शिक्षालयमा किसोरी शिक्षा आवश्यक (सम्पादकीय) - College Times : Educational Magazine
Headlines News :
Home » » शिक्षालयमा किसोरी शिक्षा आवश्यक (सम्पादकीय)

शिक्षालयमा किसोरी शिक्षा आवश्यक (सम्पादकीय)

Written By Neplee on Saturday, June 16, 2012 | 9:31 AM


हाम्रा चेलीहरूको शिक्षामा पहुँच बढ्न थालेको धेरै भएको छैन । आज हाम्रा शिक्षालयहरूमा छात्राको सङ्ख्या उल्लेख्य हुनु समाज विकासमा आएको सकारात्मक परिवर्तनको सङ्केत हो । दुई दशकअघिसम्म स्थिति यस्तो थिएन । त्यो बेला ‘छोरी पढ्न पठाए मास्टरले लान्छन्’ भन्ने कुमान्यताले समाज ग्रस्थ थियो । बुबा आमाको मनमा गढेको त्यस्तो कुमान्यताका कारण आज हाम्रा दिदीपुस्ता शिक्षाको उज्यालो घामबाट वञ्चित भएका हुन् । एक दुई शिक्षक वा छात्राले अनपेक्षित व्यवहार गरे होलान् तर त्यस्तो अपवाद उदाहरणबाट प्रभावित भएर समाजविकासको क्रम अवरुद्ध हुने कुरो थिएन । नभन्दै आज विद्यालयमा छात्राहरुको उपस्थिति उल्लेख्य छ ।
छात्राहरुको उपस्थिति बढेसँग विशेषतः कक्षा ७ देखि ११ सम्मका किसोरी छात्रालाई शिक्षालयमा टिकाइराख्ने र उनीहरूको जीवन बचाइराख्ने चुनौती पनि थपिएको छ । यसमा अभिभावकको सचेतना, विद्यालयको वातावरण, शिक्षकको सहजीकरण सीप आदिले प्रभाव पार्ने हुन्छ । परिवर्तन संस्थागत गर्न ठूला–ठूला कामहरु गर्नुपर्ने होइन । भुइँतहका सानातिना कमजोरीलाई घटाउँदै लाँदा उल्लेख्य परिणाम हात लाग्ने हो । शिक्षालयको वातावरण किसोरीमैत्री बनाउनु पहिलो सर्त हो । त्यस्तै, किसोरीका उमेरगत, मानसिक र संवेगात्मक परिवर्तनलाई सरोकारवालाहरुले समयमै सम्बोधन गर्ने तत्परता देखाउनुपर्छ । शिक्षालयमा समय–समयमा परामर्शदाता र चिकित्सकको सहयोगमा किसोरी शिक्षा कक्षा सञ्चालन गर्दा सम्भावित जोखिम घटाउन सजिलो हुन्छ ।
समयानुकूल शारीरिक परिवर्तन र त्यसको प्रभाव समयमै पहिचान र व्यवस्थापन गर्न नसके किसोरीहरु आत्महत्या, यौन दुर्घटना र अन्य प्रकारका स्वास्थ समस्याको जोखिममा पर्ने हुन्छन् । धेरै किसोरीहरुमा महिनावारीको समयमा देखिने लक्षण तथा अन्य यौनजन्य समस्याको व्यवस्थापन गर्ने सीपको अभाव हुन्छ । शिक्षालय उनीहरुका लागि अभिमुखीकरण कार्यक्रमको नियमित प्रबन्ध, छात्रा शौचालयको व्यवस्थापन आदि नगरे उनीहरुको शैक्षिक पहुँचको यात्रा बीचमै पूर्णविराम लाग्न पनि सक्छ । यौनजन्य समस्यालाई समयमै सामुहिक सामान्यीकरण गर्न सके जोखिमको मात्रा घटाउन सकिन्छ ।
त्यस्तै, अनपेक्षित वातावरण, तनाव, अन्धविश्वास असन्तुलित खानपिन, देखासखी गर्ने प्रवृत्ति, परिवर्तन आत्मसात गर्न सक्ने क्षमताको कमी, समयमै उचित मनोविमर्शको अभाव, छाडापनको बढ्दो प्रभाव आदि कारणले शिक्षालयमा किशोरी छात्राहरु मास हिस्टेरियाजस्तो स्वास्थ्य समस्याबाट पीडित हुन पुगेका र परीक्षाफलको अनपेक्षित परिणाम सहन नसकेर आत्महत्या गरेका थुप्रै घटना सार्वजनिक हुन थालेका छन् । घरि हाँस्ने घरि रुने, बेहोस हुने, बर्बराउने, चिच्याउने, अनौठो व्यवहार गर्ने आदि लक्षण देखिने मास हिस्टेरियाबारे समयमा अभिमुखीकरण गर्न नसके त्यसले छात्राहरुमा मानसिक तथा शारीरिक क्षति पु¥याउने डर हुन्छ ।
किसोरीहरुलाई मास हिस्टेरियाको जोखिमबाट बचाउन र एसएलसी वा त्यस्तो ‘कुनै पनि परीक्षा जीवनको अन्तिम सत्य होइन’ भन्ने वास्तविकतालाई सामान्यीकरण गर्न प्रत्येक शैक्षिक सत्रको सुरुमा विशेष सहजीकरण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नु राम्रो हुन्छ, जसलाई ‘सबै बालबालिका र किसोरकिसोरीलाई शिक्षालयमा स्वागत छ’सँगै जोडर लान सकिन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved