गेसपेपर प्रतिबन्ध - College Times : Educational Magazine
Headlines News :
Home » » गेसपेपर प्रतिबन्ध

गेसपेपर प्रतिबन्ध

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:46 PM

पेन्टीभित्र गेसपेपर लुकाएको प्रसङ्गले गतवर्षको एसएलसीताका देशभर नै सन्सनी मच्चायो । नेपालगञ्जकी एक छात्राले पेन्टीभित्र गेसपेपर लुकाएको  सुरक्षाकर्मीले शङ्का गरेपछि सुरुमा त उनले सेनेटरी प्याड भन्दै टार्न खोजिन् तर पछि महिला सुरक्षाकर्मीले जाँच गर्दा गेसपेपर नै भएको पुष्टि भयो । लगत्तै परिक्षार्थीमाथि दुव्र्यवहार भएको भन्दै विद्यार्र्थीले हल्लीखल्ली गरेपछि आधा दर्जन बढी परिक्षार्थीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।
विभिन्न कारणले विद्यालयको शिक्षा र पाठ्यपुस्तकबाट असन्तुष्ट विद्यार्र्थीहरु पास हुने ‘सर्टकट’ उपाय अपनाउनका लागि गेसपेपर पढ्ने गर्छन् । जसले विद्यार्र्थीको कोठादेखि विद्यालय अनि परीक्षाकेन्द्रसम्मको यात्रा सहजै तय गर्छ । पाठ्यपुस्तकमा त्यो आकर्षण छैन, जति गेसपेपरमा छ । कति विद्यार्र्थीहरु त गेसपेपर मात्र पढेर परीक्षा दिन्छन् । परीक्षाहरु नजिकिँदै गर्दा यो वर्ष पनि बजारमा गेसपेपरको माग बढेको छ ।
तर, विद्यार्थीहरुका लागि दुखद् खबर छ । पठनपाठन संस्कृतिको विकास गर्न भन्दै सरकारले यस वर्षदेखि गेसपेपर उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाउने भएको छ । हुन त व्यवशायीहरुले गेसपेपर प्रतिबन्धको विरोध गरेका छन्, तर सरकारले भनेजस्तै गरी नियम कार्यान्वयन भएमा आउँदो एसएलसी परीक्षामा विद्यार्थीले गेसपेपर पढ्न पाउने छैनन् ।
बजारमा विभिन्न प्रकाशकका गेसपेपरले बजार लिएका छन् । निमा, कडरिया, अक्सफोर्ड, एमबिडी, इएमसी लगायत १२ प्रकाशनगृहले संस्थागत रुपमा गेसपेपर छाप्दै आएका छन् । विद्यार्र्थीलाई परीक्षा तयारीमा सजिलो होस् भन्नका लागि केहीले व्यक्तिगत रुपमा समेत गेसपेपर प्रकाशन गर्ने गर्छन् ।
एसएलसी, कक्षा ११ र १२ का विद्यार्थी असल र राम्रा किताब पढ्नुभन्दा पनि गेसपेपरमै निर्भर हुँदै गए भन्ने अभिभावकका गुनासाका आधारमा सरकारले यी तहमा गेसपेपर प्रतिबन्ध गर्ने निर्णय गरेको शिक्षा सचिव सुरेशमान श्रेष्ठले बताए । नियम मङ्सिरको अन्तिम सातादेखि नै कार्यान्वयनमा ल्याउने भनिए पनि व्यवसायीहरुको विरोध सार्वजनिक भइसकेको छ । बजारमा भएका कक्षा १० का सबै विषयका गेसपेपर पुस्तक बिक्रेता तथा प्रकाशकले हटाउनुपर्नेछ भने शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग सहकार्य गरी छापा मार्ने र अनुगमनलाई तीव्र बनाउनेसमेत चेतावनी दिएको छ ।
परीक्षामा समेत चिटको रुपमा गेसपेपर बरामद हुनुले पनि विद्यार्थीमाझ गेसपेपरको प्रयोग पाठ्यपुस्तकभन्दा बढी हुने गरेको पुष्टि गर्छ । परीक्षाको तयारीका लागि नोट बनाउनुभन्दा गेसपेपरको प्रयोग गर्नतर्फ विद्यार्थीको आकर्षित हुँदै जाँदा उनीहरुको सिर्जनशीलतामा कमी आएको सरोकारवालाहरुको भनाइ छ । निर्णयको स्वागत गर्दै एजुकेशन हेल्पलाइन विराटनगरका अध्यक्ष राजेन्द्र ढकालले समयमा कोर्ष पूरा नगर्ने शिक्षकहरुको कारण गेसपेपरमा लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्छन् । यता, अभिभावक सङ्घ पूर्वाञ्चलका संयोजक देवी पन्थी गेसपेपरले विद्यार्थीको मात्र नभइ शिक्षकको समेत खोजी अध्ययन बानी हराएको बताउँछन् ।
यता, विराटनगरस्थित सिटी कलेजका विद्यार्थी रामेश्वर चौधरी भने काम गर्दै पढ्ने विद्यार्थीलाई गेसपेपरले ठूलो सहयोग गरेको भन्दै प्रतिबन्ध लगाउन नहुने बताउँछन् ।
कसरी घटाउ“छ सृजनशीलता ?
गेसपेपरको प्रयोग गर्ने प्रायः विद्यार्थीले नोट बनाउँदैनन् । गेसपेपरमा दिइएको सीमित प्रश्न–उत्तरलाई मात्र याद गर्छन् भने याद गर्न नसकेका प्रश्न–उत्तर चिटको रुपमा लाने गर्छन् ।
विद्यार्थीले परीक्षाको तयारीका लागि विषयगत नोट बनाउने काम गेसपेपरले विस्थापित गर्दै लगेको छ । प्रश्नोत्तर शैलीमा परीक्षामा आउनसक्ने सम्भावित सामग्रीहरु दिइएको गेसपेपरलाई विद्यार्थीले किताबकै विकल्पको रुपमा प्रयोग गर्ने गरेका छन् । स्मरणीय छ, भारतको बिहारमा सात वर्षदेखि गेसपेपरमा प्रतिबन्ध लागेको छ ।

निर्णय स्वागतयोग्य छ । तर, कार्यान्वयन पक्ष जटिल छ, शिक्षक आफैंले फलानो लेखकको गेसपेपर, गाइड किनेर पढ्नु भन्ने गर्छन् । परीक्षाको समयमा विद्यार्थीलाई गेसपेपर बाँड्ने कामलाई सरकारले कडाइ गरी त्यस्ता शिक्षकलाइ कारबाही गरोस् ।
राजेन्द्र ढकाल, अध्यक्ष एजुकेशन हेल्पलाइन विराटनगर
बजारमा गेसपेपर बढेपछि विद्यार्थीहरु टेक्स्ट बुक पढ्नै छाडे । गेसपेपरअनुसार परीक्षाको तयारी गर्दा पनि परीक्षामा असफल हुनेको सङ्ख्याको बढेको हो । गेसपेपर हेर्ने र त्यहीअनुसार पढाउने हुँदा शिक्षकको खोज अनुसन्धान गर्ने बानी पनि हरायो  ।
देवी पन्थी, अभिभावक सङ्घ पूर्वाञ्चल संयोजक
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved