई हानी गर्ने एउटा अर्को मसलाको प्रयोग गरिएको हुन्छ, जसलाई अजिनोमोटो भनिन्छ । खाना स्वादिलो बनाउन प्रयोग गरिने अजिनोमोटोको प्रयोगले मानिसको स्वास्थ्यलाई हानी गर्छ ।
जापानबाट लोकप्रिय भएको यो सेतो मसला एक प्रकारको रसायन हो । यो मसलाको रासायनिक नाम ‘मोनोसोडियम ग्लुटामेट’ हो । यसलाई विशेषगरी रेस्टुरेन्टहरुले मःमः, चाउमिन आदि परिकारमा प्रयोग गर्छन् । साथै हामीले प्रयोग गर्ने सबै ब्राण्डका चाउचाउमा समेत यसको प्रयोग अनिवार्यजस्तै गरिएको छ । अजिनोमोटोले वजन बढाउँछ तथा हड्डी गलाउँछ । यसले टाउकाको पीडा, छातीको पीडा, मुटुको रोग, दम तथा अन्य स्वास्थ्य समस्या उत्पन्न गराउँछ । अजिनोमोटो चाइनिज परिकार तथा नुनिलो स्न्याक्समा बढी प्रयोग गरिन्छ । प्रोसेस गरिएका चाउचाउलगायतका अधिकतर खाद्यपदार्थमा समेत यसको प्रयोग हुन्छ । पास्तामा पनि यसको प्रयोग हुन्छ । अजिनोमोटोले बालबालिकाहरुमा फुड एलर्जी, अपचका साथै दमलगायतका समस्याहरु समेत देखाउँछ । उत्तेजना बढाउने र मस्तिष्कका सेलहरु नष्ट गर्ने हुँदा अजिनोमोटोको प्रयोग नगर्नु र अजिनोमोटो हालेर बनाइएका खानेकुरा नखानु नै बुद्धिमानी हुन्छ । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved