नफर्किने रमाइलो - College Times : Educational Magazine
Headlines News :
Home » » नफर्किने रमाइलो

नफर्किने रमाइलो

Written By Collegetimes on Saturday, October 20, 2012 | 9:38 PM

समयसँगै हाम्रा रीतिरिवाज, चालचलन, दिनचर्याहरु परिवर्तन हुँदै गइरहेका छन् । चाडपर्व मनाउनेहरु पनि परिवर्तित हुने क्रममा छन् । दस वर्षअगाडि दसैं तिहार कस्तो थियो त ? एक झलक स्मरण गराउने प्रयास गरेका छौं । समाजका विभिन्न व्यक्तिसँगको कुराकानीमा आधारित संक्षिप्त रिर्पोट ।
लिङ्गे पिङमा रमाउँदै बालबालीका 
स्कुले जीवनको जस्तो रमाइलो न दसैं हुन्छ न तिहार । स्कुले जीवनमा जति रमाइलो गरी दसैं तिहार मनाइन्छ, त्यसपछिका चाडहरु  त्यति रमाइला हुँदैनन् । ‘त्यो रमाइलो अब सम्झनामा मात्र छ’ गजलकार तथा जनता क्याम्पस इटहरीकी सहायक प्राध्यापक टीका आत्रेयले भनिन्, ‘दस वर्षअगाडि भन्दा पनि हामी स्कुल पढ्दाको समयको दसैं तिहार एकदमै याद्गार छ । त्यो बेला बुबा–आमाले दसैंको कपडा पनि ‘स्कुल ड्रेस’ नै ल्याइदिनुहुन्थ्यो । त्यो पनि एक साल त दर्जीले सिलाउन ढिला गरेर दसैंमा नयाँ लुगा नै लगाउन पाइएन् त्यो क्षण अहिले पनि दसैं आयो कि आँखाभरि नाचिरहन्छ ।’
चाडपर्वमा साथीभाइसँग रमाइलो गर्न अवसर बढी जुट्छ  विद्यार्थी जीवनमा यसको सबैभन्दा बढी महत्व छ र मस्ती पनि त्यही समयमा हुन्छ । ‘साथीभाइ भेला हुनु, पटका पड्काउनु, देउसी–भैली खेल्न गाउँ–गाउँ चहार्नु बालापनका मीठा–मीठा सम्झना र अनुभूतिहरु आँखामा झलझली आउँछ,’ फुटबलका राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ दस वर्ष अगाडिको चाडलाई सम्झन्छन्, ‘दसवर्षअघि चाडपर्वको
रौनक अहिलेभन्दा ज्यादा थियो ।’
बालापन र विद्यार्थी जीवनमा दसैंका लागि सबै खर्चको जोहो बुबा–आमाले गरिदिन्छन् । आफ्ना सन्ततिको खुसीका लागि उनीहरु जुनसुकै मूल्य चुकाउनसमेत पछि पर्दैनन् । नहुनेहरुले समेत ऋण गरेर भए पनि आफ्ना नानीहरुलाई चाडपर्वको खुसी दिने हाम्रो समाजको पुरानै चलन हो । जब उमेर चढ्दै जान्छ, जिम्मेवारीले किच्दै जान्छ र चाडपर्वहरु पनि सामान्य बन्दै जान्छन् । खर्च टार्ने परिवार र सन्तानको खुसीका लागि व्यवस्था मिलाउँदै चाडपर्व बित्ने तामाङले बताए ।
कार्यक्रम गर्न एकदिनमा आधादर्जन जसो ठाउँमा पुगेका सम्झन्छन् कलाकार सोनु जयन्ती । ‘सांस्कृतिक कार्यक्रममा त्यतिबेला धेरै हिंडिन्थ्यो चाडपर्वभन्दा पनि कार्यक्रमले भ्याइ नभ्याइ हुन्थ्यो,’ उनी भन्छन् ‘अहिले त ती दिन गए, हामीले जस्तो अहिलेको पुस्ताले चाडपर्व कहाँ मनाउँछ र ?’
प्रविधिको विकासले मानिहरु भेटघाट भए पनि धेरै मोवाइल र ग्याजेटमा झुन्डिरहेका पाइन्छन् । दस वर्ष पहिले ग्याजेट बोक्ने मान्छे थोरै थिए । ‘ग्याजेट नहँुदा साथीभाइ आपसमा कुरा गर्दै रमाइलो साट्थे, चलचित्र हेर्न पनि टाढा–टाढासम्म पुगिन्थ्यो । चाडविशेष मेलामा त नजाने कुरै भएन । अहिले भने धेरैजसो मानिहरु ग्याजेटमै झुन्डिने गरेका छन्,’  जयन्तीले भने  ‘दस वर्षको अन्तरमा चाडपर्वले पनि अर्कै रुप लिइसकेको छ ।’
‘त्यतिबेला साथीभाइको ठूलो जमघट हुन्थ्यो । रमाइलो गरिन्थ्यो । तास खेलिन्थ्यो, खाइन्थ्यो पिइन्थ्यो र घुम्नलाई टाढा–टाढासम्म पुगिन्थ्यो,’ क्यामराम्यान रोशन श्रेष्ठ सम्झन्छन्, ‘साँच्चै रमाइलो हुन्थ्यो त्यो बेला दसैं । उमेरले गर्दा पनि होला । अहिले त कामले गर्दा एकक्षण पनि फुर्सद हँुदैन । चाडपर्व आएको गएको पत्तो पाउनै छोडियो ।’
श्रेष्ठ जस्तै काम गर्नेहरु कामको चटारोले चाडपर्व आएको गएको थाहा नपाउने भएका छन् । विद्यार्थीहरुलाई भने कहिले दसैं आउला र नयाँ लुगा लगाउँला भएको छ । धेरैलाई तिहार चाँडै आए हुन्थ्यो भन्ने लागेको छ । तिहारमा साथीभाइ मिलेर देउसी, भैलीमा
रमाउनुको मजा बेग्लै छ । मोरङ गोविन्दपुरका निमेष राई भन्छन्, ‘पहिलेजस्तो छैन अहिलेको दसै–तिहार साथी भाइ पनि सबै कता–कता पुगे । कोही विदेशमा छन् कोही काममा सिलसिलामा कहाँ छन्, कहाँ । दसैं–तिहारमा भेट हुन नपाउँदै छुट्नुपर्छ । पहिलेजस्तो कहाँ रमाइलो र मस्ती गर्न पाइन्छ र आजकाल ?’
दस वर्षअगाडि दसैं–तिहार भनाएको सम्झनेहरु उमेरको
परिपक्वता र जिम्मेवारीले गर्दा पनि चाडपर्वहरुले पहिलेजस्तो खुसी दिन नसकेको बताउँछन् । उनीका कुरा सुन्दा लाग्छ चाडपर्व भनेको केटाकेटीका लागि हो । बच्चाहरुका लागि हो । अनि स्कुल र कलेज पढ्ने विद्यार्थीहरुका लागि हो । तर, समाजका अग्रजहरु भन्छन्, चाडपर्व सबैका लागि हो । आपसी मेलमिलाप दरिलो बनाउने र भावना साटासट गर्ने उत्सव हो । त्यसकारण चाडपर्वलाई आफ्नै रुपमा मनाऊँ अरुको देखासिकीभन्दा पनि भावना साटेर आपसमा भातृत्व र प्रेमको सञ्चार गरौं । मस्तीमा झुमौं परिवार समाजलाई नजिक बनाऔं । समयले कसैलाई पर्खदैन, यस्तो मौका फेरि–फेरि नआउन पनि सक्छ । समयले मान्छेलाई कहाँ पु¥याउँछ ! त्यसैले अहिलेको चाडपर्व हाँसी–खुसी मनाऔँ ।
शेखर ढकाल 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved