धमाधम बालमैत्री - College Times : Educational Magazine
Headlines News :
Home » » धमाधम बालमैत्री

धमाधम बालमैत्री

Written By Collegetimes on Saturday, October 20, 2012 | 7:31 PM


भित्ताभरि चित्रसहितका देवनागरी र अङ्ग्रेजी वर्णमाला । सँगै टाँसिएका जनावर र चराचुरुगीका रमाइला रङ्गीचङ्गी तस्बिर । भुइँमा बाक्लो फोमसहितको कार्फेट, कार्पेटसँगै कुसन र थरिथरिका खेलौना । कोठाभित्र पस्नेबित्तिकै बालबालिका फुरुङ्ग हुन्छन् ।
साथीसँगै खेल्न पनि पाइने, सुत्दै, बस्दै, पढदै जसो गरे पनि हुने । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयको जस्तो वातावरण वनाएर शिक्षण सिकाइ क्रियाकलाप गरिने अभ्यास तथा कार्यक्रम क्रमशः विस्तारित हुँदैछ । त्यही मेसोमा मोरङका सामुदायिक विद्यालयहरुमा पनि बालबालिकाले मन पराउने खालको वातावरणसहित सिकाइ सुरु भएको हो ।
केही वर्ष अघिसम्म पढाइमा ध्यान नदिने बालबच्चालाई सजाय दिने, चेतावनी दिने र मानिसकरुपमा दबाब दिने सरकारी विद्यालयरुले सुधारिएर सजाय नै दिन छोडेका छन् । शिक्षक शिक्षिकाले बालबालिकालाई सजाय दिँदै दिदैनन् । बालबालिकाले गर्ने गल्तीमा सहजै मार्गदर्शन गर्दै क्षमा दिइन्छ । यसले बालबालिका मात्रै हैन अभिभावक पनि खुसी छन् ।
विराटनगर–१५ स्थित जनपथ उच्चमाविमा कक्षा एकमा अध्ययनरत श्याम चौधरीकी आमा फूलमाया भन्छिन्, ‘बालमैत्री कक्षा नहँुदा पहिले छोरालाई निकै कर गर्नुपथ्र्यो तर अहिले उनी आफैँ स्कुल जान तयार हुन्छन् ।’ दुइ बर्षअघि विद्यालय जान नखोज्ने श्याम अहिले पठाइमा पनि तेज भएका छन् ।
बालमैत्री कक्षा सञ्चालनपछि सिकाइ प्रभावकारी बन्दै गएको सो विद्यालयका प्रावि इन्चार्ज रामनरेश शाहको ठम्याइ छ । उनलाई लाग्छ बालमैत्री शिक्षा प्रणाली लागू गरेपछि विद्यालय आउन नखोज्ने र पढ्न नचाहने बालबालिकासमेत लगातार विद्यालय आउन थालेका छन् । विद्यालय सुधार कार्यक्रम अन्तर्गत झन् विद्यालयमा ई–पार्टीको व्यवस्था गरिएपछि तल्लो कक्षाका बालबालिकाले निकै खुसीको अनुभव गरेका छन् ।  ई–पाटीले शिक्षण क्रियाकलाप र अभ्यासमा सही र गलत छुट्याउने भएकाले बालबालिकाहरु रमाइलो मान्ने गर्छन् । यस्तो कार्यक्रम सञ्चालन गरेको विद्यालयमा नर्सरीदेखि एलकेजी, युकेजी र कक्षा तीनसम्म बालमैत्री कक्षा छन् ।
‘विद्यार्थीको सिकाइका लागि खेल्ने र कक्षामा वरिपरि सिकाइका सामग्री राखेर अध्ययन गर्ने वातावरण मिलाएका छौं,’ मोरङ बुधनगर–२ को जनता बाल निमाविका प्रध्यानध्यापक वीरेन्द्र मण्डलले भने, कक्षाकोठामा पस्दादेखि नै बालबालिका खेल्न र कक्षामा आफ्ना पहुँचमा रहेका शिक्षण सामग्रीबाट सिक्न उत्साहित हुने र बालबालिकालाई पूर्णरुपमा फकाइफुल्याइ माया गरेर अध्ययन–अध्यापन गराइने उनले बताए ।
मोरङमा तीन वर्षदेखि केही सामुदायिक विद्यालयले बालमैत्री सिकाइ पद्दति कार्यान्वयन गर्न थालेपछि बोर्डिङ र चर्को मूल्यमा निजी विद्यालयमा बालबच्चा अध्ययन गराएका अभिभावकसमेत आकर्षित भएका छन् । वातावरण फेरिएपछि निजी विद्यालयबाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने क्रम बढेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
मोरङमा पाँच सय ६९ सामुदायिक विद्यालय छन् । शिक्षा कार्यालयका उपसचिव अशोक कालाखेतीले भने,  ‘मोरङमा बालमैत्री कक्षा सञ्चालन गर्नेको लहर नै चलेको छ । मोरङमा रहेका सामुदायिक विद्यालयका साना कक्षामा विद्यार्थीको सङ्ख्या निरन्तर घटदै गएपछि बालमैत्री शिक्षाप्रणाली लागू गरिएको उनले बताए  ।
अनिल श्रेष्ठ 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved