माओवादी लडाकु भएर चार वर्ष बिताएका मोरङ, हसन्दहका ३० वर्षीय खगेन्द्र पराजुली अहिले उर्लाबारीमा होटल सञ्चालन गर्छन् । किस्ताबन्दीमा घडेरी खरिद गरेका उनलाई अहिले व्यवसायकै आम्दानीबाट मासिक १८ हजार रुपैयाँ बैंकमा किस्ता बुझाउन तथा घर खर्च र छोराछोरीको पढाइ खर्च टार्न पुगेको छ ।
सुनसरीको विभिन्न ठाउँमा हुने विकास निर्माणका काम ठेक्का लिने सुनसरी, श्रीपुर–८ का ३४ वर्षीय हैदर अली र भोक्राहा–५ का रामनारायण यादव कुनैवेला नामुद हतियारधारी थिए । २०५२ सालमा माओवादीमा लागेदेखि सँगसँगैं रहेका दुवै माओवादी छाडेपछि पनि तराईका हतियारधारी समूहसँग सक्रिय भए । तर, अहिले दुवै जना प्रशासनको सहयोगी मात्र भएका छैनन् आफ्नै व्यबसायबाट राम्रो आम्दानीसमेत गरिरहेका छन् ।
नौ कक्षामा पढ्दा–पढ्दै जनमुक्ति सेनाको सहयोगी भएर हतियारधारी बनेका २५ वर्षीय अर्जुन आचार्य अहिले विराटनगरबाट प्रसारित मकालु टेलिभिजनका सहसम्पादक भएर काम गरिरहेका छन् । उनी नागरिक दैनिकमा समेत डिजाइनिङको काम गर्न भ्याउँछन् । २०६० सालमा माओवादीको सूचनादाता भएर काम गरिसकेका आचार्यको कमाइ अहिले व्याबसायिक काममा लागेपछि वैदेशिक रोजगारीमा जाने युवाको भन्दा धेरै छ ।
हतियार छाडेर व्यवसाय र पेसा थाल्ने केही युवाका उदाहरण हुन् यी । उनीहरु त्यति सजिलै हतियार छाडेर व्यावसायी बनेका भने हैनन् । उनीहरुलाई केही न केहीले प्रेरित गरेकै छ । होटल सञ्चालक पराजुली भन्छन् ‘मैले सात वर्षअघि युद्धमा आफ्नै दाजु गुमाएँ, त्योे घटनापछि हतियार छाडेर व्यवसाय गर्न लागेको थिएँ । अहिले आम्दानी पनि राम्रै गरिरहेको छु ।’
हतियार छाडेर व्यवसायमा लाग्ने सबैका आ–आफ्नै कथा छन् । २०५८ सालमा माओवादी भएर हिँड्दा पक्राउ परेका यादव र अली त्यसबाट छुटेपछि तराईका सशस्त्र समूहका लागि हतियार ल्याउने काममा लागे । प्रशासनले थाहा पाएपछि भारतमा लुकेर बस्नुप¥यो । यादव भन्छन्, ‘भारतमा बस्दा पनि त्यहाँका अपराधी समूहले प्रयोग मात्र गरेँ, अनि हामीमा हतियारमोह हट्यो ।’ भारतमा समेत समस्या खेपेपछि उनीहरु नेपाल फर्किएर प्रशासनसामु आत्मसर्मपण गरे । सामान्य जीवनमा फर्केपछि यी दुवैले ठेकेदारीको काम सुरु गरेका छन् । पूर्व लडाकु अर्जुन आचार्य पछिसम्म हतियारधारी भएका साथीहरुले लडाकु शिविर छाडेपछि फेरि पेसा व्यवसायमा आउनुपरेको उदाहरण दिंदै भन्छन्, ‘आखिर जति हतियार चलाएर हिँडेपनि अन्त्यमा केही न केही त गर्नेपर्ने रहेछ ।’
हतियारधारीबाट व्यावसायिक जीवन सुरु गर्दा थुप्रै हन्डर खाएका छन् उनीहरुले । तर, संघर्ष गर्न डराएनन् । सुरुका दिनमा थुप्रै अप्ठेरो भए पनि दिनानुदिन अरुले गर्ने व्यवहार बदलिँदै आएको आचार्य बताउँछन् । भन्छन्, ‘हिजो मलाई एउटा हतियारधारीका रुपमा हेर्थे । मानिसहरुले विश्वास गर्ने अवस्था थिएन । आज त्यो परिवर्तन भएको छ मैले समाज र मानिसहरुबाट सहयोग पाएको छु ।’
खगेन्द्रको अनुभव पनि त्यस्तै छ । ‘हतियारधारी बन्दा बोल्न डराउनेहरु आज सहयोगी भएका छन्,’ उनी भन्छन्, ‘व्यवसाय थालेपछि समाजमा हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ ।’ हिजो तर्केर हिँड्नेहरु, डराउनेहरु अहिले सहयोगी भएको यादवले बताए । शान्ति समिति सुनसरीले सवारी चालकको तालिम दिएपछि ३० जना हतियारधारी युवाहरु पराजुली, यादव र आचार्यजस्तै अहिले विभिन्न ठाउँमा स्वरोजगारमा सम्मानित जीवन बिताइरहेका छन् ।
इटहरीमा होटल, मोवाइल र घडी, रेडियो मर्मत केन्द्र सञ्चालन गर्ने एक दर्जन युवा पनि हतियार बोक्दा भन्दा अहिले सम्मानित जीवन विताएको महसुस गर्छन् । उनीहरु धेरैको एउटै भनाइ छ, ‘हामीलाई त्यतिवेला पनि धेरै मानिसले सम्मान गर्थे । तर त्यो हामी हतियारधारी भएकाले डराएर रहेछ । असली सम्मान अहिले पाइरहेका छौं ।’ व्यवसायमा लागेका यस्ता युवाहरुले प्रशासनले पनि राम्रो सहयोग गरेकोे बताएका छन् । कतैबाट असुरक्षित भएको महसुस नगरेको उनीहरुको भनाइ छ ।
उनीहरुसँगै एक समय हतियारसँग साइनो जोडिएका थुप्रै युवाहरु राजनीतिक कार्यकर्ता भएर हिँडिरहेका छन् भने केही सामान्य जीवनतर्फ फर्किएर जागिर, रोजगारीका लागि भौंतारिइरहेका छन् । उचित रोजगारीको अभावमा अझै धेरै युवाहरु अल्लारे जीवन बिताइरहेका छन् । पाँच वर्ष माओवादी लडाकु भएर हिँडेका मोरङ, गोविन्दपुरका रमेश ताजपुरिया अहिले कामको खोजीमा छन् । भन्छन् ‘विद्रोहका बेला पार्टीमा लागेर हिँडियो, अहिले पार्टीले हेरेन । धेरै साथ विदेश लागे, एजेन्टलाई दिने पैसा नभएकाले आफ्नो त्यो अवस्था पनि रहेन ।’
पछिल्लो समय व्यवसायमा आर्कषित हुन थालेपछि सुनसरीमा हतियारधारी युवा कम भएको शान्ति समिति सुनसरीका संयोजक रघुनाथ मेहता बताउँछन् । ‘असम्भव केही छैन, मात्र युवालाई कसरी परिचालन गर्ने र उनीहरुमा उत्साह अनि जोस कसरी भर्ने भन्ने हो, त्यसले निर्धारण गर्छ भोलिको भविष्य,’ महतोले भने ।
राजनीतिक दलका भातृसङ्गठनले पनि युवालाई सही प्रयोग गर्नुपर्ने प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ सुनसरीका सचिव गौरीमान परियार बताउँछन् । हतियारधारी युवालाई रोजगारीको अवसर दिनसके उनीहरु शान्ति सुरक्षाको सहयोगी हुने समेत उनको धारणा छ ।
रोजगारीको अवसर पाएर सुनसरीका धेरै हतियारधारी युवाहरु व्यवसायमा फर्किएको इक्वेल एक्सेस, युवाकार्य नेपाल र इन्टरनेशनल एलर्टको सार्वजनिक सुरक्षा र न्यायमा युवाको रचनात्मक भूमिका कार्यक्रमका सामाजिक परिचालक श्याम मोची वताउँछन् । हतियार बोकेका युवाहरु व्यवसायमा आउनु प्रसंशनीय भएको बताउँछन्, सुनसरीका प्रहरी उपरीक्षक सौरभ राणा । भन्छन्, ‘हतियार त्याग्ने साहस गर्नु नै पनि समाजका लागि सकारात्मक योगदान हो ।’
देश राजनीतिक अस्थिरतामा गुज्रिरहेका बेला हतियार त्यागेर आफँै रोजागारी सिर्जना गर्ने युवाहरु समाजका लागि उदाहरण हुन् । उनीहरुलाई प्रेरणाका स्रोत बनाएर समाज रुपान्तरका लागि परिचालन गर्न र सार्वजनिक सुरक्षामा संवेदनशील र सहयोगी बनाउनु आजको चुनौती हो । यसका लागि सकारात्मक सोच र रोजगारीका अवसर सिर्जना गरिनु आवश्यक छ । सही सल्लाहको अभाव र विश्वासिलो भविष्य नदेख्दा उनीहरु हतियारको पछि लागेका पाइन्छन् । हतियारको आयु लामो नहुने कुरा बुझाउन सके युवाहरु हतियारधारी नहुने मेहता बताउँछन् । भन्छन्, ‘युवाहरु आफैमा खराव हुदैनन्, उनीहरुलाई अवसरबाट वञ्चित गराइँदाको परिणाम खराब हुन्छ ।’
शेखर ढकाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !