पढाइ सकेर निस्किएका विद्यार्थीहरु कहाँ छन्, के गर्दैछन् ? न क्याम्पसहरुले खोजेका छन्, न त विद्यार्थीहरुले नै क्याम्पसलाई जानकारी दिने चलन छ । विद्यार्थीहरु आत्मनिर्भर भए भएनन् त्यो क्याम्पसलाई मतलबको विषय हुँदैन । तर, महेन्द्ररत्न बहुमुखी क्याम्पसले विद्यार्थीको चासो राख्न थालेको छ । इलामबाट कमला थापा लेख्छिन् ः
| महेन्द्र रत्न क्याम्पस इलाम |
विद्यार्थीको विवरण सङ्कलनका लागि सुरुमा गठन भएका २६ वटा टोलीले क्याम्पसबाट २०६५ सालदेखि अहिलेसम्म स्नातक उत्तीर्ण गर्ने एकहजार चारसय ९८ जना विद्यार्थीको विवरण सङ्कलन गरेको क्याम्पस अनुसन्धान इकाइका डाक्टर नरसिंह कुमार खत्रीले जानकारी दिए । सन् २०१५ सम्म विश्व विद्यालयको लागि प्रस्थान विन्दु बनाउने उद्देश्य पूरा गर्न स्वयत्तता पाएको पहिलो आधार वर्ष २०६५ सालदेखि अहिलेसम्म स्नातक गर्ने विद्यार्थीहरु अनुसन्धानमा पर्छन् ।
क्याम्पसले अध्ययनरत विद्यार्थीको खोजी जारी राखेको छ भने दक्ष विद्यार्थीलाई रोजगारीको व्यवस्था मिलाउनेसमेत भएको छ । विश्व बैंकले शैक्षिक क्षेत्रको सुधार र शिक्षित युवालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएपछि क्याम्पस विद्यार्थीको विवरण खोज्न लागेको हो । सामाजिक, आर्थिक तथा रोजगारीको अवस्था बुझ्नका लागि उनीहरुको खोजी गरिँदैछ ।
अनुसन्धानका क्रममा भेटिएका केही विद्यार्थीहरु स्नातक सकेर आफैँ सक्षम भएको पाएको छ भने केही रोजगारीको खोजीमा रहेको पाएको पुस्तकालय प्रमुख टीका निरौलाले बताए । मेची अञ्चलदेखि गण्डकी अञ्चलसम्मका विद्यार्थी अध्ययनरत हुँदा अनुगमन गर्न विभिन्न सङ्घसंस्था, प्राध्यापक, कर्मचारीहरुको म्यासेज र टेलीफोनबाट तथ्याड्क सङ्कलन गरिरहेको निरौलाले बताए ।
इलाममा एउटा मात्र सरकारी क्याम्पस भएको र वरपरका गाउँमा उच्चमाविहरु नभएकाले यही क्याम्पस अधिकतरको रोजाइमा पर्ने गरेको छ । क्याम्पसको पढाइ र इलामको वातावरण राम्रो हुनाले पाँचथर ताप्लेजुङ, झापाका विद्यार्थीसमेत अध्ययन गर्न आउने क्याम्पस प्रमुख राजेन्द्र कुवँरले बताए ।
२०६८ सालमा स्नातक सकेर पत्रकारिता थालेकी नाम्सालिङकी मेनुका भट्टराई स्नातकोत्तर गर्दैे पत्रकारितामा क्षेत्रमा करियर बनाउने लक्ष्य पूरा गर्न सक्रिय छन् । यस्तै कन्यामका दीपक पौड्याल स्नातक सकेर कीर्तिपुर क्याम्पसमा अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्दैछन् । उनी भन्छन् ‘जागिर खान धेरै समस्या रहेछ, स्नातक गरेपछि जागिर आफैं भेटिन्छ ।’ क्याम्पसमा पढेका धेरै रोजगारीको पर्खाइमा रहेका भेटिए भने केहीले स्वरोजगार अपनाएको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।
छ महिनादेखि जारी खोजी कार्यमा सबैले आत्मनिर्भरता र आर्थिक अवस्थालाई बढाउँदै लगिएको पाइएको क्याम्पस प्रमुख कुवँरले बताए । रोजगारीबाट विमुख विद्यार्थीलाई क्याम्पसले ६ महिना भित्रमा रोजगारीको सिर्जना गराउँदै लैजाने विश्व बैक तथा विश्वविद्यालय अनुदान आयोगको नीतिअनुसार अध्ययन अनुसन्धान गरिएको कुवँरको भनाइ छ । बागबानी तथा पुष्प खेती व्यवस्थापन सुरु भएको क्याम्पसमा नयाँ शैक्षिक सत्रमा एक हजार तीन सय विद्यार्थी स्नातक तहमा भर्ना भएका छन् । पढाइका साथ साथै डेमोफार्मको रुपमा विभिन्न क्षेत्रमा किसानसँग मिलेर काम गर्ने योजना बनाएको क्याम्पसले क्षमता वृद्धिको लागि ८२ जना शिक्षक, ३३ जना कर्मचारीलाई ल्यापटप सुविधा दिइ तालिमसमेत दिएको छ । राम्रा विद्यार्थीहरुलाई छात्रवृत्ति थप गरिने, जनजाति, दलित र अपाङ्ग, विद्यार्थीलाई विशेष छुट र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्चशिक्षाको भर्र्नामा छुटको व्यवस्था क्याम्पसले गरेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !