मेरा केही साथीहरु, घरपरिवारका सदस्यहरु भन्ने गर्थे ‘संसारमा कहीँ नभएकी तिमी नै छ्यौ । मिठाई नखानू, बोतलको पानी नपिउनु रे ! यात्रामा हिँड्दा आफ्नो पानी र खानेकुरासँगै लैजानु रे ! च्युरा भुटेर लैजानु रे ! खोइ त बाहिरको मिठाई, मिनरल वाटर, गुँदपाक खाएर हामी बिरामी परेका छैनौँ । तिमी त स्वाङ मात्र पाछ्र्यौ ।’मलाई जिस्क्याउने साथीहरुले निकैपछि ‘तिमीले भनेको कुरा ठिकै रहेछ । पत्रिकामा आएपछि झल्झली तिमीलाई नै सम्झेका थियौं’ भने । तर मलाई थाहा छ कि मिठाईहरुको बिक्री कम हुनु विभिन्न डेरीका दूधहरु कम खपत हुनु आदि हाम्रो समाजमा केही समय मात्र रहने प्रक्रिया हुन् । एक–दुई महिनापछि जब सञ्चारमाध्यमले अन्य विषयहरुमा लेख्न सुरु गर्छन्, पुनः गुँदपाक पसलमा लाइन लाग्छ, मिनरल वाटरका बोतलहरु यथावत बिक्नेछन् । किनभने हाम्रो सम्झनाशक्ति साह्रै कमजोर छ ।
केही महिनाअघि एक फलफूलको रसको बोतलमा पाइएको दूषित पदार्थको बोरामा धेरै समाचार, विश्लेषण, सम्पादकलाई चिठी आए । केही दिन त त्यसको बिक्री पनि कम भयो तर पछि ‘मुसीको भवः’ भनेजस्तै त्यही फलफूलको जुस पुनः मज्जासँग बिक्री भइरहेको छ जबकि सबैलाई थाहा छ, फलफूलको जुसमा फलफूल त नाम मात्रको हुन्छ । त्यसमा मिसाइएका चिनी, अन्य रासायनिक पदार्थहरु हुन्छन् । विज्ञापन गर्दा भनिन्छ, ‘यसमा कुनै पनि रासायनिक पदार्थ मिसाइएको छैन । शुद्ध रस मात्र हो ।’ ‘फलफूलजस्तै शक्ति दिन्छ ।’ जबकि स्वास्थ्यविज्ञानले भन्छ, ‘फलफूलका रसहरुभन्दा सम्पूर्ण फलफूल खानु नै उत्तम हुन्छ । फलफूल खाँदा त्यसमा रहेका रेसादार पदार्थ र अन्य तत्वहरु पनि शरीरका लागि महत्वपूर्ण हुन्छ ।’
अहिले मासुमा पनि अनेक किसिमका दूषित पदार्थहरु छन् । खराब तरिकाले बिक्री हुन्छ भनेर समाचार आएको छ । केही मानिसले मासु कम गर्ने कि भन्ने विचार पनि गरेका छन् । तर, ती व्यक्तिहरुले पहिले मासु पसलमा मासुसँगै राखेको झिँगा भन्केको, कुकुरले मासु चाटेको, साहुनीले कुकुरलाई धपाएको दृश्य नदेखेका होलान् त ? बजारका अन्य कति खानेकुराजस्तो बिस्कुट, चाउचाउ, चिजबलहरु बच्चालाई खाजाका रुपमा, खानाका रुपमा मातापिताले दिँदा के उनीहरुले कहिले त्यस्ता प्याकेटमा राखेका चिजबल स्वस्थकर छ कि छैन भनेर विचार गरेका हुन्छन् ? विभिन्न थरीका चाउचाउहरुमा कस्तो पीठो प्रयोग गरेर (कुहिएको, ढुसी परेको, किरासँगै पिसिएको, जुत्ताले कुल्चिएको) बनाइएको हुन्छ कसैले हेरेको छ ? चाउचाउमा सित्तैमा दिने अनेक उपहारहरु कसले सित्तैमा दिन्छ ? चाउचाउ खानाले भविष्यमा तपाईंको र तपाईंका बच्चाहरुको स्वास्थ्यमा कति नराम्रो असर गर्छ भन्ने कुरा हामीले बुझेका छैनौ र ? छौं नि त ।
चाउचाउ आज खाएर भोलि नै बिरामी परिन्न । त्यसैले कसैले वास्ता नगरेको हो । जुन दिन बिस्कुट र चाउचाउका विभिन्न कारखाना र गोदाममा छापा मार्दा ‘मुसा महाराज’ पीठोमा लुटपुटिएको देखिन्छ वा मरेको मुसासँगै मिसिएर पीठो थुपारिएको देखिनेछ, त्यो बेलामा सबैले ‘ओहो ! चाउचाउ त यसरी पो बनाइँदोरहेछ, छ्या’ भनेर सायद केही दिन चाउचाउ खान छोड्लान् । तर, जब पत्रपत्रिकामा चाउचाउ र मुसाको समाचार छापिन÷देखाउन बन्द हुन्छ, फेरि सबै मातापिता बालबालिकाको खाजामा चाउचाउ हाल्नेछन्, चिजबल हाल्नेछन् अनि आफ्नो स्वास्थ्यका बारेमा वास्ता नराख्ने केवल विज्ञापनका भरमा परेर खानेकुरा किन्ने, उपहार पाइन्छ भनेर चाउचाउ बिस्कुट किन्नेहरुले फेरि किन्छन् ।
होसियार त हामी हुनुपर्ने हो । तर कहिले ? किनभने यस्ता विषयका बारेमा, जनस्वास्थ्यमा चासो राख्नेहरुले बोल्दै र लेख्दै आएका छन् । तर, ठूलो स्वरले कराउन सक्ने मिठाई र चाउचाउ पसलेको बोलीका अगाडि ‘चाउचाउ, बिस्कुटमा हानिकारक वस्तु हालिन्छ, यसको पीठो कुहिएको हुन्छ’ भन्नेहरुको बोली वनमा झ्याउँकिरी कराएजस्तै हुन्छ, कसैले सुन्दैन, ध्यान दिँदैन ।
सुुदूरपश्चिमका विभिन्न ठाउँमा राखिएका चाउचाउ र बिस्कुटका पोका र स्कुलका बालबालिका खाजाका सट्टामा त्यही खाएको देख्दा मन चसक्क हुन्थ्यो । मैले कतिजनालाई त भनेँ पनि ‘तिमीहरु किन चना, आलु, रोटी नखाएर यस्तो चाउचाउ, बिस्कुट खान्छौ ?’ उनीहरुको उत्तर एउटै पाइन्छ, ‘मीठो हुन्छ, सस्तो हुन्छ, सबैले खान्छन् ।’
खानेकुराकै विषाक्तताको कुरा गर्दा हलुवाइ पसलमा एउटै तेलमा बारम्बार पकाइने जेरी, स्वारी पनि स्वास्थ्यका लागि खराब हुन्छन् भन्दा सायद कसैलाई विश्वास नलाग्ला । तर, तेल बारम्बार तताएपछि त्यसबाट विष पैदा हुन्छ र यसले क्यान्सरजस्तो रोग पनि पैदा गर्न सक्छ भन्ने कुरा विशेषज्ञले बारम्बार भन्दै आएका छन् । तातो जेरी र स्वारी मिसाएर खाँदाको स्वादअगाडि सायद यस्ता खानेकुराले विष पैदा गर्न सक्छन् भन्ने कुरा नै बिर्सिइन्छ । सबैले मीठो मानेर खान्छौं । सेकुवा स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने तथ्य बारम्बार क्यान्सर रोग विशेषज्ञले भन्दै आएका छन् ।
यसो हो भने स्वस्थकर खानेकुरा नै केही छैन त ? किन नहुनु, घरमा बनाएको खिर, रोटी, हलुवा, चना, आलुको चुकौनी, टुसा उमारेको तरकारी, अन्डाका विभिन्न परिकार कति छन् कति ! हामीलाई बनाउन जाँगर हुनुपर्छ । सायद छापाहरुमा बारम्बार बाहिरका खानेकुराहरुको विषयमा यसरी सच्चा खबर छापिइरहने हो भने हाम्रा सन्तानले स्वस्थ खानाको बानी सिक्नेछन् । (इकान्तिपुर)
डा. अरुणा उप्रेती
0 comments:
Speak up your mind
Tell us what you're thinking... !