धनीको पोल्टामा कोटा
Written By Neplee on Friday, September 21, 2012 | 5:45 AM
दुर्गम ठाउँमा पढेका विद्यार्थीका लागि व्यवस्था गरिएको संरक्षित कोटालाई पहुँचवाला धनाढ्यहरुले आफ्नो पेवा बनाएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएको यो विषयमा भोजराज श्रेष्ठ लेख्छन्:
प्रतिष्ठानको दुर्गम र सीमान्तकृत एवम् दलित कोटाहरुमा प्रतिष्ठान प्रशासन र पहुँचवालाले एकछत्र आधिपत्य कायम गर्दै आएका छन् । केही कोटामा उल्लिखित वर्गबाट प्रतिनिधित्व गराइए पनि अधिकतर कोटाका लागि प्रतिष्ठानमा भनसुन र हाकिमलाई रिझाएर धनाढ्यहरुले समेत सुविधा उपयोग गर्ने प्रवृत्ति बढेको छ । जसका कारण छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरु भने छात्रवृत्तिबाट वञ्चित भएका छन् ।
दुर्गम कोटामा भर्ना पाउने अधिकतर विद्यार्थीहरु निजी विद्यालयबाट आएका छन् । प्रतिष्ठानले एमबिबिएस, बिडिएस र नर्सिङमा दुर्गम र सीमान्तकृत भन्दै नक्कली प्रमाणपत्र पेश गरेर छात्रवृत्ति लिने प्रवृत्ति पछिल्ला घटनाक्रमले पुष्टि समेत गरेको छ, तर कारबाहीको लागि प्रशासनले तदारुकता नदेखाउँदा प्रतिष्ठान पदाधिकारीको समेत मिलेमतो रहेको आशङ्का गरिएको छ ।
दुर्गम कोटामा यस पटक दुइ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र नक्कली पाइएपछि प्रतिष्ठानले पहुँच र पैसाको
भरमा आरक्षित कोटाको दुरुपयोग गरेको खुलासा समेत भएको छ । मुगु घर बताउने विवेक शाहको प्रमाणपत्र छानविन गर्दा दीपज्योति बोर्डिङ स्कुलमा अध्ययन गरेको पाइएको थियो । यस्तै जनसेवा उच्चमावि कीर्तिपुरमा पढेका सन्दीप ओलीले बझाङको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको थियो ।
त्यस्तै गत वर्ष दलित कोटामा महोत्तरीका केवट मण्डलले आफूलाई धानुक मण्डल बताउँदै भर्ना लिन खोजेपछि दलित कोटामा अनियमितता हुने गरेको रहस्य बाहिर आएको थियो ।
धनगढीको स्टेपिग स्टोन बोर्डिङ स्कुलमा अध्ययन
गरेका नारायण जोशीले माडुकाट्ने उच्चमावि थलहरा बझाङको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भर्ना पाएका छन् । उनी अहिले प्रतिष्ठानमै एमबिबिएस दोस्रो वर्षमा अध्ययरत छन् । प्रशासनले नक्कली भनेर थाहा पाए पनि वेवास्ता गरेको बताइएको छ ।
एमबिबिएसमा अध्ययनरत् अनिलसिंह बडालले दार्चुला, सन्दीप ओलीले बझाङ, विवेक शाहले मुगु र महेशसिंह डागाले दार्चुलाको शैक्षिक प्रमाणपत्र पेश गरेर भर्ना पाएका छन् । ती सबै नक्कली भएको स्रोतको दाबी छ । अनिलसिंह, महेशसिंहले महेन्द्रगनरको निजी स्कुलमा अध्ययन गरेको स्रोत बताउँछ । त्यस्तै बिडिएसतर्फ कालिकोटमा पढेको भन्दै प्रमाणपत्र पेश गर्ने देवराज न्यौपाने र रुकुममा पढेको भन्ने भीमकान्त जैसीले नेपालगञ्जको निजी स्कुलमा अध्ययन गरेको बताइएको छ ।
प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा दुर्गम जिल्लाबाट छ जनालाई भर्ना लिने गरिएको छ भने नर्सिंङतर्फ १६ जनाले भर्ना पाउँछन् । प्रतिष्ठानले पूर्वको सोलुखुम्बु, पश्चिमका बाजुरा, मुगु, मुस्ताङ, जुम्ला, हुम्ला, मनाङ, डोल्पा, बझाङ, कालिकोट, रुकुम, रोल्पा र दार्चुलाका गरी १३ जिल्लामा माध्यमिक तह अध्ययन गरेर आउने विद्यार्थीलाई दुर्गम कोटामा भर्ना लिने प्रावधान छ । त्यसका लागि दुर्गम जिल्लाबाटै कक्षा आठदेखि एसएलसी गरेको शैक्षिक प्रमाण पत्रसँगै स्थानीय भएको कागजपत्र र सोही जिल्लाको जिल्ला शिक्षा कार्यालयले प्रमाणित गरेको पत्र हुनुपर्छ । तर, अनुगमनका क्रममा एमबिबिएसका चार र बिडिएसका दुई जनाले नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको थियो ।
नक्कली लागेका प्रमाणपत्रहरु छानविनका लागि पठाइएको परीक्षा डिन निर्मल बराल बताउँछन्, तर विद्यार्थीहरु भने यसलाई बनावटी जवाफ मात्र मान्छन् । भन्छन्, ‘चेकजाँच गरेजस्तो गर्छन्, पछि पुनः भर्ना लिने गरेको पाइएको छ ।’ नक्कली प्रमाणपत्रकै आधारमा दुर्गम कोटामा छात्रवृत्तिसहित भर्ना पाउनुको पछि पावर र पैसाको व्यापक चलखेल हुने गरेको जनाइएको छ । शिक्षाध्यक्ष रुपासिंह राजभण्डारी कन्र्फरमेसनका लागि पठाइसकेको भए तापनि नक्कली नै हो भन्ने प्रमाणित भइनसकेको दाबी गर्छिन् । ‘पछिल्लो समयमा निगरानी बढाएपछि केही फल्स विद्यार्थी भेटेका हौं, तर अनियमितता नै भएको भन्ने झुटो हो ।’ उनले भनिन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !