ब्रोइलर विद्यार्थी
Written By Neplee on Friday, August 17, 2012 | 7:12 PM
शिक्षा मानवको सर्वतोमुखी ज्ञानको मूल आधार हो । मानवलाई पूर्ण र परिपक्व बनाउने उद्देश्य शिक्षाकोे हुन्छ । एक प्रकारले भन्ने हो भने यो जीवनभर चलिरहने प्रक्रिया पनि हो । औपचारिक शिक्षामा जीवनका सबै विशिष्ट ज्ञान समावेश गर्न सकिँदैन तथापि विकसित देशमा उच्चस्तरका शैक्षणिक संस्थाका शिक्षार्थीलाई जीवनका आधारभूत र विशिष्ट ज्ञान दिइँदो रहेछ । तर, हाम्रोजस्तो देशमा शिक्षा विषयमा गम्भीर र दूरदर्शी सोचको सर्वथा अभाव रहेको देखिन्छ । अहिले दिइरहेको शिक्षामा पनि धेरै सिर्जनात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ । तर, यसमा खासै ध्यान जान सकेको देखिँदैन । विद्यार्थीलाई बहुआयामिक बनाउने कुरा सोचेको पनि पाइँदैन । प्लस टू र प्राइभेट कलेजहरू ब्रोइलर विद्यार्थी उत्पादन गर्ने कारखाना भएका रहेछन् । ब्रोइलर कुखुरा त अलि–अलि यताउता गर्छ, हिँड्छ तर ब्रोइलर विद्यार्थी त एक पाइला पनि सार्नसक्तो रहेनछ । गुरुले गाइडबाट सारिदिएको चार लाइन घोकेर त्यही लेखेर मख्ख पर्दोरहेछ । त्यसमा पनि मिडियम अङ्ग्रेजीको फुटानीले ज्ञान कमजोर भएको छ । नेपालीमा त भन्न खोजेको कुरा पूरा हुनसक्दैन र हामी अकमकिन्छौं ।
चालीस मिनेट सकीनसकी अङ्ग्रेजी घोकेर स्वयम् शिक्षकले कति ज्ञान हासिल गर्ला । सामान्य अङ्ग्रेजी बोल्नु र विषयगत ज्ञानको गहिराइ भाषामा प्रस्तुत गर्ने कुरा फरक हुन् । अङ्ग्रेजी माध्यमको विरोध होइन तर गहिरो ज्ञान अङ्ग्रेजी भाषामा पर्याप्त मात्रामा दिन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता मात्र हो । भाषाको मात्र चिन्ता हो भने तीन महिने तालिमले फररर भाषा बोल्नसक्ने भइन्छ । अङ्ग्रेजी मिडियमको धक्कु अचेल कलेजले पनि लगाउन थालेका छन् । यसरी उत्पादित जनशक्ति परबाट हेर्दा खाइलाग्दो तर ज्ञान र गुदी छाम्दा भित्रीरूपमा निकै कमजोर देखिन्छ । सार नभएको रूपको के अर्थ ? मिस ब्युटीजस्तो बाहिर आकर्षक तर भित्र विकर्षक । केही अपवाद छोडेर धेरैजसो विद्यार्थीमा आफ्नो विषयको ज्ञान पनि पूर्ण छैन । अतिरिक्त ज्ञान थोपो–सुको केही छैन । कुनै पनि सकारात्मक तथा उपयोगी कुरामा अगाडि बढ्ने होइन यो त पछाडि पो सर्दैछ । कक्षामा गुरुले पढाएको सुरुसुरु र खुरुखुरु पढ्दै सार्दै पो गर्दो रहेछ । प्रश्न सोध्ने, जिज्ञासा राख्ने कुरामा उसलाई खासै प्रोत्साहित गरिएको देखिएन । उसलाई त केवल जाँच पास गर्नुसित मात्रै सरोकार रहेछ ।
जीवनमा जहिले पनि जाँच हुन्छ, अहिलेको शिक्षा परीक्षामा जसरी तसरी बढी नम्बर ल्याउन, पास गर्ने गराउने कुरामा सीमित रहेको पाइन्छ । यस कुरामा विद्यार्थी, अभिभावक मात्र होइन प्लस टू र कलेजका सञ्चालकहरू पनि मरिमेटेर लागिरहेका छौँ । अझ शिक्षा क्षेत्रको विकृतिको कुरा गर्दा मानिस छाँगाबाट खस्नेछ । यस कुराको खोजी राष्ट्रको चौथो अङ्गले गर्नुपर्छ । विद्यार्थीहरूमा गहिरो ज्ञान दिलाएर भोलिको जीवन क्षमतापूर्वक, कुशलतापूर्वक जिउन सक्ने बनाउन खासै ध्यान पुगेको देखिन्न । अहिलेका विद्यार्थीको असली जाँच त भोलिको कर्मशील जीवनमा हुनेछ । प्रमाणपत्रले भोलि पढाउने त होइन, प्रमाणपत्रधारी शिक्षार्थीले पढाउनुपर्छ । त्यतिबेला विद्यार्थीको वास्तविक योग्यताको पहिचान हुन्छ । यस्ता गुदीदार कुरामा कसैको पनि खासै ध्यान पुगेको देखिँदैन ।
‘टापटिप साइँला द्यौसिरे’ले कसै–कुनै व्यक्ति र समूहलाई शुभ–लाभ त होला तर देशको दुर्गति भने निश्चित देखिन्छ । यसको मूल दोष राज्यस्तरको अभिभावकमा जान्छ, राज्यमा नै जान्छ । त्यसपछि शिक्षक, शिक्षार्थी र बाबुआमामा जान्छ ।
शिक्षक, शिक्षाशास्त्री र शैक्षणिक निकाय सचेत बौद्धिक समुदाय हो । कमजोरपुस्ता हुर्किरहनुको दोष तिनीहरूमा बढी जान्छ । उनीहरूले शैक्षिक अव्यवस्था, अराजकता र विकृतिलाई उजागर गर्नुपर्छ र राष्ट्रलाई दिशानिर्देश गर्नुपर्छ । अहिलेकै शिक्षामा पनि गुरु गम्भीर ज्ञान दिन सकिन्छ । अहिलेको भर्भराउँदो, लोभलाग्दो युवापुस्तालाई अहिले पनि ज्ञान र ज्यान दुवै भएको बनाउन नसकिने होइन । त्यसका लागि निधार खुम्च्याउनुपर्छ, चिन्तन गर्नुपर्छ । केही नयाँ स्किम हुनुपर्छ ।
पहिलो दर्जाका मान्छेहरू विचारको, चिन्तनको, सिर्जनाको कुरा गर्छन् । दोस्रो दर्जाका मान्छेहरू घटनाको व्याख्या गर्छन् र तेस्रो दर्जाका मान्छेहरू कुरा मात्र काट्छन् । यस क्षेत्रका हामीहरू पनि उच्च दर्जाका हुन सकेका छैनौं । शिक्षामा जब व्यवसाय पक्ष हावी र सेवा नगण्य हुन्छ, तब समस्या निम्तिएको देखिन्छ । हामी ज्ञान सिँगार्ने कुरामा भन्दा लुगा, कपडा र भवन सिँगार्ने कुरामा बढी चासो दिन थाल्यौं र शिक्षा मात्र घाँटीमा लगाउने घँटेसी मात्र हुनगयो, लिपिस्टिक हुनगयो । अझ कतिपय शैक्षिक निकायहरूले लाखौंको लगानी गरेर कलेजको विज्ञापन गर्छन् तर शिक्षकलाई तलब पारिश्रमिक दिइरहेका छैैनन् भन्ने कुरा सञ्चारमाध्यमबाट आइरहेको छ । त्यसैले यस क्षेत्रमा शिक्षक पनि प्रायः ब्रोइलर, सञ्चालक पनि प्रायः ब्रोइलर रहेका देखिन्छन् । गाइड छुनै हँुदैन भन्ने होइन तर त्यसमा मात्र विद्यार्थी सीमित हुनु किमार्थ जाति होइन ।
शिक्षक नै ब्रोइलर भएपछि विद्यार्थीको के हालत होला ? शिक्षक र शिक्षार्थी शिक्षालयका नभई नहुने महत्वपूर्ण पक्ष हुन् । अरू पक्ष यसका सहयोगी पक्ष हुन् । धान र गोरु दाइँका लागि नभइ नहुने पक्ष भए पनि सहयोगी मियोको बहुआयामिक नेतृत्वदायी भूमिका हुन्छ । यहिलेकै शैक्षिक पूलबारीमा पनि सुगन्ध र सौन्दर्य भएको फूलरुपी विद्यार्थी बनाउन सकिन्छ । माली हुन चाहनेले अलि निधार खुम्च्याएर सिर्जनात्मक रूपबाट सोच्नु, विचार गर्नुपर्छ । सेवा र समर्पणका भावनाका साथ यस क्षेत्रमा लागिपर्नुपर्छ । मियो गुरुको पनि गुरु, महागुरु हो । यसले बौद्धिक प्राज्ञिक तथा प्रशासनिक नेतृत्व गर्नुपर्छ । यसो भयो भने विद्यालयमा जमरा उत्पादन हुँदैनन् । अनेकौं हुरी, हुन्डरी, आँधीबेहरी, झरी र प्रचण्ड घाम सहेर मात्र झरिलो र भरिलो फूल उत्पादन हुन्छ । यसरी अगाडि बढ्ने हो भने शिक्षालयमा ब्रोइलर, काग उत्पादन हुँदैनन्, बुद्धि पु¥याउने हो भने शिक्षालयमा कोइली, परेवा, मयुर उत्पादन गर्न सकिन्छ । ज्ञान, विज्ञान, सीपको पुनरुत्पादन गर्ने क्षमताबाट मात्र उत्कृष्टता सम्भव हुन्छ ।
डा. बद्रीविशाल पोखरेल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !