“नाच्देऊ मैच्याङ, तिमी डम्फूको तालैमा... ” न त डम्फू न ढोलक । तर, पनि फुर्वाको मन डमडम गर्न थालिसकेको थियो । उसको खुट्टा भुइँमा थिएन । साथीहरुसँगको ग्यादरिङ अलि बढेको थियो, सँगै खर्च पनि । दिनदिनै घुमघाम र मस्ती । ‘खाओ खाओ केटा हो, म छउन्जेल जत्ति खान्छौ खाओ । म लन्डन पुगेपछि मलाई तिमीहरुले सम्झिरहनेछौं ।’
फुर्वा यसो भन्दै आफू पनि एक क्वार्टर दुई घुट्कीमै सक्थ्यो । मानौं, उ आफ्नो पेटमा क्वार्टरको पोखरी नै बनाउँदैछ, ताकि लन्डन गएपछि त्यसलाई प्रयोग गरिरहन पाओस् ।
...
‘आफ्नो त लक नै ब्याड हो क्या,’ इन्ट्रान्समा फेल भएपछि उसले आफ्नो भाग्यलाई यसरी नै धिक्कारेको थियो । प्लस टु राम्रै नम्बर ल्याएर उत्तीर्ण गरे पनि आफूले चाहेको कलेजमा नाम ननिस्केपछि ऊ दिक्क थियो । ‘यो नेपालमा ट्यालेन्टहरुको कदर नै हुँदैन, थुइक्क,’ उसले यसरी नै थुकेको थियो । त्यसपछि चोक र गल्लीका एजुकेशन कन्सल्टेन्सीहरु चहारेको थियो विदेशमा पढ्नको लागि । ‘जान मन छ भने जा न त,’ विदेसिने सोच बनाएपछि परिवारसँगको सल्लाहमा आमाले यसो भन्दा उसलाई आफू ठूलो मान्छे भएको अनुभव भयो, ‘एक्लो छोराले पढ्छु भन्दा कसरी रोक्नु ?’ परिवारको आर्थिक अवस्था धेरै राम्रो नभए पनि छोरालाई विदेशसम्म पठाउने आँट ग¥यो उसको परिवारले । ‘जान मात्र खर्च लाग्ने हो,’ उसले भन्यो, ‘पुगेपछि त्यही कमाउने अनि पढ्ने ।’
...
भीसा लागेको दिन उसले साथीहरु थुपारेर रक्सीको खोलो बगायो । दुई–तीन दिन त रातभर निदाएन । बिहानीपख झकायो अनि कालो चस्मा भिरेर दुवै खल्तीमा हात छिराएर बजार डुल्यो । ‘अब धेरै दिन बाँकी छैन यसरी डुल्ने,’ ऊ दङ्गदास थियो । आफ्नी प्रेमिका लिलीलाई भनेको थियो, ‘त्यहाँ पुगौं न मात्रै, अनि तिम्लाइ पनि तान्छु, उतै काम गर्ने अनि उतै सेटिङ !’ सुनेर लिली मुसुक्क हाँस्दै फुर्वासँग लेपास्सिएकी थिई ।
...
लन्डन एअरपोर्टमा ओर्लिएपछि उसले कम्मरमा हात लगायो अनि सोच्यो, ‘पढ्न भनेर आइयो, अब काम गरिन्छ । पैसा कमाइन्छ ।’ ऊ दंगदास थियो । दुई–तीन महिना त उसले सोचेको जस्तै भयो । तर दिनहरु उसले सोचेजस्ता सजिला थिएनन् ।
...
अहिले फुर्वा लन्डनको कुनै सहरको सडकको पेटीमा बसेको छ । एकोहोरो सडकतिर हेर्दैछ । गाडीहरु तुफानका साथ कुदिरहेका छन् । तर, उसको लन्डन सपना भने इन्जिन बिग्रिएर थन्किएको छ ।
‘यतिका मानिस छन्, मलाई एक–एक डलर दिए त क्याम्पसको फिस तिर्न हुन्थ्यो,’ उसले भीडका अपरिचितहरुसँग पनि मनमनै यसरी नै आशा राख्यो । तर, करोडौं मानिसहरुका सामु ऊ एउटा लामखुट्टे समान पनि थिएन । पढ्दै कमाउने आसमा बेलायत आएको ऊ, कहीँ काम नपाएपछि क्याम्पसको शुल्क तिर्न नसकेर निकालिएको छ । उसको भीसा समेत काम नलाग्ने भइसकेको छ । पढाइको त कुरै छाडौं, चार दिनदेखि उसले राम्रोसँग खान पनि पाएको छैन । यो कुरा उसले नेपालमा छँदा जाँडपार्टी दिएका साथीहरुलाई समेत थाहा छैन । ऊ थाहा दिन पनि चाहँदैन, किनकि आफ्नो इज्जतलाई कसरी अचानोमा राख्न सक्छ ?
सोच्दा सोच्दै झकाउन थाल्छ । जुरुक्क उठेर अध्याँरो गल्लीतिर लम्किन्छ । थोत्रो ढोका उघारेर भित्र पस्छ । तप्प–तप्प पानी चुहिरहेको आवाजको तालमा उसको अध्याँरो कोठाले भनिरहेको हुन्छ, ‘जा, तेरो आफ्नै देश, तँ त मलाई पैसा दिन पो आएको होस् त । म तलाईँ पाल्न सक्दिनँ ।’
त्यसपछि पानीको अविरल आवाजमा ऊ एकोहोरो रोएको आवाज मिसिन्छ ।
युगपथ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !