उर्लाबारीस्थित न्यू भिजन इन्टरनेशनल बोर्डिङका सञ्चालकमध्येका जीवन गुरागाईंले विद्यार्थीबाट गैरकानुनी तरिकाले पचास लाखभन्दा बढी रकम असुलेका हुन् ।
विद्यालय सञ्चालनका लागि सम्पत्ति किन्ने भन्दै प्रतिविद्यार्थी एक लाख ५० हजार रुपैयाँका दरले ३७ जनाबाट अवैध तरिकाले शुल्क असुलेको तथ्य सार्वजनिक भएपछि
गुरागाईं अहिले ‘फरार’ छन् । उनले पछि फिर्ता दिने भन्दै विद्यार्थीका अभिभावकबाट रकम सङ्कलन गरेका थिए ।
त्यसरी रकम लिनु गैरकानुनी भएको मोरङ्का जिल्ला शिक्षा अधिकारी योगराज बराल बताउँछन् । बरालकाअनुसार पुस्तकालय, सुरक्षालगायतमा पछि फिर्ता हुने गरी पैसा लिए पनि गुरागाईँले जस्तो अग्रीम मोटो रकम लिनु गैरकानुनी हो ।
‘गुरागाईँलाई कारवाही र रकम फिर्ताका लागि अभिभावकले जिल्ला प्रशासन कार्यालयमा ठगीको उिजुरी दिन सक्छन्,’ बरालले भने ।
विद्यार्थीमाझ नेटवर्किङजस्तै धन्दा चलाएका गुरागाईँले विद्यार्थीबाट मात्र होइन, अन्य विभिन्न व्यक्ति, संस्था र व्यवसायीबाट समेत मोटो रकम उठाएका छन् ।
दुई वर्षअघि खुलेको उक्त स्कुलका कक्षा १ देखि ६ सम्म सञ्चालित सो स्कुलका विद्यार्थीलाई कक्षा १० उत्तीर्ण गरेपछि पैसा फिर्ता गर्ने सर्तमा गुरागाईले पैसा असुलेको उर्लाबारीका अभिभावक समशेर लिम्बूले बताए ।
बेपत्ता हुनुअघि गुरागाईंले विद्यालयको हिसाब–किताबको फाइलसमेत गायब पारेका छन् । ‘स्कुलको प्याड दुरुपयोग गरेर अन्यत्र पनि ठगेर स्कुलको बेइज्जत गर्ने डर छ, प्रहरीलाई भने जानकारी गराइसकेका छांै,’ स्कुल सञ्चालक समितिका अध्यक्ष सूर्य श्रेष्ठले भने । गुरागाईँकै कारणले गर्दा स्कुल सञ्चालक समितिका अन्य सदस्यहरु अभिभावकलाई सान्त्वना दिँदा–दिँदा हैरान छन् ।
२०६७ सालमा स्थापना भएको उक्त बोर्डिङमा दुई सयभन्दा बढी बालबालिका अध्ययतरत छन् ।
‘विद्यालय सञ्चालनमा बाधा हुँदैन भनेर अभिभावकलाई बुझाइरहेका छौं,’ अर्का सञ्चालक ध्रुवराज तितुङले भने । तितुङका अनुसार गुरागाईले थुप्रै स्थानमा ठगी गरेको पैसा मिलान गर्ने काम भइरहेकाले अभिभावकबाट सङ्कलन गरेको पैसा तत्काल फिर्ता गर्न नसकिएको हो ।
‘सही नियतले एउटा बालबालिकाबाट एक लाख ५० हजार रुपैयाँ अग्रिम लिएर कक्षा १० पास गरेपछि फिर्ता गर्दा विद्यार्थी र अविभावकलाई फाइदै हुन्छ तर बीचमै पढाइ बिथोलियो भने चाहिँ बर्बादै हुन्छ,’ इटहरा दाम्राभिट्टाका अभिभावक कालीप्रसाद आचार्यले भने । उनले छोरी दीक्षाको भविष्यका लागि गुरागाईको जालझेलमा परेर एक लाख ५० हजार रुपैयाँ बुझाएका थिए । अरु लगानीकर्ता सामाजिक रुपमा इज्जतदार भएकाले गर्दा आत्तिनुपर्ने अवस्था नरहेको उनको बुझाइ छ ।
गुरागाईले स्कुलका लागि भनेर जग्गा लिए पनि त्यसको समेत पैसा तिरेका छैनन् । जग्गाको पैसा नपाएको जग्गाधनी समशेर लिम्बूले गुनासो गरे । विश्वासका भरमा गुरागाईलाई व्यवस्थापन जिम्मा दिएका अन्य लगानीकर्ताहरु अहिले पछुताइरहेका छन् ।
लिम्बूसँग एघार कट्ठा जग्गा खरिद गरेको र सोही जग्गा धितो राखेर एघार लाख ८५ हजार रुपैयाँ निकालिएको थियो । सो क्रममा गुरागाईं र नगेन्द्र अधिकारीले संयुक्त रुपमा निकाल्ने निर्णय भए पनि गुरागाईले अधिकारीलाई समेत झुक्याएर पैसा निकालेको अन्य लगानीकर्ता बताउँछन् । गुरागाईले जग्गाको पैसा तिर्न भनी पहिलो किस्ताको रकम बैंकबाट निकाले पनि सो पैससमेता जग्गा धनीलाई दिएनन् ।
पथरीका सूर्य श्रेष्ठ, इटहराका धु्रवराज तितुङ्, प्रदीप खड्का, उर्लाबारीका तेजबहादुर बूढाथोकी र नगेन्द्र अधिकारी सो स्कुलका अन्य लगानीकर्ता छन् । गुरागाई ठगीको रकमसहित बेपत्ता भएपछि सो समस्याको थुप्रो अन्य सञ्चालकको थाप्लोमा आइलागेको छ ।
गुरागाईविरुद्ध साउन ३० गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिई अन्य सञ्चालकहरुले गुरागाईंलाई पक्राउ गरी गैरकानुनी असुली फिर्ता गराइदिन आग्रह गरेका छन् । तर, गुरागाईं फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कानुनको आँखा छल्न गुरागाईं काठमाडौंमा लुकेर बसिरहेको बताइन्छ ।
त्यसरी बेपत्ता हुनुअघि गुरागाईले उर्लाबारीका एक पत्रकारको सहयोग लिएर इटहरीमा पत्रकार सम्मेलन गर्दै अन्य लगानीकर्ताले आफूलाई बन्धक बनाएर स्कुल उनीहरुका नाममा पार्न लागेको बताएका थिए । पत्रकार सम्मेलनमा उनले सबै लगानीकर्ता माओवादीका भएको झुटो सूचना दिएका थिए । तर, पत्रकार सम्मेलन गरेलगतै इटहरीको एउटा होटलमा राती बास बस्ने तय गरेका उनी अन्य लगानीकर्ता खोज्दै आएको चाल पाएपछि राती नै भागेर काठमाडांैतिर हानिएका थिए ।
केही महिनाअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका गुरागाईँले माओवादी सशस्त्र द्वन्द्वताका पार्टीका नाममा जथाभावी आर्थिक सङ्कलन गरेर आर्थिक हैसियत उकासेका थिए । उनले भने माओवादी जनयुद्धकालमा पार्टीका नाममा चन्दा सङ्कलन नगरेको दाबी गरेका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !