भेरी ब्याड मर्निङ - College Times : Educational Magazine
Headlines News :
Home » , » भेरी ब्याड मर्निङ

भेरी ब्याड मर्निङ

Written By Neplee on Friday, August 17, 2012 | 6:48 PM


‘गुड मर्निङ सर !’
आज सरको मर्निङ गुड छैन भन्ने कुरा बुझ्न मनमायालाई गाह्रो परेन । किनकि सरले गुड मर्निङको सट्टामा गुडसमेत फर्काएनन् ।
इशाराले बस्न भनेपछि उनले कालो पाटीमा केही लेखे अनि कालोपाटीतिर इशारा गर्दै भने, ‘२० मिनेट’ उनले विद्यार्थीलाई कक्षाकार्यको लागि २० मिनेट समय दिएका थिए । प्रश्न गाह्रो अनि नबुझिने । उत्तर त झनै गाह्रो । मनमायाले ५ मिनेट त सोचेरै बिताई । तर दिमागको कुनै कुनाले पनि उत्तर दिन सकेन ।
सोच्दा सोच्दै मनमायाले लेखी ‘... यस्तो वाहियात प्रश्न सोधेर विद्यार्थीलाई उल्लु बनाउने ? आउँदैन मलाई केही पनि । राम्रो पढाएको भा’पो विद्यार्थीलाई आउँथ्यो । छडी घुमाउँदैमा विद्यार्थीले जान्ने भए, म पनि छडी घुमाएकै भरमा पढाइदिन्थेँ । तपाईको प्रश्नको उत्तर आफैं लेख्नुस् सर... !’
‘मनमाया... !’ मर्निङ गुड नभएको शिक्षकले यसरी हकारेपछि ऊ झसङ्ग भई । कापी खाली थियो । उसले शिक्षकतिर पुर्लुक्क हेरी । ब्याड मर्निङका राता आँखा देखेपछि ऊ झन् डराई । के गरौं, कसो गरौं भयो । ‘सर, पाँच मिनेट जाने ।’ शिक्षकबाट सकारात्मक जवाफको आशा नराखेकी मनमायाले अनुमति पाई ।
कक्षा कोठाबाट त निस्की, तर चर्पी खोइ ? सधैँ झैं लागि झाङतिर । बसेकी मात्र के थिइ, कल्याङमल्याङ सुनेर जुरुक्क उठी । एक हुल स्कुले केटा त्यतै आउँदै थिए । त्यहाँबाट हिँड्नै नपाई उनीहरुले देखे, जिस्काउन थाले ।
‘क्या हो मैया ? यस्तो एकान्तमा के गर्दै हो ?’ अर्कोले थप्यो, ‘जाउँ घुम्न सल्ला घारीतिर । यस्तो झाडीमा के डुलिरहेकी !’ मनमाया पनि के कम थिई, ‘चुप, साला खातेहरु । बढी बोल्छस् ? तिमेरुको दाँत निकालेर गन्दिन्छु ।’
‘हा हा हा हा...’ सुनेर केटाहरु गलल हाँसे । मनमायाको पारो चढ्यो । भुइँतिर ढुङ्गा खोजी । टिप्न मात्र के लागेकी थिई, ओसिलो घाँसमा चिप्लेर लडी । केटाहरुलाई के चाहियो, गललल हाँस्न थाले । मनमाया अध्याँरो अनुहार लगाएर त्यहाँबाट हिँडी । अब कहाँ जाउँ ? सोच्दा–सोच्दै पाले दाइले घन्टी लगाए ।
‘सधैं कसैले देख्ला कि भनेर डराउनुपर्छ,’ उसले घरमा आमालाई रुँदै सुनाई, ‘कहिले विद्यार्थी त कहिले सरहरुले नै लुकेर चियाउँछन्, म अब स्कुल जान्न ।’ राती अबेरसम्म पनि ऊ निदाउन सकिन ।
भोलिपल्ट ऊ स्कुल गई । तर, अचम्म, क्या अचम्म, साह्रै अचम्म, सबै कक्षा कोठाहरु चर्पीमा परिणत भएका थिए । सबै कक्षा कोठामा दिसा बस्ने प्यान थियो ।
आम्मै ... रातारात यस्तो परिवर्तन ? ऊ खुसीले नाची । अब भने केही समस्या नहुने भो । यस्तै सोचिरहेको बेला उसले पछाडि कोही उभिएको महसुस गरी । हेरी, तिनै ब्याड मर्निङ सर थिए ।
‘अब त क्लास वर्क समयमै सकिन्छ नि ? कि चर्पी गर्दा–गर्दै घन्टी लाग्छ ?’ उनले भने । मनमायाले लाग्दैन भन्ने भावमा मुन्टो हल्लाई । तर तुरुन्तै सोची, ‘अब पढ्ने चाहिँ कहाँ ?’ कक्षा कोठातिर हेरेको त अचम्म, प्यानमाथि नै डेस्क बेन्च । पढ्ने बेलामा पढ्ने, अनि दिसापिसाब लागे, प्यानमा गर्ने रे !
‘हा हा हा... ’ ऊ गललल हाँसी । यस्तो पनि हुन्छ र ? शायद नयाँ प्रविधि होला । ऊसले झल्यास्स सम्झी, चर्पीको ढोकामा केटा वा केटीको भनेर त लेख्नुपर्छ क्यारे । उसले कागज र कलम ल्याई । केटा र केटीको छुट्टा–छुट्टै कागज बनाई अनि यौटा कुर्सीमा टेकेर टाँस्न थाली तर अचानक हल्लिएर कुर्सी लड््यो । ऊ पनि डङ्ग्रङग पछारिइ ।
ब्युँझिँदा बिहान भइसकेको थियो । उसको चर्पी विपनामा थिएन । तर अठोट गरी, ‘स्कुलमा जसरी भए पनि चर्पी बनाउन लगाएरै छाड्छु ।’
www.facebook.com/yugpath
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved