किसोरीमाथि हुने हिंसा र दुव्र्यवहार रोक्नका लागि महिला तथा बालबालिका कार्यालय सुनसरीले विभिन्न काम गर्दै आएको छ, तर त्यो औपचारिकतामा मात्रै सीमित छ । किसोरीमाथि हुने हिंसा दुव्र्यवहारका घटनालाई कम गर्न सो कार्यालयले जिल्लाका २२ गाउँ विकास समितिमा किसोरी शिक्षा कार्यक्रम लागु गरेको छ ।
कार्यक्रमअन्तर्गत ती गाविसका किसोरीलाई किसोरावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनका विषयमा जानकारी गराइन्छ । यसले किसोरीहरुमा समस्या बुझ्ने र समाधान गर्ने तरिकाको विषयमा जानकारी हुने कार्यालयको विश्वास छ ।
कार्यक्रमकी सुपरभाइजर रञ्जना पोखरेल भन्छिन्, ‘यसले किसोरीहरुलाई हिंसाका घटना लुकाएर नराख्न र बेलैमा उचित उपायद्वारा समाधान गर्न योग्य बनाउँछ ।’
तर, कार्यक्रमको प्रभावकारी अनुगमन नहँुदा यो कमाइ खाने भाँडोको रुपमा परिणत हुँदै गएको छ । जति तल्लो स्तरसम्म कार्यक्रम लगिनुपर्ने हो, त्यो लगिएको छैन । किसोरीलाई पढाउन भन्दै केही टाठाबाठा महिला अधिकारकर्मीलाई बजेट निकासा गरिदिए पनि अनुगमन भने हुन सकेको छैन । विद्यालय नलागेका दिन गाउँका किसोरीलाई भेला पारेर शिक्षा दिनुपर्नेमा मन लागेका बेला मात्रै पढाउने र अरु बेला नपढाउने गरेको पाइन्छ । अधिकांश किसोरी र अभिभावकलाई कार्यक्रमबारे थाहा छैन ।
महिला तथा बालबालिका कार्यालय सुनसरीले हिंसा पीडितलाई राख्नका लागि प्रत्येक निर्वाचन क्षेत्रमा सामुदायिक सेवा केन्द्र स्थापना गरेको छ । त्यसतै, हिंसामा परेका किसोरी र युवतीलाई लक्षित गरी इनरुवामा जिल्ला सेवा केन्द्र स्थापना पनि गरिएको छ । सुनसरी र मोरङमा दुई दर्जनभन्दा बढी गैरसरकारी संस्था बलात्कार र हिंसा रोक्नका लागि काम गरिरहेका छन् तर उनीहरुले काम गरिरहँदा पनि बलात्कार हिंसा र दुव्र्यवहारका घटनामा कमी आएको छैन ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !