हाम्रो माया अजम्बरी रहोस्, जुगजुग बाँचिराखोस्, ऊ नै मेरो भविष्यमा आफ्नो मान्छे होस्’ यो कुनै चलचित्रमा देखाइएको प्रेमदृश्यका प्रेमीले–प्रेमिकाले बोलेको संवाद होइन । जो कसैको पनि प्रेमिल हृदय छुने यी मायावी शब्दहरू धरानकी जुनिता राईले मनमनै कल्पिएका मायाका उद्गारहरु हुन् । बूढासुब्बामा भाकल गर्दै दुई वर्षअघि आफ्ना प्रेमीलाई पाउन जुनिताले बाँसमा मालाको डोरी बाँध्दै यस्तो कल्पना गरेकी थिइन् ।
उनले मनमनै बूढासुब्बामा कसम खाँदै बाँधेको मालाको डोरी त्यसै खेर गएन । अहिले उनको प्रेम सफल भएको छ । बूढासुब्बाको प्रभावले नै आफ्नो प्रेम सफल भएको उनको विश्वास छ । यसरी बूढासुब्बामा डोरी बाँधेपछि आफूले चाहेको मान्छे पाएको उनले बताइन् ।
आफूले चाहेको मान्छे पाउन बूढासुब्बा गएर त्यहाँ रहेको बाँसमा माला बाँधेर ईश्वरको भाकल गरेमा चाहेको पाउने साथीभाइबाट सुनेकाले उनले त्यसो गरेकी हुन् । उनलाई सुरुमा त विश्वासै लागेको थिएन रे ! ‘बूढासुब्बामा माला डोरी बाँधेर आउँदा सुरुमा त पत्याइनँ तर अहिले पत्याउनै प¥यो’ उनले भेटमा भनिन्, ‘अहिले म र वहाँ सँगै छौँ, हामीले प्रेमविवाह गरेको एक वर्ष भयो ।’
जुनिताको प्रेम सफल भएको छ । अहिले उनीजस्तै अरू पनि थुप्रै युवापुस्ता आफ्नो प्रेम सफल बनाउन बूढासुब्बामा रहेको बाँसको फेदमा माला डोरी बाँध्न पुग्ने गरेका छन् ।
बूढासुब्बा मन्दिर परिसरमा रहेका टुप्पा काटिएका बाँसमा वरपर हरेक शनिवार माला डोरी बाँध्न किसोरकिसोरी तथा युवाहरुलाई भ्याइनभ्याइ हुन्छ । बाँसमा माला डोरी बाँधेपछि मनको धोकोे पूरा हुने त्यहाँ भेटिएका अधिकांशको भनाइ रहन गरेको छ । उनीहरूको साझा भनाइ हुन्छ, ‘यहाँ माला डोरी बाँधेपछि प्रेम सफल हुन्छ रे !’
बूढासुब्बाको बाँसको फेदमा धरानका महेश आफ्नो प्रेमिका सम्झँदै बाँसमा माला डोरी बाँधिरहेका भेटिए । उनलाई बाँसमा माला डोरी बाँधेकाले आफूले चाहेकी केटी प्रेमिकाका रुपमा पाउने आशा छ । त्यही आसले उनी बूढासुब्बामा माला डोरी बाँध्न आएको बताउँछन् । भेटमा उनले भने, ‘आज मैले मुटुमा घाउ–चोट जति नै भए पनि उनीसँगै एकअर्कामा जीवनसाथी बन्ने संकल्प गर्दै बाँसमा माला डोरी बाँधिरहेको छु । बूढासुब्बाले अवश्य पनि हाम्रो मिलन गराइदिनेछन् ।’
बूढासुब्बामा प्रेमको भीक्षा माग्न जुनिता र महेशजस्ता थुप्रै युवा कुनै न कुनै समयमा पुगिरहेका हुन्छन् । त्यहाँ पुगेर थुप्रै युवायुवतीले बाँसमा माला डोरी बाँधेर आफ्नो प्रेमप्रेमिकाका लागि कल्पिने गरेका छन् ।
धरानका युवापुस्ता मात्र हैन नेपालका विभिन्न सहर र गाउँका युवापुस्ता पनि बूढासुब्वाको बाँसमा ‘आफ्नो विशेष मान्छे’बाट मायाको प्राप्ति र प्रगाढता लागि डोरी बाँध्ने गर्छन् ।
विराटनगरका दीपिका श्रेष्ठले पनि माला डोरी बाँधेकी छिन् । उनलाई विश्वास छ, बूढासुब्बामा भाकल गरे पुग्छ । ‘त्यही भएर मैले प्रेमका नाममा बाँसमा माला डोरी बाँधेकी हुँ,’ उनले भनिन्, ‘बूढासुब्बा भगवानले अवश्य पनि मेरो भाकल पूरा गर्दिनु हुने छ ।’
अहिले बूढासुब्बाको बाँसमा माला डोरी बाँध्ने चलन लोकप्रिय बनेको छ । बूढासुब्बामा रहेको बाँसमा कुनै पनि प्रेमी–प्रेमिकाले आफ्नो मन खाएको मान्छेलाई सम्झँदै आफ्नो बनाउन माला डोरी बाँधे मनले चिताएको पुग्ने जनविश्वास छ । त्यही भएर पनि बूढासुब्बा रहेका बाँसमा युवायुवतीले माला बाँधिरहेको जुनसुकै बेला देख्न सकिन्छ ।
अहिले युवायुवतीले बाँधेका माला डोरीले बूढासुब्बाका बाँस छोपिएको छ । भ्यालेन्टाइन डेजस्ता विशेष दिनहरुमा त बूढासुब्बाको बाँसमा माला डोरी बाँध्ने ठाउँ नै भेटिदैन ।
सूचना र सञ्चारको यो युगमा मानिसहरू मोबाइल, टेलिफोन र ईमेल–इन्टरनेटको प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट मायावी भावनाका खबर आदान–प्रदान गरी प्रेम सफल बनाउन सक्छन् । तर, बूढासुब्बामा यसरी नै बाँसमा माला डोरी बाँधेर प्रेमी–प्रेमिकाले आफ्ना मान्छे पाउने आस गरेका हुन्छन् ।
बाँसको फेदमा माला डोरी बाँधेर भविष्यमा आफ्नो मान्छे पाउनका लागि लामो समयसम्म पर्खनुका साथै जीवनसाथी पाउने आसमा रहेका हुन्छन् युवापुस्ता । अचम्म छ, सूचना र प्रविधिको यो जमानामा पनि उनीहरू एकअर्काको माया अजम्बरी बनाउन बाँसमा माला डोरी बाँधिरहेका छन् । किन ? यसको उत्तर पाउन गाह्रो छ ।
यस्तो बाँसमा माला डोरी बाँध्ने चलन बूढासुब्बामा दिन–प्रतिदिन बढिरहेको छ । यसअघि बूढासुब्बाका बाँसमा आफूले चाहेको प्रेमी वा प्रेमिकाको नाम खोपेर लेख्ने चलन थियो । हरियो बाँसमा त्यसरी नाम खोप्नेहरुको घुइँचो बढ्दै गएर बाँस नै मर्ने वा सुकेर जाने खतरा देखेपछि मन्दिर संरक्षण समितिले जथाभावी नाम लेख्ने चलनलाई रोकेको थियो । त्यसैको विकल्पमा बाँस वरपर माला डोरी बाँध्ने चलन चलेको हो ।
यहाँ कुनै प्रविधिको प्रयोग छैन, न त कुनै जादू छ । छ त केवल जनविश्वास । भौतिक कुरामा विश्वास गर्ने अहिलेको युवापुस्ता माया खोज्दै बूढासुब्बाको बाँसमा माला डोरी बाँध्न जानुले विश्वासभन्दा ठूलो अरु केही नभएको पुष्टि हुन्छ !
भीषण राई
0 comments:
Speak up your mind
Tell us what you're thinking... !