हाम्रो शैक्षिक प्रणालीमा मूल्याङ्कनको मापक आधार तीनघन्टे परीक्षा प्रणाली रहँदै आएको छ । आदिकालदेखि चलनचल्तीमा रहेको यो प्रणाली आज कतिपय राष्ट्रमा समयसापेक्ष नभएको अनि वर्तमान परिपे्रक्षमा असान्दर्भिक भएको भन्दै वैकल्पिक मापन प्रणाली प्रयोगमा ल्याइएको छ । नेपालको सन्दर्भमा विद्यालयको प्राथमिक तहदेखि माथिल्लो तहसम्म यही प्रणाली अवलम्वन गरिएको छ, जुन पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
हामी अभ्यस्त रहेको यो मूल्याङ्कन विधिमा शैक्षिकसत्रको अन्त्यमा सीमित अवधिभित्र सय अङ्कभारको समग्र विषयवस्तुबाट सोधिएका प्रश्नलाई आधार बनाइन्छ । उक्त अवधिमा उसले उत्तरपुस्तिकामा लेखेको उत्तरका आधारमा व्यक्तिको मूल्याङ्कन गरिन्छ । जतिसुकै क्षमतावान् अनि अध्ययनशील भएता पनि तीन घन्टाभित्र उत्तर लेख्न नसकेको खण्डमा व्यक्ति स्वतः अक्षम प्रमाणित हुन्छ । केही अध्ययन अनि सर्वेक्षणलाई आधार मान्ने हो भने परीक्षणको यो प्रक्रिया नै गलत छ । मानौं एउटा व्यक्ति विषयवस्तुप्रति पूर्णत जानकार हुँदाहुँदै पनि परीक्षाको दिन आइपर्ने आकस्मिक समस्याका कारण उत्तर लेख्न नसक्दा ऊ जीवनभर तल्लोस्तरको विद्यार्थीका रुपमा दरिन पुग्छ । कतिपय व्यक्तिमा परीक्षा समयमा देखिने मनोवैज्ञानिक प्रभावले परीक्षा प्रणालीमा यसको सुरुवातदेखि नै प्रश्नचिन्ह उब्जदै आएको छ । जतिसुकै सबल, सक्षम अनि परीक्षाको पूर्ण तयारी गरेको व्यक्ति परीक्षाहलमा डराउने, तर्सिने अनि तोकिएको सीमित अवधिमा सबै प्रश्न हल गर्न नसक्ने वा केही ढिलो लेख्ने बानी हँुदा उसले आजीवन शैक्षिक सवालमा पछि पर्नुपर्ने हुन्छ, जब कि एउटा मध्यमस्तरको छात्र भने ऊभन्दा अघि बढ्न पुग्छ ।
यस क्षेत्रमा देखिएका बग्रेल्ती विकृतिले यो प्रणाली गलत मूल्याकङ्न गर्ने आधार भएको छ । प्रश्नपत्र बाहिरिने र चिट सार्ने धन्दा एसएलसी, प्लसटुलगायतका परीक्षामा निस्फिक्री भैरहेको भेटिन्छ । यसरी कुन आधारमा मिहिनेती, अध्ययनशील, आदर्शवान विद्यार्थी अनि प्रश्नपत्र प्राप्त गरेर, चिट चोर्दै लोभलाग्दो अङ्क प्राप्त गर्ने विद्यार्थीमाझ भेद छुट्याउँछ यो परीक्षा प्रणालीले ? हामी कहाँ परीक्षा केन्द्र नै किन्ने, केन्द्राध्यक्षलाई सक्दो आर्थिक प्रलोभनमा पार्ने, धम्क्याउनेसमेत गरेर शतप्रतिशत एसएलसीमा डिष्टिङ्सन नतिजा निकाल्ने रिजल्टको व्यापार गर्छन् प्रायः विद्यालयहरु । उल्लेखित विकृतिहरु यस प्रणालीविरुद्ध धावा बोल्न पर्याप्त छैनन् र ?
शैक्षिकरुपमा सबल राष्ट्रले धेरै पहिला नै यसलाई औचित्यहीन र अवैज्ञानिक मापनको आधार भनिसकेका छन् । हामी कतिपय व्यक्तिहरु क्षमतावान हुँदाहुँदै पनि परीक्षामा तल्लो डिभिजन प्राप्त गरेकै कारण जीवनभर निरास भएर बस्ने गरेको भेट्छौँ । के यो परीक्षा प्रणालीमा कम अङ्क प्राप्त गर्ने सबै मानिस मूल्यहीन हुन् त ? अर्को कुरा हाम्रो समाजको हेर्ने दृष्टिकोण नै गलत छ, सर्टिफिकेटको अङ्कको आधारमा कसरी मानिसको व्यक्तित्व झल्किन्छ जब कि परीक्षा प्रणाली नै त्यसको निधो गर्ने हैसियत बोक्दैन । हामी सबै आप्mनो विद्यालय जीवनका दिनहरुमा फर्केर ती मध्यम अङ्क प्राप्त गरेका दौँतरीलाई हेरौँ, अधिकांशले के भेट्छौँ भने ती मध्यमस्तरकाले उच्च अङ्क प्राप्त गरेकै भरमा मेधावी भन्ने गरिएकालाई पछि पार्दै उच्च पदमा पुगेका छैनन् र ? हाम्रै राष्ट्रका ठूला अनि सफल जीवन बिताइरहेका भनिएकाहरु प्रायः मध्यम अङ्कका सर्टिफिकेट भएकाहरु नै हुन् ।
मुख्य कुरा, सीमित अवधिको शैक्षिकसत्रको अन्त्यमा लिइने परीक्षाको प्राप्त अङ्कभारका आधारमा समग्र व्यक्तिगत र योग्यतालाई नै मूल्याङ्कन गर्ने जुन परिपाटी छ, त्यो गलत छ । कतिपय राष्ट्र अनि विश्वविद्यालयले विकृति कम होस् भन्नकै लागि अङ्क व्यवस्थाको साटो ग्रेडिङ सिस्टमलाई चलनचल्तीमा ल्याएका छन् । यो केही हदसम्म ठिक छ । फेरि एकै उत्तर पनि फरक–फरक परीक्षकले जाँच गर्दा फरक अङ्क दिइन्छ, जसले एउटै कुरा परीक्षकपिच्छे नै फरक मूल्याङ्कन हुन्छ भने योभन्दा ठूलो खिल्ली अरु के हुन सक्छ र ? तसर्थ हाम्रो मूल्याङ्कनको आधार, विधि अनि प्रणालीको विकल्प खोज्नुपर्ने पो हो कि !
अर्पण गेलाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !