प्रहरीले बालिकाको सनाखतका लागि इटहरीको क्याबिन रेष्टुरेन्टहरूदेखि झापाका शरणार्थी शिविरहरूसम्म पुगेको भने पनि लासको दावी गर्ने मानिस कोही आएनन् । इटहरीका केही क्याबिनहरूले मृत बालिकालाई केही समयअघि बसपार्क क्षेत्रमा देखेको बताए पनि बालिकाको लास जिम्मा लिने आफन्त नआएपछि दोषीलाई कारवाही त के सनाखतसमेत हुन सकेन । एक वर्षअघि इटहरी र धरानबीचको जङ्गल क्षेत्रमा एकजना किशोरीलाई अर्धचेत अवस्थामा भेटिएको थियो । तीन–चारजनाको सङ्ख्यामा रहेका युवाले जङ्गलमा पु¥याएर जबरजस्ती यौनसम्पर्कपछि रक्सी खुवाई अर्धचेत अवस्थामा छाडेका थिए ।इटहरीका क्याबिन, रेष्टुरेन्ट तथा होटलमा काम गर्न राखिएका अधिकांश किसोरी तथा बालिकाहरू ग्राहकको यौन इच्छा पूर्तिको लागि प्रयोग हुँदै आएका छन् । आर्थिक, सामाजिक बाध्यताले यस्तो कार्यमा संलग्न किसोरीहरू शरीरिक तथा मानसिक यातनाको शिकार हुँदै आएका छन् । साथीको लहैलहै, जिज्ञासा र बाध्यताका कारण क्याबिन तथा रेष्टुरेन्टमा काम गर्न आउनेहरू पछि यही वातावरणमा बानी पर्छन् । तर, उनीहरू समय–समयमा पाउने यातनाका कारण ज्यानैसम्म गुमाउने अवस्थामा पुग्ने गरेका छन् । होटल तथा रेष्टुरेन्टको काम गर्दा भनेअनुसारको तलब नपाएका कारण पनि बालिकाहरू यौन व्यवसायतर्फ उन्मुख देखिएका छन् । यौन व्यवसायलाई कानुनले निषेध गरेका कारण किसोरीहरू यातना पाएको कुरा चाहेर पनि व्यक्त गर्न सक्दैनन् ।
पूर्वाञ्चलको मुख्य केन्द्रबिन्दूको रूपमा विकसित हुँदै गएको इटहरी पछिल्लो समयमा यौन विकृतिको अखडा बन्दै गएको छ । विकृतिमा जानी वा नजानी ठूलो सङ्ख्यामा किसोरी र बालिकाहरू संलग्न छन् । क्याबिन तथा रेष्टुरेन्टमा काम गरिरहेका किसोरीको क्षेत्रमा काम गरेको उप्का नेपालको तथ्याङ्कअनुसार इटहरीका क्याबिन तथा रेष्टुरेन्टमा यौन व्यवसायमा संलग्नहरूमध्ये २० प्रतिशतभन्दा बढी बालबालिकाहरू छन् भने ४० प्रतिशत किसोरी छन् । इटहरीमा तीन सयभन्दा बढी क्याबिन रेष्टुरेन्टमध्ये अधिकांशमा यौन व्यवसाय हुन्छ ।
होटल तथा लज व्यवसायीले आफूकहाँ काम गर्ने किसोरीहरूको व्यवस्थित तथ्याङ्क नराख्नाले मृत्युपछि किशोरीको सनाखतसमेत हुन सकेको छैन भने यौन व्यवसायविरुद्ध प्रशासन तथा महिला समूहले अभियान थालेकाले पनि यौन व्यवसायीहरू समस्यामा प¥यौं भन्दै आउन सकेका छैनन् । क्याबिन तथा रेष्टुरेन्टमा हुने यौन व्यवसाय र हिंसासँगै त्यस्ता कार्यक्षेत्रमा हुने बाल बेचबिखनको अवस्था कहालीलाग्दो छ ।
ग्रामीण क्षेत्रबाट लबलाई–फकाई बालिकाहरू ल्याउने एजेन्टलाई पैसा दिएर बालिका खरिद गर्ने र यौन व्यवसायमा लगाउने क्रम बढेको छ । १२ वर्षभन्दा माथिका किसोरीहरू यौनजन्य व्यावसायिक क्रियाकलापमा लगाएको पाइएको छ । इटहरीमा रहेका क्याबिनहरूमा १२ देखि १८ वर्षबीचका किसोरीहरूको सङ्ख्या ८० भन्दा बढी रहेको उप्का नेपालले इटहरीमा सञ्चालन गरेको अवसर परियोजनाले जनाएको छ ।
परियोजनाका अनुसार धेरैलाई आर्थिक प्रलोभन देखाएर ल्याइने गरिएको बताइएको छ । क्याबिन तथा रेष्टुरेन्टमा काम गर्न ल्याइने बालिकाहरूलाई ल्याएवापत रेष्टुरेन्ट सञ्चालकले राम्रो रकम दिने गरेका छन् ।
इटहरी, धरान, विराटनगरका क्याबिन तथा रेष्टुरेन्टमा राखिएका बालिकामध्ये अधिकांश ग्रामीण समुदायबाट ल्याइएका छन् । ग्राहकहरूलाई खानेकुरा दिनेदेखि यौन व्यवसायमा समेत संलग्न गराउन सकिने हुँदा होटल व्यवसायीहरू बालिका खरिदतर्फ आकर्षित हुने गरेका छन् । रोजगारका लागि भन्दै बालिका किनबेच गर्ने गरेको पाइएको परियोजना निर्देशकको शुभचन्द्र राई बताउँछन् । ‘एउटै व्यक्तिले धेरै बालिकालाई क्याबिन तथा रेष्टुरेन्टसम्म ल्याएको पाइएको छ,’ उनले भने ।
क्याबिन तथा रेष्टुरेन्टमा राखिएका किसोरी तथा बालिकाहरू यौनरोग तथा दुव्र्यसनको उच्चजोखिममा रहेको उप्का नेपालकी कार्यकारी निर्देशक शकुन्तला सुब्बाले बताइन् । क्याबिन तथा रेष्टुरेन्टमा काम गर्ने किसोरीहरूको अवस्था जस्तो छ, त्यहाँ काम गर्ने आमाबाट जन्मिएका बालिकाहरूको अवस्था त्योभन्दा दर्दनाक छ । सानैदेखि असुरक्षित वातावरणमा हुर्कने गरेका बालिकाहरू सानै उमेरमा नै यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् ।
घरमा माया र सुरक्षा नपाएका बालिकाहरू रेष्टुरेन्टमा आउने क्रम बढी पाइएको छ । श्रीमान् विदेश गएका र उमेर छँदै विधुवा भएका महिलाहरू यस्तो व्यवसायमा संलग्न हुने क्रम बढेको र तिनका छोरीहरू पनि सानै उमेरदेखि यौन व्यवसायउन्मुख रहेका छन् ।
क्याबिन तथा रेष्टुरेन्टमा हुने बाल यौनहिंसा न्यूनीकरणका लागि भरपर्दो कानुनी व्यवस्था नभएकाले पनि समस्या देखिएको छ । हिंसामा परेको उजुरी दिने भरपर्दो निकायसम्म बालिका तथा किसोरीको पहुँच नहुनु, प्रहरी प्रशासन बालिकाको गोप्यता तथा मानसिक हिंसा न्यूनीकरणका लागि सचेत नहुनु र दोषीलाई कारवाही गराउन नसक्नुले यस्ता हिंसाले प्रश्रय पाएको देखिन्छ । होटल, रेष्टुरेन्टले आफूकहाँ काम गर्ने किसोरीहरूको लगत नराख्दासमेत पहिचान र त्यसपछिको कानुनी उपचारमा समस्या देखिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !