मर्निङ वाक मस्ती - College Times : Educational Magazine
Headlines News :
Home » » मर्निङ वाक मस्ती

मर्निङ वाक मस्ती

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:16 PM


मिगमा एकाबिहानै च्याटिङ गर्दागर्दै डिसी (डिसकनेक्ट) भएपछि धरानका अशेष खनालले साथी विशाल थेवे मिगामा लग इन गरे विशालले अशेषको इमेल पढे र मुस्कुराए । कारण, मेलमा जी एम भन्नुको तात्पर्य चलनचल्तीको ‘गुड मर्निङ’ नभएर ‘ग्ल्यामरस मर्निङ’ हो । अनि ग्ल्यामरस मर्निङ (रङ्गीन बिहानी)को  पनि अर्थ छ जुन अशेषलाई राम्ररी थाहा छ ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पढ्ने विशाल हरेक बिहान तीन बजेपछि उठ्छन् र हानिन्छन् लाङ्घाली सामुदायिक वनतिर । बाटोमा उनलाई भेट्न उनकी मायालु कुरेर बसेकी हुन्छिन् । आँलिङ्गनसँगै सुरु हुने उनीहरुको मर्निङवाकपछि मायालु कुराकानी र माया साटासाटमा परिणत हुन्छ ... । उनकै अनुसार अब यो त दैनिकी भइसक्यो । भन्छन्, ‘दिउँसो व्यस्त भइन्छ त्यसैले बिहानै भेट्छौं । उनका अनुसार बिहानको रमाइलो भेटघाटले दिनभर मुड फ्रेस बनाउँछ । हाँस्दै भन्छन्, ‘बिहान चाडैँ उठ्ने बानीसमेत बस्छ ।’
विशाल मात्र होइन प्रभातकालीन समयमा मर्निङ्ग वाकलाई मस्ती वाक बनाउनेको सङ्ख्या पछिल्लो समयमा धरान, इटहरी र तरहरामा बढेको छ । बिहानको स्वच्छ वायु, शितल र एकान्त मौसम स्वास्थ्यलाई मात्रै होइन मायाप्रेममा पनि सहयोगी हुने मर्निङ वाक गर्नेहरुको भनाइ छ ।
फाइदासँगै यसले विकृति समेत भित्र्याएको छ । धरान– १४ विजयपुरका कृष्ण भुजेल बिहान पाँच बजे अफिस जाँदा धेरै मायालु जोडीहरु बाटोमा देख्छन् । तीमध्ये कतिपय त छेऊछाऊका मान्छे र अन्य मर्निङ वाक हिँड्नेहरुको समेत पर्वाह नगरी अश्लील गतिविधिमा भेटिन्छन् । ‘हात्तिसार र रेडक्रस भवनको बाटो, पिण्डेश्वरी र बूढासुब्बा मन्दिर जाने भित्री बाटो र स्टेडियममा मस्त जोडीहरु बिहान पाँच बजेसम्म मजाले देखिन्छन्,’ उनकै शब्दमा भन्दा ‘बिहान लगभग तीन बजेदेखि पाँच बजेको एकान्त हल्का अँधेरी समयमा मर्निङ वाकसँगै मस्ती वाक गर्नेहरु धेरै छन्, मर्निङ वाकसँगै विकृति समेत भित्रिएको छ ।’
उता, इटहरी हलगडा बस्ने प्रकाश थापा पनि बिहान बिराटनगर र धरान रोडका प्लटिङ क्षेत्रमा प्रेमिल जोडीहरु बाक्लै देख्छन् । आफ्नो साथीले गलफ्रेन्डलाई बिहान बोलाउँदै भेटघाट गरेको देखेका उनले आजकल आफ्नी प्रेमिकालाई पनि मर्निङ वाकमै भेट्छन् ।
मर्निङ वाकमा मस्ती गर्नेहरु धरानमा खासगरी निर्माणधीन रङ्गशाला, लाङ्घाली सामुदायिक वनको आसपास, बहुजातीय सङ्ग्रहालय क्षेत्रमा बढी भेटिन्छन् । इटहरीमा भने तालतलैया, हलगडा छेऊका प्लटिङ क्षेत्र, विराटनगर रोडका प्लटिङ र काव्यवाटिका रोजाइमा परेको जानकारहरु बताउँछन् ।
स्कुले किशोरकिशोरीहरुलाई दिउँसोको समयमा स्कुलमा र साँझ बिहान ट्युसनको चटारोले गर्दा मायालु भेट्ने उचित समय मर्निङ वाकलाई बताउँछन् । ‘घरबाट साथीसँग मर्निङ वाक भनेर जाँदा रोटटोक हुँदैन र आफ्नो व्वाइफ्रेन्डसँग मजाले कुरा गर्न र भेट्न टाइम पाइन्छ,’ मर्निङ्ग वाकको बहानामा प्रेमी भेट्ने गरेकी इटहरीकै एक निजी विद्यालयकी छात्रा तनुजाको भनाइ छ ।
उता कलेज पढ्न डेरा बस्नेहरुले पनि मर्निङ वाकलाई मस्तीको मौका र पैसा जोगाउने पद्दतिको रुपमा समेत लिएका छन् । धरानका अविरल श्रेष्ठका अनुसार दिउँसो गर्लफ्रेन्ड भेट्न कम्तीमा दुई–तीन सय खर्च हुन्छ । त्यसमाथि क्याफेमा राम्रोसँग कुरा गर्न पाइँदैन । मर्निङ वाकको विकल्प नभएको तर्क गर्दै उनी थप्छन्, ‘फेरि, जहिल्यै पनि खल्तीमा पैसा हुन्छ नै भन्ने हुँदैन, कुरा गर्न पनि बिहानी नै राम्रो हुन्छ ।’
आफ्नो मायालुुसँग फोनमा कुराकानी गर्न घरमा सहज वातावरण नभएर कतिपय तन्नेरीहरु मर्निङ वाक समय र बहानाको भरपुर उपयोग गर्छन् । कतिपय घरपरिवार हुनेहरुले पनि ‘प्रेयसी’ भेट्न मर्निङ वाक नै प्रयोग गर्ने गरेको सुनसरी, पकलीस्थित स्टान्डर्ड स्कुलका शिक्षक विश्वराज गौतम बताउँछन् ।
सामान्यतयाः मर्निङ वाक बिहान पाँच बजेदेखि सात बजेसम्म हुन्छ तर मस्ती वाक गर्नेहरुले भने साढे तीनदेखि साढे पाँच बजेको समयलाई पिक आवर वा प्राइम टाइमका रुपमा उपयोग गर्ने गरेका छन् । मर्निङ वाक आफैँमा राम्रो कुरा हो, त्यो पनि मायालु सँगसँगै हात समातेर माया प्रेमका कुरा गर्दैै चालमा चाल मिलाएर हिँड्नु अझ राम्रो हो । ‘तर, मर्निङ वाकका नाममा यौन क्रियाकलापमा गर्नुलाई चाहिँ राम्रो मान्न सकिन्न, यस्तो प्रवृत्तिले सामाजिक विकृति बढाउँछ,’ कृस्टल मन्टेश्वरी स्कुलका प्रिन्सिपल केशव भट्टराई भन्छन् ।
‘मर्निङ वाकमा प्रेमिल जोडीले छाडा आचरण देखाउँछन्,’ समाजशास्त्रमा उत्र्तीण विद्यार्थी इन्द्राकान्त भट्टराईको कथन छ, ‘कमसे कम युवाहरुले सामाजिक आचारसंहितालाई पनि ख्याल गर्नु राम्रो हुन्छ । आफ्नो मात्र होइन अरु सबैको मर्निङ गुड होस् भन्नेतिर युवाले ध्यान हुनुपर्छ । देखाउनेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो गर्नुहुँदैन ।’
विराट अनुपम
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved