नयाँ शैक्षिक सत्र सुरु भएसँगै सेतो गुराँस बालबाटिका प्राथमिक विद्यालयका एक सय पचासभन्दा बढी बालबालिका अभिभावकको इगोको सिकार भएका छन् । इटहरी–७ स्थित सो विद्यालय विवादका कारण वैशाख १३ गतेदेखि बन्द छ ।
विद्यालयमा अनियमितता बढेको र आफ्ना नानीहरूलाई विद्यालयकी प्रधानाध्यापकले अभद्र व्यवहार गरेको भन्दै अभिभावकले तालाबन्दी गरेपछि त्यसको असर भोग्न बालबालिका बाध्य भएका हुन् । ‘नानीहरूका लागि आएको खाजाको पैसा गोजीमा हाल्ने, छात्रवृत्ति पनि नबाँड्ने अनि ताला नलगाएर के गर्नु त ?’ स्थानीय अभिभावक झुमा चौधरीले प्रश्न गरिन् । अधिकांश दलित तथा विपन्न परिवारका बालबालिका अध्ययनरत सो विद्यालयमा विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने दिवा खाजा तथा छात्रवृत्ति र विद्यालयले निर्माण गरेको नयाँ भवनमा अनियमितता र भ्रष्टाचार भएको अभिभावकहरूको दावी छ ।
२०६० सालमा बालविकास केन्द्रका रूपमा स्थापना भई २०६६ सालबाट प्राथमिक तहमा रुपान्तरित सो विद्यालयमा हालसम्म एकपटक मात्र छात्रवृत्ति वितरण भएको अभिभावकहरु बताउँछन् । अभिभावकले छात्रवृत्तिसम्बन्धी अनियमितताको कुरा उठाएपछि व्यवस्थापन समितिले असुरक्षा भएको भन्दै विद्यालय परिसरमा प्रहरी परिचालन गरको थियो । सो घटनाबाट अभिभावकहरू झनै रुष्ट बनेका हुन् ।
‘विद्यालयमा अनियमितता भयो, हिसाब–किताब सार्वजनिक गर्नुप¥यो भन्दा प्रहरी लगाएर अभिभावकलाई नै धम्क्याउन खोजेर हुन्छ ?’ स्थानीय सुदुनी ऋषीदेवले भनिन्, ‘हामीलाई यिनीहरू दलित हुन्, केही जान्दैनन् भनेर हेपिँदैछ ।’
आरोप प्रत्यारोपको शृङ्खला
अभिभावकहरूले विद्यालयको व्यवस्थापन समितिको अवधिसमेत सकिएको भन्दै नयाँ व्यवस्थापन समिति गठन हुनुपर्ने माग गरेका छन् । विद्यालयकी प्रध्यानाध्यापक ज्ञानु थापा कटुवाल र उनका भाइसमेत रहेका व्यवस्थापन समितिका अध्यक्ष तारा कटुवालले मिलेर विद्यालयमा अनियमितता गरेको अभिभावकहरूको आरोप छ ।
तर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कटुवाल यसलाई मान्न तयार छैनन् । प्रअ र आफ्नो किर्ते हस्ताक्षर गरिएको उनको आरोप छ । विद्यालयको भवन निर्माणका लागि बनेको उपभोक्ता समितिले भ्रष्टाचार गरेको जनाउँदै कटुवाल उम्कने प्रयासमा छन्, तर उपभोक्ता समितिका संयोजक महेश भट्टराईले भने चरित्रहत्या गर्ने किसिमले किर्ते हस्ताक्षरको कुरा उठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
पछिल्लो समयमा व्यवस्थापन समिति अध्यक्ष कटुवालले विद्यालयमा राजनीतिक कारणले समस्या सुरु भएको बताएका छन् । विद्यालयकी एमालेनिकट मानिने शिक्षिका सावित्री चौधरीलाई लामो समय अनुपस्थित रहेको आरोप लगाउँदै निस्कासन गरेपछि अनियमितताको कुरा चर्काइएको स्थानीय माओवादी नेताहरू बताउँछन् । विद्यालयकी प्रअ थापाले चौधरी अभियान नेपालको भूमिअधिकार मञ्चमा आबद्ध भएकाले विद्यालयमा समय दिन नभ्याएको र गाह्रो तरिकाले विद्यालय सञ्चालन गर्नुपरेकाले प्रक्रिया पु¥याएर उनलाई निस्कासन गरिएको बताइन् । थापाले भनिन्, ‘निकालेको रिस फेर्न चौधरीले अभिभावक र एमाले नेताहरूलाई उचालेर विद्यालय बन्द गराउन खोजेकी हुन् ।’
विद्यालयकी शिक्षिका तथा स्थानीय स्वयम्सेविकासमेत रहेकी चौधरीले भने आफूमाथि झुटो आरोप लगाइएको बताइन् । बालबालिकालाई दिवा खाजा खुवाउन अनुदान आए पनि त्यसको पैसा अन्यत्र प्रयोग गर्ने खाजा अनुदानको पैसा खर्च गर्न कन्जुस्याइँ गर्ने, नराम्रो खाजा खुवाउने गरेको विरोध आफूले गरेपछि आफूलाई हाजिर गर्न नदिइएको चौधरीले बताइन् । खाजाको विषयमा विवाद बढेपछि पछिल्लो समय खाजा खुवाउने जिम्मासमेत चौधरीलाई दिइँदै आएको थियो ।
छानविनमा ढिलाइ
दिवा खाजा, नयाँ भवन निर्माण र छात्रवृत्तिमा अनियमितता भएको विषय उठेसँगै विद्यालयमा वैशाख पहिलो साताबाटै बारम्बार विवाद र तनाव सुरु भएको थियो । विद्यालयमा भएको अनियमितता छानविनका लागि स्थानीय अविभावकहरू बारम्बार जिल्ला शिक्षा कार्यालय सुनसरीमा डेलिगेसन गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत कुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन भएको छ । छानविन समितिले वैशाख १८ गते विद्यालयको हाजिरपुस्तिका, व्यवस्थापन समितिको निर्णयपुस्तिकालगायतका खाताहरू लगेर छानविन गरिरहेको छ ।
छानविनका लागि १५ दिने म्याद तोकिएको भए पनि बन्द–हड्तालका कारण समयमा काम पूरा नभएको छानविन समिति संयोजक पोखरेलले बताए । ‘अहिलेसम्म विद्यालयको हाजिरपुस्तिका र निर्णयपुस्तिका हेरिसकिएको छ,’ उनले भने ‘बयान लिने काम पनि चाँडै सुरु गर्छाैं ।’
छानविन समितिले पनि विद्यालयमा विवादको मुख्य कुरा अनियमितता नभएर शिक्षिका निस्कासन भएको विषयलाई महत्व दिएर छानविनको प्रक्रिया सुरु गरेको बताइन्छ । छानविन समिति सदस्य स्रोतव्यक्ति जनक बस्नेतका अनुसार अनियमितता छानविनका लागि स्रोतव्यक्ति तथा लेखापरीक्षक लक्ष्मीप्रसाद पौडेललाई जिम्मा दिइएको छ । पौडेलले हेरेपछि अनियमितता भए–नभएको पनि पत्ता लाग्छ ।
सरकारी सुविधाका बालविकास केन्द्रहरूमा प्रभावकारी अनुगमन नगरिँदा भ्रष्टाचार र अनियमितता बढ्दै गएको छ । जसको पछिल्लो उदाहरण सेतो गुराँस बालबाटिका केन्द्र इटहरी बनेको छ ।
अनियमितता छानविन भइरहेको भए पनि लामो समयदेखि बन्द विद्यालय खुलाउनतर्फ कसैले ध्यान दिएको छैन । जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले प्रतिवेदन चाँडै सार्वजनिक गर्ने र त्यसपछि आफैँ विद्यालय खुल्ने बताएका छन् । तर, विद्यालयको विकासका लागि जिम्मेवार मानिएको व्यवस्थापन समिति, शिक्षकको आपसी मनमुटावको सिकार भएका बालबालिकाहरूले भने दुई महिनायता पढ्न पाएका छैनन् । विवाद र तनाव चाँडो अन्त्य गरेर विद्यालय चल्ने सहज वातावरण बनाउन स्थानीयवासी, अभिभावक र विद्यार्थीको माग छ ।
सुरेश घिमिरे
0 comments:
Speak up your mind
Tell us what you're thinking... !