विद्यार्थी आकर्षण गर्ने बहानामा कलेजहरुमा विकृति भित्रिएको भन्दै सरकारले स्कर्ट र छोटा पहिरन भएका पोशाक प्रतिबन्ध लगाएसँगै शिक्षक, विद्यार्थीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । स्कर्ट भएका विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको धरानका विद्यालयहरुको अनुभव छ । स्कर्ट भएकै कारण पनि कलेजहरुमा विद्यार्थीहरु खचाखच हुने गरेका छन् । सर्टपाइन्ट, र कुर्ता सुरुवालसमेत भएका विद्यालयमा पनि स्कर्ट लगाउनेको सङ्ख्या बढी छ । आफूलाई स्मार्ट र आधुनिक देखाउन तिघ्रा प्रदर्शन गरी स्कर्ट लगाउनेहरुका कारण विद्यालयमा विकृति फैलेको शिक्षासँग सम्बन्धित कतिपय व्यक्तिहरु गुनासो गर्छन् ।
‘स्कर्ट हुनु राम्रै हो, तर न्यूनतम मापदण्ड भए राम्रो हुन्थ्यो,’ सिटी कलेजकी रश्मि प्रधान भन्छिन्, ‘तर, यहाँ त कसले आफ्नो शरीर बढी देखाउने भन्ने प्रतिस्पर्धात्मक मानसिकता विकास भएको छ ।’ धरानको सिटी कलेजमा त विकल्पमा कुर्ता र पाइन्ट छ तर नेशनल कलेजले अर्को पोशाक दिएको छैन । रश्मि भन्छिन्, ‘नेशनल कलेजमा स्कर्टबाहेक अरु नहुँदा स्कर्टप्रेमीहर्रु त्यतैतिर तानिएका छन् ।’
पोशाकको नाममा अङ्ग प्रदर्शन बढ्दै गएपछि सरकारले छोटा स्कर्टमा प्रतिबन्ध लगाउने तयारी गर्नु राम्रो भएको सरस्वती उच्चमावि पानबारीकी कक्षा ११ की विद्यार्थी पूजा अधिकारीको धारणा छ । ‘सीमासम्म मिनिस्कर्ट ठिकै होला तर, स्कर्टको नाममा बढिरहेको विकृतिलाई बन्द गर्नु राम्रो हो,’ उनले भनिन् । उनी स्कर्टविरोधी नभए पनि पढ्नका लागि आउनेहरुले अङ्गप्रदर्शन गर्नु र छोटा स्कर्ट लगाउनु गलत भएको बताउँछिन् । निश्चित मापदण्ड पूरा गरेमा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नभएको विद्यार्थीहरु बताउँछन् ।
धरानमा सिटी, नेशनल, एम्स, मोडल, विएमसीलगायतमा स्कर्ट कलेज पोशाकका रुपमा छन् । तर, ती कलेजमध्येमा नेशलन कलेज भने स्कर्टबाहेकका अन्य पोशाक नभएको क्याम्पस हो । फेसन देखाउन र अङ्गप्रदर्शन गर्नकै लागि छात्राहरु स्कर्ट रोज्ने गरेको बताउँदै विद्यार्थी गणेश पौडेल भन्छन्, ‘कलेजले न्यूनतम मापदण्ड बनाएर अङ््गप्रदर्शनकै लागि छोटा स्कर्ट लगाउने चलन रोक्नुपर्छ ।’
स्कर्ट प्रयोगबाट सार्वजनिक सामाजिक विकृति नफैलिने गरी मापदण्ड बनाउनुपर्ने अधिकतम सरोकारवालाको भनाई छ । सिटी कलेजका प्रिन्सिपल विशाल श्रेष्ठ भन्छन्, ‘सरकारले बन्द गर्ने नीति मात्रै बनाएर हुँदैन, निश्चित मापदण्ड बनाउन आवश्यक छ ।’ उनले आफ्नो कलेजका छात्राहरुलाई स्कर्ट लगाउँदा न्यूनतम मापदण्ड पूरा गर्न लगाएको दाबी गरे ।
– भोजराज श्रेष्ठ

0 comments:
Speak up your mind
Tell us what you're thinking... !