आऊ पढ, कमाएर तिर्नू - College Times : Educational Magazine
Headlines News :
Home » » आऊ पढ, कमाएर तिर्नू

आऊ पढ, कमाएर तिर्नू

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:35 PM


आफ्ना बाबुको युवा अवस्थामै मृत्यु भएपछि विराटनगर मिल्स एरियाकी शिखा राईको स्टाफ नर्स हुने सपना तुहिएझैं भयो। किनकि खाने बस्ने सबै गरी पाँच लाख बढी खर्च गरेर नर्सिङ पढ्ने कुनै बाटो थिएन उनीसँग। तर, अहिले उनी स्टाफ नर्सिङको तेस्रो वर्षमा पढदै छिन्। 
सिरहाको सुखीपुरकी पुष्पा चौधरीमा एसएलसी नै पास गर्न नसकेपछि निराशा छायो । अब जिन्दगीमा केही गर्न सकिँदैन होला भन्ने पिर लागि रहन्थ्यो । तर, अहिले पुष्पा फरवार्ड नेपाल रौतहटमा मासिक १९ हजार रुपैयाँको जागिर खाँदै छिन् । उनले आफनो परिवारलाई पनि तरकारी खेती गर्ने आधुनिक तरिका सिकाइन् । अहिले त उनको परिवारले तरकारी खेतीबाट वर्षमा दुई लाखभन्दा बढी कमाउँदै आएको छ ।
पाँच बर्षअघि मोरङ डङ्ग्राहाकी निर्मला विकले एसएलसी पास गरिन् । गरीब परिवारकी निर्मलाको उच्चशिक्षा पढ्नका लागि खर्च जुटाउने कुनै उपाय थिएन । जुटोस् पनि कसरी बुबा प्यारालाइसिसले ग्रस्त, आमा पनि अशक्त । तर, अहिले निर्मला इलामको गोर्खेमा नाम चलेकी स्वाथ्यकर्मी भएकी छिन् ।
शिखा, निर्मला र पुष्पालाई आर्थिक समस्याबाट मुक्ति दिँदै कमाउन सक्ने बनाएको हो, मोरङको उर्लाबारीस्थित मदनण्डारीस्मृति प्रतिष्ठानले । आर्थिक समस्यामा गुज्रिरहेका शिखा, निर्मला र पुष्पामात्र होइन धेरै गरिब, पीडित विद्यार्थीलाई खाने, बस्ने र ट्युसन पढ्नेसमेत व्यवस्था मिलाएर अभिभावक बनेको छ प्रतिष्ठान । निकै महङ्गो मानिने प्राविधिक शिक्षा  गरिबका लागि आकाशको फल आँखातरि मर भनेजस्तै नै हो । तर, प्रतिष्ठानले गरिब, दलित र पछाडि पारिएका समुदायलाई प्राविधिक शिक्षाको पहुँचमा पु¥याउन लागु गरेको लक्षित वर्ग प्राविधिक शिक्षा शैक्षिक उपहार तथा ऋण कार्यक्रम गरिब विद्यार्थीका लागि वरदानै सावित भएको छ ।
के हो लक्षित वर्ग प्राविधिक शैक्षिक उपहार ?
यो कार्यक्रममार्फ्त प्रतिष्ठानले प्रदान गर्ने प्राविधिक शिक्षा हासिल गर्न गरिब, दलित, महिला र पछाडि पारिएका समुदायका लागि ऋण प्रदान गरिन्छ । प्रतिष्ठानले नै ऋण दिएर पढाउँछ, अर्थात् पढ्दा विद्यार्थीले पैसा निकाल्नुपर्दैन । पढिसकेपछि प्रतिष्ठानले नै जागिर खोज्नसमेत सघाउँछ ।
प्रतिष्ठानले पहिला जति लगानी गरेको छ त्यति नै रकम विद्यार्थीहरुले पैसा कमाउन थालेपछि मासिक २५ प्रतिशत गर्दै कट्टा गर्ने गरी प्रतिष्ठानलाई किस्ताबन्दी रुपमा उपहारस्वरुप फिर्ता दिनुपर्छ । स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालका भन्छन्, ‘उपहारस्वरुप प्राप्त रकम त्यस्तै गरिब दलित पछाडि पारिएको समुदायका अर्को विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि प्रयोग गरिन्छ ।’
२०६३ सालमा गरिबी निवारण कोषको सहयोगमा  सुरु भएको शैक्षिक ऋण तथा उपहार कार्यक्रमको नारा नै ‘आऊ सिक, काम गर, कमाऊ अनि तिर’ राखिएको छ । प्राविधिक तालिम तथा पढाइ सकेर कमाउन थालेपछि महिनैपिच्छे उपहारस्वरुप फिर्ता गर्दै जाने यो कार्यक्रमबाट अहिलेसम्ममा एकसय ९६ जनाले पढ्ने अवसर पाएका छन् । घुम्तीकोषका रुपमा रहने गरिबी निवारण कोषको ६१ लाख ५१ हजार पाँच सय २५ रुपैयाँ, प्रतिष्ठानको ४४ लाख ३२ हजार नौ सय ९५ रुपैयाँ, जिविस मोरङको चार लाख लगानी भएको छ । यस्तै पढी सकेर कमाइ गर्न थालेका विद्यार्थीले उपहारमार्फत् फिर्ता गरेको दुई लाख ४४ हजार पाँच सय गरी एक करोड १२ लाख ७९ हजार २० रुपियाँ यस कार्यक्रममा लगानी रहेको प्रतिष्ठानका कार्यक्रम संयोजक भुवन धिमालले जानकारी दिए ।
योजनाअन्तर्गत शिक्षाको अवसर अहिलेसम्म सिन्धुली, रामेछाप, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका सयौं गरिब विद्यार्थीले पाएका छन् । ‘प्रतिष्ठानबाट धेरै गरिब विद्यार्थीले प्राविधिक शिक्षा लिएर स्वावलम्वन बनुन् भन्ने हाम्रो लक्ष्य हो,’ बराल भन्छन्, ‘त्यसैले यसलाई अझ व्यापकता दिन दाताको खोजिमा लागिपरेका छौं ।’
विभिन्न जिल्लाविकास समिति, गाउँ विकास समिति, नगरपालिकासँग मानव संशाधन विकासका लागि आउने बजेट सहयोग गरी आफना गाउँका गरिब विद्यार्थीलाई पढ्न सिफारिस गर्न अनुरोध गरेको, त्यस्तै सामुदायिक वन, सहकारी संस्था र बंैकहरुसँग पनि सहकार्य गरि कोष बढाउन पहल भइरहेको बरालले जनाए । प्रतिष्ठानको यो अभियानलाई व्यक्तिगत रुपमा सहयोग गर्नेहरु छन् । भोजपुरका दानबहादुर अधिकारीले प्रतिष्ठानले पुण्य कार्य गरेको भन्दै आफ्ना पिताको निधनपछि पितृकार्यका लागि भनेर छुट्याएको ६१ हजार रुपैँया पनि सहयोग गरेका छन् ।

  • १८ महिने अनमी तालिम लिएर मोरङ डङ्ग्राहाकी निर्मला विकले इलाम गोर्खेमा सेवा प्रदान गर्न थालेपछि प्रतिष्ठानका अध्यक्ष गुरु बराललाई फोन गरेर अब मैले के दायित्व पूरा गर्नुपर्छ भनेर सोधिन् । बरालले  निर्मलालाई भने ‘तिमीलाई तिमीजस्तै अर्को निर्मला जन्माउने रहर छैन ?’ निर्मलाले आफू जस्तै गरिब, दलित अर्को निर्मलाले निःशुल्क पढ्ने वातावरण बनाउन आफूले पढ्दा प्रतिष्ठानले व्यहोरेको खर्च ४० हजार रुपैयाँ बुझाइन् ।
  • मदनस्मृति प्रतिष्ठानबाट ऋण लिएर अनमी गरेकी सुन्तली विक सिन्धुलीमा सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता छिन् । कमाई मासिक १५ हजार रुपैंया नाघ्छ । यस्तै इन्दिरा बराइली काभ्रेमा राष्ट्रिय योजना आयोग अन्र्तगत राष्ट्रिय स्वयम्सेवक छिन् । पढ्नसक्ने आर्थिक अवस्था नै नभएका उनीहरु अहिले मासिक दुई हजार पाँचसयका दरले आफूजस्तै गरिब विद्यार्थीलाई प्राविधिक शिक्षाको बाटो खोल्न उपहार पठाइरहेका छन् ।
  •  एमबिबिएस पढ्न छात्रवृत्तिमा नाम निकाले पनि खाने बस्ने खर्चको अभावले समस्यामा परेका डेनप्रसाद आचार्यलाई प्रतिष्ठानले चार वर्षसम्म मासिक पाँचहजार उपलब्ध गरायो । अहिले उनी डाक्टर डेनप्रसाद आचार्य भएका छन् । प्राथमिक स्वाथ्य केन्द्र दिङ्ला भोजपुरमा कार्यरत आचार्य आफूलाई सङ्कटमा अविभावकको भूमिका निर्वाह गरेर गुण लगाउने प्रतिष्ठानलाई अहिले मासिक १० हजारका दरले उपहार पठाइरहेका छन् ।

प्रतिष्ठानबाट ऋण लिएर प्राविधिक शिक्षा लिइ धेरैजना आत्मनिर्भर बनेका छन् । सिएलए तालिम लिएर मोरङ  अमरदहमा भेटेनरी पसल गर्दै आएका होमनाथ तिम्सिनाको अहिले दैनिक मुनाफा एकहजार भन्दा बढी छ । मोरङ बयरवनकी सरस्वती गुरुङ पनि गाउँमै भेटेनरी पसल चलाउँछिन् । प्रतिष्ठानबाट सिएमए तालिम लिएका सिरहाका भगवतीप्रसाद चौधरी अहिले विराटनगर आँखा अस्पतालमा कार्यरत छन् । गरिबका लागि अत्यन्तै प्रभावकारी सिद्ध भएको कार्यक्रमको नीतिगत अनुसन्धान गरी शिक्षा मन्त्रालय, गरिबी निवारण कोष र वित्तीय संस्थाहरुको ध्यान खिँच्न पनि प्रतिष्ठानल सफल भएको छ । सम्बन्धित निकायले सहयोगको हात लम्काउन सके अझै धेरै गरिब विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गरी स्वावलम्वी बन्न पाउने थिए ।

लिलाराज भट्टराइ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved