हट्यो सारा हिलो–मैलो हरायो पानीको वर्ष ।
भवानीको भयो पूजा चल्यो आनन्द र हर्ष ।
जता जाऊँ उतै भन्छन्, दसैं आयो दसैं आयो ।
यही आनन्द चर्चाले सबै सङ्कष्ट बिर्सायो ।
– कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तो यो वर्षको कात्तिक महिनामा दसैं–तिहारमय, सुकिलो र रमझम्पूर्ण भएको छ । मुलुक राष्ट्रिय चाडहरुको आनन्दमा रङ्गिएको छ । राजनीतिक जटिलता सामान्यातया स्थिर रहेकाले जनताको मनमा खुसीकै माहोल छ । औपचारिक काम थाँति राखेर आफन्त भेटघाट तथा राम–रमितामा जनताको चहलपहल बढेको छ । मूलतः नेपालीहरुले राष्ट्रिय चाडका रुपमा मनाउने गरेको दसैं–तिहार शक्तिपूजाको सनातनी परम्परासँग जोडिएको छ । शक्ति, सामथ्र्य, विजय, धनधान्य तथा सुख–ऐश्वर्यका लागि समाजले यी चाडहरु मनाउने गरेको छ । विजया दसमी तथा दीपावली उपनामले पनि चिनिने यी पर्वहरु सनातनदेखि शिक्षामूलक अभिप्रेरकका रुपमा पनि रहँदै आएका छन् । विशेषगरी असत्यबाट सत्यतर्फ, अध्याँरोबाट उज्यालोतर्फ र मृत्युबाट जीवनतर्फ लाग्ने उत्प्रेरित गर्ने यी चाड अन्याय, अत्याचारबाट साधुजनको रक्षा गर्ने, जुनसुकै सर्तमा भए पनि सत्यका पक्षमा वकालत गर्ने उद्देश्यमा केन्द्रित रहँदै आएका छन् । कतिपय युवाले अरु चाडबाडजस्तै दसैं–तिहारलाई पनि केवल खानपिन र रमाइलो गर्न फुर्सद र छुट पाएको अवसरका रुपमा लिने गरेको पाइन्छ ।
आ–आफ्नो काम विशेषले फरक–फरक आक्षांश र देशान्तर पुगेका दौंतरीहरुसँग कम्तिमा दसैंको सन्दर्भमा भेट हुँदा रउस रमाइलोको वातावरण हुनु अस्वभाविक होइन । तर, अति सर्वत्र वर्जित हुन्छ । चाडमा मस्ती र रमाइलो गर्दा कम्तिमा यसबेला भए–गरेका
कुराले पछि हाम्रो स्वास्थ्य र व्यक्तित्व क्षय नहोस् भन्ने कुरामा युवापुस्ता सचेत हुनैपर्छ । चाडबाडका नाममा मादकपदार्थ सेवन गरेर बेतोडले मोटरसाइकल तथा स्कुटी गुडाउँदा एकछिन्पछि के परिणाम हुन्छ ? त्यसबारेमा अलिकति पनि चिन्ता गर्न सके परिवार र समाजले दसैं–तिहार रमाइलोसँग मनाउन पाउँथे । किनकि दसैं–तिहारका बेला हुने गरेका दुर्घटना र असामयिक मृत्युले परिवार र समाजलाई अरुबेला हुने त्यस्तै प्रकृतिका घटनाले भन्दा बढी पीडा दिने गरेको छ ।
यसबाहेक दसैं–तिहार चाड आफन्त तथा मान्यजनका सामु सद्भाव र आदर अभिव्यक्त गर्ने एउटा विशेष अवसरका रुपमा पनि रहँदै आएको छ । आफूले घर, समाज र राष्ट्रबाट वर्षभरि उपेक्षा सहनु परे पनि जेष्ठ नागिरकहरुले सँधै दसैं–तिहारमा आफ्ना सन्तति र युवापुस्ताको सफलता र उन्नतिको कामना गरेका हुन्छन् । राष्ट्रिय चाडसँग जोडिएको मान्यजनको आशीर्वाद थाप्नुपर्ने परम्पराले उनीहरुको अनुभव र आशीर्वचनको महत्व उजागर गर्छ । युवापुस्तालाई अघिल्लोपुस्ताप्रति कृतज्ञ बनाउने दसैं–तिहारको शिक्षा परम्परा अनुकरणीय र सम्मानयोग्य छ । युवा विद्यार्थीका लागि यी चाडहरु रमाइलोका साथै नैतिक शिक्षाबाट दीक्षित हुने अवसर पनि बन्न सकुन्, । शुभ विजया तथा दीपावली !
0 comments:
Speak up your mind
Tell us what you're thinking... !